विकासन्युज

राप्ती हाइड्रोको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयरमा आवेदन दिने आज असार २४ गते अन्तिम दिन रहेको छ । असार १ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ सय प्रतिशत तथा १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा हकप्रद बिक्री खुला गरेको हो ।  कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक र राप्ती हाइड्रोको कर्पोरेट कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मुक्तिनाथ विकास बैंकका विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज पर्सा, जनकपुर धनुषा, नारायणगढ चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही, नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । ​​​​​​ इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हिम स्टार उर्जाको आईपीओ बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आज असार २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूलाई १८ हजार ६५० कित्ता, सामूहिक लगानी कोषहरूलाई ४६ हजार ६२५ कित्ता र बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरेको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि उक्त समयमा सेयर बिक्री नभएमा आवेदन दिने समय साउन ६ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सङ्घीय संसदका दुवै बैठक बस्दै, मन्त्रीले उत्तर दिने

काठमाडौं । आज सङ्घीय संसदको दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । यसैगरी, अपरान्ह १ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

शिक्षा ऐन कार्यान्वयन र मेरिटमा उपकुलपति नियुक्तिको माग गर्दै नेविसंघ त्रि-चन्द्रको हस्ताक्षर अभियान सुरु

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) त्रि-चन्द्र बहमुखि क्यामपस इकाई समितिले शिक्षा ऐनको तत्काल कार्यान्वयन र विश्वविद्यालयमा योग्यता प्रणाली (मेरिटबेस) मा आधारित उपकुलपति नियुक्तिको माग गर्दै दबाबमूलक हस्ताक्षर अभियान सुरु गरेको छ।    लामो समयदेखि राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्तिल लगायत अन्य पधाधिकारीको नियुक्तिले गर्दा  शैक्षिक तथा प्राज्ञिक वातावरण खस्किएको भन्दै यसको अन्त्यका लागि दबाब दिन अभियान थालिएको नेविसंघ त्री चन्द्रका सभापति अमृत बहादुर शाहीले बताए।  उनले भने, ‘लामो समयदेखि प्रतीक्षित शिक्षा ऐन अझैसम्म लागू हुन सकेको छैन, जसले समग्र शैक्षिक क्षेत्रलाई नै अलमलमा पारेको छ। अर्कोतर्फ, विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दलीय भागबन्डाका आधारमा उपकुलपति नियुक्त गर्ने गलत परम्पराले यसको गरिमामाथि नै प्रहार भएको छ। यो विषय देशका सबै विद्यार्थीको  साझा सरोकार विषय हो।’ नेविसंघ त्रि-चन्द्रले सबै संघ , सङ्गठन र क्रियाशील समूहलाई जोडेर  विश्वविद्यालयको उपकुलपतिमा मेरिटोक्रेसी लागू हुनुपर्ने र सबै शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसमा हस्ताक्षर संकलन अभियानले देशभरिका ७० लाखभन्दा बढी विद्यार्थीलाई लाभ हुने विषय भएकाले विधेयकले विभेदकारी शिक्षा नीतिलाई बढवा दिएको, संविधानको मर्म र सङ्घीयताको भावना विपरीत भएकाले शिक्षालाई संविधानले प्रत्याभूत गरेको मौलिक हकअनुसार बनाउनुपर्नेमा जोड दिनुपर्ने शाहीको भनाइ छ ।   

धनगढीको स्वरूप फेरिँदै, सडक स्तरोन्नति र स्मार्ट बत्तीले झलमल

  धनगढी । पछिल्ला वर्षमा सडक पूर्वाधारको स्तरोन्नतिसँगै धनगढी सहरको स्वरूप उल्लेख्य रूपमा परिवर्तन हुँदै गएको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीका रूपमा रहेको धनगढीका मुख्य र सहायक सडकहरू क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत स्तरोन्नति हुँदैछन्। करीब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ। एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित उक्त आयोजनाले सहिद गेटदेखि क्याम्पस, गुल्मदेखि चर्च, मालपोत सडक, कैलाली पुलदेखि ट्राफिक चौराहा, डिभोटी होटलदेखि दाहाल टोलसम्मका सडक स्तरोन्नति गरिसकेको छ। सडक दायाँबायाँ फुटपाथसहित सुरक्षाका लागि फलामे बार जडान गरिएको छ। साथै, रु १ अर्ब २५ करोडको लागतमा धनगढी उपमहानगरपालिका-७ पटेला क्षेत्रमा एकीकृत फोहरमैला व्यवस्थापनसम्बन्धी योजना अगाडि बढाइएको छ। अन्य नगरहरूमा पनि विकासको लहर धनगढीबाहेक कैलालीको अत्तरिया, कञ्चनपुरको झलारीपिपलाडी र भीमदत्त (महेन्द्रनगर) नगरपालिकामा पनि सडक स्तरोन्नति, सार्वजनिक भवन निर्माण, ढल निकास, तथा फोहर व्यवस्थापन जस्ता काम भइरहेको छ । सङ्घीय सहरी विकास तथा भवन कार्यालय, धनगढीमार्फत पञ्चवर्षीय योजना अन्तर्गत यी कार्यहरू सञ्चालनमा छन् । प्रदेश सरकारको बजेटबाट कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक स्तरोन्नति भइरहेका बेला धनगढी उपमहानगरपालिकाको पहलमा स्मार्ट स्ट्रिट लाइट, हाइमास्ट लाइट, फ्लड लाइट, र स्ट्रिप लाइट जडान गरिएका छन् । यसले ‘उज्यालो धनगढी’ अभियानलाई सार्थक बनाएको छ । हरियाली र सौन्दर्यकरणको अभियान सडकका दायाँबायाँ फूलका बोटबिरुवासहितको हरियाली र रंगीबिरंगी बत्तीहरूले धनगढी झिलिमिली सहरको रूपमा चिनिन थालेको छ। साँझपख बत्तीहरू बालिएपछि टिकटक बनाउने र तस्बिर खिच्ने युवाहरूको समूह देखिन थालेका छन् । ‘उज्यालो धनगढी’ अभियानअन्तर्गत उपमहानगरका सबै वडामा बत्ती विस्तार गर्ने तयारी भइरहेको उपमहानगरका इञ्जिनियर अशोक अवस्थीले जानकारी दिए ।  मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्म १४.२ किलोमिटर लामो सडक स्तरोन्नति भइसकेको छ । गेटा खण्डको मोहनापुलदेखि मनोहरा पुलसम्म छ लेन, र मनोहरा पुलदेखि अत्तरिया चोकसम्म आठ लेनको सडक निर्माण भइसकेको छ । यस आयोजनाको कुल लागत रु १ अर्ब ७८ करोड रहेको छ । सडकको बीच भागमा मिडियन बनाइ फूलबिरुवा रोपिएको छ भने दायाँबायाँ दुई मिटर चौडा फुटपाथ निर्माण गरिएको छ । यद्यपि मनोहरा खोला र मोहना नदीमाथि बन्ने पुलको निर्माण बजेट अभावका कारण रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । धनगढी सहरको विकास तीव्र गतिमा भइरहे पनि विनायोजना बस्ती विस्तार, जल निकासको कमजोर संरचना र नदी कटानका समस्याले अझै नगरवासीलाई असर पारिरहेको छ । सामान्य वर्षामा समेत पानी जम्ने समस्या समाधान गर्नुपर्ने चुनौती कायमै छ । फोहर व्यवस्थापन अहिले निजी क्षेत्रमार्फत भइरहेको छ । तर, उपमहानगरका कतिपय वडामा अझै सडक, खानेपानी जस्ता आधारभूत सुविधा अभाव रहेको छ । कतिपय विकास गतिविधि शक्ति र पहुँचवालाका वडामा मात्रै सीमित भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई केही वर्षअघि बेलादेवीपुर, फूलबारी, उर्मा र गेटाका केही वडालाई समेटेर उपमहानगरपालिकामा रूपान्तरण गरिएको हो । स्थानीयवासी यज्ञराज भट्टका अनुसार झिलिमिली बत्ती र स्तरोन्नत सडकले धनगढीको रूप नै फेरिएको छ। उपमहानगरपालिकाले ‘हरियाली धनगढी अभियान’ अन्तर्गत सार्वजनिक सडक तथा स्थानमा वृक्षारोपण पनि गरिरहेको छ, जसले धनगढीलाई सुन्दर र हराभरा सहरको रूपमा विकास गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।  

मौद्रिक नीतिबारे उपाध्यक्ष अधिकारी र गर्भनर पाैडेलबीच छलफल, देशलाई ग्रे लिष्टबाट हटाउन एकजुट भएर लाग्ने प्रतिवद्धता

काठमाडाैं । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच छलफल भएको छ । आज आयोगमा भएको छलफलका क्रममा बजेटसँग समन्वय हुनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारीबारे कुराकारी भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ । यस्तै, राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकमा लैजानुपर्ने एजेन्डाका विषयमा पनि छलफल भएको जनाइएको छ । 'छलफलका क्रममा उपाध्यक्ष अधिकारीले विद्यमान आर्थिक मोडल र कार्यशैलीका सन्दर्भमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । यस्तै, दशकौँसम्म निर्माण सम्पन्न हुन नसकेका राष्ट्रिय गौरवका आयोजनालाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको छ,' सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ । लक्षित आर्थिक वृद्धि हासिल गर्न प्रत्यक्ष आन्तरिक लगानी बढाउनुपर्नेमा पनि उपाध्यक्ष अधिकारीको जोड थियो । छलफलका क्रममा गभर्नर पौडेलले हाल अनुत्पादक क्षेत्रमा ठूलो आकारमा कर्जा लगानी भएको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न आवश्यक रहेको धारणा राखे । यस्तै, नेपाल सम्पत्ति शुद्धीकरण मामलामा वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा परेकामा चिन्ता व्यक्त गर्दै उनले उक्त सूचीबाट चाँडो बाहिर निस्कन राष्ट्र बैंकले आफ्नो क्षेत्रबाट गर्नुपर्ने सबै प्रयास गरिरहेको बताए ।  छलफलका क्रममा हाल लघुवित्त र सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरिनुपर्ने, कृषि क्षेत्रमा सहज रूपमा सहुलियत कर्जा प्रवाह हुनुपर्ने लगायत विषय उठेका थिए ।  यस्तै, बैंक तथा वित्तीय क्षेत्रका शाखाहरू सहरी क्षेत्रमा निकै बढी भए पनि ग्रामीण क्षेत्रमा वित्तीय पहुँच अझै कमजोर रहेको, बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढेको, ब्याजदर घट्दा पनि अपेक्षाअनुसार कर्जा लगानी हुन नसकेका जस्ता समस्या समाधान गर्नेगरी आगामी आवको मौद्रिक नीति ल्याइनुपर्ने आवश्यकता औँल्याइएको थियो । 

रेलको ठक्करबाट एक जनाको मृत्यु, घटनाबारे अनुसन्धान हुँदै

काठमाडौं । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एक जनाको ज्यान गएको छ ।  जिल्ला प्रहरीका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, जयनगर जनकपुर कुर्था रेल्वेमा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साहको रेलको ठक्करबाट मृत्यु भएको हो ।  कानमा ‘इयरफोन’ लगाएर रेल्वे लिकमा हिँडिरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । हर्न बजाए पनि नसुन्दा उनको रेलले ठक्कर दिइ ज्यान गएको हो ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।