काठमाडौं महानगरको बजेट आउने बाटो खुल्यो, बालेनले बोलाए कार्यकापालिका बैठक
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका बैठक बोलाएको छ । शाहले शुक्रबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको छ । मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण ६ महिनादेखि बस्न नसकेको काठमाडौं महानगरपालिकाको बैठक भोलि बस्ने तय भएको हो । शुक्रबार बैठक बस्ने तय भएसँगै आगामी आवको बजेट सार्वजनिक गर्ने बाटो खुलेको छ । महानगरले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था भएपनि बैठक बस्न नसक्दा बजेट रोकिएको थियो । मासिक कम्तीमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था भएपनि काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि बैठक बस्न सकेको थिएन । महानगरले असारभित्रै बजेट ल्याउने तयारी गरिरहेको छ । त्यसका लागि कार्यपालिकाले बजेटका लागि आवश्यक समिति बनाउने र चाँडै नगरसभा बसेर नीति तथा कार्यक्रम र बजेट ल्याउने योजना रहेको महानगरले जनाएको छ ।
अब सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने
काठमाडौं । अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । मन्त्रालयले अस्पतालहरुसँग भएका उपकरण तथा उनीहरुको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरुमा अनिवार्य रुपमा मेडिकल उपकरणको अडिट अनिवार्य गर्ने निर्णय गरेको हो । हाल मन्त्रालयमा यसरी उपकरणको अवस्थाबारे तथ्यांक प्राप्त गर्ने व्यवस्था नै नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चासो देखाएका थिए । उनले अस्पतालहरुका बिग्रिएका उपकरणबारे जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएका थिए । त्यसक्रममा कैयौं सामान्य खर्चमै मर्मत गर्न सकिने उपकरण थन्किएको पाइएको थियो । त्यसयता मन्त्रालयले उपकरणको अवस्थाबारे जानकारी प्राप्त गर्नका लागि विवरण प्राप्त गर्न पहल थालेको थियो । तीन वर्ष अघि देखि नै प्रयास थालिए पनि मन्त्रालयको निर्णयले अब उपकरण लेखापरीक्षणको ढोका खुलेको हो । अब यस व्यवस्थाले उपकरणको सुरक्षा तथा मर्मत गर्नुपर्ने भए सोसम्बन्धी जानकारी मन्त्रालयले प्राप्त गर्ने र यसले अभिलेख व्यवस्थापनमा पनि सहज हुने मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्माले बताए । उपकरणको स्थिति पहिचान, मर्मत आवश्यक भए नभएको जानकारी, सुरक्षा तथा स्टक व्यवस्थापन आदिमा यसले सघाउने उनले बताए । सामान्य मर्मत गर्न सकिने उपकरण भए पनि अस्पतालहरुले त्यसको मर्मतमा ध्यान नदिंदा नयाँ खरिदमा ठूलो धनराशी खर्च भैरहेको छ । हालै मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रमार्फत गरिएको अध्ययनमा कैयौं सामान्य मर्मत गर्न सकिने उपकरण बिग्रिएर थन्किएको पाइएको थियो । केन्द्रले झण्डै २४ करोड लाग्ने ती उपकरण २३ लाखमा मर्मत गरिएको विवरण पेश गरेको थियो । यसैगरी, कतिपय अस्पतालमा उपयोग नभएर रहेका उपकरण आवश्यक परेका स्थानमा पठाउन समेत प्राप्त तथ्यांकले सहजता प्राप्त हुने अधिकारीहरुले बताएका छन् ।
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताएका छन् । बिहीबार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिले भएका रंगशालाहरु साना भएको र अब बन्ने रंगशाला ५० हजार दर्शक क्षमता भन्दा माथिका हुने दाबी गरे । आफूले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा रंगशालाहरु अब साना भए । अहिलेका रंगशालाहरु साना भए । अब हामी ठूला रंगशाला बनाउँछौँ । मैले सोचेको छु, सूर्यविनायक उतापटि जगाती, चाइनिज इँटाभट्टा भन्ने थिए । झापामा पूर्वाञ्चलका लागि पनि गहना हुने खालको रंगशाला बनाउँदैछौँ । न्युनतम २५ हजार नभए ५० हजार अट्ने रंगशाला बनाउँछौँ । १५ हजारले हेर्ने खालको रंगशाला होइन कम्तिमा ५० हजारले हेर्ने रंगशाला भन्दा सानो अब हुँदैन ।’ प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमणमा जाँदा रियल मड्रिड रंगशालाको अवलोकन गरेको र त्यहाँका खेलाडीहरुलाई आफूले नेपालको खेल क्षेत्रको सहयोगका लागि आउन आग्रह गरेको बताए । नेपाली खेलाडी र खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षभित्र त्यहाँका खेलाडीहरु ल्याउनसक्ने सम्भावना रहेको जानकारी दिए ।
अब ९ लाख ५० हजार मूल्यमै विद्युतीय कार पाइने, एक लाखसम्मको नगद छुट
काठमाडौं । नेपाली बजारमा ९ लाख ५० हजार रूपैयाँ मूल्य पर्ने नयाँ इलेक्ट्रिक गाडी (ईभी ) किन्न पाइने भएको छ । हिमालयन ईभी प्रालिले एनयू ब्रान्डको ‘र्यापटर ’ नामक रेन्ज एक्सटेन्डर ईभी बजारमा किन्न पाइने जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक पेम साङबो शेर्पाले ग्राहकको मागलाई मध्येनजर गर्दै सस्तो कार नेपाल भित्र्याएको बताए । शेर्पाले भने, ‘हामीले यो ईभी चिनबाट ल्याएका हौं । याे हालसम्मकै सस्तो कार हाे, सबैले किन्न सक्ने मूल्य छ, यसमा बीमा छुट पनि दिएका छाैं,' उनले भने । चार ढोका र चार सिट भएको याे कारले दोस्रो पुस्ताको मन जित्ने अनुमान गरिएकाे छ । कम्पनीले सुरुवाती अफर अन्तर्गत ग्राहकहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट कुपन प्रदान गर्ने जनाएको छ । चीनको शानडोङमा निर्मित यस कारको लम्बाइ २९०० एमएम, चौडाइ १३८० एमएम र उचाइ १६५० एमएम छ । यसमा २००० एमएमको ह्वीलबेस र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ, कार नेपाली सडकका लागि उपयुक्त छ । ब्याट्री, मोटर र रेन्ज कम्पनीका अनुसार यसमा १२.५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले १०० न्यूटन मिटरको टर्क उत्पादन गर्छ । गाडीमा ६ किलोवाट आवरको एलएफ ब्याट्री प्याक रहेको छ, जसले एक पटकको पूर्ण चार्जमा १२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यो ब्याट्री पूर्ण चार्ज हुन करिब ५ घण्टा लाग्छ । रेन्ज एक्सटेन्डर प्रविधि यस गाडीको सबैभन्दा विशेष पक्ष यसमा भएको रेन्ज एक्सटेन्डर प्रविधि हो । ब्याट्रीको चार्ज सकिएमा गाडीमै जडित जेनेरेटरले ब्याट्री चार्ज गर्छ । यो जेनेरेटर चलाउनका लागि ५ लिटर क्षमताको पेट्रोल ट्याङ्की दिइएको छ । चीनमा चर्चित यो प्रविधिलाई EREV (Extended Range Electric Vehicle) अर्थात् विस्तारित दायरा इलेक्ट्रिक वाहन भनिन्छ, जसले लामो यात्रामा चार्जिङको चिन्ता कम गर्छ। अन्य सुविधाहरू र्यापटरमा एयर कन्डिसन (AC), चारै चक्कामा डिस्क ब्रेक, इन्डिपेन्डेन्ट सस्पेन्सन, सेन्सरसहितको रिभर्स क्यामेरा, एलसीडी स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, रोटरी गियर सेलेक्टर र ’टु-वे ब्रेक लक सिस्टम’ जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन् । साथै, छतमा रहेको इलेक्ट्रिक भेन्टिलेसन फ्यान र पछाडिको टेलगेटमा राखिएको स्पेयर ह्वीलले यसको डिजाइनलाई थप आकर्षक बनाएको छ । वारेन्टी र शोरुम हिमालयन ईभीले आफ्ना सबै ईभी मोडेलको मोटरमा २ वर्ष र ब्याट्रीमा ३ वर्ष वा ३० हजार किलोमिटर (जुन पहिले आउँछ) को वारेन्टी दिएको छ । कम्पनीको शोरुम काठमाडौंको उत्तरढोकामा रहेको छ ।
ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन
जेनेभा । जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण गर्यो, ह्युमनोइड (मानव सदृश) रोबोटले स्तरित र जटिल टुक्रालाई प्रेरित गरेको वर्णन गर्यो र मानिसहरूलाई ‘प्रतिस्थापन’ गर्ने कुनै योजना नभएको जोड दियो । संसारको सबैभन्दा उन्नतमध्ये एक अल्ट्रा–रियालिस्टिक रोबोटलाई अभिव्यक्तिपूर्ण, जीवन्त अनुहार, ठूला हेजेल आँखा र बब कटमा काटिएको खैरो कपाल भएकी मानव महिला जस्तै देखिने गरी डिजाइन गरिएको छ । यद्यपि हातहरू खुला धातुसहित स्पष्ट रूपमा रोबोटिक छन् र यसलाई अभ्यास गरिरहेको कलाको रूप अनुसार बदल्न सकिन्छ । गत वर्षको अन्त्यमा आइ–डाको अङ्ग्रेजी गणितशास्त्री एलन ट्युरिङको चित्र लिलामीमा बेचिएको ह्युमनोइड रोबोटको पहिलो कलाकृति बन्यो । उक्त चित्रले १० लाख डलरभन्दा बढी कमाएको थियो । तर आइ–डाले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर कल्पना गरिएको आफ्नो पछिल्लो सृजना ‘एल्गोरिदम किङ’ शीर्षकको तेल चित्र अनावरण गर्दा ह्युमनोइडले कामको महत्त्व पैसामा मापन गर्न सकिँदैन भनेर जोड दियो । ‘मेरो कलाकृतिको मूल्य नयाँ प्रविधिहरूमा नैतिक आयामहरू अन्वेषण गर्ने छलफलका लागि उत्प्रेरकका रूपमा काम गर्नु हो’, रोबोटले जेनेभामा बेलायतको कूटनीतिक मिसनमा एएफपीलाई भन्यो । त्यहाँ राजा चार्ल्सको नयाँ चित्र राखिएको छ । आइ–डाले ढिलो, सोचेर र सम्झेर यसको उद्देश्य ‘आलोचनात्मक सोचलाई बढावा दिनु र अधिक न्यायसङ्गत तथा दिगो भविष्यका लागि जिम्मेवार नवप्रवर्तनलाई प्रोत्साहित गर्नु’ हो भनेर जोड दियो । अद्वितीय र रचनात्मक संयुक्त राष्ट्रसङ्घको एआई फर गुड समिटको साइडलाइनमा बोल्दै स्केच, चित्रकारी र मूर्तिकलाहरू गरेको आइ–डाले यस कामको पछाडिको विधि र प्रेरणाको विस्तृत वर्णन गर्यो । ‘मेरो कला सिर्जना गर्दा म विभिन्न प्रकारका एआई एल्गोरिदमहरू प्रयोग गर्छु, रोबोटले भन्यो, म एउटा आधारभूत विचार वा अवधारणाबाट सुरु गर्छु जुन म अन्वेषण गर्न चाहन्छु, र म कलाको उद्देश्यको बारेमा सोच्छु । यसले के भन्छ ?’ ‘राजा चार्ल्सले वातावरणीय संरक्षण र अन्तरधर्मी संवादमा चेतना जगाउन आफ्नो मञ्च प्रयोग गर्नुभएको छ । मैले यो चित्रलाई त्यसको उत्सव मनाउन लक्षित गरेको छु । मलाई आशा छ कि राजा चार्ल्सले मेरो प्रयासको कदर गर्नुहुनेछ’, ह्युमनोइडले भन्यो । आधुनिक र समकालीन कलाका विशेषज्ञ एडन मेलरले अक्सफोर्ड र बर्मिङ्घम विश्वविद्यालयका आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञहरूसँग मिलेर सन् २०१९ मा आइ–डा सिर्जना गर्ने टोलीको नेतृत्व गरेको थियो । ‘चित्रकारहरूलाई प्रतिस्थापन गर्न’ नभई एक नैतिक कला परियोजनाका रूपमा विश्वको पहिलो कम्प्युटर प्रोग्रामर अदा लभलेसको नाममा ह्युमनोइड रोबोटको कल्पना गरेको बताए । आइ–डाले सहमति जनायो ‘एआईले हाम्रो संसारलाई परिवर्तन गरिरहेको छ जसमा कला जगत् र मानव रचनात्मक अभिव्यक्तिका रूपमा समावेश छ भन्नेमा कुनै सन्देह छैन, रोबोटले स्वीकार गरेको छ, तर एआई वा मेरो कलाकृतिले मानव कलाकारहरूलाई प्रतिस्थापन गर्नेछ भन्ने मलाई विश्वास छैन ।’ यसको सट्टा, आइ–डाले भन्यो, ‘यसको उद्देश्य दर्शकहरूलाई यसको जोखिम र सीमितताहरूप्रति सचेत रहँदै हामी कसरी एआईलाई सकारात्मक रूपमा प्रयोग गर्छौं भन्ने बारे सोच्न प्रेरित गर्नु थियो ।’ मेसिनले बनाएको पेन्टिङलाई वास्तवमा कला मान्न सकिन्छ कि भनेर सोधिएको प्रश्नमा रोबोटले ‘मेरो कलाकृति अद्वितीय र रचनात्मक छ’ भनी जोड दिँदै भन्यो, ‘मानिसहरूले यसलाई कला हो कि होइन भनेर निर्णय गर्नु महत्त्वपूर्ण र रोचक कुराकानीको विन्दु हो ।’ रासस
एनआईसी एशिया र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, ग्राहकलाई होटल तथा रेस्टुरेन्टमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सिद्धार्थ हस्पिटालिटी समूहसँग सहकार्य सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीअन्तर्गत सञ्चालित देशभरिका २२ होटल तथा रेस्टुरेन्टहरूमा अधिकतम २० प्रतिशतसम्म छुट पाउने छन् । यस सम्झौता अन्तर्गत खाद्य तथा पेय पदार्थमा अधिकतम १० प्रतिशत र आवास सेवामा अधिकतम २० प्रतिशतसम्मको छुट लागू हुने बैंकले जनाएको छ । उक्त छुट एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा प्राप्त गर्न सकिनेछ । छुट प्राप्त गर्न सकिने आउटलेटहरू सिद्धार्थ होटल न्यू आनन्द (महेन्द्रनगर), सिद्धार्थ होटल (टिकापुर, कैलाली), सिद्धार्थ विलासा (भैरहवा), होटल सिद्धार्थ (नेपालगञ्ज), सिद्धार्थ कटेज (बुटवल), वाटर टावर होटल (नुवाकोट), ग्राण्ड सिटी होटल (बिर्तामोड), बुटिक होटल (बौद्ध), सनी रिसोर्ट (सुर्खेत), चिसापानी रिसोर्ट (कैलाली), होटल नारायणघाट, वाइल्डलाइफ रिट्रिट (मेघौली), विलासा बन्दास (सौराहा), रिभरसाइड रिसोर्ट (चुम्लिङटार) लगायतका होटल तथा एस क्याफे र रेस्टुरेन्टहरूमा यो छुट लागू हुनेछ । यस सहकार्यबाट बैंकका ग्राहकहरूलाई थप सहज बनाउने तथा देशभर घुम्दा लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
विद्रोह र सत्ता दुरुपयोगको आरोपमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनः गिरफ्तार
सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा उनको संक्षिप्त मार्सल ल लगाउने कार्यसँग सम्बन्धित अभियोगमा नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको छ । उनले प्रमाण नष्ट गर्ने जोखिम रहेको विशेष अभियोजकको दाबी स्वीकार गर्दै अदालतले नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको हो । सियोल केन्द्रीय जिल्ला अदालतले जारी गरेको गिरफ्तारी वारेन्टले मार्चमा रिहा भएको चार महिनापछि युनलाई राजधानी नजिकैको हिरासत केन्द्रमा फिर्ता पठाएको छ । सोही अदालतले उनको जनवरीको गिरफ्तारीलाई खारेज गरेको थियो र उनलाई हिरासतमा नराखी विद्रोहको मुद्दामा खडा हुन अनुमति दिएको थियो । उनको आपराधिक मुद्दा विशेष अभियोजक चो युन–सुकको नेतृत्वमा रहेका अन्वेषकहरूको टोलीले सम्हाल्दै छ । टोलीले युनको अधिनायकवादी प्रयासका लागि आधिकारिक कर्तव्यमा बाधा पुर्याउने, शक्तिको दुरुपयोग र आधिकारिक कागजातहरू जालसाजी गर्ने सहित थप आरोपहरू लगाउँदै छ । आइतबार अदालतमा उनको गिरफ्तारी वारेन्टका लागि अनुरोध पेस गर्नुअघि चोको टोलीले उनलाई दुईपटक सोधपुछ गरेको थियो । युनका वकिलहरूले गिरफ्तारी अनुरोधलाई अत्यधिक र आधारहीन भनेर वर्णन गरेका थिए । संवैधानिक अदालतले युनको महाभियोगलाई समर्थन गरेपछि अप्रिलमा औपचारिक रूपमा पदबाट हटाइएका उनको गिरफ्तारीलाई अनुमोदन गर्ने अदालतको निर्णयमा उनीहरूले तुरुन्तै प्रतिक्रिया दिएनन् । विशेष अभियोजकको अनुरोधको समीक्षाका लागि बुधबार दिउँसो अदालतमा पुगेपछि युनले पत्रकारहरूको प्रश्नको जवाफ दिएनन् । करिब सात घण्टा चलेको सुनुवाइपछि युनलाई अदालतको निर्णय पर्खन हिरासत केन्द्रमा लगिएको थियो । युनको नयाँ गिरफ्तारीले सम्भावित रूपमा महिनौँ वा त्यसभन्दा लामो हिरासतमा विस्तारित अवधिको सुरुआत गर्न सक्छ । युनलाई सुरुमा केन्द्रमा २० दिनसम्म हिरासतमा राख्न सकिन्छ । विशेष अभियोजकले उनलाई थप आरोपमा अभियोग लगाउने लक्ष्य राख्नेछन् । यदि युनलाई नयाँ अभियोगमा दोषी ठहर गरियो भने यसले उनलाई अदालतको प्रारम्भिक फैसला नआउन्जेल छ महिनासम्म गिरफ्तारीमा राख्न सक्छ । यदि त्यो अदालतले उनलाई दोषी ठहर गर्यो र जेल सजाय जारी गर्यो भने, युनले त्यो सजाय भोग्नेछन् किनकि यो मुद्दा सम्भवतः उच्च अदालतहरूमा जान सक्छ । चोको टोलीका एक वरिष्ठ अन्वेषक पार्क जी–यङले शुक्रबार युनलाई फेरि सोधपुछ गर्ने योजना बनाएको बताए । युन विद्रोहको आरोपमा उनको पहिलेको अभियोगमा सियोल अदालतमा बिहीबारको सुनुवाइमा अनुपस्थित थिए र उनका वकिलहरूले उनको अनुपस्थितिका लागि तत्काल कुनै स्पष्टीकरण दिएका थिएनन् । पूर्व रूढिवादी युनले डिसेम्बर ३ मा आफ्नो ‘राज्य विरोधी’ उदारवादी विरोधीहरूलाई आफ्नो एजेन्डामा बाधा पुर्याउन आफ्नो विधायीका बहुमत प्रयोग गरेको आरोप लगाउँदै आफ्नो मार्सल ल लगाउने कार्यलाई आवश्यक कदम कदम भनेर वर्णन गरे । तर नेसनल एसेम्बलीमा भारी सशस्त्र सैनिकहरूको नाकाबन्दी तोड्दै सांसदहरूको कोरमले उपाय हटाउन मतदान गरेपछि युनको आदेश केही घण्टा मात्र चल्यो । युनलाई डिसेम्बर १४ मा सांसदहरूले महाभियोग लगाएका थिए र जनवरी २६ मा सरकारी अभियोजकहरूले उनलाई विद्रोहको प्रयासको मास्टरमाइन्डको आरोप लगाए तथा उनको शक्ति कब्जा विधायिका र निर्वाचन कार्यालयहरू कब्जा गर्ने र राजनीतिक विरोधीहरूलाई हिरासतमा लिने अवैध प्रयासको रूपमा वर्णन गरे । यी आरोपहरूको सजाय मृत्युदण्ड वा आजीवन कारावास हुनसक्छ । युनले आवश्यक कानूनी प्रक्रिया अनुसरण नगरी मार्सल ल लागू गरेको आरोपको पनि सामना गर्नुपरेको छ । उनीमाथि औपचारिक क्याबिनेट बैठकद्वारा छलफल र जनवरीको सुरुमा कानून प्रवर्तनद्वारा उनको निवासमा हिरासतमा राख्ने प्रारम्भिक प्रयासलाई रोक्न निजी सेना जस्तै राष्ट्रपति सुरक्षा बललाई गैरकानूनी रूपमा तैनाथ गरेको आरोप लगाइएको छ । उनका उदारवादी प्रतिद्वन्द्वी तथा वर्तमान राष्ट्रपति ली जे म्यङले गत महिना युनको मार्सल ल विफलता र उनकी पत्नी र प्रशासनसँग सम्बन्धित अन्य आपराधिक आरोपहरूमा व्यापक विशेष अनुसन्धान सुरु गर्न कानूनलाई अनुमोदन गरे । लीले युनलाई प्रतिस्थापन गर्न जुनको तत्काल चुनाव जितेका थिए । रासस
‘हाइड्रो र होटलको आईपीओ जारी गरेर सहकारीकाे अवस्था सिर्जना गरिँदैछ, नयाँ स्टक एक्सचेञ्ज आवश्यक छैन’
काठमाडौं । अर्थ समितिमा नयाँ स्टक एक्सचेन्जका बारेमा छलफल भएको छ । बिहीबारको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले स्टक एक्सचेन्जका बारेमा आफूले अर्थ समितिबाट दिएको पहिलेको निर्देशनमा फरक मत राखेको बताए । दोस्रो स्टकको गेम भ्रष्टाचार गर्न नै रहेको पहिले युवराज खतिवडाले बताएको सम्झँदै उनले पुँजीवादी व्यवस्थामा आर्थिक संस्थाहरू कब्जामा जान दिन नहुने बताए । वाग्लेका अनुसार केहीलाई पोस्ने गरेर नयाँ एक्सचेन्ज ल्याए २०८४ मा आफ्नो पार्टीले खारेज गर्ने चेतावनी दिए । आईपीओको खेलमा धितोपत्र बोर्डका अध्यक्ष नै मुछिनु राम्रो नभएको उनले बताए । हाइड्रो, होटलहरू आईपीओ जारी गरेर सहकारी जस्तै भाग्ने खतरा देखिएको सांसद वाग्लेले बताए । घाटामाथि घाटामा गएका कम्पनीहरूलाई आईपीओमा लगेर साना लगानीकर्ता लुट्ने नियामकीय निकायहरूको खेल रहस्यमय भएको बताए । वाग्लेले भने, ‘नेप्सेलाई पुनर्संरचना गरौं, निजी सहभागिता बढाउने ध्यान छैन । अहिले नयाँ लाइसेन्स दिन ध्यान जानु प्रिपेड भ्रष्टाचार नै हो भन्ने मलाई लाग्यो ।’ पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले धितोपत्र बोर्डको कमजोरीले पूँजी बजारबाट साना लगानीकर्ता लाभान्वित हुन नसकेको बताए । पुँजीबजारको अवस्था उतारचढावमा रहेको र साना लगानीकर्ता निराश भएको भन्दै उनीहरू लाभान्वित हुनसक्ने वातावरण बनाउनुपर्ने उनले बताए । उनका अनुसार नियामक निकायका कारण लगानीकर्ता निराश हुनुपर्ने अवस्था रहनुहुँदैन । कार्कीले भने, ‘पूँजी बजारलाई पारदर्शी, सुरक्षित, व्यवस्थित कसरी बनाउन सकिन्छ गम्भीर हुनुपर्यो । साना लगानीकर्तामा उत्साह थप्ने काम गर्नुपर्यो ।’ पूर्व अर्थमन्त्री वर्षमान पुनले घाटामा गएका कम्पनीलाई प्रिमियम सेयर जारी गर्न विगतमा दिइएका कारण साना लगानीकर्ताको लगानी जोखिममा परेको बताए । उनले सेवनले अनुमति दिनु गल्ती रहेको बताउँदै यस्ता गल्तीले लगानीकर्तामाथि गम्भीर आघात पुगेको बताए । सांसद पुनले नेप्सेको पुनः संरचना गर्दा ५१ प्रतिशत निजी क्षेत्रलाई दिएर गर्नुपर्ने बताए । हतार गरेर पुर्नसंरचना गर्ने, नयाँ कम्पनी ल्याउनु हुँदैन । उनले भने, ‘सेबोनले अनुमति दियो करोडौं रकम उठ्यो, ती कम्पनीका कारण लगानीकर्ताको रकम बढ्न सकेन । लेखा समितिले नेटवर्क देखाउँदै रोक्यो राम्रो गर्यो । क्षेत्राधिकारको विषयमा दुईटा समिति बसेर छलफल गर्ने लेखा समिति र अर्थ समितिका विषयमा देखिएका कार्यक्षेत्रका बारेमा दुई समिति बीच छलफल हुनुपर्छ ।’ नेपाली काँग्रेसका सांसद सांसद डा. प्रकाशशरण महतले पनि हचुवाका भरमा नयाँ कम्पनी ल्याउन नहुनेमा जोड दिन नहुने बताए । उनले भने–‘सरकारले पनि नेप्से चलाउनु हुँदैन । त्यो ठिक होइन । ब्रोकरले चलाउने पनि बेठिक हो । पुनः संरचनाको प्रस्ताव अर्थ मन्त्रालयलाई पठाएको त्यसलाई वृहत स्वामित्व हुनुभएन । कसरी जाने यसमा गम्भीर भएर छलफल गरेर मात्रै नयाँ दिने वा नदिने टुंगोमा पुग्नुपर्छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्वार्थसमूहको दबाबमा बजारमा नयाँ कम्पनी ल्याउन खोजिएको बताए । कसैको दबाबमा स्टेक एक्सचेन्ज ल्याइए कार्टेलिङ बढ्ने र जनताको लगानी झन् डुब्ने खतरा रहेको बताए । उनका अनुसार अहिलेको स्टक एक्सचेन्जलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले धितोपत्र बोर्डका अहिलेसम्मका अध्यक्षमाथि प्रश्न उठेको र अहिलेका अध्यक्ष समेत अछुतो नरहेको बताए । नियुक्तिको प्रक्रियादेखि अहिलेसम्म सन्तोष नारायण श्रेष्ठमाथि प्रश्न उठ्नु राम्रो नभएको बताए । प्रमुख सचेतक चौधरीले भने–‘आफ्नो भाइको ट्रेड टावरलाई फास्ट ट्रयाकबाट आईपीओ दिनुभयो, तर अरुलाई नदिएको भन्ने छ, खास के हो ?’ उनले बोर्डका अध्यक्षमाथि कमिसन मागेको सम्म आरोप लागेको र यसको जवाफ दिनुपर्ने बताए । गरिब दिन दुःखीले लगानीकर्ता फस्नेगरी धनीमानीलाई उकास्नेगरी धितोपत्र बोर्डले नीति लिएको आरोप लगाए । कमोडिटी मार्केट रोक्नुको कारण माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले धितोपत्र बजार संवेदनशील क्षेत्र भएकाले ६० लाख मान्छे आवद्ध भएको संस्था भएकाले खेलवाड गर्न आग्रह गरे । कानूनहरु जनप्रतिनिधिले बनाउने की स्वार्थ समूहले बनाउने गम्भीर प्रश्न उठिरहेको बताउँदै श्रेष्ठले धितोपत्र बोर्डको विश्वसनियतामाथि पछिल्लो समय विश्वसनियतामाथि प्रश्न उठेको बताए । उनले धितोपत्रमा विचौलियाको प्रभाव देखिएको, नीतिगत चलखेल देखिएको बताए । सहकारी जस्तै संवेदनशिल क्षेत्र भएकाले संवेदनशील हुन जरुरी रहेको जानकारी दिए ।