नवलपरासीको दाउन्नेमा सडक भासियो, राजमार्ग पूर्णरुपमा बन्द
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिँदा बर्दघाट-दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको हो । वर्षापछि खुर्सानी खोला नजिक सडक भाँसिएसँगै सोही ठाउँमा ट्रक फसेको थियो । उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् । सडक खुलाउने प्रयास भएपनि वर्षाका कारण केही समय लाग्ने जनाएको छ ।
एशियन लाइफको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आज असार २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ १६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरुले साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा-चिप्लेढुङ्गा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा, एशियन लाइफ इन्स्योरेन्सका कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।
ब्राउन सुगर बोक्नेलाई प्रहरीले गोली हानेर समात्यो
काठमाडौं । झापाको भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि ६ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो । गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ । भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए । अभियुक्तद्वयबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रसुवा बाढी : ९ जनाको शव फेला, १९ बेपत्ता, ३५ वटा ईभी गाडी बगायो
काठमाडौं । रसुवामा गएको बाढीमा परेकामध्ये ९ जनाको शव फेला परेको छ । राति एक जनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या ९ पुगेको हो । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो । कूल २० जना बेपत्ता रहेकामा उनको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार २ प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा ईभी गाडी बगाएको छ । धुञ्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
काठमाडौं । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिनुभयो । केही स्थानमा सडक भासिएको छ ।
ऐना पहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा, लगानी १५ लाख रुपैयाँ
काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका स्थित पर्यटकीय गन्तव्यस्थल ऐना पहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । १५ लाख रुपैयाँको लगानीमा स्काइ वाक निर्माण गरिएको र केही दिनभित्रै यसलाई व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ । ‘स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन,’ उनले भने । यो स्थान पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको रहेकाले यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ । स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रुपमा विकास भएको छ । सार्वजनिक बिदाको दिन आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आबुखैरेनी गाउँपालिका-२ का वडाध्यक्ष आश बहादुर गुरुङले जानकारी दिए । ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए । ‘गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ,’ उनले भने । ऐना पहराबाट गाउँपालिकाले ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । यहाँ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐना पहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत आयोजना प्रतिवेदनअनुसार १० करोड रुपैयाँ बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।
बेँसीशहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
काठमाडौं । लमजुङ र मनाङ जोड्ने बेँसीशहर-चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार सो समयमा अत्यावश्यक बाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेँसीशहर-चामे-खाङसार (माथिल्लो मनाङ) सडक खण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । चामे नजिकैको कोतोबाट अपरान्ह साढे ४ बजेपछि बेंसीशहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ । ती सवारीसाधन नासो गाउँपालिका-१ स्थित ताल डाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटि सक्नुपर्ने छ । कूल ६५ किलोमिटर रहेको यस सडकमध्ये ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर सडक मनाङमा पर्छ । बेंसीशहरमा रहेको तत्कालीन नेपाली सेना कार्य गणले विंसं २०६९ मा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।
उपल्लो मुस्ताङमा ४ पुल बगायो २ पुलमा क्षति, नागरिकलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमानथाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमानथाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधीन अर्को एक गरी २ वटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ । यसैगरी बाढीले त्यस क्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठे पुल बाढीले बगाएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ । उपल्लो मुस्ताङको बाढीका कारण जोखिममा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी ४ सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनका अनुसार बाढीले त्यस क्षेत्रमा मानवीय तथा पशु चौपायामा भने क्षति भएको छैन । बाढीको सतह अहिले केही मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ९ जनाको टोली खटिएको उहाँले उल्लेख गरे । त्यहाँ खटिएका सुरक्षाकर्मीहरूले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराइएको छ । अहिले त्यस क्षेत्रमा बाढीको बहाव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा टरि नसकेकाले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन समेत जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।