विकासन्युज

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल, ५० घरपरिवार र सडक संरक्षित

म्याग्दी । राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि तीन करोड ३९ लाख ८६ हजार ८२३ को लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो । पर्खाल निर्माणपछि सडक, मोटरेबल पुल, गलेश्वर र राहुघाटको बस्तीमा बाढी र कटानको जोखिम न्यूनीकरण भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए । राहुघाटको कटानका कारण गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, एक सय मिटर सडक र मोटरेबल पुल जोखिममा परेको थियो । राहुघाट नदी किनारमा राहुघाट बस्तीतर्फ ५० मिटर ‘पलम पर्खाल’ र गलेश्वरतर्फ ८५ मिटर ‘कम्पोजिट’ पर्खाल निर्माण भएको योजना कार्यालयले जनाएको छ । गत फागुनदेखि सुरु भएको योजना निर्धारित समयमै सम्पन्न भएको हो । नदीमा आउने बाढीलाई नियन्त्रण गर्न चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि छ तहमा ग्याविन पर्खाल निर्माण भएको छ । रु चार करोड ७२ लाख ३७ हजार ४६४ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन १३ गते महाप्रभु–विआरटी साय जेभीसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले रातको समयमा पनि मजदुर र उपकरण परिचालन गरेर नदीमा पानीको सतह बढ्नुअघि नै तटबन्ध गरेको बताए । बेनी–गलेश्वर सडकअन्तर्गत गलेश्वरमा पनि नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर बिष्णु चापागाईँले बताए । रासस

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी, सय किसान सहभागी

टीकापुर । करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारीले यस वर्ष सय हेक्टरमा धानको बीउखेती गरेको छ । सहकारीमा आबद्ध जानकी गाउँपालिकाका वडा नं ४ र ७ का करिब सय बढी किसानले धानको बीउखेती गरेका छन् । उत्पादनका दृष्टिकोणले उर्वर जमिन र सिँचाइको राम्रो प्रबन्ध भएका कारण किसान धान बीउ उत्पादनमा लागेका हुन् । गत वर्ष सहकारीले तीन हजार ५०० क्विन्टल धानको बीउ उत्पादन गरेको थियो । यसैगरी गहुँ तीन हजार क्विन्टल, तोरी ६० क्विन्टल र मकैको बीउ १२ क्विन्टल किसानबाट खरिद गरिएको सहकारीले जनाएको छ । यसरी खरिद गर्दा सहकारीले किसानलाई बजार भाउभन्दा प्रतिक्विन्टल रु तीन सय बढी मूल्य दिने गरेको छ । सुरुमा ४५ जना किसानबाट सुरु गरिएको सहकारीले पछिल्लो समय बीउ उत्पादनमा ठूलो योगदान दिँदै आएको छ । यहाँ उत्पादन भएको बीउ कैलालीका विभिन्न पालिकामा बिक्री हुने गरेको छ । यसबाहेक बर्दिया, बाँके, सुर्खेत, दाङ, कञ्चनपुर, दैलेख, सर्लाही, सप्तरी, सिराहाका किसानले लैजाने गरेका छन् । एकपटक बीउ लैजाने किसानले अर्कोपटक खोजीखोजी आउने गरेको सहकारीका पूर्वअध्यक्ष कमलबहादुर कठरियाले बताए । 'सुरुआतको दिनमा बीउ उत्पादनमा धेरैलाई चासो थिएन, अहिले धेरै किसान बीउ उत्पादनमा लागेका छन्', उनले भने, 'हामीले बीउ उत्पादन गर्दा मेहेनत गरयौँ, अहिले बीउको माग धेरै छ ।' रानी जमरा कुलरिया सिँचाइ आयोजना आएपछि कृषि कार्यक्रममार्फत सहकारीलाई ठूलो सहयोग भएको भन्दै कठरियाले बीउ गे्रडिङ र भण्डारणको समस्या छैन भने । सहकारीले गत वर्ष सय हेक्टरमा धान बीउखेती गरेको थियो भने एक सय १५ हेक्टरमा गहुँको बीउ उत्पादन गरेको थियो । दश हेक्टरमा तोरीको बीउ, दुई हेक्टरमा मकै र करिब एक हेक्टरमा मसुरोको बीउखेती गरिएको थियो । विसं २०५७ बाट समूहमार्फत तरकारी खेती गर्दै आएको समूहलाई २०६२ सालमा सहकारीमा विस्तार गरी बीउ उत्पादन थालेको हो । किसानको सक्रियताले विभिन्न सङ्घसंस्थाको सहयोगमा बीउ उत्पादनमा लागेको सहकारीलाई रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ठूलो साथ दियो । सहकारीका विजय बडायकले स्थानीय जातका बीउ प्रयोग गर्दै आएका किसानलाई उत्पादन बढी लिन फाइदा होस् भनी सहकारीमार्फत बीउ उत्पादन थालेको बताए । सहकारीका व्यवस्थापक गोविन्दराज रावतका अनुसार सहकारीसँग हाल चास सय आठ मेट्रिक टन भण्डारण क्षमताका गोदाम रहेको छ । सहकारीले धेरै बालीका बीउ उत्पादन गर्दै आएको र विभिन्न जिल्लामा पठाउने गरिएको छ । सहकारीको सहयोगमा यहाँका किसानले धान, गहुँ, मकै, मसुरो, तोरी, मासलगायत बालीका बीउ उत्पादन गर्ने गरेका छन् । सिँचाइ आयोजनाले भण्डारण भवन, विभिन्न मेसिन र ग्रेडिङ मेसिन उपलब्ध गराएपछि सहयोग भएको छ । किसान लविता कठरियाले तीन बिघा जमिनमा धान तथा गहुँको बीउ उत्पादन गर्दै आएको बताए । विगतमा खेती गर्दा खासै उत्पादन नलिने किसानले सहकारीमै बीउ र मल पाउनुका साथै सहकारीले नै उत्पादन किनिदिने भएपछि खेती गर्न हौसला मिलेको उनको भनाइ छ । विगतमा मुनुवाका किसान घरकै भकारीमा भण्डारण गरिएको बीउ प्रयोग गर्थे भने कतिपय किसान बीउका लागि अन्यत्र भौतारिन बाध्य थिए । गाउँमै ग्रेडिङ गरिएको गुणस्तरीय बीउ पाउन थालेपछि उनीहरूको सहकारीप्रति आकर्षण बढ्दै गएको छ । उसो सहकारीले आफ्ना सदस्यलाई बीउलगायत अन्य सहुलियत दिँदै आएको छ । सहकारीको सदस्य बन्न बीउ उत्पादन गर्ने किसान हुनैपर्ने नियम छ । पैतालीस जना किसानले सुरु गरेको मुनुवा बिजवृद्धि सहकारीमा हाल एक सय नौ जना सेयरसदस्य छन् । सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि उत्पादन वृद्धिका लागि किसान तथा सहकारीलाई सघाइरहेको छ । आयोजनाका प्रमुख भरत कँडेलले मुनुवा बिजवृद्धि कृषि सहकारी संस्था बीउ उत्पादनमा अग्रणी संस्थाका रूपमा काम गरिरहेको र आयोजनाको यस्ता संस्थालाई सधैँ साथ रहने बताए । 'सहकारीले बीउ उत्पादनमा खेलेको भूमिका सराहनीय छ, बिजवृद्धिमा राम्रो काम गरेको छ', उनले भने, 'समयअनुसार किसानलाई अझै आधुनिकीकरण बनाउनमा हाम्रो प्रयास हुन्छ । हामीले सहकारीमार्फत किसानलाई लाभ होस् भनी सहकारीलाई आवश्यक प्रविधि, भण्डारणका लागि भवन निर्माणमा सघाएका छौंँ, यो सहयोग निरन्तर हुन्छ ।' सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइको सहयोगमा टीकापुर र जानकीका दर्जनबढी सहकारीले बीउ उत्पादनको काम गरिरहेका छन् । किसानले उत्पादन गरेको बीउ सहकारीमार्फत बिक्री वितरण गर्ने गरिएको छ । बीजवृद्धिले बीउ उत्पादनमा सफलता पाएपछि यस क्षेत्रका अन्य सहकारीले पनि बीउ उत्पादनमा चासो दिन थालेका छन् । रासस

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

काभ्रेपलाञ्चोक । अवरुद्ध नाला-भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो । भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् । गए राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वयमा रातभरमा अस्थायी रूपमा पुल सञ्चालनमा ल्याइएको हो । यहाँको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ । स्थानीयका अनुसार शनिबार राति मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो । पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो । हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका हुन् ।

गार्डियन माइक्रोलाइफ तेस्रो वर्षमा, सबै सेवा डिजिटल प्रणालीबाट

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो लघु बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीले नेपालको बीमा क्षेत्रमै पहिलोपूर्ण डिजिटल प्रणाली अवलम्बन गर्दै आएको जनाएको छ ।  ‘समयसँगैै प्रविधिमा भईरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहक महानुभावहरुको सेवालाई अझ सरल र गुणस्तरीय बनाई गरिवी न्यूनिकरण र बीमा पहुँच अभिवृद्धिमा टेवा पुर्‍याउने हाम्रो प्रतिवद्धता छ’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले भने । हाल कम्पनीले २६ वटा शाखा कार्यालयहरुबाट सेवा दिईरहेको र बीमा दावीमा सतप्रतिशत भुक्तानी गरेको जनाएको छ । हालसम्म कम्पनीले ७ करोड ७६ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको जनाएको छ ।  

नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ३ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०’ बिक्री खुला गर्ने भएको हो ।  बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन १२ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

बझाङको बुङ्गल हाइड्रोले असार २९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । बुङ्गल हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ ।  आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १)का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूले आवेदन दिन पाउने छन् ।  साथै, सर्वसाधारणलाई छुट्याइएको २० करोड ७५ लाख रुपैयाँको २० लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन पाउने छन् ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन ११ गते गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन २६ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै बुङ्गल हाइड्रोको रजिस्टर्ड कार्यालय धोबी घाट ललितपुर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ शाखा, कृषि विकास बैंकको बुङ्गल शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा र आयोजना स्थान खौलाधारबाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

माबिलुङ्ग इनर्जीको आईपीओ स्थानीय र विदेशमा रहेका नेपालीलाई बिक्री खुला

काठमाडौं । माबिलुङ्ग इनर्जीले आज असार २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ३ करोड ८५ लाख ८२ हजार रुपैयाँको ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभाको मादी नगरपालिका वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २, ३, ७, ८, ९ का स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । साथै, सर्वसाधारणलाई छुट्याइएको १५ करोड ४ लाख ७० हजार रुपैयाँको १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन ४ गते गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन १९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसँगै माबिलुङ्ग इनर्जीको वेवसाइट, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादी नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको आँदबारी शाखा र आयोजनाको पावरहाउस रहेको संखुवासभाको मादी नगरपालिका-७ बाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

राप्ती हाइड्रोको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । असार १ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीले हाल कायम चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ सय प्रतिशत तथा १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक र राप्ती हाइड्रोको कर्पोरेट कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मुक्तिनाथ विकास बैंकका विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज पर्सा, जनकपुर धनुषा, नारायणगढ चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही, नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।