प्राथमिकता प्राप्त क्षेत्रमा एनपीएल बढ्दा बैंकको लगानी अनुत्पादक क्षेत्रमा भयो : गभर्नर डा. पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी अनुत्पादक क्षेत्रमा बढी भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकको अधिकांश लगानी अनुत्पादक क्षेत्रमा भएको धारणा राखेका हुन् । उनले पछिल्लो समय राष्ट्र बैंकले प्राथमिकतामा राखेका क्षेत्रमै खराब कर्जा अनुपात (एनपीएल) बढेको पनि बताएका छन् । यसले बैंकिङ क्षेत्रले सो क्षेत्रमा कर्जा प्रवाह गर्न कन्जुस्याईं गर्ने गरेको अभ्यास सुनाए । यस्तै, उनले अहिले बैंकको निक्षेप र विदेशी मुद्राको सञ्चिति ऐतिहासिक रुपमा बढेको सुनाए । उनले राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिलाई काम गर्ने अवसर दिनुपर्ने धारणा पनि राखे । कार्यक्रममा उनले विगतमा बैंक राम्रोसँग चल्ने र सेयरधनीलाई लाभांश खुवाउने मात्रै रहेको भए पनि पछिल्लो समय समग्र अर्थतन्त्रलाई मध्यनजर गर्दै अगाडि बढ्ने गरेको अभिव्यक्ति दिए । उनले राष्ट्र बैंकको एक्लै प्रयासले काम नहुने भएकोले अर्थतन्त्र उकास्न सबैको भूमिका महत्वपूर्ण हुने धारणा राखे । यस्तै, कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकमा पनि लगानीकर्ताको लगानी रहेकोले ती व्यवसायीले पनि नियमित प्रतिफल पाउने वातावरण बन्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय केही नीतिगत कारणले बैंकहरुको लाभांश क्षमता घटेको र केहीले लाभांश वितरण नै गर्न नसक्ने अवस्था रहेकोले यो परिस्थिति कहिलेसम्म रहने भन्ने प्रश्न गरेका हुन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनले कार्यक्रममा भने, ‘बैंकमा पनि कुनै लगानीकर्ताको लगानी छ, पछिल्लो समय बैंकहरु लाभांश दिन सक्ने अवस्थामा छैनन्, बैंकहरुले लाभांश कहिले वितरण गर्न पाउँछन् ? त्यसैले लचिलो नीति आवश्यक छ, लचिलो नीति आयो भने अर्थतन्त्र बाउन्स ब्याक हुन मद्दत पुग्छ ।’ उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् त्यस्तो सहज नीतिको अपेक्षा व्यक्त गरे । उनले अहिले बैंकिङ क्षेत्रले सम्पत्ति व्यवस्थापनको समस्या भोगिरहेको सुनाए । उनले बैकको गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एउटा शक्तिशाली ‘एसेट म्यानेज्मेन्ट कम्पनी’ आवश्यक रहेको धारणा राखे । ‘बैंकहरुले पनि गैर–बैंकिङ सम्पत्ति बिक्री गर्ने प्रयास गरिरहेका छन् । तर, स्थानीय तहले सहयोग गरेका छैनन् । एउटा घर बिक्रीका लागी स्थानीय तहमा अनुमति माग्दा स्थानीय तहले स्वीकृति दिइरहेको छैन । सम्पत्ति बिक्रीका लागि कुनै पनि निकाय नधाउने गरि सम्पत्ति व्यवस्थापन कम्पनी चाहियो,’ उनले भने । उनले लिलामको सूचनामा फोटो राख्न नपाइने वा नाम उल्लेख नगर्ने व्यवस्थाले मात्रै समस्याको समाधान नहुने तर्क राखे । उनले मौद्रिक नीतिमार्फत ‘डिरेक्टिभ सेक्टर लेण्डिङ पोलिसी’ पनि पुनरावलोकन हुनु पर्ने बताए । अहिले बैंकको औसत आधार दर ६ प्रतिशत हुँदा पनि ८ खर्ब लगानीयोग्य रकम बैंकिङ क्षेत्रमा रहेको सुनाउँदै त्यो रकम प्रवाह हुन सक्ने नीतिको आवश्यकता रहेको धारणा राखे । कार्यक्रममा बैंक तथा वित्तीय परिसंघका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले पनि गैर बैंकिङ सम्पत्ति बैंकिङ क्षेत्रका लागि ठूलो चैनौती बनेको बताएका छन् । नबिल बैंकका अध्यक्ष समेत रहेका पौडेलले विभिन्न नीतिगत व्यवस्थासँगै दिनप्रतिदिन खराब कर्जा बढ्दा गैर बैंकिङ सम्पत्ति चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् । कार्यक्रममा उनले साना ऋणीलाई ऋण कसरी लिने, व्यवसाय कसरी गर्ने भन्ने लगायत विषयको ज्ञान नहुँदा पनि समस्या भइरहेको धारणा राखे । उनले ऋणीको क्षमता विकासमा बैंकहरु चुकेको धारणा राखे । उनले ‘डिरेक्टिभ लेण्डिङ पोलिसी’मा पुनरावलोकन गर्न छुट्टै अध्ययन जरुरी भैसकेको बताउँदै यस विषयमा नेपाल राष्ट्र बैंकले पनि तत्काल एक्सन लिनुपर्ने बेला भएको बताए । ‘बैंकिङ क्षेत्रमा सुशासन छ, राज्यका हरेक क्षेत्र बैंकिङ क्षेत्र सरह सुशासनमा चल्नुपर्छ,’ उनले भने, ‘बैंकिङ क्षेत्रले पनि अब आफ्नो टार्गेट पूरा गर्ने हिसाबले मात्रै काम गर्न जरुरी छैन ।’ हरेक क्षेत्रले आफ्ना कमजोरी सुधार गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । बैंकिङ क्षेत्रको दिशा बिग्र्यो भने समग्र अर्थतन्त्रको दिशा बिग्रिने उनको धारणा छ ।
४ वटा एटीआर विमान ल्याउँदै सौर्य एयरलाइन्स
काठमाडौं । सौर्य एयरलाइन्सले एटीआर विमान ल्याउने तयारी गरको छ । गत वर्ष साउन ९ गते एकमात्र बम्वार्डियर सिआरजे विमान दुर्घटनामा परेपछि विमानविहीन बनेको सौर्य एयरलाइन्सले ४ वटा एटिआर विमान ल्याएर पुनः उडान सुरु गर्ने तयारी गरेको जनाएको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका अनुसार नागरीक उड्डयन प्राधिकरणबाट ४ वटा एटीआर विमान भित्र्याउने स्वीकृति अन्तिम चरणमा पुगेको छ । जनवरी २०२६ सम्ममा उडान सुरु गर्ने लक्ष्यसहित तयारी भइरहेको र एटीआर खरिद प्रक्रियाका लागि आफू युरोपमै रहेको उनले बताए ।
ग्लोबल आइएमईको ‘समुन्नत योजना-२’ म्युचुअल फन्डमा आवेदन खुल्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रवर्द्धनमा सञ्चालित म्युचुअल फन्ड ग्लोबल आइएमई समुन्नत योजना–२ मा आवेदन खुलाइएको छ । लगानीकर्ताले असार २५ गतेसम्म र सो अवधिमा पूर्ण बिक्री नभए साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । ग्लोबल आइएमइ क्यापिटलका अनुसार फण्डको यस योजनामा लगानी गर्ने इकाइधनीले औसत वार्षिक २२.४ प्रतिशत प्रतिफल पाउने छन् । ग्लोबल आइएमई क्यापिटलमा ग्लोबल आइएमइ बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ । १० वर्षपछि परिपक्क हुने योजना १ अर्ब २० करोडको हुनेछ । अधिक आवेदन आएमा यो आकार २५ प्रतिशतसम्मले बढ्नेछ । यो बन्दमुखी योजना हो । ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गतको ग्लोबल आइएमई समुन्नत योजना २ हो । यो योजनाले १२ करोड इकाइ सर्वसाधारणमा बिक्री गर्नेछ । प्रति इकाइ १० रुपैयाँका दरले अधिकतम एक सय इकाइका लागि आवेदन दिन सकिन्छ । योजनाले इक्विटी र इक्विटी सम्बन्धी साधनमा ७० देखि ९० प्रतिशतसम्म लगानी गर्नेछ । अरु ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्नेछ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजना सञ्चालनमा छन् ।
धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिएका हुन् । 'आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादीमुक्त गर्ने, मनसुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो । कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ', प्रधानमन्त्रीले लेखेका छन् । आज आषाढ शुक्ल एकादशीका दिन भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने गरिन्छ ।
रिलायबल नेपाल लाइफको सीईओमा पुनः लोहनी नियुक्त
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण बाबु लोहनी पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लोहनीलाई चार वर्षका लागि पुनः सीईओ बनाउने निर्णय गरेको हो । लोहनीको कार्यकाल आगामी साउन १८ देखि लागू हुने कम्पनीले जनाएको छ।
अधिक तरलता कायमै, ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार ४५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७० खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने छ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ १ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
अरु देशको भन्दा त्रिभुवन विमानस्थल साँघुरो छ, यात्रु छिटो आइपुग्छन्, सामान आउन ढिलो हुन्छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् । विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरु छिटै टर्मिनल भवनमाआइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताएका हुन् । उनले अरु देशमा जहाँजबाट उत्रिएर आउन नै समय लाग्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा तुरुन्तै आइहाल्ने कारण धेरै समय कुर्नुपरेको जस्तो देखिएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने रहेको तर यस वर्ष ९५ लाख यात्रुहरु ओहोरदोहोर गराइसकेको बताए । छरितो र प्रभावकारी बनाउने कुरामा सरकार गम्भीर रहेको जानकारी दिए । मन्त्री पाण्डेले भने, ‘हाम्रो एयरपोर्ट, हाम्रो टर्मिनल सबै साँघुरो अवस्थामा छ । नजिक नजिक छ । अरु देशका र हाम्रो के फरक होला भनेर हेरेको अरु देशमा एउटा मान्छे एउटा प्लेनबाट उत्रिएर लगेज लिने ठाउँसम्म आइपुग्न नै निकै समय लाग्छ । हाम्रो जोडिएको छ नजिकै छ, मान्छे तुरुन्तै आइपुग्छ । एउटा हाम्रो स्पेसको सीमाको कारण हो । यसले ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने क्षमता राख्छ हाम्रो एयरपोर्ट टिआइएले । तर यस पटक ९५ लाख यात्रुहरु ओहोरदोहोर गरेका छन् ।’ मन्त्री पाण्डेले मान सरोवर जाने पर्यटकहरुका लागि चिनियाँ दुतातावासले भेरिफिकेसन गर्ने भनेर पूर्वसूचना बिनै नयाँ नियम ल्याइएका कारण समस्या आएको जानकारी दिए । चिनियाँ दुतावाससँग यसबारेमा सरकारले ध्यानाकर्षण गराएको बताए ।
नेताहरूको रगतमै भ्रष्टाचार छ : सांसद कार्की
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको बताएकी छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले उड्दै नउड्ने जहाँज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताइन् । यो सबैको कारण भ्रष्टाचार रहेको बताइन् । भ्रष्टाचार र राजनीतिक नियुक्तिमा नेताहरु व्याप्त भइसकेको बताइन् । जहाँज चढ्दा आफ्ना भगवानहरु पुकार्दै चढ्न नपर्ने, सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वासका साथ चढ्न पाउने र नातागोताले पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्नसक्ने स्थिति बनाउन जोड दिइन् । सांसद कार्कीले भनिन्, ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने । यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । यो विधेयकले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरोस् । सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस् । हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकुन् ।’ समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।