विकासन्युज

धनगढीको स्वरूप फेरिँदै, सडक स्तरोन्नति र स्मार्ट बत्तीले झलमल

  धनगढी । पछिल्ला वर्षमा सडक पूर्वाधारको स्तरोन्नतिसँगै धनगढी सहरको स्वरूप उल्लेख्य रूपमा परिवर्तन हुँदै गएको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीका रूपमा रहेको धनगढीका मुख्य र सहायक सडकहरू क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत स्तरोन्नति हुँदैछन्। करीब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ। एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित उक्त आयोजनाले सहिद गेटदेखि क्याम्पस, गुल्मदेखि चर्च, मालपोत सडक, कैलाली पुलदेखि ट्राफिक चौराहा, डिभोटी होटलदेखि दाहाल टोलसम्मका सडक स्तरोन्नति गरिसकेको छ। सडक दायाँबायाँ फुटपाथसहित सुरक्षाका लागि फलामे बार जडान गरिएको छ। साथै, रु १ अर्ब २५ करोडको लागतमा धनगढी उपमहानगरपालिका-७ पटेला क्षेत्रमा एकीकृत फोहरमैला व्यवस्थापनसम्बन्धी योजना अगाडि बढाइएको छ। अन्य नगरहरूमा पनि विकासको लहर धनगढीबाहेक कैलालीको अत्तरिया, कञ्चनपुरको झलारीपिपलाडी र भीमदत्त (महेन्द्रनगर) नगरपालिकामा पनि सडक स्तरोन्नति, सार्वजनिक भवन निर्माण, ढल निकास, तथा फोहर व्यवस्थापन जस्ता काम भइरहेको छ । सङ्घीय सहरी विकास तथा भवन कार्यालय, धनगढीमार्फत पञ्चवर्षीय योजना अन्तर्गत यी कार्यहरू सञ्चालनमा छन् । प्रदेश सरकारको बजेटबाट कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक स्तरोन्नति भइरहेका बेला धनगढी उपमहानगरपालिकाको पहलमा स्मार्ट स्ट्रिट लाइट, हाइमास्ट लाइट, फ्लड लाइट, र स्ट्रिप लाइट जडान गरिएका छन् । यसले ‘उज्यालो धनगढी’ अभियानलाई सार्थक बनाएको छ । हरियाली र सौन्दर्यकरणको अभियान सडकका दायाँबायाँ फूलका बोटबिरुवासहितको हरियाली र रंगीबिरंगी बत्तीहरूले धनगढी झिलिमिली सहरको रूपमा चिनिन थालेको छ। साँझपख बत्तीहरू बालिएपछि टिकटक बनाउने र तस्बिर खिच्ने युवाहरूको समूह देखिन थालेका छन् । ‘उज्यालो धनगढी’ अभियानअन्तर्गत उपमहानगरका सबै वडामा बत्ती विस्तार गर्ने तयारी भइरहेको उपमहानगरका इञ्जिनियर अशोक अवस्थीले जानकारी दिए ।  मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्म १४.२ किलोमिटर लामो सडक स्तरोन्नति भइसकेको छ । गेटा खण्डको मोहनापुलदेखि मनोहरा पुलसम्म छ लेन, र मनोहरा पुलदेखि अत्तरिया चोकसम्म आठ लेनको सडक निर्माण भइसकेको छ । यस आयोजनाको कुल लागत रु १ अर्ब ७८ करोड रहेको छ । सडकको बीच भागमा मिडियन बनाइ फूलबिरुवा रोपिएको छ भने दायाँबायाँ दुई मिटर चौडा फुटपाथ निर्माण गरिएको छ । यद्यपि मनोहरा खोला र मोहना नदीमाथि बन्ने पुलको निर्माण बजेट अभावका कारण रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । धनगढी सहरको विकास तीव्र गतिमा भइरहे पनि विनायोजना बस्ती विस्तार, जल निकासको कमजोर संरचना र नदी कटानका समस्याले अझै नगरवासीलाई असर पारिरहेको छ । सामान्य वर्षामा समेत पानी जम्ने समस्या समाधान गर्नुपर्ने चुनौती कायमै छ । फोहर व्यवस्थापन अहिले निजी क्षेत्रमार्फत भइरहेको छ । तर, उपमहानगरका कतिपय वडामा अझै सडक, खानेपानी जस्ता आधारभूत सुविधा अभाव रहेको छ । कतिपय विकास गतिविधि शक्ति र पहुँचवालाका वडामा मात्रै सीमित भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई केही वर्षअघि बेलादेवीपुर, फूलबारी, उर्मा र गेटाका केही वडालाई समेटेर उपमहानगरपालिकामा रूपान्तरण गरिएको हो । स्थानीयवासी यज्ञराज भट्टका अनुसार झिलिमिली बत्ती र स्तरोन्नत सडकले धनगढीको रूप नै फेरिएको छ। उपमहानगरपालिकाले ‘हरियाली धनगढी अभियान’ अन्तर्गत सार्वजनिक सडक तथा स्थानमा वृक्षारोपण पनि गरिरहेको छ, जसले धनगढीलाई सुन्दर र हराभरा सहरको रूपमा विकास गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।  

मौद्रिक नीतिबारे उपाध्यक्ष अधिकारी र गर्भनर पाैडेलबीच छलफल, देशलाई ग्रे लिष्टबाट हटाउन एकजुट भएर लाग्ने प्रतिवद्धता

काठमाडाैं । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच छलफल भएको छ । आज आयोगमा भएको छलफलका क्रममा बजेटसँग समन्वय हुनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारीबारे कुराकारी भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ । यस्तै, राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकमा लैजानुपर्ने एजेन्डाका विषयमा पनि छलफल भएको जनाइएको छ । 'छलफलका क्रममा उपाध्यक्ष अधिकारीले विद्यमान आर्थिक मोडल र कार्यशैलीका सन्दर्भमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । यस्तै, दशकौँसम्म निर्माण सम्पन्न हुन नसकेका राष्ट्रिय गौरवका आयोजनालाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको छ,' सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ । लक्षित आर्थिक वृद्धि हासिल गर्न प्रत्यक्ष आन्तरिक लगानी बढाउनुपर्नेमा पनि उपाध्यक्ष अधिकारीको जोड थियो । छलफलका क्रममा गभर्नर पौडेलले हाल अनुत्पादक क्षेत्रमा ठूलो आकारमा कर्जा लगानी भएको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न आवश्यक रहेको धारणा राखे । यस्तै, नेपाल सम्पत्ति शुद्धीकरण मामलामा वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा परेकामा चिन्ता व्यक्त गर्दै उनले उक्त सूचीबाट चाँडो बाहिर निस्कन राष्ट्र बैंकले आफ्नो क्षेत्रबाट गर्नुपर्ने सबै प्रयास गरिरहेको बताए ।  छलफलका क्रममा हाल लघुवित्त र सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरिनुपर्ने, कृषि क्षेत्रमा सहज रूपमा सहुलियत कर्जा प्रवाह हुनुपर्ने लगायत विषय उठेका थिए ।  यस्तै, बैंक तथा वित्तीय क्षेत्रका शाखाहरू सहरी क्षेत्रमा निकै बढी भए पनि ग्रामीण क्षेत्रमा वित्तीय पहुँच अझै कमजोर रहेको, बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढेको, ब्याजदर घट्दा पनि अपेक्षाअनुसार कर्जा लगानी हुन नसकेका जस्ता समस्या समाधान गर्नेगरी आगामी आवको मौद्रिक नीति ल्याइनुपर्ने आवश्यकता औँल्याइएको थियो । 

रेलको ठक्करबाट एक जनाको मृत्यु, घटनाबारे अनुसन्धान हुँदै

काठमाडौं । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एक जनाको ज्यान गएको छ ।  जिल्ला प्रहरीका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, जयनगर जनकपुर कुर्था रेल्वेमा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साहको रेलको ठक्करबाट मृत्यु भएको हो ।  कानमा ‘इयरफोन’ लगाएर रेल्वे लिकमा हिँडिरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । हर्न बजाए पनि नसुन्दा उनको रेलले ठक्कर दिइ ज्यान गएको हो ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टीभीएसको नयाँ जुपिटर नेपाली बजारमा, मूल्य २ लाख ५८ हजार

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस जुपिटरको नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । साेमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नयाँ जुपिटर सार्वजनिक गरिएको हो । नयाँ जुपिटरको मूल्य २ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार लन्चिङ अवसरमा जुलाई महिनाभर शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध हुनेछ । टीभीएस जुपिटर पहिलेदेखि नै नेपाली बजारमा लोकप्रिय थियो । तर यसपटक परिमार्जित इन्जिन, थप सेफ्टी फिचर र अत्याधुनिक प्रविधिहरूका कारण नयाँ जुपिटरलाई थप आकर्षक बनाइएको कम्पनीको दाबी छ । नयाँ जुपिटरमा ११३ सीसी क्षमताको इन्जिन छ, जसले ८ बीएचपी पावर र ९.२ एनएम टर्क उत्पादन गर्छ । सीभीटी गियरबक्ससहितको यो स्कुटरलाई हलुका बनाउन विभिन्न हल्का मेटेरियल र पोलिमर प्रयोग गरिएको छ । फिचरका हिसाबले नयाँ जुपिटरमा बेस्ट–इन–क्लास सुविधाहरू जस्तै युएसबी मोबाइल चार्जिङ, साइलेन्ट स्टार्ट, फ्रन्ट २ लिटर ग्लोभबक्स, फाइन्ड माई भेइकल, भ्वाइस असिस्ट, ई–जेड सेन्टर स्ट्यान्ड, मेटल म्याक्स बडी, एलईडी हेडल्याम्प, कल अलर्ट, नेभिगेसन, एसबीटी सहितको डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छन् । त्यस्तै, फर्स्ट–इन–क्लास सुविधाका रूपमा डलब हेल्मेट स्पेस, आईजीओ असिस्ट, डिस्टेन्स टु एम्प्टी, हाजार्ड ल्याम्प्स, इमर्जेन्सी ब्रेक वार्निङ, फुल्ली डिजिटल कन्सोल, फ्रन्ट फ्युल फिल, एभरेज फ्युल इकोनोमी, इन्फिनिटी ल्याम्प्स, फलो मी हेडल्याम्प, रियल टाइम फ्युल इकोनोमी, बडी ब्यालेन्स टेक्नोलोजी, पियानो ब्ल्याक फिनिस र सबैभन्दा लामो सिटजस्ता विशेषता राखिएको कम्पनीले जनाएको छ । पहिलेको मोडलको तुलनामा यसमा अपडेटेड इन्जिन, नयाँ डिजाइन, थप सेफ्टी फिचर र नयाँ कलर अप्सन समेत उपलब्ध छन् । साथै ३३ लिटरको बुट स्पेस, फोन कनेक्टिभिटी, नेभिगेसन, भ्वाइस कमान्ड र युएसबी चार्जरले ग्राहकको अनुभवलाई अझ सहज र स्मार्ट बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यो स्कुटर नेपाली बजारका लागि विशेष रूपमा तयार पारिएको बताए । उनले भने, 'भारतमा चल्ने जुपिटर र नेपालमा ल्याइएको जुपिटरमा धेरै भिन्नता छ । नेपाली उपभोक्ताको आवश्यकता र यहाँको सडक सुहाउँदो बनाउन यसलाई २५ हजार किलोमिटरभन्दा बढी परीक्षण गरिएको छ ।' उनले शंकर ग्रुप र टीभीएसको १० वर्षे सफल सहयात्राले ग्राहकको विश्वास जितेको बताए । यस्तै, जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक मिश्रले नेपालको बढ्दो सहरी चाप र महँगो पेट्रोलको मूल्यलाई ध्यानमा राख्दै नयाँ टीभीएस ज्यूपिटर ११० स्कुटर बजारमा ल्याइएको बताए । उनले यो स्कुटर विशेषगरी मध्यवर्गीय परिवार, विद्यार्थी, महिला र कामकाजी व्यक्तिहरूको दैनिक यात्रालाई सहज र किफायती बनाउन डिजाइन गरिएकोमा जोड दिए ।  उनले भने, 'नेपालका सहरहरू दिनप्रतिदिन जामयुक्त हुँदैछन् । यस्तो अवस्थामा मध्यवर्गीय परिवार, विद्यार्थी, महिला र अफिस जानेहरूका लागि सस्तो, सहज र भरपर्दो सवारीको आवश्यकता बढेको छ ।'  उनले स्कुटर बजारमा ४२ प्रतिशतको वृद्धि भएको तथ्याङ्क प्रस्तुत गर्दै ११० देखि १२५ सीसी सेग्मेन्टको माग उच्च रहेको बताए ।   मिश्रले भने, 'हाम्रा १५० भन्दा बढी डिलर, ३०० भन्दा बढी सर्भिस सेन्टर र ४ हजारभन्दा बढी स्थानीय ग्यारेजसँगको सहकार्यले गर्दा ग्राहकले छिटो, भरपर्दो र सस्तो मूल्यमा मर्मत-सम्भार सेवा पाउनेछन् ।' उनले स्कुटरका पार्टपुर्जाहरू सजिलै र सस्तोमा उपलब्ध हुने कुरामा समेत विश्वस्त पारे । उनले टीभीएस जुपिटर नेपाली ग्राहकका लागि एक विश्वसनीय, स्टाइलिश र स्मार्ट स्कुटर साबित हुने विश्वास व्यक्त गरे । त्यस्तै, भारतका प्रतिनिधि अश्विन श्रीनिवासनले हरेक टीभीएस उत्पादन उपभोक्तालाई केन्द्रमा राखेर बनाइने र जुपिटरले नेपाली ग्राहकहरूको मन जित्नेमा विश्वस्त रहेको बताए । कार्यक्रममा ब्राण्ड एम्बेसेडर स्वस्तिमा खड्का र प्रदीप खड्काले टीभीएससँगको ५ वर्ष लामो सहकार्यप्रति गर्व महसुस भएको बताए । उनीहरूले टीभीएसले ग्राहकसँग बलियो सम्बन्ध बनाएको र जुपिटरले नेपाली बजारमा नयाँ तरंग ल्याउने विश्वास व्यक्त गरे । नयाँ जुपिटर पहिलेभन्दा बढी पावर, स्टाइल, माइलेज र कम्फर्टका साथ नेपाली बजारमा आएको कम्पनीले जनाएको छ ।

बीमा पेशामा इमान्दार हुन अध्यक्ष ओझाको निर्देशन, नियम विपरीत गए कारबाहीको चेतावनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा पेशाका राम्रा र नराम्रा पक्षहरू पहिचान गरी राम्रा पक्षलाई मात्र अगाडि बढाउन निर्देशन दिए । अध्यक्ष ओझाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम व्यवसाय गर्न, सही रूपमा जोखिमाङ्कन गर्न र  बजारमा नकारात्मक सन्देश जानेगरी काम नगर्न बीमकहरूलाई निर्देशन दिँदै ऐन, नियम र निर्देशिका विपरित गएमा कारवाही हुने बताए । बीमा व्यवसायको महत्व अरूले नभई बीमकहरूले नै बढाउने हो भन्दै अध्यक्ष ओझाले बीमकले बीमालेख जारी गर्दा सही जानकारी दिएमा दाबी भुक्तानीमा समस्या नआउने बताए । अध्यक्ष ओझाले भने, 'नागरिकले बीमा गरेपछि दाबी भुक्तानी पाउनुपर्छ, कर्मचारीको क्षमता अभिवृद्धिसँगै इमान्दारिता आवश्यक छ ।' नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा कम्पनीहरूले सुशासन पालना नगरी रेट कटिङ गरेमा कारवाही हुने उल्लेख गर्दै कम्पनीहरू स्वनियममा बसेर काम गर्नुपर्ने बताए । कार्यक्रममा सहभागीहरूले बीमकका प्रादेशिक कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्रदेशमा सङ्कलन भएको प्रिमियमको निश्चित प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित प्रदेशमा नै खर्च गर्नुपर्ने, कर्मचारीहरूका लागि तालिमको व्यवस्था गर्नुपर्ने, शाखा कार्यालय स्थापना गर्दा मापदण्ड अनुसार हुनुपर्ने, विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषयलाई समावेश गर्न पहल गर्नुपर्ने लगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्राधिकरणको कोशी प्रदेश कार्यालयका प्रमुख विनोद पोखरेलले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू, इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटीका पदाधिकारीहरू र बीमा मध्यस्थकर्ताहरूको सहभागिता रहेको थियो ।

अर्थतन्त्रमा केही न केही समस्या छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशको हालको आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले हाल लगानीयोग्य रकम प्रशस्त उपलब्ध भएकाले अहिलेको समय बेस्ट अफ टाइम भएको उल्लेख गरे ।  तर उनले अर्थतन्त्रमा केही चुनौती र समस्या पनि विद्यमान रहेको स्पष्ट पारे । उनका अनुसार विशेषगरी कृषि क्षेत्र र साना तथा मझौला उद्योग (एसएमई) क्षेत्रमा गैरसञ्चलनशील कर्जा (एनपीएल) को अनुपात बढ्दै गएको छ । यसले भविष्यमा वित्तीय स्थायित्वमा असर पार्न सक्ने सम्भावना भएकाले समयमै सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । 'कृषि र एसएमई क्षेत्रमा देखिएका समस्याको समाधानका लागि तत्काल कदम चाल्न जरुरी छ,' गभर्नर पौडेलले भने । उनले आगामी मौद्रिक नीति तय गर्दा राजस्व नीति (फिस्कल पोलिसी) र मौद्रिक नीति (मोनिटरी पोलिसी) बीच प्रभावकारी समन्वय हुनुपर्नेमा समेत जोड दिए । उनका अनुसार हाल बैंकिङ क्षेत्रका धेरै सूचक सकारात्मक रहेको र लगानीका लागि पर्याप्त तरलता (लिक्विडिटी) उपलब्ध रहेकाले अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले आवश्यक सुधारात्मक कार्यक्रम अघि सार्नुपर्ने आवश्यकता छ ।

एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह

काठमाडाैं । युरोपेली सङ्घ (इयू) ले लगाएको ५० करोड युरो जरिवानाविरुद्ध एप्पलले सोमबार अपिल दायर गरेको छ । ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनी एप्पललाई प्रयोगकर्ताका लागि ‘खराब’ परिवर्तन गर्न बाध्य पारेको आरोप लगाएको छ ।   युरोपेली आयोगले अप्रिलमा एप्पललाई आफ्नो एप स्टोरबाहिर ग्राहकलाई ‘स्टीयरिङ’ गर्नबाट रोकेको भन्दै एप्पललाई जरिवाना लगाएको थियो । एप्पलले भनेको छ, 'युरोपेली आयोगको निर्णय र अकल्पनीय जरिवाना कानूनी दायराभन्दा धेरै टाढा छ । आज हामीले हाम्रो अपील दायर गरेका छौं ।'  विज्ञप्तिमा भनिएको छ, 'हाम्रो अपीलले देखाउँछ कि आयोगले हामीमाथि कसरी व्यावसायिक सर्तहरू मान्न बाध्य पार्दैछ विकासकर्ताहरूको लागि भ्रामक र प्रयोगकर्ताहरूको लागि खराब छ भन्ने कुरा हाम्रो अपीलले पुष्टि गर्नेछ । हामीले दैनिक जरिवानाबाट बच्नका लागि आगोगका सर्त मानेका छौँ । परेको बेला इयू अदालतसँग तथ्यहरू साझा गर्नेछौँ ।'  एप्पलले नयाँ दैनिक जरिवानाबाट बच्न सकियोस् भनी गत महिना युरोपमा आफ्नो एप स्टोर भुक्तानी नियमहरूमा परिवर्तनको घोषणा गरेको थियो ।  परिवर्तित एप स्टोर भुक्तानी नियमहरूमा विकासकर्ताहरूलाई उनीहरूको अनुप्रयोगभित्र उपभोक्ताहरूलाई सीधै विभिन्न भुक्तानी विकल्पहरू प्रस्ताव गर्न अनुमति दिनसक्ने पनि उल्लेख छ । आयोगले अहिले ती परिवर्तनको मूल्याङ्कन गरिरहेको छ । एजेन्सी 

लोवर मिड रावा खोलाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

काठमाडौं । खोटाङ जिल्लामा ४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्टले  प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । सो आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  यस सम्बन्धमा सोमबार दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतामा लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडका कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र आरबिवि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा) सर्वसाधारणलाई सार्वजनिक निष्कासन गर्ने तयारी गरेको हो । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।