राप्ती हाइड्रोको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । असार १ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ सय प्रतिशत तथा १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक र राप्ती हाइड्रोको कर्पोरेट कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मुक्तिनाथ विकास बैंकका विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज पर्सा, जनकपुर धनुषा, नारायणगढ चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही, नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
विकास हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । विकास हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज असार २२ गते अन्तिम दिन रहेको छ । असार १८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण सेयरधनीहरूले आजसम्म आवेदन सक्ने छन् । कम्पनीले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर जारी गर्नेछ । जसमध्ये कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले ७० हजार ९१० कित्ता कर्मचारी, १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
ग्लोबल आइएमई समुन्नत योजना-२ को इकाई बिक्री खुला, २२४.९६ प्रतिशत लाभांश दिने
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले आज असार २२ गतेदेखि सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को बिक्री खुला गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने समुन्नत योजना १० वर्ष अवधि रहेको बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाई बिक्री खुला गरेको हो । कुल १२ करोड इकाईमध्ये योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई १.५ प्रतिशत अर्थात १८ लाख इकाई र कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंकलाई १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई छट्याइएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए साउन ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् । यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलका अनुसार यस योजनाका इकाईधनीहरूले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।
पिपुल्स पावरको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । पिपुल्स पावरले आज असार २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो । त्यसैले असार १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हकप्रद सेयरबाट संकलित रकम पुवाखोला २ जलविद्युत आयोजना निर्माणमा बैंकबाट लिएको ऋण भुक्तानी गर्ने र बाँकी रहेको रकम पुवाखोला२ जलविद्युत आयोजना निर्माणमा भएको खर्चका लागि भुक्तानी गर्नेछ । साथै केही रकम अन्य आयोजनामा समेत लगानी गर्नेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
जोखिमपूर्ण बन्दै बेँसीसहर-चामे सडक, गुड्दागुड्दै खस्छ ढुङ्गा र पहिरो
काठमाडौं । चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोए झैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नागबेली बगेको नीलो मर्स्याङ्दी नदी । उति बेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलठूला चट्टान खोपेर बनाइएको सडक । मस्र्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमाल पारिको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण बेँसीसहर-चामे सडक । सोही सडकमा दैनिक सयौं यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । साँघुरो कच्ची सडक, सधैँ जोखिम मोल्नुपर्ने अवस्था छ । त्यसमा पनि अहिले ठाउँठाउँमा खसेको पहिरोका कारण जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौं यात्री भगवानको नाम जप्दै यात्रा गर्न बाध्य छन् । यस्तो जोखिमपूर्ण बाटोमा दर्जनौं सवारीसाधन लमजुङ-मनाङ आवतजावत गर्दछन् । हिमाल पारिको जिल्ला मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर-चामे सडक हो । भिरैभिर र मर्स्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गै ढुङ्गाको सडक व्यवस्थित नहुँदा यात्री बेँसीसहर-चामे सडकमा त्रसित हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बेँसीसहरबाट खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको ताल बजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामे बजारसम्म ६५ किलोमिटर दूरी छ । यस सडकमा यात्रा जोखिमपूर्ण रहेको यात्रीहरू बताउँछन् । अधिकांश सडक खण्ड चट्टाने पहरो काटेर बनाइएकाले जोखिमपूर्ण छ भने अग्लो भिर, स-साना मोड, ग्रेडिङ नमिलेका र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको स्थानीय सोमबहादुर गुरुङले बताए । जीप चालक सोम राज मगरातीले भने, ‘विभिन्न ठाउँमा बेलाबेलामा पहिरो गइरहन्छ, पहिला भन्दा पनि बाटो बिग्रँदै गएको छ, कुन बेला के हुन्छ डर रहन्छ ।’ अर्का चालक रामबहादुर तामाङ भन्छन्, ‘सडकबाट खसिहाल्यो भने सिधै मर्स्याङ्दीमा पुग्ने भएकाले बाँच्ने कुनै सम्भावना छैन ।’ यात्राका क्रममा अधिकांश यात्री सडक र भिरको अवस्था देखेर डराउँछन् । कहिले त जीप गुड्दागुड्दै पनि माथिबाट ढुङ्गा र पहिरो खस्ने गर्छ, अझ बढी बर्खा याममा जोखिम हुने गरेको उनको भनाइ छ । डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार बेँसीसहर-चामे सडकको यात्रा जोखिमपूर्ण छ । सरकारले आवश्यकअनुसार पर्याप्त बजेट दिन नसक्दा सडक गुणस्तरीय नहुँदा जोखिम बनिरहेको छ । चालु आर्थिक वर्षमा ३६ करोड रुपैयाँ बजेट प्राप्त भएको थियो । आगामी आवका लागि यस सडकका लागि ४० करोड रुपैयाँ प्रारम्भिक बजेट सरकारले उपलब्ध गराउन लागेको छ । विभिन्न ठाउँमा दैनिक जसो पहिराले सडक अवरुद्ध बनाउँदा मनाङवासी चिन्तित छन् । लामो समयसम्म पहिरोले यो सडक अवरुद्ध बनाउँदा मनाङबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जान हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन । जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो । विभिन्न कारणले २०५७ सालदेखि नेपाली सेनाले उक्त सडक निर्माणको जिम्मेवारी पायो । बाँदर लड्ला जस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाएर सेनाले उक्त सडक निर्माण गर्न सफल भयो भने बाटो निर्माणका क्रममा केहीको मृत्युसमेत हुन पुग्यो । यसरी सेनाले निर्माण गरेको सडकबाट मनाङवासीको सपना पूरा भए पनि सडक स्तरोन्नति हुन नसक्दा भने मनाङवासी निराश छन् । उनीहरू मात्र नभई लमजुङवासी, यात्री तथा पर्यटकसमेत सडक स्तरोन्नति नहुँदा चिन्तित छन् । सबैको एउटै चाहना छ, सडक गुणस्तरीय होस् र दुर्घटनाको जोखिम न्यून होस् । बेँसीसहरस्थित तत्कालीन नेपाली सेना कार्यगणले २०६९ सालमा सडक निर्माणकार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको हो । बेँसीसहर–चामे सडक पार गर्न झण्डै ६ घण्टा लाग्छ । बर्खा लागेसँगै यो सडकमा पटकपटक पहिरो खस्ने र सडक अवरुद्ध हुँदा यात्रीहरू हैरानीमा छन् । रासस
आज आषाढ शुक्ल एकादशी, तुलसीको बिरुवा सारिँदै
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ । चार महिनासम्म विधि पूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधि पूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।
९ संसदीय समितिका बैठक बस्दै, बाफिया संशोधन प्रस्ताव दर्ता गर्नेसँग छलफल हुने
काठमाडौं । सङ्घीय संसदका विभिन्न ९ वटा समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन् । यस्तै, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ । राष्ट्रिय सभातर्फको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ । संयुक्त समितिको रुपमा रहेको संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्ने गरी कार्यसूची निर्धारण भएको छ । अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल गर्ने कार्यसूची छ । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल हुनेछ । उद्योग तथा वाणिज्य समितिमा नेपाल सरकारद्वारा किसानलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल हुनेछ । कृषि तथा सहकारी समितिमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ । पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी मरिण डाइभर्सन आयोजना र विविध शीर्षकमा छलफल गर्ने कार्यसूची छ । शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ । सङ्घीयता सबलीकरण समितिमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ । संसदीय सुनुवाइ समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल हुनेछ । प्रतिनिधिसभाको बैठक यही असार २३ गते सोमबार र राष्ट्रिय सभाको बैठक २४ गतेका लागि निर्धारण भएकाले समितिमा महत्त्वपूर्ण विधेयकलाई अगाडि बढाउने गरी छलफलको कार्यसूची तय गरिएको हो ।
कोशी र बागमतीमा भारी वर्षा, मनसुनी वायुको प्रभाव कायमै
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।