विकासन्युज

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको अपेक्षा समेटिएन : नाडा

काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएशन (नाडा) ले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको मौद्रिक नीताले अटोमोबाइल क्षेत्रको माग र सुझावलाई बेवास्ता गरेको गुनासो गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नाडाले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति अटोमोबाइल व्यवसायीहरूको न्यूनतम अपेक्षा भन्दा निकै टाढा रहेको जनाएको छ । नाडाका अनुसार सवारीसाधन आयातसँग सम्बन्धित नीतिहरूमा कुनै सहजीकरण गरिएन, लक्जरी, हेवी सेग्मेन्ट र उच्च प्रविधिका सवारीसाधनसम्बन्धी नीति जस्ताको तस्तै राखिएको छ । मौद्रिक नीतिले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न खोजेको भए पनि, प्रत्यक्ष कर्जा प्रवाहको प्राथमिकता दिइएको छैन । यसलाई ग्रिन फाइनान्सको सन्दर्भमा मात्र उल्लेख गरिएको छ । सवारी ऋण, आयात प्रक्रिया तथा औद्योगिक मान्यतामा उल्लेखनीय सुधार नभएको भन्दै नाडाले मौद्रिक नीतिलाई ‘अनुदार’ भनेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीहरूको स्वीकृति, सेवा शुल्क, ब्याजदर गणना लगायतका विषयमा भने केही सकारात्मक संकेत देखिएको नाडाले जनाएको छ । नाडाले अटोमोबाइल क्षेत्रलाई प्रोत्साहन गर्ने स्पष्ट रोडम्याप मौद्रिक नीतिमा नरहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'रोजगारी सिर्जना, विद्युतीय इकोसिस्टम प्रवद्र्धन र औद्योगिकीकरणमा अटोमोबाइल क्षेत्रको योगदान महत्त्वपूर्ण छ । त्यसैले यस क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सहजीकरण गर्न आवश्यक छ ।' नाडाले सरकारले अटोमोबाइल क्षेत्रको आर्थिक महत्वलाई गम्भीरतापूर्वक बुझी आवश्यक सहयोग र नीतिगत हस्तक्षेप तत्काल गर्नुपर्ने माग समेत गरेको छ ।

करेन्ट नुडल्सको नयाँ आउटलेट अनामनगरमा, केकी अधिकारीले गरिन् उद्घाटन

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आउटलेट ’करेन्ट पोइन्ट’को नयाँ शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । बुटवलमा रहेको करेन्ट पोइन्टको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबारदेखि काठमाडौंको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो । सिंहदरबारको विपरित दिसामा, न्यू प्लाजा जाने बाटोमा खोलिएको यस करेन्ट पोइन्टको उद्घाटन समारोहमा अभिनेत्री तथा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर केकी अधिकारीको पनि उपस्थिति रहेको थियो । उनको उपस्थितिमा ग्राहकहरुको भीड लागेको थियो । समारोहमा यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलमा करेन्ट पोइन्टले पाएको माया र सफलताले आफूहरुलाई काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए । उनले भने, 'काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्दछौं, करेन्ट पोइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्नेछ ।' उक्त समारोहमा यसोदा फुड्सका ग्लोबल सीईओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा मिडियालाई जानकारी दिएका थिए । साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेष गरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलीस्यस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । करेन्टका पारखीहरूले अब अनामनगरमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्ने कम्पनीले जनाएकाे छ ।   

ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर हस्तान्तरण

काठमाडौं । ग्रामीण भेगमा सुरक्षित मातृ–शिशु स्वास्थ्य सेवाको अभावलाई मध्यनजर गर्दै ज्योति विकास बैंकले काभ्रे जिल्लाको मंगलटार स्वास्थ्य चौकीमा नवजात शिशुहरूको ज्यान जोगाउन अत्यावश्यक उपकरण ‘बेबी वार्मर’ (न्यानो नानी) प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत उक्त मेसिन हस्तान्तरण गरेको हो । मंगलटार, रोशी गाउँपालिका–९ स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका प्रतिनिधिहरू, स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो । सोही अवसरमा अस्पतालका स्वास्थ्यकर्मीहरूलाई विज्ञ मार्फत बेबी वार्मरको सञ्चालनसम्बन्धी विशेष तालिम पनि दिइएको छ । ग्रामीण क्षेत्रमा हाइपोथर्मिया (शरीरको तापक्रम असामान्य रूपमा घट्नु) को जोखिम उच्च हुने भएकाले यस्तो उपकरण अत्यावश्यक हुने भन्दै बैंकले शाखा नपुगेका दुर्गम क्षेत्रमा पनि यस्ता सेवा विस्तार गरिरहेको जनाएको छ। ज्योति विकास बैंकले हालसम्म देशभर ६२ वटा बेबी वार्मर विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिसकेको छ। यी उपकरणहरूबाट हालसम्म करिब ११ हजार ४७० नवजात शिशु प्रत्यक्ष रूपमा लाभान्वित भइसकेको बैंकको तथ्याङ्क छ । वर्षेनी झन्डै २ हजार २९४ नवजात शिशुलाई जीवनरक्षक सेवा पुर्‍याउन सफल भएको बैंकको दाबी छ । सामाजिक उत्तरदायित्वप्रति गहिरो प्रतिबद्धता राख्दै ज्योति विकास बैंकले आफ्नो खुद मुनाफाको उल्लेखनीय हिस्सा यस्ता समाजोपयोगी कार्यमा खर्च गर्दै आएको छ । बैंकका अनुसार हालसम्म अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशतभन्दा बढी रकम सामाजिक उत्तरदायित्वका लागि छुट्याइएको छ । बैंकले कर प्रणालीमा समेत उल्लेखनीय योगदान दिँदै गएको छ । अघिल्लो आर्थिक वर्षमा करिब ४० करोड रुपैयाँ राजस्वमा योगदान गरेको बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा झन्डै १५ करोड रुपैयाँ राज्यको खातामा बुझाइसकेको जनाएको छ ।

माछापुच्छ्रे बैंकले महाकाली प्रादेशिक अस्पताललाई दियो वाटर चिलर

धनगढी । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको प्रमुख सरकारी अस्पताल महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण गरेको छ । गर्मीको चाप र पिउने पानीको अभावलाई ध्यानमा राख्दै बैंकले अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न उक्त सहयोग प्रदान गरेको हो । शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्याय तथा स्वास्थ्य तालिम केन्द्र, धनगढीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले संयुक्त रूपमा वाटर चिलर महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टलाई हस्तान्तरण गरे । अस्पतालमा दैनिक सयौं बिरामीको आवागमन हुने भए पनि पिउने स्वच्छ पानीको पर्याप्त व्यवस्था नहुँदा समस्या भइरहेको जानकारी पाएपछि बैंकले उक्त सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ । यस सहयोगबाट अस्पताल सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

गुहेश्वरी मर्चेन्ट फाइनान्स नेपालपे कार्डमा आवद्ध

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड एनपीएस नेसनल कार्ड स्वीच (एनसीएस) तथा डोमेस्टिक कार्ड स्कीम नेपालपे कार्डमा आवद्ध भएको छ । उक्त आवद्धतासँगै संस्थाले अब आफ्ना ग्राहकहरूलाई नेपालकै राष्ट्रिय स्तरको कार्ड सेवा प्रदान गर्न सक्नेछन् । एनसीएचएलसँग भएको प्रिन्सिपल मेम्बरसिप सम्झौतापत्रमा फाइनान्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । एनसीएचएलले हालै एनपीएस एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालपे कार्ड इस्यु र एक्वायर गर्न आह्वान गरेसँगै विभिन्न संस्थाहरू यस प्रणालीमा जोडिँदै गएका छन् । नेपालपे कार्डको कमर्सियल रोलआउटपछि गुहेश्वरी मर्चेन्ट बैंकिङ फाइनान्सले आफ्ना ग्राहकलाई सो कार्ड इस्यु र स्वीकृति सेवा दिनेछ । एनपीएस एनसीएसले विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारका लागि सस्तो, सुरक्षित र डिजिटल प्रणाली विकास गर्ने लक्ष्य लिएको छ । यसले कारोबार लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने तथा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

‘मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकलाई आगामी वर्षका कार्यक्रम बनाउन सहज हुनेछ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले पर्याप्त विश्लेषण गरेर कार्यान्वयन मुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइएको बताएका छन् । मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिल्यैदेखि तयारी गरेर मौद्रिक नीति ल्याइएको बताए । उनका अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनीयता राखिएको हो । खरेलले भने, ‘राष्ट्र बैंक ऐनले पनि आगामी बर्षको मौद्रिक नीति तर्जुमा गर्ने भनेको छ । यही महिनामै ल्याउनुपर्ने हो । कहिले यही महिनाको अन्त्यमा त कहिले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने गरिएको छ । विगतमा बजेट आउन ढिलो हुँदा मौद्रिक नीति आउन समय लाग्ने गरेको थियो । १/२ गते नै सर्कुलर गरेर मौद्रिक नीतिलाई कार्यान्वयनमा लैजानेछौँ । नयाँ आर्थिक वर्ष सुरु भए लगत्तै कार्यान्वयनको गति बढ्नेछ ।’ नेपाल राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष शुरु हुनु अगावै मौद्रिक नीति ल्याउन कोसिस गरिने बताए । आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पुरा गर्न सहज हुने उनको विश्वास छ । पौडेलले भने, ‘यो मौद्रिक नीतिको ठूलो स्टेक होल्डर बैंक वित्त संस्था हो । बैंक तथा वित्तीय संस्थाले आगामी वर्षमा गर्नुपर्ने कार्यक्रमहरू, योजनाहरू बजेटहरुलाई पनि यो मौद्रिक नीतिले दिशा निर्देश गरेअनुसार कार्यान्वयन गर्न सहज हुनेछ । अब आगामी आवको योजनाहरू बैंक तथा वित्तीय संस्थाहरूले मौद्रिक नीतिलाई आधार बनाएर बनाउन सक्नेछन् ।’ उनले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरूलाई मौद्रिक नीतिले समेटेको बताए ।

टेक एक्सस् एलिभेट सुरू हुँदै, २० भन्दा बढी रोबोटिक्स र एआई परियोजना प्रस्तुत गरिने

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि महोत्सव ‘टेक एक्सस् एलिभेट २०२५’ को तेस्रो संस्करणको घोषणा गरेको छ । असार ३२ देखि साउन ३ गतेसम्म चार दिन सञ्चालन हुने यो कार्यक्रम कलेजकै परिसरमा आयोजना हुनेछ । टेक एक्सस् एलिभेट २०२५ प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताको उत्कृष्ट प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको छ । आयोजकहरूका अनुसार यसपटकको संस्करण अझ व्यापक, इनोभेटिभ र प्रेरणादायी बन्नेछ । प्रविधिको वास्तविक अभ्यासमा आधारित प्रोजेक्ट प्रदर्शनीमा करिब २० भन्दा बढी रोबोटिक्स र एआई परियोजनाहरू प्रस्तुत गरिने छन् । प्रमुख प्रोजेक्टहरूमा ‘करुणा’ (ज्ञानमा आधारित सहयोगी रोबोट), ‘मिरा’ (शिक्षा क्षेत्रमा प्रयोग हुने स्मार्ट इन्स्ट्रक्सनल रोबोट), ‘वारदोग’ (सुरक्षा निगरानी प्रणाली), ‘स्टडीसेन्स’  र ‘तोमात्रों’ (कृषिमा एआई प्रयोग) समावेश छन् । साथै, केम्लाब वीआर, फिसअवेर, सुरक्षित एभी स्ट्रिम, फ्लिप आरएफआईडी च्यालेन्ज जस्ता परियोजनाहरूले पनि कार्यक्रम समृद्ध बनाउनेछन् । स्टार्टअप उत्सवमा विद्यार्थी तथा पूर्व विद्यार्थीहरूद्वारा सञ्चालनमा रहेका २० वटा स्टार्टअपहरूले आफ्ना व्यवसायिक मोडेल, नवप्रवर्तन र सोच प्रस्तुत गर्ने छन् । यसले नेपालमा उद्यमशीलता कसरी अगाडि बढिरहेको छ भन्ने सन्देश दिनेछ । जब फेयर अन्तर्गत २५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूको सहभागिता रहनेछ । दुई दिने यो रोजगार मेलामा सहभागीहरूले सयौं रोजगारी तथा इन्टर्नसिप अवसरमा पहुँच पाउनेछन् । स्नातकदेखि स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि यो सुनौलो अवसर हुनेछ । उद्यमशीलता मास्टर कक्षा अन्तर्गत विद्यार्थीहरू व्यवसाय सुरु गर्ने अभ्यास, योजना बनाउने तरिका, लगानीकर्ता र मेन्टरहरूसँगको सिधा सम्पर्क र पिचिङ सेसनमा सहभागी हुने अवसर पाउनेछन् । इन्सपायर टक्स मा नेपालका सफल प्रविधिकर्मी तथा उद्यमीहरूद्वारा सञ्चालित प्रेरणादायी सत्रहरू सञ्चालन हुनेछन् । यी सत्रहरूले सहभागीलाई फरक सोच्न र नयाँ दिशा पहिल्याउन उत्प्रेरणा दिने विश्वास लिइएको छ । २ वर्षभन्दा लामो अभ्यास गरेका विद्यार्थी समूहहरूबीचको ‘आइरन क्ल्यास - फलामको महासंग्राम’ नामक प्रतिस्पर्धामा प्रविधिको प्रयोग र कार्यान्वयन देख्न पाइनेछ । कार्यक्रममा भविष्यका टेक लिडर, रोजगारी खोजिरहेका आईटी विद्यार्थीहरू, नवप्रवर्तनशील स्टार्टअप फाउन्डर, लगानीकर्ता, मेन्टर, मिडिया र इन्फ्लुएन्सरहरू समेत सहभागी हुने अपेक्षा गरिएको छ । सफ्टवारिका कलेजले टेक एक्सस् एलिभेट २०२५ लाई शिक्षा, इनोभेसन र प्रभावशाली सोचको साझेदारीका रूपमा प्रस्तुत गर्दै प्रविधिमा आधारित, प्रयोगात्मक र विश्वस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।

बलेफी हाईड्रोपावरको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रार परिवर्तन गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार अबदेखि सेयर कारोबारसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत सञ्चालन हुने भएको हो । काठमाडौंस्थित हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिएपछि अब उक्त संस्थाले सेयर अभिलेख व्यवस्थापन, दाखिला-खारेज, नामसारी, रोक्का राख्ने तथा लगत अद्यावधिक सम्बन्धी कार्यहरू सम्पादन गर्नेछ । यस सम्बन्धमा बलेफी हाईड्रोपावरको दरबारमार्गस्थित रजिष्ट्रर्ड कार्यालयमा शुक्रबार एक औपचारिक समारोह आयोजना गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कम्पनीले यो निर्णयबारे सम्पूर्ण सेयरधनीहरू र सरोकारवालाहरूलाई जानकारी गराउँदै आगामी दिनमा सेयरसम्बन्धी सम्पूर्ण प्रक्रिया हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडबाट सम्पादन हुने स्पष्ट पारेको छ ।