विकासन्युज

साउने सङ्क्रान्ति पर्व देशभर मनाइँदै, राक्षसको पूजा गरी अगुल्टो फाल्ने

काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली असार महिना भर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् ।  एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रूपमा भगवान शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ ।  महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।

आज पाँच प्रदेशमा अत्यधिक वर्षा हुने, मनसुनी वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।  महाशाखाका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने छ ।  देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ । सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।  ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

त्रैमास सकिएको १५ दिनपछि वित्तिय विवरण सार्वजनिक गर्न पाइने, राष्ट्र बैंकले गर्यो यी नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका लागि एकिकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशन जारी गर्दै मौद्रिक नीतिमा गरिएका व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।  २०८० कात्तिकको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम लगायतका क्षेत्रमा संचालनमा रहेका व्यवसायहरुमा प्रवाहित कर्जा तथा उक्त क्षेत्रमा बसोवास गरिरहेका सर्वसाधारणले लिएको आवासीय घर कर्जा लगायत प्रयोजन खुलेका व्यक्तिगत कर्जालाई ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरेको छ ।  यस्तो पुनरतालिकीकरण र÷वा पुनरसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नु पर्ने व्यवस्था राष्ट्र बैंैकले गरेको । यसरी पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ । यस्तै, कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको छ । रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्नेछ । तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरु÷ परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।  पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्ति (ँष्चकत ज्यmभ द्यगथभच) लाई देहायको शर्तहरुको अधीनमा रही प्रदान गरिने रु. ३ करोडसम्मकोआवासीय घर कर्जामा बढीमा ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरेको छ ।  व्यक्तिगत आवासीय घर कर्जा सीमा गणना गर्दा रु. ३ करोड वा सो भन्दा कमको व्यक्तिगत आवासीय घर कर्जालाई समावेश गर्नु नपर्ने व्यवस्था गरेको छ ।  बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रयमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ ।  साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ । यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ ।  तर, चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको ३० दिनभित्र प्रकाशन गर्नु पर्ने व्यवस्था गरेको छ ।  वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई धितो लिई वा नलिई उपलब्ध गराएको प्रतिव्यक्ति रु. तीन लाखसम्म तथा महिलाहरुको हकमा रु. पाँच लाखसम्मको कर्जा कायम गरिएको छ ।  राष्ट्र बैंकले यस बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराईने कर्जाको ब्याजदर (बैंकदर) ६.० प्रतिशत, ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर २.७५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ४.५ प्रतिशत कायम गरिएको व्यवस्था गरेको छ । 

काठमाडौंमा इन्टरप्रेनरसिप सम्मेलन हुँदै, ६ देशका विशेषज्ञ सहभागी हुँदै

काठमाडौं । किङ्स कलेजले नेपाल इन्टरप्रेनरसिप सम्मेलन गर्ने भएको छ । बुधबार कलेजमा पत्रकार सम्मेलन गर्दै कलेजले आगामी साउन १०–११ गतेसम्म सम्मेलन गर्न लागेको जानकारी दिएको छ । नेपालमा उद्यमशीलता र व्यवसाय शिक्षा प्रदान गर्दै आइरहेको कलेजले सोल्टी होटेलमा आयोजना गर्न लागेको सम्मेलनमा नेपालसहित  फिनल्याण्ड, जापान, भारत, बङ्गला देश, र कोसोभो लगायतका देशका २५ भन्दा बढी वक्ता र विज्ञहरू सहभागी हुने जनाएको छ । ‘टुवर्डस् सस्टेनेबल इन्टरप्रेनरसिप इकोसिस्टम’ भन्ने मूल नाराका साथ आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो संस्करण हो । दुई दिने यो कार्यक्रमले दिगो उद्यमशीलता क्षेत्रमा कार्यरत शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी, तथा सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य लिएको छ । सम्मेलनले शैक्षिक ज्ञान र व्यवहारिक अनुभवलाई जोड्दै, उद्यमशीलताको विविध पक्षमा गहन संवाद र छलफललाई प्रवद्र्धन गर्न सहकार्यको अवसर प्रदान हुने कलेजले विश्वास लिएको छ ।  कार्यक्रमको बारेमा जानकारी दिँदै अनुसन्धानकर्ता एंव कार्यक्रम संयोजक सगुनबाबा श्रेष्ठले २०१६ सालदेखि अन्तराष्ट्रिय सम्मेलन गर्दै आएको बताइन् । उनले सम्मेलनका सत्रहरूमा शैक्षिक अनुसन्धान र व्यावसायिक कार्यान्वयनबीच सम्बन्ध उजागर गर्ने गरी विचार-विमर्श, शोधपत्र प्रस्तुतिकरण गरिने बताइन् । सम्मेलन कनभेनर तथा किङस कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डेले  यस्ता सम्मेलनले नेपालमा पनि नवप्रवर्तनलाई प्रोत्साहन गर्न सहयोग पुग्ने बताए । उनले भने, ‘यो सम्मेलनले आर्थिक वृद्धिमा टेवा दिन, बेरोजगारी न्यूनीकरण गर्न, दिगो विकासलाई प्रवद्र्धन गर्न, र विकासशील राष्ट्रका युवाहरूलाई उनीहरूले सामना गरिरहेका चुनौतीहरूसँग जुझ्न सहयोग पुर्याउने आशा गरेका छौं ।’ कार्यक्रममा  अन्तर्राष्ट्रिय तथा स्थानीय उद्यमी, अनुसन्धान नीतिनिर्माता, विकास साझेदार, सरकारी प्रतिनिधि, र विद्यार्थी गरी २ सय भन्दा बढी सहभागीहरू हुने अपेक्षा गरिएको छ ।  कलेजका अध्यक्ष नरोत्तम अर्यालले २०११ मा किङस कलेज टेकओभर गर्दा नेपालमा उद्यमशीलता शिक्षा निकै कम रहेको स्मरण गरे । विकासका लागि बैङ्कतर्फको आकर्षण बढी रहेको बेला उद्यमशीलताको आवश्यकता गर्दै सुरु गरेको कलेज अहिले अन्तराष्ट्रिय सम्मेलन गर्ने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गरे ।  नेपाली युवाहरू स्वदेशमा अवसर नभएको भन्दै वैदेशिक रोजगारीका लागि विदेश भइरहेको बेला स्वदेशमा भएका रिसोर्सलाई कसरी भ्यालुएड गर्न सकिन्छ भन्ने उद्देश्यले उद्यमशीलता शिक्षा सुरु गरेको बताए ।  पहिलो चरणमै इन्टरप्रेनरसिप कार्यक्रम लन्च गरेको थियो । धेरै आरोहअवरोह गर्दै अहिले यो अवस्थामा पुगेको बताए  ।  कार्यक्रम सुरु गर्दा विद्यार्थीको रुचि यो विषयमा धेरै कम  थियो । तर पछिल्लो समयमा विद्यार्थीको आकर्षण निकै बढेको छ । एउटा ब्याचमा ६, ७ जना विद्यार्थीलाई जम्मा गरेर, आफै चिया कफी खाएर विद्यार्थीलाई उद्यमशीलताका विषयमा पढाउन सुरु गरेका थियौं, उनी भन्छन्,‘अहिले आउँदा, नेपालमा उद्यमशिलताको विषयमा चर्चा हुन्छ, पढाइ हुन्छ सरकारले पनि धेरै कार्यक्रम ल्याएको छ , बैंकहरूले पनि प्राथमिकता दिएको छ अहिले निकै खुसी लागेको छ ।’  उद्यमशीलता अहिले पनि गर्न धेरै बाँकी रहेको भन्दै अर्यालले नेपाललाई साच्चै अगाडि बढाउने हो भने हरेक क्षेत्रमा उद्यमीहरूको जरुरी रहेको बताए । ‘उद्यमी नयाँ भेन्चर क्रियट गर्ने मात्र होइन उद्यमशिल मानसिकताको जरुरी छ,’उनी थप्छन्, ‘नेपालमा राजनीतिमा उद्यमशिलताको जरुरी छ, शिक्षामा उद्यमशीलता चाहिएको छ, संसार धेरै अगाडि बढीसक्यो समाज धेरै अगाडि बढिसक्यो तर, जे भइरहेको छ त्यो भन्दा कसरी नयाँ तरिकाले अगाडि बढ्न सकिन्छ भन्ने कुरा सोच्न सक्योमात्र केही गर्न सकिन्छ ।’  शिक्षित भट्टले टुटलबारे सोच्दा राइडसेयरिङ यहाँसम्म पुगेको सुनाए । ‘नेपाल बैंक अथवा राष्ट्रिय बाणिज्य बैंकमा एउटा चेक साट्जाँदा सात वटा झ्यालमा जानुप्रथ्यो अहिले विश्वास ढकालले सोच्दा बैङकिङ क्षेत्रलाई कहाँबाट कहाँसम्म पुर्यायो अहिले हातको मोवाइलबाट एकैछिन पेमेन्टको काम हुन्छ यो सबै उद्यमशिल मानसिकता हो,’ उनले भने ।   उनले अब सरकारको मुख ताक्नुभन्दा व्यक्ति आफैले आफैसँग भएको स्रोत र साधनमा आधारित नयाँ प्रविधि प्रयोग गरी कसरी हाम्रा समस्या हामी नै समाधान गर्न सक्छौं भनेर लाग्नुपर्ने बताए ।    

आइक्यानको अध्यक्षमा निल सारु मगर र उपाध्यक्षमा आनन्द शर्मा निर्वाचित

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा सीए निल बहादुर सारु मगर निर्वाचित भएका छन् ।  यसअघि उपाध्यक्ष रहेका मगर आइक्यानको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।  यस्तै, आइक्यानको उपाध्यक्षमा सीए आनन्द राज शर्मा वाग्ले निर्वाचित भएका छन् ।

काठमाडौं महानगरको बजेट पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । महानगरले आगामी आवको लागि रु २५ अर्ब  ७६ करोड ४३  लाख ४१ हजार रुपैयाँ बजेट प्रस्ताव गरेकोमा १७ औँ नगरसभाले पारित गरेको हो । महानगरले नगर सभाको पहिलो बैठकमा सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको थियो ।   

आगामी दशकमा १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न उद्योग परिसंघको पहल

काठमाडौं । नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन् ।  परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने गरी बजेट ल्याएको र बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएकाले अर्थतन्त्रमा सुधार हुने अपेक्षा निजी क्षेत्रले राखेको बताए । उनले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य राखेको र यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिए ।  १०० अर्ब डलरको अर्थतन्त्र एवं दोहोरो अंकको आर्थिक बृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत अध्ययन सुरु गरेको जानकारी समेत उनले गराए । अध्यक्ष पाण्डेले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न एवं उधारो उठाउने ऐन ल्याउन आग्रह गरे ।  सो अवसरमा अर्थमन्त्री पौडेलले नवनिर्वाचित समितिलाई बधाई दिँदै परिसंघले उठाएका विषयलाई गम्भिरतापूर्वक लिएको बताए । उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई सरकारले अपनत्व लिएको र कार्यान्वयन प्रक्रियामा लगिसकेको बताए । चरणवद्ध रुपमा अगाडि बढाउनुपर्ने सुझावहरुलाई सोही अनुरुप अगाडि बढाइने उनले बताए । अवैध कारोबारका कारण सबैभन्दा ठूलो असर सरकारको राजस्वमा परेको भन्दै उनले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने बताए । मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ सालको बजेट कार्यान्वयनमा पनि रचनात्मक भूमिका खेल्न आग्रह गरे ।  अर्थमन्त्रीसँगको छलफलमा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु राज बहादुर शाह, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।   

भावना घिमिरे लुम्बिनी लायन्सको सीईओमा नियुक्त

काठमाडौ । लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ । उनी पूर्व क्यान सीईओसमेत हुन् । उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ । घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन् । आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन् । यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउने छ भन्ने लुम्बिनी लायन्सले विश्वास लिएको छ, साथै खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने कम्पनीले जनाएकाे छ । भावना घिमिरेको नियुक्तिको विषयमा आफ्नो प्रतिक्रिया दिँदै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, 'हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं । उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने मलाई लागेको छ ।'