शपथ लिएसँगै नवनियुक्त तीन न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास
काठमाडौं । सर्वाेच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । न्याय परिषद्ले गत जेठ २७ गते उनीरुलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त गर्न सिफरिस गरेको थियो । नवनियुक्त न्यायाधीशहरुले आजबाट नै इजलास पाएका छन् । मंगलबार बिहान पद तथा गोपनीयताको शपथपछि गोलाप्रथाबाट नवनियुक्त न्यायाधीशहरुले इजलास पाएका हुन् । नवनियुक्त तीन जना न्यायाधीशलाई यसअघि कार्यरत वरिष्ट न्यायाधीशको नेतृत्वमा संयुक्त इजलास परेको छ । नवनियुक्त न्यायाधीश मेघराज पोखरेलले न्यायाधीश विनोद शर्मासँग बेन्च सेयर गर्ने छन् । त्यस्तै नवनियुक्त न्यायाधीश शान्तिसिंह थापाले न्यायाधीश डा. कुमार चुडालसँग र नवनियुक्त न्यायाधीश श्रीकान्त पौडेलले न्यायाधीश डा. मनोजकुमार शर्मासँग संयुक्त इजलासमा बेन्च सेयर गर्नेछन् । न्यायाधीशहरुको शपथ कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति जनताको विश्वास कायम राख्न नवनियुक्त न्यायाधीशहरू अहोरात्र खटिनेमा आफू विश्वस्त रहेको बताए । नेपालको न्याय प्रणालीमाथि जनताको विश्वास अभिवृद्धि गर्न सर्वोच्च अदालत दृढ रहेको समेत बताए । सर्वोच्च अदालतमा नवनियुक्त सहित २० जना न्यायाधीशले काम गर्दा मुद्दा फर्स्यौटकाे प्रक्रियाले गति लिने समेत विश्वास व्यक्त गरे।
चीनसँगको व्यापार सम्बन्ध विच्छेद, अर्बौंको कारोबार प्रभावित
काठमाडौं । बाढीपहिरोले रसुवागढी नाका हुँदै आइरहेको चीनसँगको व्यापारिक सम्बन्ध विच्छेद भएको छ । चीनतर्फबाट आएको बाढीले चीन-नेपाल जोड्ने व्यापारिक नाका रसुवागढीको पुल बगाएसँगै व्यापारिक सम्बन्ध तत्काललाई टुटेको छ भने अर्बौंको व्यापार प्रभावित हुने देखिएको छ । गएराती आएको बाढीले मितेरी पुल बगाउनुका साथै भन्सार ड्राइपोर्टमा समेत ठूलो क्षति गरेको थियो । सोही कारण जनधनको क्षति हुनुका साथै ड्राइपोर्टमा रहेका दर्जनौंँ विद्युतीय (इभी) गाडीहरु समेत बगाएको प्रहरीको प्रारम्भिक अनुमान छ । रसुवागढी नाका पछिल्लो समय अत्यान्तै महत्वपूर्ण नाकाका रुपमा लिने गरिएको थियो । चीनसँगको ब्यापार गर्न सोही नाका हुँदै छोटो दूरी पर्ने भएकाले त्यहाँबाट व्यापार गर्न व्यापारीहरुले अति सहज मान्दै आएका थिए । तथ्यांक मै हेर्ने हो भने पनि भन्सार विभागका अनुसार रसुवागढी नाका हुँदै चीनबाट चालु आर्थिक वर्षको जेठसम्म ८० अर्बको ८१ करोडको वस्तु आयात भएको छ । त्यस्तै सोही नाकाहुँदै नेपालबाट चीनमा १९ अर्ब ६१ करोडको वस्तु आयात भएको छ । खासगरी चीनबाट इभि गाडी, खेलौंना, लत्ताकपडा, जुत्ता, फलफूलसहितका वस्तुहरू ल्याइन्थ्यो भने चीनतर्फ चिया, पुस्तक, छापा सामग्री, हस्तकलाका सामग्रीहरू, हस्तकला र ढुंगाका मूर्तिहरू, चित्रकलाहरू, ऊन/पश्मिना तथा तिनबाट बनेका कपडाहरू, काठका सामग्रीहरू निर्यात गर्ने गरिएको छ । पुल तथा सडक नै बगाएसँगै तत्काललाई दुई देशको व्यापारमा ठूलो असर परेको छ ।
ठूला सिमेन्ट उद्योग घाटामा, निर्यात र निर्माण ठप्प
काठमाडौं । पछिल्लो समय सिमेन्ट कम्पनीहरूको आम्दानीमा भारी ह्रास आएको छ । ठूला सिमेन्ट उद्योगहरु नै घाटामा सञ्चालन भइरहेको छन् । नाम चलेका अर्घाखाँची सिमेन्ट, मारुती, अग्नी सिमेन्टको नाफामा निरन्तर ओरालो लागेको छ । २०८०/८१ मा अर्घाखाँची सिमेन्टले ६ अर्ब ६ करोड आम्दानी गरेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा अर्घाखाँची सिमेन्टले ३ अर्ब ९६ करोडको मात्रै आम्दानी गरेको छ । कम्पनीको २०७९/८० मा ५ अर्ब ७७ करोडको आम्दानी गरेको थियो । त्यसअघिको आर्थिक वर्षमा अर्घाखाँची सिमेन्टले ७ अर्ब ५८ करोड आम्दानी गरेको देखिन्छ । कम्पनीले अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो पकड बनाउन नसक्दा व्यापार खुम्चिएको रेटिङ्बाट देखिएको छ । पछिल्लो समय नेपालमा विकास निर्माणका भइरहेको ढिलासुस्तीमा सिमेन्टहरुले भने भारतमा आफ्नो बजार बनाउँदै लगि रहेका छन् तर पछिल्ला दिनहरुमा भारतले निर्यातमा कडाइ गर्दा त्यसको असर सिमेन्ट कम्पनीमा परेको छ । नियामकीय अवरोधहरु दीर्घकालिन रुपमा अझै नहटेकाले कम्पनीलाई निर्यातमा अझै चुनौती कायमै रहेको छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार घरेलु माग सुस्त छ । सोही कारणले पनि सिमेन्ट कम्पनीलाई चुनौती बढाएको छ । अर्घाखाँचीको वार्षिक जडित क्षमता १० लाख टन हो । सिमेन्ट कारखाना रुपन्देहीमा छ । यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७ दशमलव ५ प्रतिशत र भारती कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७ दशमलव ५ प्रतिशत लगानी छ । कम्पनी हाल ‘अर्घाखाँची सिमेण्ट’ ब्रान्ड अन्तर्गत ओपीसी र पीपीसी सिमेण्ट उत्पादन गरिरहेको छ । सन् १९९८ मा स्थापना भएको डाइनेस्टी इन्डस्ट्रिज नेपाल प्रालिको नाम परिवर्तन भई २०११ जुनमा अर्घाखाँची सिमेन्ट प्रालि भएको थियो । २०२१ जुलाईमा पब्लिक कम्पनी बनेपछि यसको नाम अर्घाखाँची सिमेन्ट लिमिटेड भएको थियो । अर्को नाम चलेको कम्पनी हो, मारुती सिमेन्ट । मारुती सिमेन्टले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ३ अर्ब ९८ करोड आम्दानी गरेको छ । कम्पनीको २०७९/८० मा ४ अर्ब ७५ करोडको आम्दानी गरेको थियो । यो सिमेन्टले पनि सोचेअनुसार आम्दानी गर्न सकेको छैन । मारुतीले केयर रिटङ कम्पनीको रेटिङ गराउँदा कच्चा पदार्थमा भएको मूल्यवृद्धि, बजारमा देखिएको अस्वथ्य प्रतिष्पर्धा, नियमकीय अवरोधले उल्लेख्य आम्दानी हासिल गर्न नसकेको देखाएको छ । मारुती सिमेन्ट लिमिटेडको स्थापना सन् १९९४ अक्टोबर ३१ मा भएको हो । जसमा राठी समूह र गोयल समूहका कम्पनीहरू समावेश छन् । कम्पनी हाल सिमेण्ट उत्पादन तथा बिक्रीमा संलग्न छ । यसले दैनिक १ हजार ५ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने र २ हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने क्षमता राख्ने गरेको छ । कम्पनीले आफ्नो क्लिङ्कर उत्पादन क्षमता थप १ सय ८ सय मेट्रिक टन प्रतिदिन र उत्पादन क्षमता थप २ हजार मेट्रिक टन प्रतिदिनले बढाउने योजना राखेको छ । पुरानो नाम चलेको अग्नी सिमेन्टको नाफा समेत घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा २५.३२ प्रतिशतले घटेको छ । सन् २०२४ मा निर्माण कार्यले गति नलिँदा व्यापारमा कमी आएको छ । सन् २०२३ मा ६७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा ४० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२४ मा क्षमताको उपयोगमा ९.८४ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीले व्यापार घट्नुको कारण मूल्यवृद्धि पनि एक देखिएको छ । सन् २०२३ मा प्रतिक मेट्रिकटन टन ८ हजार ३ सय ६६ रुपैयाँमा विक्री गरेको थियो । तर सन् २०२४ मा कम्पनीले प्रति मेट्रिकटन टन ६ हजार ९७ रुपैयाँमा बिक्री गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २२ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ । सन् २०२४ को सोही अवधिमा कम्पनीले २० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सन् २००७ मा स्थापान भएको कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट दैनिक ९ सय मेट्रिकटन टनमा उत्पादन गर्दै आएको छ ।
शोधनान्तर स्थिति करिब ५ खर्ब बचतमा, १४ खर्ब पुग्यो व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्म शोधनान्तर स्थिति झण्डै ५ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेको छ । यस्तै, चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसैगरी, समीक्षा अवधिमा ११ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८१/८२ कोएघार महिनामा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १५.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ६७ अर्ब ३० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो ।
चिकित्सकको आन्दोलनले वीर अस्पतालमा विरामीको बिचल्ली
काठमाडौं । उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा विरामीहरू मारमा परेका छन् । सोमबादेखि चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारी आन्दोलनमा होमिँदा वीर अस्पतालको ओपिडी सेवा नै बन्द भएपछि विरामी बिचल्लीमा परेका हुन् । नियमति उपचार गर्न आउने विरामीहरुले ओपिडी सेवा समेत पाउन नसकेको गुनासो गरेका छन् । बिरामीको रिपोर्टको आधारमा आवश्यक औषधि लेख्ने चिकित्सक नै ओपिडीमा नभेटिएपछि आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरू आन्दोलनमा निस्किदा विरामीहरु मारमा परेका हुन् । उपभोक्ता अदालतको फैसलाविरुद्ध उनीहरु सोमबारदेखि आन्दोलनमा छन् । अदालतले केही साताअघि अस्पताल र चिकित्सकविरुद्ध फैसला गरेको थियो । अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिसम्बन्धी फैसला गरेको थियो । त्यो फैसलाले अहिले चिकित्सकहरू आन्दोलित भएका हुन् ।
नेपाल एसबिआई बैंकको ३२औं वार्षिकोत्सव सम्पन्न, रक्तदान र ह्वीलचेयर वितरण
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सोमबार ३२औं वार्षिकोत्सव विविध कार्यक्रमहरू गरेर मनाएको छ । यस अवसरमा बैंकले सबै कर्मचारीलाई समेटेर सपथ ग्रहण समारोह आयोजना गरेको थियो, जहाँ सहभागी कर्मचारीहरूले बैंकप्रतिको प्रतिबद्धता नवीकरण गरेका थिए । समारोहलाई सम्बोधन गर्दै बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले बैंकले हालसम्म हासिल गरेका उपलब्धिहरूको समिक्षा गर्दै दिगो प्रगतिका लागि सबै कर्मचारीले आफ्नो व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । साथै, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको निरन्तर सफलतामा योगदान पुर्याउने सबै कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यस्तै समर्पणका साथ अघि बढ्न आग्रह गरे । त्यस्तै, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डाले बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थागत मूल्य, पारदर्शिता, र सेवा उत्कृष्टता बैंकको मूल आधार भएको उल्लेख गरे । उक्त अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कमलादीस्थित कर्पोरेट कार्यालय तथा सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै, रूपन्देहीको भैरहवामा फरक क्षमताका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गरेर समावेशी सेवा तथा सहानुभूतिको सन्देश दिएको छ । नेपाल एसबिआई बैंकले विगत तीन दशकभन्दा बढी समयदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको छ, र आगामी दिनहरूमा अझ नविन र जिम्मेवार सेवाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
वार्षिक मुद्रास्फीति घटेर २.७२ प्रतिशतमा सीमित, खाद्य वस्तुको मूल्य स्थिर
काठमाडौं । वार्षिक मुद्रास्फीति घटेर २.७२ प्रतिशतमा सीमित रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ४.१७ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत मात्र रहँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत पुगेको छ । खाद्य समूहभित्र घ्यू तथा तेलको मूल्य १०.०६ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दालरगेडागुडीको २.८५ प्रतिशतले बढेको छ भने तरकारीको मूल्य ७.०४ प्रतिशत, मरमसलाको ३.०६ प्रतिशत र माछारमासुको २.९१ प्रतिशतले घटेको छ । त्यस्तै गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवामा ९.४३ प्रतिशत, कपडा तथा जुत्तारचप्पलमा ६.८२ प्रतिशत, शिक्षामा ५.८८ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थमा ४.६८ प्रतिशत मूल्य वृद्धी देखिएको छ । स्थानगत रूपमा ग्रामीण क्षेत्रको मुद्रास्फीति २.९० प्रतिशत र सहरी क्षेत्रको २.६६ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकाको मुद्रास्फीति २.७३ प्रतिशत, तराईमा २.५८, पहाडमा २.४८ र हिमाली क्षेत्रमा सबैभन्दा बढी ४.१८ प्रतिशत छ । प्रदेशगत रूपमा कोशी र हिमाल क्षेत्र ४.१८ प्रतिशतले अगाडि छन् भने मधेश २.५२, बागमती २.२९, गण्डकी १.७५, लुम्बिनी २.३९, कर्णाली २.५४ र सुदूरपश्चिममा ३.८६ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ । थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति भने घटेर १.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.४८ प्रतिशत थियो । उपभोग्य वस्तुहरूमा थोक मुद्रास्फीति ५.६६ प्रतिशत, मध्यवर्ती वस्तुहरूमा ०.९३ प्रतिशत गिरावट र पुँजीगत वस्तुहरूमा २.९९ प्रतिशत वृद्धी देखिएको छ भने निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ०.३५ प्रतिशत मात्र बढेको छ ।
२५ खर्ब ६९ अर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति, १७.६ महिनाको आयात धान्ने
काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा विदेशी मुद्रा सञ्चिति (विदेशी विनिमय) २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशत अर्थात् ५ खर्ब २८ अर्ब २८ करोड रुपैयाँ वृद्धि भएको हो । २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति जेठसम्ममा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ । जबकी २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड मात्रै विदेशी मुद्रा सञ्चिति थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । गत वर्षको असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थासँग २०८१ असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ जेठमा ५३.२ प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । जेठसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ जेठमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।