१४ अर्बको कारोबार, १९३ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७ अंकले बढेर २७ सय ९७ बिन्दुमा पुगेको हो । आज १९३ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३३० कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । बुटवलको ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ५६ करोड, सानिमा माइ हाइड्रोको ३९ करोड, लुम्बिनी बिकास बैकको ३४ करोड र साहस ऊर्जाको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । १०% केबीएल डिबेन्चर र थ्री स्टार हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
धमाधम बजेट पारित गर्दै विश्वविद्यालय, सबैभन्दा ठूलो टीयूको, सानो राजर्षिको
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु हुनै लाग्दा देशभर सञ्चालनमा रहेका विश्वविद्यालयहरू धमाधम बजेट पारित गरिरहेका छन् । प्रधानमन्त्री समेत रहेका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकबाट विश्वविद्यालयहरू आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिरहेका हुन् । हालसम्म देशभर सञ्चालनमा रहेका विश्व विश्वविद्यालयहरूमध्ये ९ वटा विश्व विद्यालयले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिसकेका छन् । साथै, केही विश्व विद्यालय बजेट पारितको तयारीमा रहेका छन् । प्रधानमन्त्री एवं कुलपति ओलीले बालुवाटार निवासमै सिनेट बैठक बोलाएर सबै विश्वविद्यालय (प्रतिष्ठान)हरूको बजेट तथा कार्यक्रम स्वीकृति गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय: २८ अर्ब १२ करोड रुपैयाँ त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँ बजेट पारित गरेको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा रजिस्ट्रार प्रा.डा केदारप्रसाद रिजालले बजेट प्रस्तुत गर्दै पारित गरेका थिए । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ७.४८ प्रतिशतले बढी हो । बजेटमा त्रिविको आन्तरिक स्रोतबाट ४९.३९ अर्थात् १३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र नेपाल सरकारबाट ५०.६१ प्रतिशत अर्थात् १४ अर्ब २३ करोड ६३ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । बजेटले समयसापेक्ष बजारमुखी नयाँ विषयको अध्यापन तथा अनुसन्धान सुरु गर्ने र विद्यमान पाठ्यक्रमको परिमार्जन गर्ने नीतिलाई प्राथमिकता दिएको जनाएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल रहेका छन् । सुदूरपश्चिम विश्वविद्यालय: १ अर्ब ५४ करोड रुपैयाँ सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५४ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ । ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा विनोद लेखकले पेस गरेको बजेट तथा कार्यक्रम संशोधनसहित पारित गरिएको हो । विश्वविद्यालयको आर्थिक थितिलाई तन्दुरुस्त राख्न र यथार्थ चित्रका आधारमा बजेट प्रस्तुत गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । पूर्वाञ्चल विश्वविद्यालय: १ अर्ब ७० करोड रुपैयाँ पूर्वाञ्चल विश्वविद्यालयको ४१औँ सभाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । रजिस्ट्रार प्रा.डा कल्याणी मिश्र त्रिपाठीले पेस गरेको आर्थिक वर्ष २०८२/८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत गरिएको हो । उपकुलपति प्रा.डा बिजुकमार थपलियाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समेत पारित भइसकेको छ । विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबिबिएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान: ३ अर्ब १९ करोड रुपैयाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको १५औँ बैठकले आगामी आर्थिक वर्षका लागि ३ अर्ब १९ करोड ४६ लाख रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीको अध्यक्षतामा बसेको बैठकले बजेट पारित गरेको हो । विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा पारसकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो । बेरुजू फर्स्यौटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन प्रधानमन्त्री ओलीले निर्देशन दिए । कृषि तथा वन विज्ञान विश्वविद्यालय: १ अर्ब ६८ करोड रुपैयाँ कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४ औँ बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा पुष्कर बहादुर पालले पेस गरेको बजेट र कार्यक्रमलाई पारित गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा शारदा थपलियाले पठनपाठन, परीक्षा प्रणाली, अनुसन्धान र गुणस्तरीय सुनिश्चितताको साथै बिजनेस इन्कुबेसन केन्द्र स्थापनाजस्ता काममा अग्रसरता लिइएको बताए । राजर्षि जनक विश्वविद्यालय: ३७ करोड ९३ लाख ८३ हजार रूपैयाँ राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि ३७ करोड ९३ लाख ८३ हजार रूपैयाँको बजेट स्वीकृत गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न १०औं सभा बैठकले बजेट स्वीकृत गरेको हो । बैठकमा विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण शाहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो । मध्यपश्चिम विश्वविद्यालय: १ अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँ मध्यपश्चिम विश्वविद्यालयको १७औँ सभा बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । ओलीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. शोभाकर कँडेलले पुँजीगततर्फ ४६ करोड २५ लाख रुपैयाँ र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजार रुपैयाँसहितको बजेट तथा कार्यक्रम स्पेस गरेका थिए । पोखरा विश्वविद्यालय: १ अर्ब ५४ करोड रुपैयाँ पोखरा विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोड रुपैयाँको बजेट स्वीकृत भएको छ । २५औँ सिनेटले विश्वविद्यालयको शिक्षक कर्मचारी सम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समिति सम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव समेत पारित गरेको छ । बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमुलक र प्रतिस्पर्धी रुपमा सञ्चालन गर्न निर्देशन दिए । साथै, स्वदेशमै उत्कृष्ट उच्च शिक्षा सम्भव छ भन्ने भावनालाई सार्थक तुल्याउन समेत उनको भनाइ छ । सह कुलपति एवं शिक्षामन्त्री रघुजी पन्तले २१औँ शताब्दीका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा लाग्नु पर्ने बताए । उपकुलपति प्रा.डा. वेदराज केसीले उपलब्ध स्रोत साधनको उपयोग गरी विश्व बजारको माग अनुसारको शिक्षा दिन विश्वविद्यालयले प्रयास रहेको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालय: ४९ करोड ५९ लाख रुपैयाँ लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८औँ बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाख रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं कुलपति ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा विश्वविद्यालयका रजिस्ट्रार डा तिलक राम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजू ०.५ मात्रै रहेको जनाएको छ ।
मेटलाइफ इन्स्योरेन्स 'सोशल मिडिया इनिसिएटिभ अफ द इयर-नेपाल' बाट सम्मानित
काठमाडौं । मेटलाइफ नेपालले सिंगापुरमा गत साता आयोजित इन्स्योरेन्स एशिया अवार्ड २०२५ मा 'सोसल मिडिया इनीसिएटिभ अफ द इयर-नेपाल' उपाधि प्राप्त गरेको छ । यो सम्मान मेटलाइफ नेपालको वान बाई मेटलाइफ एपमार्फत 'हेल्थ रिस्क एसेस्मेन्ट' सुविधा प्रवर्द्धन गर्ने डिजिटल अभियानको उत्कृष्ट सफलताको कदर स्वरूप प्रदान गरिएको हो । कम्पनीका अनुसार पुरस्कृत अभियानले उपभोक्ताहरूलाई स्वास्थ्य निगरानीको महत्त्व बुझाउन र बिमितहरुले कसरी सक्रिय स्वास्थ्य व्यवस्थापनका साझेदार बन्न सक्छन् भन्ने सन्देश दिन केन्द्रित थियो । वान बाई मेटलाइफको हेल्थ रिस्क एसेस्मेन्ट सुविधाले प्रयोगकर्ताहरूलाई कुनै विशेष उपकरण बिना, केवल स्मार्टफोनको क्यामेराको प्रयोग गरेर रियल टाइममा आफ्नो स्वास्थ्य स्थिति जाँच गर्न सक्षम बनाउँछ । छोटो अनुहार स्क्यानमार्फत प्रयोगकर्ताहरूले आफ्नो स्वास्थ्यसम्बन्धी अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्, जसले मेटलाइफको दैनिक जीवनमा रोकथाममुखी स्वास्थ्य सेवा पुर्याउने लक्ष्यलाई समर्थन गर्छ । पाँच हप्ते यो अभियानले उल्लेखनीय परिणामहरू हासिल गरेको थियो । १० हजार नयाँ एप रेजिस्ट्रेसन, थप इच्छुक ग्राहकहरु, र प्रयोगकर्ता संलग्नता तथा एप रोजाइका स्पष्ट प्रमाणहरू प्राप्त भए । यी उपलब्धिहरूले समावेशी र पहुँचयोग्य डिजिटल समाधानमार्फत वास्तविक अनुभव प्रदान गर्ने मेटलाइफ नेपालको प्रतिबद्धता झल्काउँछन् । 'यो सम्मानले हामीले मानिसहरूलाई अझ आत्मविश्वासपूर्ण भविष्य निर्माण गर्न सहयोग गर्ने उद्देश्यमा अडिग रहेको पुष्टि गर्छ । हामी हाम्रा ग्राहकहरूलाई स्वस्थ जीवनयापनमा सहयोग गर्न प्रतिवद्ध छौं । स्वास्थ्य सेवा र सुरक्षा केवल पहुँचयोग्य मात्र होइन, उनीहरूको डिजिटल जीवनशैलीमा सहज रूपमा समाहित हुने बनाउने हाम्रो लक्ष्य हो,' मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव पाँच मात्रै भएको बैठकलाई अवगत गराइयो । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आव लाग्नुअगावै आगामी आव बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सभा राखिएको हो ।
महानगर यातायातको विद्युतीय बस सञ्चालनमा
काठमाडौं । महानगर यातायात प्रालिले बुधबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गर्दै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताए । उनले भने, 'सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्नेछ, आवश्यक नीति तथा संरचनात्मक सहयोग प्रदान गर्नेछ । यातायात क्षेत्रमा प्रविधिको उपयोग गर्दै नागरिकको पहुँच सहज, सुरक्षित र भरपर्दो बनाउनु प्राथमिकता हो ।' कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले महानगर यातायात प्राली पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी भएको बताए । कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले निकट भविष्यमै उपत्यका र आसपासका अन्य क्षेत्रमा समेत विद्युतीय बस सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए । सो कम्पनीले चन्द्रागिरी, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बससेवा सञ्चालन गरिसकेको छ । कम्पनीले स्वस्थ वातावरणको प्रवर्द्धन र सहरी यातायातको दिगो विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
चन्द्रागिरीको बजेट २ अर्ब ९३ करोड पारित
काठमाडौं । चन्द्रागिरी नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ । नगरसभाको १६ औँ अधिवेशनले चालुखर्चतर्फ एक अर्ब २२ करोड ७८ लाख रुपैयाँ र पुँजीगत खर्च एक अर्ब ७० करोड ६८ लाख रुपैयाँ रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरप्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२/८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे । उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्दै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वान समेत गरे ।
टक्सार पिखुवाले पायो अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र, कार्बन व्यापारमा सूचिकृत
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । यस उपलब्धिसँगै कम्पनी कार्बन व्यापारमा सूचिकृत हुने नेपालको पहिलो जलविद्युत् आयोजना बनेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले कम्पनीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको छ । मंगलबार सम्पन्न इप्पानको २३औं वार्षिक साधारणसभाको अवसरमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले टक्सार पिखुवालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कम्पनीले अब छिट्टै कार्बन व्यापार वापतको राजस्व पनि प्राप्त गर्नेछ । टक्सार पिखुवा खोला जलविद्युत् आयोजना, भोजपुरमा ८.५ मेगावाट क्षमतासहित सञ्चालित छ, जसले २०७७ सालको चैतदेखि नियमित रूपमा विद्युत् उत्पादन गरिरहेको छ । नेपालकै पहिलो कार्बन व्यापारमा सूचिकृत आयोजना बन्न सफल टक्सार पिखुवा अब स्वच्छ ऊर्जा, दिगो विकास र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्ने लक्ष्यसाथ अघि बढिरहेको कम्पनीले जनाएको छ ।
जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्याउँदै दिगो
काठमाडौं । दिगो ग्रुप अफ कम्पनीले पहिलो पटक जुम्लामा ९ वटा डीएफएसके डाफे विद्युतीय भ्यान हस्तान्तरण गरेको छ । यो उपलब्धिले ग्रामीण भेगमा विद्युतीय सवारी पुर्याउँदै स्वच्छ ऊर्जा, दिगो यातायात र प्रदूषण न्यूनीकरणतर्फको प्रतिबद्धतालाई झल्काएको कम्पनीले जनाएको छ । यी विद्युतीय भ्यानहरू जुम्लाका छोटो दूरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिनेछन्, जसले यात्रुहरूलाई शान्त, स्वच्छ र किफायती यात्रा सुविधा दिनेछ । साथै, इन्धनमा निर्भरता घटाउनुका साथै वायु प्रदूषण न्यूनीकरणमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ । चार्जिङ पूर्वाधार विकासलाई ध्यान दिँदै, दिगोले ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामै जडान गर्दैछ । साथै, आगामी दिनमा चार्जिङ स्टेशनहरू जुम्ला बसपार्क, नाग्मा बजार, र नाग्मा-गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना रहेको छ । दिगो ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठ भन्छन्, 'जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्याउनु हाम्रो लागि गर्वको कुरा हो । यस उपलब्धिले विद्युतीय सवारीसाधनको सम्भावनालाई पुष्टि गरेको छ। आगामी दिनमा हामीले देशभरि यसको पहुँच विस्तार गर्दै लैजानेछौं ।' दिगोले ‘मिसन जेरो एमिसन’ भन्ने अभियानअन्तर्गत विद्युतीय सवारीसाधनको सम्पूर्ण इकोसिस्टम निर्माण गरिरहेको छ । जहाँ बिक्री, वितरण, सर्भिस, स्पेयर पार्ट्स, लिजिङ, चार्जिङ पूर्वाधारदेखि राजमार्गका लागि आधुनिक रेस्ट स्टपको व्यवस्थासम्म समेटिएको छ । स्वच्छ ऊर्जा र आधुनिक प्रविधिको प्रयोगमा समर्पित दिगोले नेपाललाई स्वच्छ, दिगो र आत्मनिर्भर भविष्यतर्फ डोर्याउने लक्ष्य राखेको छ ।