विकासन्युज

देशमै भविष्य बनाउने सन्देशसहित ‘युथ फेस्टिभल’ पुनः आयोजना हुँदै

काठमाडौं । ‘नेसनल युथ फेस्टिभल’ को दोस्रो संस्करण असार २८ गते काठमाडौंमा हुने भएको छ ।  देश छाडेर विदेश जाने योजना बनाइरहेका युवाहरूलाई ‘देशमै अवसर छन्’ भन्ने सन्देश दिन र नेतृत्व विकास, सकारात्मक सोच तथा उद्यमशीलताको भावना जगाउने उदेश्यले कार्यक्रम गर्न लागिएको हो ।  गत वर्षबाट सुरु भएको यो उत्सवले युवाहरूमा सकारात्मक असर पारेको भन्दै यस वर्ष दोस्रो संस्करण गर्ने तयारी भएको आयोजकले जनाएको छ । मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी एमआइटी , सुनौलो नेपाल, परिवर्तनका लागि, वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडीएस) को संयुक्त आयोजनामा असार २८ नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम हुन लागेको हो ।  अध्ययन, रोजगारी वा बसोबासको सपना बोकेर लाखौं युवा हरेक वर्ष देश छाडिरहेका छन् । नेपालका अधिकांश युवाले आफ्नो भविष्यको कल्पना विदेशमा गर्छन् । सरकारी तथ्याङ्क अनुसार प्रत्येक दिन हजारौं युवाले श्रम स्वीकृति लिइरहेका छन् भने उच्च शिक्षाका लागि समेत विदेशिन चाहनेको संख्या उस्तै छ । यस्तो अवस्थामा, युवाको ध्यान स्वदेशमै केन्द्रित गर्न नेसनल युथ फेस्टिभलले केही हदसम्म सम्बोधन गर्न थालेको आयोजकहरूको दाबी छ । गत वर्ष आयोजना गरिएको पहिलो संस्करणमा डा. सन्दुक रुइत, गायिका आनी छोइङ डोल्मा, पर्वतारोही विजय लामा जस्ता प्रेरणादायी व्यक्तित्वको सहभागिता थियो । कार्यक्रमपछि सामाजिक सञ्जालहरूमा सहभागी युवाहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए । जसकारण यो वर्ष संस्करणलाई अझ व्यापक बनाउने योजना रहेको रहेको छ ।  दोस्रो संस्करणमा यो वर्ष अनुराधा कोइराला, डा. भगवान कोइराला, चन्द्र ढकाल, मनोज ज्ञवाली, सुरक्षा पन्त, रुपेश्वर गौर दास, सोभनवीर मालाकार लगायतले आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्नेछन् । कार्यक्रममा संगीत पनि उत्तिकै आकर्षणको हिस्सा हुनेछ । सबिन राई एन्ड द फारो तथा द एलिमेन्ट्स जस्ता लोकप्रिय ब्यान्डहरूले आफ्नो प्रस्तुति दिनेछन् । एमआईटीका सह - संथापक आर. के. दाहाल सकारात्मक दृष्टिकोणले नै युवालाई ऊर्जा, आशा र प्रेरणा दिने भएकाले सकारात्मक परिवर्तनको उद्देश्यले यो कार्यक्रम गरिएको बताउँछन् । युथ फर चेन्जका अध्यक्ष हिमाल विष्टले भन्छन्,‘हामी विदेश नगई देशमै अवसर खोज्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छौं । कार्यक्रमको मूल मर्म यही हो, युवा परिवर्तनका संवाहक हुन् भन्ने देखाउनु र उनीहरूलाई स्वदेशमा भएका सम्भावनाहरूको अनुभव गराउन यो कार्यक्रमको सुरु गरेका हौं ।’ कक्षा १२ सकेर उच्च शिक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरेर आयोजना गनि लागेको कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुने जनाइएकोछ । कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीहरूले निःशुल्क टिकट प्राप्त गर्न अनलाइनमार्फत पूर्वदर्ता गर्नुपर्नेछ ।

निजी क्षेत्रलाई टेवा दिने नीति आवश्यक, एक करोडसम्मको परियोजनामा कर्जा उपलब्ध गराउनुपर्ने माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासंघका पदाधिकारीहरुले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर आगामी मौद्रिक नीतिको लागि सुझाव पेश गरेको हो । महासंघले अर्थतन्त्रमा देखिएको सिथिलता, वित्तीय क्षेत्रको जोखिम र अनौपचारिक क्षेत्रको ठूलो हिस्सालाई केन्द्रविन्दुमा राख्दै, सुधारोन्मुख अर्थतन्त्रलाई गति दिन, निजी क्षेत्रको मनोबल बढाउन र सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमलाई सम्बोधन गर्ने नीतिगत सुधारहरूको आवश्यकतामा जोड दिएको छ । शुसासन र पूर्वाधारको कमीले नीतिगत सुधारको प्रतिफल प्राप्त हुन नसकेको भन्दै महासंघले मौद्रिक नीतिका मुख्य सुझावहरूमा पूर्वाधार निर्माणलाई लक्षित गरी मौद्रिक नीतिगत योजना सञ्चालन गर्नुपर्नेमा जोड दिएको महासंघका कार्यबाहक अध्यक्ष श्रेष्ठले बताए । महासंघले बजेटमा उल्लेखित कर्जा पुनर्तालिकीकरण र पुनरसंरचनाको व्यवस्थालाई कार्यान्वयन गर्न ठोस कार्यक्रम समावेश गर्नुपर्ने र यो सुविधा साना, मझौला, र ठूला सबै उद्योग–व्यवसायका लागि उपलब्ध गराउनुपर्ने, थप कार्यशील पुँजी प्रवाह र व्याज जरिवानामा सहुलियतको व्यवस्थालाई स्पष्ट र प्रभावकारी रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ । उत्पादनमूलक, पर्यटन, निर्माण उद्योग, र आवास विकास कम्पनीहरूका लागि सरल र सुलभ तरिकाले कार्यशील पुँजी कर्जा उपलब्ध गराउन सहजीकरण गर्नुपर्ने, व्यवसायको प्रकृतिअनुसार चालु पुँजी कर्जाको निर्णय गर्ने अधिकार सम्बन्धित बैंक र ऋणीहरूलाई दिनुपर्ने र अर्थतन्त्रमा उद्योग क्षेत्रको हिस्सा १२.४ प्रतिशतमा झरेको सन्दर्भमा उद्योगहरूले प्राप्त गर्ने कर्जाको ब्याजदर व्यापारको तुलनामा १–२ प्रतिशत कम हुनुपर्ने सुझावहरु पेश गरिएको कार्यबाहक अध्यक्ष श्रेष्ठले बताए । सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने सन्दर्भमा लघु, घरेलु, साना, र महिलाद्वारा सञ्चालित निर्यातजन्य उद्योगहरूको प्रतिष्पर्धी क्षमता कायमै राख्न सहुलियत कर्जा उपलब्ध गराउने नीतिगत व्यवस्था गर्नुपर्ने, महिला उद्यमशीलता कर्जालाई उत्पादनसँग जोडेर ब्याज अनुदानको व्यवस्थालाई व्यवस्थित गर्नुपर्ने र ५ करोड रुपैयाँसम्मको कर्जामा अधिकतम २ प्रतिशत प्रिमियम दरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने कार्यबाहक अध्यक्ष श्रेष्ठले धारणा राखे । वाच लिस्टको प्रावधानमा सहजीकरण गर्नुपर्ने, युवा उद्यमशीलता प्रवर्द्धनका लागि जेन–जी पुस्तालाई व्यवसायमा आकर्षित गर्न नागरिक एपमार्फत व्यवसाय दर्ता र एक करोड रुपैयाँसम्मको परियोजना कर्जा उपलब्ध गराउनुको साथै यस सम्बन्धमा महासंघले गरेको सम्भाव्यता अध्ययनलाई कार्यान्वयन गर्नुपर्ने सुझाव महासंघको रहेको छ । वैदेशिक रोजगारमा रहेकै बखत औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने व्यक्तिको नेपालस्थित आश्रित परिवारलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने पनि महासंघको धारणा छ । हालको लक्षित कर्जा नीतिलाई परिमार्जन गरी उत्पादनमूलक उद्योग, पर्यटन, र पूर्वाधारलाई प्राथमिकतामा राखेर निर्देशित नीति बनाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाको गैर–व्यवसायिक सम्पत्ति बढ्दै गएको सन्दर्भमा सम्पत्ती व्यवस्थापन कम्पनी स्थापना र सञ्चालन गर्नुपर्ने सुझाव पनि महासंघले दिएको छ । हाल रेमिट्यान्स कम्पनी मार्फत आन्तरिक व्रिपेषण पठाउन नपाउने व्यवस्था रहेको र यसले गर्दा न्युन आय वर्ग, विद्यार्थी, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर, घर बाहिर काम गरिरहेका कामकाजी र दुर्गम क्षेत्रका बैंक खाता नभएका र स्मार्ट फोनसम्म पहुँच नभएका व्यक्तिहरु सबैभन्दा बढि प्रभावित रहेकाले परिचयपत्र हेरी रेमिट्यान्स कम्पनी मार्फत विदेशबाट मनी ट्रान्सफर कम्पनी मार्फत नगद भुक्तानी गर्न पाउने रकम सरह कम्तीमा एक लाख रुपैयासम्म आन्तरिक रुपमा पाउने/पठाउने व्यवस्था गर्नुपर्ने महासंघले सुझाव दिएको छ । आवासीय घर कर्जाको सीमा २ करोडबाट ३ करोड रुपैयाँ पुर्‍याउन, बजेटमा उल्लेखित केवाईसीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरी विद्युतीय माध्यमबाट सम्बन्धित निकायले प्राप्त गर्न सक्ने व्यवस्था कार्यान्वयन गर्न र क्युआरको लागि इन्टरअपरेटिविलिट निःशुल्क कार्यान्वयन गर्नुपर्ने पनि महासंघको सुझावमा उल्लेख छ । विदेशमा लगानी गर्ने सन्दर्भमा महासंघले नेपाली व्यवसायी/कम्पनीलाई विदेशमा बिक्री शाखा वा प्रशोधन कारखाना खोल्न अनुमति दिने र कुल निर्यातको २५% सम्म विदेशमा लगानी गर्न दिने बजेटको घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि/विशिष्ट सेवा प्रदान गरे बापत स्वेट सेयर लिन पाउने व्यवस्थालाई स्पष्ट गरि मौद्रिक नीतिमा समावेश गर्न महासंघले सुझाव दिएको छ । प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा बैंकहरूको लगानीमा अतिरिक्त पुँजी शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने, यस्ता कोषहरूमा गरिएको लगानीलाई निर्देशित क्षेत्रमा कर्जा प्रवाह गरे सरहको मान्यता दिनुपर्ने, महासंघले राष्ट्रबैकलाई दिएको सुझावमा उल्लेख छ । सो अवसरमा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले नेपालको अर्थतन्त्रका विद्यमान चुनोतीहरुको समाधान गर्दै अर्थतन्त्र चलायमान हुने गरि प्रभावकारी मौद्रिक नीति ल्याउनु पर्नेमा जोड दिए । 

नेपाल टेलिकमको इन्टरनेट सेवामा समस्या, विदेशी नेटवर्क गडबडीले डाटा सेवा प्रभावित

काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट सेवा प्रभावित भएको छ । मंगलबार राति साढे १ बजेबाट कम्पनीको नेटवर्कमा समस्या देखिएको टेलिकमले एक सूचना जारी गर्दै जानकारी दिएको हो । टेलिकमका प्रवक्ता रविन्द्रमान मानन्धरका अनुसार डाटा सेवा प्रभावित हुनुको कारण अन्तर्राष्ट्रिय व्याण्डविथ सेवा प्रदायकको नेटवर्कमा आएको समस्या हो । यसले गर्दा देशभर टेलिकमको इन्टरनेट सेवामा अस्थायी अवरोध आएको हो । कम्पनीले समस्या समाधानका लागि आवश्यक प्राविधिक प्रयास जारी रहेको र सेवा यथाशीघ्र पुनःस्थापनाको प्रयास भइरहेको जनाएको छ । अप्रत्याशित रूपमा सिर्जित समस्याका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति टेलिकमले क्षमा याचना गरेको छ ।

बीमा प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गरी बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे हाे ।  कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले सार्वजनिक गरेका नीति तथा कार्यक्रम समग्र बीमा प्राधिकरण र सम्पूर्ण बीमा बजारका लागि ऐतिहासिक भएको बताए । कार्यकारी निर्देशक सुवेदीका अनुसार अबदेखि हरेक वर्ष असार महिनामा वार्षिक बीमा नीति सार्वजनिक गरिनेछ । उनले नीति तथा कार्यक्रम ल्याउनुकाे उद्देश्य बीमा क्षेत्रलाई दिगो, पारदर्शी, उत्तरदायी र समावेशी बनाउँदै नियामक दृष्टिकोणलाई स्पष्ट पार्नु रहेको बताए ।  साथै नीति निर्माण प्रक्रियामा सरोकारवाला निकायहरूको भूमिका उल्लेखनीय रहेको प्राधिकरणले जनाएको छ ।  अनुसन्धान महाशाखा र नीति तथा योजना महाशाखाको संयुक्त पहलमा नीति तयार गरिएको प्राधिकरणले जनाएकाे छ । आगामी वर्षहरूमा यो प्रक्रिया अझ व्यवस्थित र समावेशी बनाइने कार्यकारी निर्देशक​​​​​​​ सुवेदीकाे भनाइ छ । प्राधिकरणले बीमा सम्बन्धी उजुरी तथा गुनासोलाई डिजिटल माध्यममार्फत व्यवस्थापन गर्ने योजना नीति अन्तर्गत अघि सारेको छ । बीमालेखहरू र निर्देशनहरूलाई एकीकृत डिजिटल प्रणालीमा आधारित बनाई, सेवा प्रवाहलाई सरल, छरितो र पारदर्शी बनाउने उल्लेख छ । नीतिमा बीमकहरूसँग सम्बन्धित थप व्यवस्था पनि समावेश छन् । बीमा क्षेत्रसँग सम्बन्धित विषयमा अनुसन्धान गर्दै बीमितको आवश्यकतालाई मध्यनजर राखी नयाँ बीमालेखहरू विकास गरिनेछ । बीमकहरूले कम्तीमा एउटा नवीनतम बीमालेख निर्माण गर्नुपर्ने व्यवस्था गरिनेछ । बीमकहरूको लगानी, पुनर्बीमा र पूँजी व्यवस्थापनसँग सम्बन्धित कानुनी प्रावधानहरूमा समयसापेक्ष परिमार्जन गरिनेछ । साथै, बीमा क्षेत्रमा लैङ्गिक समावेशिता प्रवर्द्धन गर्ने संयन्त्रको विकास र जलवायु परिवर्तन जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइ कानुनी संरचना निर्माण गरिनेछ । बीमा सूचना केन्द्र तथा बीमा विकास कोष स्थापना गरिनेछ । उक्त कोषमार्फत सरकारी विद्यालयका विद्यार्थीहरूलाई बीमाको पहुँचमा ल्याउने र लक्षित वर्गलाई समेट्ने पाइलट परियोजना सञ्चालन गरिने नीति दस्तावेजमा उल्लेख छ ।  

१ अर्ब ५० करोडभन्दा बढीको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार, २ भारतीय नागरिकबाट पक्राउ

काठमाडौं । गैरकानुनी क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललितपुरको सानेपाबाट पक्राउ गरेको छ । किराना पसलको आवरणमा सञ्चालन भइरहेको अवैध कारोबारबारे प्राप्त सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिहरूबाट अनुसन्धान टोलीले विभिन्न सामग्रीहरू बरामद गरेको छ । अनुसन्धानको क्रममा उनीहरूको साथबाट मोबाइल फोन ५ थान फेला परेको छ । त्यसैगरी, नेपाली रुपैयाँ ८ लाख २० हजार नगदसमेत बरामद गरिएको छ । साथै भारतीय रुपैयाँ १० हजार नगद पनि बरामद भएको सीआईबीले जनाएको छ । घटनास्थलबाट सीसीटीभी डीभीआर १ थान पनि बरामद गरिएको छ । त्यस्तै, प्रतिबन्धित वन्यजन्तु कस्तुरीको अखेटोपहारजस्तो देखिने वस्तु ७४ ग्राम वजनको १ थान समेत फेला परेको छ । प्रारम्भिक अनुमान अनुसार उक्त वस्तु संरक्षित वन्यजन्तुसँग सम्बन्धित हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ । सीआईबीको टोलीले असार २३ गते ललितपुर महानगरपालिका–२ स्थित कालोपुल सानेपामा रहेको ‘राजतिर्थ ट्रेडर्स’ नामक किराना पसलमा छापा मारेको थियो । सो पसल भारतको बिहार राज्य मोतिहारी स्थायी ठेगाना भएका ४३ वर्षीय रुपेश कुमार गुप्ताले सञ्चालन गर्दै आएका थिए । छानबिनका क्रममा सो पसलबाट अवैध क्रिप्टोकरेन्सी कारोबारसँगै हुण्डी कारोबार पनि भइरहेको पुष्टि भएको छ । सोही क्रममा गुप्तासँगै भारतकै बिहार राज्य पूर्वी चम्पारण बिजबनी स्थायी ठेगाना भएका २२ वर्षीय बिपिन कुमारलाई समेत पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभौतिक मुद्रा प्रयोग गर्न नहुने, हुण्डी कारोबार गर्न नहुने, तथा संरक्षित बन्यजन्तुसम्बन्धी कसूरमा मुद्दा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले यस्ता गैरकानुनी गतिविधिहरूमा संलग्न नहुन सबैमा अनुरोध गर्दै, यस्ता कार्यबारे कुनै सूचना भएमा नजिकको प्रहरी कार्यालय वा सीआईबीमा जानकारी दिन आग्रह गरेको छ । प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक युवराज खड्काले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता अपराधहरूविरुद्ध ब्यूरोले निरन्तर निगरानी राखिरहेको उल्लेख गरिएको छ।

प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली रसुवाको बाढीपहिरो ग्रस्त क्षेत्रको अवलोकनका लागि जाने भएको छ । सोमबार राति आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि अवलोकनका लागि जान लागेको हो ।  बाढीग्रस्त क्षेत्रमा गएर प्रत्यक्ष अवलोकनपछि सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री लेखकले बताए । रसुवामा ठूलो विपद् आएको बताए ।  उनले भने, ‘रसुवामा ठूलो डिजास्टर भएको छ । हामी जान लागेका छौँ । त्यहाँ गएर हेरेपछि आवश्यक निर्णय गर्नेछौँ ।’ बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ ।   

कालीमाटी बजारको रायो सागमा भेटियो अत्यधिक विषादी

काठमाडौं । कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट मंगलबार बिक्रीका लागि ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी पाइएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार परीक्षणका क्रममा यस्तो तथ्य फेला परेको हो । केन्द्रीय कृषि प्रयोगशालाले सोही दिन बजारका १७ थरी तरकारी र फलफूल परीक्षण गर्दा रायो साग अत्यधिक विषादीयुक्त पाइयो । सरकारको मापदण्डअनुसार विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए मात्र उपभोगयोग्य मानिन्छ । तर, रायो सागमा भेटिएको ८२.७८ प्रतिशत विषादीका कारण यसलाई उपभोग अयोग्य ठहर गरिएको हो । यसअघि पनि धनियाँ, काउली, ब्रोकाउली र तिते करेला जस्ता तरकारीहरूमा यस्तै उच्च विषादी भेटिएको थियो ।

घट्यो सेयर बजार, ६ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.१४ अंकले घटेको २६ सय ८३ बिन्दुमा पुगेको छ ।  आज १३३ कम्पनीको मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३०४ कम्पनीको मूल्य बढ्दा १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ४१ करोड, गार्डियन माइक्रो लाइफको ४१ करोड, लाइफ सनराइज बैंकको २४ करोड र राधी विद्युत कम्पनीको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारमा फाइनान्स समूह सबैभन्दा धेरै १.२५ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक ०.४१, हाइड्रोपावर ०.५९, लगानी ०.०८, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.३८ प्रतिशतले बढेको छ ।  बैंकिङ ०.३७, होटल तथा पर्यटन ०.०१, अन्य ०.७७, निर्जीवन बीमा ०.३७ प्रतिशतले घटेको । जीवन बीमा भने स्थिर रहेको छ ।