प्रधानमन्त्री ओली भन्छन् : विदेशी सहयोगले देश बन्दैन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी सहयोगले मात्रै देश विकास नहुने बताएका छन् । सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी सहयोगले मात्रै देश विकास नहुने धारणा राखेका हुन् । उनले आफ्नै पौरखले देशको विकास हुने धारणा राखे । अरूले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने तर्क राखे ।
बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पाउने, यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । अब बैंकहरुले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न पाउने भएका छन् । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाको नवौं संशोधन गर्दै अविमोच्य असंचिति अग्राधिकार सेयरका निष्कासनका लागि बाटो खुला गरेको हो । बोर्डले निर्देशिका संशोधन गर्दै अब राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुनेगरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निश्कासन गर्न पाउनेछन् । यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्ने बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफा आर्जन गरेको अवस्थामा नियामकबाट रोक लगाइएको अवस्थामाबाहेक यस्तो सेयरको लाभांश वितरण नगर्ने निर्णय गर्न नपाउने व्यवस्था गरिएको छ । सेबोनले निष्कासन भएको सेयरको अभौतिकीकरण केन्द्रीय निक्षेप कम्पनीले र सूचिकरण तथा कारोबार प्रक्रिया धितोपत्र बजारले तोकेको व्यवस्था अनुसार हुने व्यवस्था गरेको छ । कारोबार संस्थागत लगानीकर्ताले मात्र खरिद बिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कारोबार हुने सेयरमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले खरिद बिक्री गर्न नसक्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले पुँजी कोषको दबाबमा रहेका बैंकहरुलाई ठूलो राहत मिल्नेछ ।
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द (फोटो फिचर)
काठमाडौं । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । देशकै जेठो वीर अस्पतालमा अहिले ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउन सकेका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेवा दिन नसकिएको अस्पतालका निर्देशक डा दिलीप शर्माले बताए । उनले भने, 'सङ्घको आह्वानमा सेवा बन्द भएको हो । आंशिक सेवा मात्र दिन सकेका छौँ । आकस्मिक सेवा भने दिइरहेका छौँ । आशा छ छिट्टै निकास मिल्ला ।' सङ्घले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आज आकस्मिकबाहेकका सेवा ठप्प पारेको हो ।
साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने, मिडिया सेन्टर पनि सञ्चालनमा ल्याइने
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ । साउनमा पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड लाग्ने गर्छ । साउन महिनाको पनि सोमबार र शनिबार धेरै भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजाआराधनाका लागि आउने गर्छन् । यस महिनामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यलाई पनि अनुगमनमा खटाउने गरी तयारी गर्न लागिएको निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का पदाधिकारी एवं कार्य समिति सदस्यहरुसँगको अन्तरक्रियामा उनले साउनदेखि नै पशुपति क्षेत्रमा समाचार सङ्कलनका लागि आउने पत्रकार एवं सञ्चारकर्मीका लागि ‘मिडिया सेन्टर’ को सुरुवात गरिने प्रतिबद्धता जनाए । साउनको सोमबार र शनिबार, हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, विक्रम संवत्को नयाँ वर्ष वैशाख १ गते, अक्षया तृतीयालगायत पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन दर्शन एवं पूजाआराधनाका लागि आउने गर्छन् । त्यसबेला पशुपति क्षेत्रबाट समाचार सङ्कलनमा समस्या हुने गरेको छ । विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र एवं राष्ट्रदेवका रुपमा रहेको पशुपति क्षेत्रलाई थप व्यवस्थित बनाउन यसो गर्न लागिएको हो । कोषको कर्मचारी नियमावली छिटो ल्याउन पहल गर्ने पनि निमित्त सदस्यसचिव जोशीको प्रतिबद्धता छ । नियमावली अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको जनाइएको छ । लामो समयदेखि बढुवा नहुँदा कर्मचारी निराश भएकाले केही महिनामै विज्ञापन गर्नेगरी तयारी गरिएको जानकारी पनि उनले दिए । पशुपति क्षेत्र विकास कोष ऐनलाई संशोधनका लागि पनि पहल गरिने उनको प्रतिबद्धता छ । कोषले सूचना प्रविधिका विभिन्न माध्यमलाई प्रभावकारी बनाउँदै नागरिक एपमार्फत सेवा दिने तयारी पनि गरेको सदस्यसचिव जोशीले बताए ।
९ महिनामा कैलाश हेलिकप्टरको आम्दानी साढे ५३ करोड रुपैयाँ
काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले ९ महिनामा साढे ५३ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (सन् २०२५) मा ५३ करोड ५० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी समेत वृद्धि भएको छ । कम्पनीले सन् २०२४ मा ७९ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, सन् २०२२ मा ४० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ३२ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीले प्रत्येक वर्ष आम्दानी बढाउँदै लगेको छ । कम्पनीको आम्दानीमा वृद्धि भएसँगै गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट लागि चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सन् २०१७ मा स्थापित कैलाश हेलिकप्टर जुलाई २०२३ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । कम्पनीले ३ वटा एयरबस हेलिकप्टरमा मार्फत चार्टर्ड उडान, उद्धार कार्य, स्लिङ अपरेशन, साहसिक भ्रमण (एभरेस्ट बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प) जस्ता सेवा दिँदै आएको छ । ३१ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा विभिन्न ७ जना लगानीकर्ता रहेका छन् । कम्पनीको अध्यक्ष क्याप्टेन आशिष शेरचन छन् भने प्रबन्ध निर्देशक प्रताप जंग पाण्डेय रहेका छन् । कम्पनीको सञ्चालकमा सुनिल श्रेष्ठ, रमेश पण्डित, श्रीराम केसी र इस्वरी पौडल रहेका छन् । रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीलाई त्रीपल बी रेटिङ प्रदान गरेको छ । जसले वित्तीय दायित्वमा सन्दर्भमा मध्यम स्तरको सुरक्षा भएको मानिन्छ ।
लगातार बढिरहेको सेयर बजारमा गिरावट, ८ अर्बको कारोबार
काठमाडौं । लगातार बढिरहेको सेयर बजारमा सोमबार भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२ अंकले घटेर २६ सय ८४ बिन्दुमा झरेको छ । आज ३९ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३११ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, गार्डियन माइक्रो लाइफको ४१ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको २४ करोड, साहस ऊर्जाको २० करोड र न्यादी गुप्रको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज राप्ती हाइड्रो एन्ड जनरलको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले गरे शपथ ग्रहण, ३८ वर्ष सरकारी सेवाको अनुभव
काठमाडौं । प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथग्रहणपछि कार्कीले बैंक सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गर्दै नयाँ जिम्मेवारी सम्हालेका हुन् । नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना, डेपुटी गभर्नर बम बहादुर मिश्र, बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावल, प्रभु बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । मिति २०८१ असोज २९ गते सम्पन्न प्रभु बैंकको तेईसौं वार्षिक साधारणसभाबाट सर्वसाधारण समूहका सेयरधनी प्रतिनिधिका रूपमा सञ्चालकमा निर्वाचित भएका कार्की २०८२ असार १९ गते बसेको सञ्चालक समितिको ३८०औं बैठकबाट अध्यक्ष पदका लागि चयन भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका कार्कीले लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयका सहसचिवका रूपमा सेवा गरेका छन् । त्यस्तै निजामति किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकका रूपमा काम गरेको अनुभवसमेत उनको छ । नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद, कृषि अनुसन्धान कोष लगायतका संस्थामा सञ्चालक समिति सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालेका कार्कीले ३८ वर्षभन्दा बढी सरकारी सेवामा विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको बैंकले जनाएको छ । प्रभु बैंकले अध्यक्ष कार्कीको सबल नेतृत्वबाट बैंकको व्यापार विस्तार र अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा अभिवृद्धिमा थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
रास्वपा र राप्रपाको संसद बैठक बहिस्कार, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (लाइभ)
काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने बताइएको छ । यस्तै, प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका रास्वपा र राप्रपाले संसद् अवरोध गर्दै आइरहेका छन् ।