विकासन्युज

रसुवामा आएको बाढीले २०० मेगावाट विद्युत उत्पादन बन्द

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण नेपाल विद्युत् प्राधिकरण तथा त्यस अन्तर्गतका परियोजनाबाट उत्पादन हुँदै आएको झण्डै २०० मेगावाट विद्युत् आपूर्ति रोकिएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएको छ । साथै, आयोजनासम्म पुग्ने पुलमा पनि क्षति पुगेको छ, जसका कारण यातायात पूर्ण रूपमा बन्द छ । टेलरेसमा भौतिक क्षति नभए पनि माटो र गेग्रान थुप्रिएको छ । यद्यपि पावरहाउस सुरक्षित रहेको उनले जानकारी दिए । उनले भने, ‘६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनामा पनि बाढी पसेको छ । भवनमा पानी पसेको भए पनि क्षतिको विस्तृत विवरण आइसकेको छैन । त्रिशूली ३ बी सबस्टेसन हिलोले पुरिएको छ र आयोजना पूर्ण रूपमा बन्द गरिएको छ ।’ त्यस्तै, त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एक बाइपास टावर बाढीले बगाएको उनको भनाइ छ ।  यी सबै आयोजनाबाट उत्पादन बन्द भएकोले त्रिशूली करिडोरमा सञ्चालित कुल २०० मेगावाट विद्युत् उत्पादन ठप्प भएको प्राधिकरणले जनाएको छ । प्रवक्ता ढकालका अनुसार यो प्रारम्भिक विवरण मात्र हो, विस्तृत मूल्याङ्कनपछि थप क्षतिको विवरण आउनेछ ।

जापान र दक्षिण कोरियामाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि जापान र दक्षिण कोरियाबाट हुने आयातमा २५ प्रतिशत कर लगाइने बताएका छन् । कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीलाई सम्बोधन गरिएको आफ्नो पत्रमा ट्रम्पले नयाँ करहरू अन्य सबै क्षेत्रीय करहरू भन्दा फरक हुने बताए ।  यदि दुई देशहरूले प्रतिक्रियामा आफ्नो कर बढाए भने संयुक्त राज्य अमेरिकाले आफ्नो करहरू उही मात्रामा बढाउने ट्रम्पले चेतावनी दिए । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पले पारस्परिक शुल्कमा रोक जुलाई ९ देखि अगस्ट १ सम्म विस्तार गर्न कार्यकारी आदेश जारी गर्ने योजना बनाएको बताए ।  लेभिटले लगभग १२ अन्य राष्ट्रहरूका लागि पनि यस्तै सूचनाहरू प्राप्त गर्ने बताए ।  

दर्जनौं गाडी बगायो, रसुवागढी हाइड्रोमा क्षति, १५ जना सम्पर्क विहीन

काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२  टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात वटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका करिब सात वटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ ।  बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । खोलामा बाढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।  बाढी बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएकोे छ । रसुवा गोसाइँकुण्ड गाउँपालिका-२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ । भीषण बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ । २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको र अन्य १५ जना सम्पर्क विहीन रहेको सहायक प्रजीअ ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।  प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ । 

नेपालमा मेट्रो रेलमा लगानीको तयारी, जर्मन-बेलायती लगानीकर्तासँग वार्ता अघि बढ्दै

काठमाडौं । नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपालमा मेट्रो रेलमा लगानी परिचालन गर्न जर्मनी र बेलायतका लगानीकर्तासँग छलफल अघि बढाइएको बताएका छन् । लन्डनमा आयोजित एक विशेष बीटुबी मिटिङमा अध्यक्ष कुँवरले उक्त जानकारी दिएका हुन् । उक्त कार्यक्रम नेपाली राजदूतावास, लन्डन र सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेको संयुक्त आयोजनामा भएको हो । नेपालको तर्फबाट कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली र अध्यक्ष कुँवर सहभागी थिए । कार्यक्रममा सीईओ ज्ञवालीले नेपालमा विशेषगरी यातायात पूर्वाधार क्षेत्रमा लगानीका थुप्रै सम्भावना रहेको उल्लेख गर्दै मेट्रो रेलमा संयुक्त लगानीको प्रस्ताव राखे । उनले लगानीकर्तालाई नेपाल सरकारले लगानीको पूर्ण सुरक्षा दिने प्रत्याभूति रहेको समेत प्रस्ट पारे । उनले भने, 'नेपालमा अहिले लगानीको अनुकूल वातावरण छ । प्रतिफलको सम्भावना राम्रो छ। पूर्वाधार विशेष गरी मेट्रो रेल जस्ता परियोजनामा लगानीको ठुलो अवसर छ ।' कार्यक्रममा सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रो रेलको प्रारम्भिक खाका प्रस्तुत गर्दै प्रविधि, लागत र सम्भाव्यताका विषयमा प्राविधिक विवरणसमेत राखे । उनले मेट्रो रेल नेपालका सहरी क्षेत्रका लागि अत्यावश्यक भएको भन्दै यसमा लगानी गर्न उपयुक्त समय रहेको बताए । त्यसैगरी, बेलायतका लागि नेपालका महामहिम राजदूत चन्द्र घिमीरेले नेपालको व्यवसायिक वातावरण सुधारोन्मुख रहेको उल्लेख गर्दै लगानीकर्ताहरूलाई मेट्रो रेललगायत ठूला पूर्वाधार परियोजनामा सहभागी हुन आग्रह गरे । कार्यक्रममा सहभागी बेलायती र जर्मन व्यवसायीहरूले नेपालमा मेट्रो रेल परियोजनामा चासो देखाउँदै थप अध्ययन र सहकार्यका लागि इच्छा व्यक्त गरेका थिए ।

गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीमा देशभर वृक्षारोपण, बर-पिपल चौतारी बनाउने लक्ष्य

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरिशयनी एकादशीको अवसरमा देशका विभिन्न स्थानहरूमा धार्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिने बर र पिपलका विरुवाहरू रोपेको छ। असार २२ गते सम्पन्न वृक्षारोपण कार्यक्रम कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट, छाँयाक्षेत्र शिवमन्दिर परिसर, र दाङ्गको मोतिपुर पुल क्षेत्रमा सम्पन्न भएको हो । कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, कर्मचारी, सेयरधनीहरू तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति थियो । गरिमा विकास बैंकले यस्तो अभियानले वातावरण संरक्षण, हरित विकासको प्रवर्द्धन, धार्मिक सम्पदाको संरक्षण र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बैंकले वृक्षारोपण गरिएका स्थानहरूलाई आगामी दिनमा ‘बर–पिपल चौतारी’ का रूपमा विकास गरी संरक्षण गर्ने योजना पनि अघि सारेको छ ।

वर्षा सुरु भएसँगै म्याग्दीका पर्यटकीयस्थल सुनसान, घटे पर्यटक

म्याग्दी । वर्षा सुरु भएसँगै यहाँका पर्यटकीयस्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र भुरुङ, तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनालगायत क्षेत्रमा वर्षा सुरु भएसँगै घुम्न आउने पर्यटक घटेका हुन् । अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीस्थित होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले प्रतिकूल मौसमका कारण पछिल्लो समय पर्यटकको आगमन घटेको बताए । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घोडेपानीमा दैनिक एक हजार क्षमताका २५ वटा सुविधायुक्त होटल रहेका जनाउँदै ती होटलहरू आजभोलि सुनसान रहेका उनले उल्लेख गरे । “जेठदेखि भदौसम्म झरी लाग्ने, सडक तथा पदमार्ग अवरुद्ध हुने हुँदा पर्यटन व्यवसायका हिसाबले बेमौसमी मानिन्छ”, पुनले भने, “पहाडी क्षेत्रमा बादल लागेर हिमाल छोपिने हुँदा पर्यटक आगमन नभएको हो ।” बेनी-जोमसोम सडक भएर मुस्ताङ जानेआउने पर्यटकहरूका लागि थकान मेटाउने थलोका रूपमा रहेको अन्नपूर्ण गाउँपालिका-२ स्थित भुरुङ तातोपानी र प्राकृतिक उपचारस्थलका रूपमा बेनी-४ स्थित सिङ्गा तातोपानी कुण्ड पनि सुनसान बनेको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्रमान शाक्यले पर्यटकीय याममा दैनिक एक हजारको हाराहारीमा स्नान गर्ने धार्मिक पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउनेमा अहिले दैनिक ५० जना पनि नपुग्ने गरेको बताए । म्याग्दीमा पदयात्रा, हिमाल आरोहण, हिमशृङ्खला, सूर्योदय, झरना, गल्छी, ग्रामीण जनजीवन र विभिन्न जातजातिको संस्कृतिको अवलोकनका लागि पर्यटक आउने गर्छन् । असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना पर्यटकीय यामका रूपमा मानिन्छ । जेठ, असार, साउन र भदौ महिना पर्यटक आगमन शून्य जस्तै हुने गरेको छ । पर्यटक आगमन बघेसँगै होटल तथा पर्यटन व्यवसायीहरू फुर्सदिला भएका छन्, पदमार्गमा चहलपहल छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार म्याग्दीमा वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । रासस

त्रिशूलीमा फसेका दुई जनाको सकुशल उद्धार

काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।  नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका-१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए ।  अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ । 

उद्योगी व्यवसायीहरूको अनुहारमा हाँसो ल्याउने मौद्रिक नीति चाहियो

काठमाडौं । निजी क्षेत्रका तीन संस्थाले आगामी मौद्रिक नीति लचिलो आउनुपर्ने माग गरेका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी मौद्रिक नीति २०८२/८३ को छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरूको अनुहारमा हाँसो आउने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल अहिलेको ब्याजदरलाई दीर्घकालसम्म स्थिरता दिने गरी मौद्रिक नीति आउनुपर्ने बताउँछन् । साथै, आफूहरूसँगको भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सरप्राइज हुने किसिमको नीति नल्याउने बताएको उनले जानकारी दिए ।  कोरोनाकालमा राष्ट्र बैंकले सहज नीति ल्याएको भएपनि लगत्तै नीति पुनरावलोकनमा कडाइ गरेको हुँदा अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ । उनका अनुसार उद्योग व्यवसाय ५० प्रतिशत क्षमतामा चलिरहेका छन् ।  ‘गभर्नरज्यूले हामीसँगको भेटमा सरप्राइज हुने गरि नीति नल्याउने भन्नु भएको छ । अब ब्याजदर स्थिरतामा ध्यान दिनुपर्नेछ । विदेशमा ०.२५ प्रतिशत ब्याजदर बढ्दा बहसको विषय बन्छ । तर नेपालमा ८ प्रतिशतको ब्याज १६ प्रतिशत पुग्दा कसैले ध्यान दिँदैन,’ उनले भने, ‘नियन्त्रण मुखी नीति ल्याउँदा बजार अझै सशंकित हुने भएकाले सहज नीति ल्याउनुपर्छ । सबै उद्योगी व्यवसायीको मुखमा हाँसो ल्याउने मौद्रिक नीति आउने विश्वास लिएको छु ।’ नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा ब्याजदर धेरै सस्तो, रेमिटेन्स उच्च आउँदा पनि कर्जा लगानी हुन नसक्नुमा पछि थुप्रै कारणहरू रहेको बताउँछन् । साथै, पुँजी पलायन भइरहेको उनको भनाइ छ । अस्थिर नीतिले अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ । बैंकहरुले ५ प्रतिशतसम्म प्रिमियम लिइरहेको हुँदा यसमा राष्ट्र बैंकले हस्तक्षेप गरेर झार्नुपर्ने उनले माग गरे ।  ‘सहकारी संस्था आफैले घरजग्गामा लगानी गरेका छन् । घरजग्गामा कडाइ गर्दा त्यो बिक्री वितरण हुन नसक्दा सहकारीमा समस्या आएको हो । अहिले घरजग्गामा माग छैन, सप्लाइ उच्च छ,’ उनले भने, ‘उद्योगी व्यवसायीले गरेको गल्तीलाई राष्ट्र बैंकले सच्चिने मौका दिनुपर्छ । अब कसैले गल्ती नगर्ने गरि सुधारको पक्षमा छन् ।’  नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्यक्ष बिरेन्द्र पाण्डे कालोसूचीमा राख्ने प्रावधानलाई खुकुलो गरेर बढाउनुपर्ने बताउँछन् । साथै, वर्किङ क्यापिटल गाइड लाइनमा पुनरावलोकन गर्न जरुरी रहेको उनको भनाइ छ ।