कालीमाटी बजारको रायो सागमा भेटियो अत्यधिक विषादी
काठमाडौं । कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट मंगलबार बिक्रीका लागि ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी पाइएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार परीक्षणका क्रममा यस्तो तथ्य फेला परेको हो । केन्द्रीय कृषि प्रयोगशालाले सोही दिन बजारका १७ थरी तरकारी र फलफूल परीक्षण गर्दा रायो साग अत्यधिक विषादीयुक्त पाइयो । सरकारको मापदण्डअनुसार विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए मात्र उपभोगयोग्य मानिन्छ । तर, रायो सागमा भेटिएको ८२.७८ प्रतिशत विषादीका कारण यसलाई उपभोग अयोग्य ठहर गरिएको हो । यसअघि पनि धनियाँ, काउली, ब्रोकाउली र तिते करेला जस्ता तरकारीहरूमा यस्तै उच्च विषादी भेटिएको थियो ।
घट्यो सेयर बजार, ६ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.१४ अंकले घटेको २६ सय ८३ बिन्दुमा पुगेको छ । आज १३३ कम्पनीको मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३०४ कम्पनीको मूल्य बढ्दा १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ४१ करोड, गार्डियन माइक्रो लाइफको ४१ करोड, लाइफ सनराइज बैंकको २४ करोड र राधी विद्युत कम्पनीको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारमा फाइनान्स समूह सबैभन्दा धेरै १.२५ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक ०.४१, हाइड्रोपावर ०.५९, लगानी ०.०८, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.३८ प्रतिशतले बढेको छ । बैंकिङ ०.३७, होटल तथा पर्यटन ०.०१, अन्य ०.७७, निर्जीवन बीमा ०.३७ प्रतिशतले घटेको । जीवन बीमा भने स्थिर रहेको छ ।
हितेन्द्रको सय दिने उपलब्धि : श्वेतपत्र जारीदेखि ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफ्ना सय दिने उपलब्धि सार्वजनिक गरेका छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कार्यकालमा प्राधिकरणको यथार्थता बाहिर ल्याउन श्वेतपत्र जारी गरिएको बताएका हुन् । उनकाअनुसार श्वेतपत्रमा उर्जा सुरक्षा, विश्वसनिय विद्युत,नविनतम उपायबाट वित्तीय व्यवस्थापनलाई जोड दिएको छ । त्यस्तै, मानव स्रोत व्यवस्थापन गरिएको छ । सय दिने उपलब्धिमा उनले वितरण तथा ग्राहकतर्फ १० ओटा धेरै महशुल बुझाउने उद्योगीलाई सम्मान गरिएको बताए । जसबाट वृद्ध खपतमा वृद्धि आउने आशा व्यक्त गरे । कार्यकारी निर्देशक शाक्यले भने–‘डेडिकेटर लाइनसम्बन्धि विवाद समाधानतर्फ उन्मुख छ भने एकसय दिनको अवधीमा चार्जिङ स्टेशनका पूर्वाधार बनाउन १ करोड बजेट छुट्याइएको छ, ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ । वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाइएको छ भने सबस्टेशनहरु तयार भएका छन् ।’ शाक्यकाअनुसार चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण र यस अन्तर्गतका जलविद्युत आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बढी क्षति पुयाएको छ भने उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको उनको भनाई छ । त्रिशुली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द भएको उनले बताए । बाढीले त्रिशुली करिडोरका आयोजनाहरूमा असर पारेको बताए । उनकाअनुसार बाढीले प्रत्यक्ष असर पारेका आयोजनामा रसुवागढी, चिलिमे र त्रिशूली थ्री ए रहेका छन् । त्रिशुली करिडोरका मात्रै करिव ६–७ वटा प्लान्ट बन्द अवस्थामा पुगेका छन् । शाक्यका अनुसार बाढीले माथिल्लो त्रिशुली ‘थ्री ए’ को ड्याममा क्षति पुर्याएको छ भने दुई गेट बगाएको छ । बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत आयोजनाको ड्याम साइटमा क्षति पुगेको छ भने २१ मेगावाटको तल्लो त्रिशुली आयोजनाको उत्पादन पनि ठप्प भएको छ । उनले ठूलो क्षमताका आयोजना बन्द भएपनि देशभर विद्युतको माग व्यवस्थापनमा कुनै समस्या नभएको स्पष्ट पारे । यस्तो छ पूर्णपाठ
सेयर बजार पूँजीकरण ४४ खर्ब, एकै वर्षमा ९ खर्ब वृद्धि
काठमाडौं । पछिल्लो समय धितोपत्र बजारको पूँजीकरणले आफ्नो रेकर्ड ब्रेक गर्दै गएको छ । २०८२ जेठ मशान्तसम्म धितोपत्र बजार पूँजीकरण ४४ खर्ब २३ अर्ब ४ करोड कायम भएको छ । गत वर्षको जेठ मसान्तमा बजार पूँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रहेको थियो । त्यसअघि २०८० माघ मसान्तको अवस्था हेर्ने हो भने धितोपत्र बजार पूँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको थियो । अझ त्यसअघि अर्थात २०७९ माघ मसान्तमा बजार पूँजीकरण ३० खर्ब ६१ अर्ब रहेको थियो । धितोपत्र बजारमा सूचीकृत सम्पूर्ण कम्पनीका सेयरको बजार मूल्यको कुल जोडलाई बजार पूँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरूको संख्या र तिनको आ–आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पूँजीकरण निकालिन्छ । यसले सेयर बजारको आकारलाई समेत जनाउँछ । यस्तो बजारको आकारमा रेकर्ड ब्रेक हुँदै गएको छ । राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तमा २११२.३० रहेको नेप्से सूचकांक २०८२ जेठ मसान्तमा २६५५.३९ कायम भएको देखिन्छ । यस्तै, जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ ओटा अन्य समूहका रहेका छन् । गत जेठमा सूचीकृत कम्पनीहरूको संख्या २७० रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ । यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ८० करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ६७ अर्ब २९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा २३ अर्ब ६३ करोड रुपैयाँ बराबरको बोनस सेयर, २२ अर्ब ४० करोड रुपैयाँ बराबरको साधारण सेयर, १२ अर्ब १५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ११ करोड २० लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १४ अर्ब ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ अर्ब ४२ करोड रुपैयाँ बराबरको डिवेन्चर र २ अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल ३९ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिए । 'त्यति ठूलो बाढी नै जाने गरी दुवैैतर्फ ठूलो वर्षा भएकै छैन । न्यून चापीय रेखा पनि सरदर आसपासमा नै रहेको छ,' उनले भने, 'के कारणले बाढी गएको भन्ने विषयमा थप अनुसन्धान गरेर मात्रै हामी सूचना सार्वजनिक गर्ने छौँ ।' विश्व मौसम सङ्गठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास फ्लड गाइडेन्स प्रणाली) को स्याटेलाइट–आधारित वर्षा अनुमानअनुसार पनि भोटेकोसी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन । हिमताल फुटेको आशङ्का विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन या नेपालको क्षेत्रमा पर्ने कुनै पनि हिमताल एक्कासि फुटेर बाढी गएको हुन सक्ने आशङ्का गरेका छन् । 'ठूलो वर्षा नहुँदा पनि बाढी जानु भनेको हिमताल कतै फुटेको पनि हुन सक्छ,' उनले भने, 'अहिल्यै नै कारण यकिन गर्न त सक्दैनौँ तर कारण खोजिरहेका छौँ । थप अध्ययन गरेर हामी दुइ–तीन दिनभित्रै सत्यतथ्य वितरण सार्वजनिक गर्नेछौँ ।' प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार आज भोटेकोसी बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहान ३ बजे आसपास भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको देखिन्छ । 'रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्याङ्कअनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिन्छ,' महाशाखाका बाढीविद् पराजुलीले भने, 'रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल विभागको रसुवास्थित स्याफ्रुबेँसी स्वचालित जलमापन केन्द्रमा बिहान ३ः३० बजे एक्कासि बहाव बढेको देखिन्छ । उक्त केन्द्रमा बिहान ३ः३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासि ३ः४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको देखिन्छ । उक्त केन्द्रका गेजरिडरसँग बिहान ६ बजे आसपास सम्पर्क कायम भएको र निजका अनुसार केन्द्र बगाएको जानकारी प्राप्त भएको छ ।' रसुवागढी नाकाबाट करिब ४१ किलोमिटर तल यस विभागको नुवाकोटस्थित त्रिशूली वेत्रावती स्वचालित जलमापन केन्द्रमा आज बिहान ५ः०० बजे उक्त बहाव पुगेको प्रतिवेदनमा उल्लेख छ । 'उक्त केन्द्रमा बिहान ५ः०० बजे १.६० मिटर (बहाव करिब २२० घनमिटर प्रतिसेकेन्ड) रहेको जलसतह एक्कासि बिहान ५ः१० बजे ३.६३ मिटर पुगेको र उच्चतम जलसतह बिहान ५ः५० बजे ४.१८ मिटर (बहाव करिब एक हजार ६०० घनमिटर प्रतिसेकेन्ड) पुगेको देखिन्छ,' प्रतिवेदनमा उल्लेख छ, 'प्रारम्भिक रुपमा बाढीको ठूलो प्रभाव भोटेकोसी तथा त्रिशूली नदीको रसुवा जिल्लाको क्षेत्रमा परेको र मध्यम प्रभाव नुवाकोट जिल्लाको त्रिशूली नदी तटीय क्षेत्रमा परेको तथा सामान्य प्रभाव धादिङ जिल्लाको बूढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकाले तीनवटै जिल्लाका नदी तटीय क्षेत्रमा आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएकाले बिहान ६ः३० बजे सरोकारवाला तथा नदी तटीय क्षेत्रका आम सर्वसाधारणलाई एसएमएसमार्फत सूचना जारी गरिएको थियो ।' बाढीविद् पराजुलीले नुवाकोट जिल्लास्थित त्रिशूली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले त्रिशूली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बस्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेका छन् । विभागले भोटेकोसी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आकलनका लागि आज बिहान ७ बजे एसिया–प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको एक अन्तरिक्ष–आधारित आपत्कालीन प्रतिक्रिया (सेन्टिनल एसिया) प्लेटफर्ममा तत्कालको भू–उपग्रह तस्बिर प्राप्त गर्न आपत्कालीन अवलोकन अनुरोध जारी गरेको छ । जोखिम अझै कायमै बाढीविद् पराजुलीले विभागले निरन्तर अनुगमन गरिरहेको र हाल बहाव घट्दो क्रममा रहे पनि जोखिम कायम रहेको भन्दै भोटेकोसी तथा त्रिशूली नदी तटीय क्षेत्रका आम सर्वसाधारण तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् । 'रसुवा जिल्लास्थित भोटेकोसी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदीको रसुवागढीदेखि धादिङ जिल्लाको बेनिघाटसम्म त्रिशूली नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाइराख्न अनुरोध गर्दछौँ,' उनले भने, 'यस सम्बन्धमा विभागबाट थप अध्ययन भइरहेकाले निरन्तर अपडेट जारी हुँदै जानेछ ।' आगामी तीन दिन बाढीको जोखिम छैन : विज्ञ आगामी तीन दिनसम्म बाढीको कुनै जोखिम नरहेको विभागका बाढीविज्ञ र मौसमविज्ञहरुले जानकारी दिएका छन् । मौसमविद् अधिकारीले आगामी तीन दिनसम्म मुलुुकको अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको स्म्भावना रहे पनि भारीदेखि अति भारी वर्षाको सम्भावना नरहेको जानकारी दिए । बाढीविद् पराजुलीले तीन दिनसम्म देशभर बाढीको जोखिम नरहेको बताए। अझै १८ जाना बेपत्ता रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये नौ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन प्रहरी र छ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको जानकारी दिए । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नगरपालिका–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् । बाढीमा परी ६ चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् । उनीहरु सबै पुरुष हुन् । चिनियाँ नागरिकको विस्तृत पहिचान खुल्न बाँकी छ । बाढीमै परी बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू र ३० वर्षीय सुरेश थारू तथा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, हाइलक्स जिप चालक गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता भएका छन् । बाढीले उत्तरगया गाउँपालिका–१ मैलुङस्थित गल्छी बेत्रावती–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत त्रिशूली नदीमा रहेको ‘बेलीब्रिज’ बगाएको छ । सो स्थान नजिकै भर्खर निर्माण भएको पक्की पुलमा बाढीसहित लेदो माटो जम्मा भएको छ । त्रिशूली थ्रिए जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति पुगेको छ । रासस
रसुवाको बाढी-पहिरोले अटोमोबाइल आयात प्रभावित, पीडितप्रति सहयोग गर्न नाडाको आग्रह
काठमाडौं । हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले सिर्जना गरेको भयावह परिस्थितिमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गहिरो चिन्ता व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेको छ । संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण केवल जनधनको क्षति नभई मुलुकको प्रमुख व्यापारिक नाका-केरुङ-रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रणालीमा पनि ठूलो असर परेको जनाएको छ । निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको प्रारम्भिक जानकारी आएको संघले उल्लेख गरेको छ । नाडाले संकटका यस घडीमा आफ्नो घर, व्यवसाय र जीवन गुमाएका सम्पूर्ण प्रभावितप्रति गहिरो सहानुभूति प्रकट गर्दै अटोमोबाइल व्यवसायसँग सम्बन्धित सबै सदस्यलाई संयमित र सहयोगी रहन आग्रह गरेको छ । संघले अटोमोबाइल क्षेत्रले जस्तै अन्य क्षेत्रमा पनि असर परेको र संकट समाधानका लागि एकआपसमा सहयोगको भावना जरुरी भएको जनाएको छ । 'यदि यस्ता विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने, जानकारी गराउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'संकटको यस घडीमा हामी सबै मिलेर करुणा, ऐक्यबद्धता र सहयोगका साथ अगाडि बढ्न जरुरी छ ।'
आयुर्वेदिक औषधि निर्यातलाई सहज बनाउन ‘जिएमपी’ प्रमाणपत्र दिइने
काठमाडौं । नेपाली आयुर्वेदिक तथा परम्परागत औषधि अन्तरराष्ट्रिय बजारमा निर्यात गर्ने उद्देश्यले कुशल उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र दिने मापदण्ड स्वीकृत गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिएमपी प्रमाणपत्र दिने व्यवस्था सम्बन्धी मापदण्ड स्वीकृत गरेका हुन् । नेपालमा विभिन्न कम्पनीहरू आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीका औषधि उत्पादन गर्दै आए पनि हालसम्म ती औषधि अन्तरराष्ट्रिय बजारमा वैधानिक रूपमा निर्यात गर्न जिएमपी प्रमाणपत्रको व्यवस्था थिएन । औषधि उत्पादन कुशल अभ्यासको दोस्रो संहिताले यस समस्याको समाधान गर्ने अपेक्षा गरिएको छ । यो संहिताअनुसार उत्पादकहरूले उत्पादन प्रक्रिया, भण्डारण, गुणस्तर परीक्षण, आधुनिक प्रविधिको प्रयोगलगायतका मापदण्डहरू पूरा गर्नुपर्नेछ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संहिताको मापदण्ड पूरा गर्ने उत्पादकले औषधि व्यवस्था विभागबाट जिएमपी प्रमाणपत्र प्राप्त गर्ने र जसले आयुर्वेद, होमियोप्याथीलगायत औषधिहरूको वैधानिक नियात मार्ग खुलाउने जानकारी दिए । हालसम्म ‘एलोप्याथिक’ औषधिहरूमा मात्र जिएमपी प्रमाणपत्र प्रदान गरिँदै आएको थियो । परम्परागत औषधिले जिएमपी नपाउँदा विदेश निर्यात गर्न सकिएको थिएन ।
रसुवाका सहायक सीडीओलाई ६ प्रश्न : कसरी आयो बाढी ? कति भयो क्षति ?
रसुवामा आएका बाढीले ठूलो जनधनको क्षति भएको छ । प्रारम्भिक तथ्यांकअनुसार हालसम्म १८ जना सम्पर्कविहीन छन् । हामीले रसुवाको बाढीमा केन्द्रित रहेर रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीसँग संक्षिप्त कुराकानी गरेका छौं । बाढीले रसुवामा के कस्तो क्षति गर्यो ? नेपाल चीन जोड्ने मितेरी पुल बगाउँदा नेपाल र चीनबीचको सम्पर्क पूर्णरुपमा टुटेको छ भने रसुवा गढीबाट स्याफ्रुबेंसी जाने बाटो समेत अवरुद्ध भएको छ । यस्तै, रसुवागढी जलविद्युत आयोजनाको ड्याममा क्षति पुगेको छ । जलविद्युतमा पनि ठूलो क्षति पुगेको छ । रसुवागढी भन्सार कार्यालयको सुख्खा बन्दरगाहमा रहेका इलेक्ट्रिक भेहिकल तथा मालबाहक कन्टेनरहरू बगाएको छ । तर कति बगायो भन्ने अहिलेसम्म यकिन छैन । प्रहरी तीन जना, कामदार तथा मजदुर ९ जना र चिनियाँ ६ जना सहित १८ जना सम्पर्कविहीन भएका छन् भने बाढीको बिचमा फसेका २१ जनाको उद्धार गरिएको छ । रसुवागढी हाइड्रोको केही कर्मचारी सुरक्षित बसेको अवस्था छ भने उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत विपद व्यवस्थापनको टोली खटिरहेको छ । बाढीले कति क्षति भयो होला, केही अनुमान लगाउन सकिन्छ ? अहिले तत्काल रकमको हिसाब गर्न सकिँदैन । तत्काल मानवीय क्षति कम कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित भएकाले तत्काल यति रकम बराबरको धनको क्षति भयो भने भन्न सकिने अवस्था छैन । घटनाबारे तपाईंहरूलाई कसरी जानकारी भयो ? घटना बिहान तीन बजे भएको हो । त्यहाँ नजिकै रहेका शसस्त्र र प्रहरी चौकीले जानकारी दिएपछि थाहा भएको थियो । त्यस्तो बाढी आउने भन्ने कुनै पूर्वानुमान पनि थिएन । राति त्यस्तो मौसम पनि थिएन तर एक्कासि यस्तो खबर आयो । तर, हामीले वर्षाको समयमा जतिबेला जे पनि हुन सक्ने भन्दै सतर्क रहन नागरिकलाई जानकारी भने गराइरहेका थियौं । अहिले बेपत्ताको खोजी कार्य कसरी गरिरहनुभएको छ ? उद्धारको लागि जिल्लाको सम्पूर्ण जनशक्ति खटेको छ । प्रमुख जिल्ला अधिकारी पनि आफै घटनास्थलमा पुग्नुभएको छ भने भने सुरक्षा निकायका सबै प्रमुख लगायत सबै स्थानी जनसमुदाय सबै घटनास्थलमा पुगिसक्नुभएको छ । तत्काल पूर्ण रुपमा मानवीय क्षति न्यून गर्नका लागि हामी लागिरहेका छौं । प्रभावित क्षेत्रका स्थानीयहरूलाई सुरक्षित रुपमा राखिसकेको अवस्थामा छ भने सम्भावित जोखिम हुन सक्ने स्थानका स्थानीयलाई पनि सुरक्षित स्थानमा राखिसकेकाले अहिले त्रासको अवस्था छैन । तर वर्षायाममा जोखिम चाहिँ हुने सम्भवना धेरै भएकाले सतर्क रहनुपर्छ । मितेरी पुल बगाउँदा कुनै वैकल्पिक बाटो प्रयोग गरिने अवस्था छकि छैन ? तत्काल वैकल्पिक बाटोको सम्भावना छैन । नेपाल र चीनको सम्पूर्ण सम्पर्क टुटेको छ । अहिले वैकल्पिक बाटो भन्दा पनि बेपत्ताको खोजी र के कति क्षति भयो भन्ने विवरण खोजिरहेका छौं । मौसम अहिले पनि राम्रो नहुँदा काममा भने चुनौती देखिन्छ । बाढी कसरी आयो भन्ने केही अनुमान छ ? पानी परेरै बाढी आयो वा कुनै ताल फुटेर बाढी आयो भन्ने विषयमा अहिले फरक व्यक्तिका फरक धारणा आइरहेका छन् । चीनमा वर्षा भएर नेपालमा बाढी आएको पनि हुन सक्छ । वा कुनै ताल फुटेर पनि बाढी आएको हुन सक्छ । यो विषयमा पनि तत्काल यही कारण हो भन्न सकिदैन । यो विषयमा पनि अध्ययन र अनुसन्धान गरेपछिमात्र थाहा हुन्छ ।