विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुगेका थिए । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपाल फर्किए । मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचत गरेका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुगे । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुग्नुभएका सरोजले गाउँ फर्किएर व्यावसायिक बङ्गुर फार्म सञ्चालन गरे । सुरूमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यावसायिक बङ्गुर पालनमा निकै उत्साहित बनेका सरोज आफूले उत्पादन गरेका बङ्गुर बिक्री नभएपछि छोटो समयमै निरुत्साहित बने । बङ्गुरपालनबाट करिब रु १८ लाख घाटा बेहोरे। ठूलो लगानीमा सुरू गरेका बङ्गुरपालन व्यवसाय छाडेर सरोज पुनः बाख्रापालनमा लागे । बाख्रापालनका लागि जनशक्ति अभाव भएपछि त्यसलाई पनि छाडेका सरोजले सम्भावनाका खोजी गर्न भने छाडेनन् । गाउँमै केही गर्ने उद्देश्यसहित सम्भावनाका खोजी गरिरहेका सरोजले छ वर्षअघि एउटा युटु्यब च्यानलमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती गर्ने विधिसम्बन्धी दिइएको जानकारी राम्ररी हेरे । गाउँमै बसेर केही गर्ने हुटहुटीमा छटपटाइरहेका सरोज त्यो युट्युब च्यानलकै माध्यमबाट भारतको हैदरावादसम्म पुगेर ड्रागन फ्रुटखेती गर्ने विधिसम्बन्धी हप्ता दिनको तालिम लिए। तालिम लिएकै ठाउँबाट २५० वटा ड्रागन फ्रुटका बिरुवा खरिद गरी साथमै लिएर आफ्नो घर हौँचुर फर्किए । घरमा आएर पाखो बारीमा रोपे । अहिले ती बिरुवालाई मदर प्लान्ट (आमा बोट)को रूपमा विकास गर्दै त्यसैबाट बर्सेनि नयाँ बिरुवा उत्पादन गरेर विस्तार गरे । सुरूमा २५० वटा बिरुवा ल्याएर व्यावसायिक खेती थाल्नुभएका सरोजको फार्ममा अहिले दुई हजार ७०० वटा ड्रागन फ्रुटका बोट छन् । सरोजको फार्मभरि अहिले राताम्मे भएर फलेका ड्रागन फ्रुट टिप्ने दोस्रो लट (चरण)को सिजन (समय) सुरू भएको छ । तीन वर्षअघिदेखि उत्पादन दिन थालेको फार्मबाट गत वर्ष दुई हजार केजी बिक्री भएको थियो । बर्सेनि उत्पादन वृद्धि हुँदै गएको फार्ममा यस वर्ष तीन हजार केजीभन्दा बढी ड्रागन फ्रुट उत्पादन हुने अनुमान गरिएको सरोजले जानकारी दिए । एउटा बोटबाट सरदर २५ केजी उत्पादन हुन थालेको फार्मबाटै प्रतिकेजी रु ३०० मा बिक्री गर्दा रु छ लाख सङ्कलन भएको सरोजले जानकारी दिनुभयो । करिब २० रोपनी पाखो बारीमा लगाइएको ड्रागन फ्रुट खरिद गर्नका लागि ग्राहक सरोजको घरैसम्म पुग्ने गरेका छन् । ड्रागन फ्रुट खरिदका लागि घरैमा आउने ग्राहकलाई प्रति केजी रु ३०० मा बिक्री गरिरहेको सरोजले जानकारी दिए । 'खेती हेर्नकै लागि पनि मानिसहरू फार्ममा पुग्ने गरेका छन् । ड्रागन फ्रुट पाकेको सूचना फेसबुकमा हालेपछि ताजा फल खान र चाख्नैका लागि पनि ग्राहकहरू आउँछन्', उनले भने, 'ड्रागन फ्रुटको माग बढ्दो छ । ग्राहकको मागलाई मध्यनजर गरेर थप जग्गामा खेती विस्तार गरिरहेको छु । आगामी दिनमा प्रतिकेजी रु ५० सम्ममा बिक्री गर्नेगरी विस्तार गरिरहेको छु ।' ड्रागन फ्रुटमा औषधीय गुण हुने र नेपालको लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको सरोजले बताए । कृषि पेसामा फाइदा हुँदैन भन्ने भनाइलाई गलत सावित गर्दै सरोज व्यावसायिक ड्रागन फ्रुटखेतीमा रमाए एक छोरा र एक छोरीकी बुबा सरोजलाई श्रीमती कौशिला लिम्बूले सहयोग गर्दै आएका छन् । झापाको गोमेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय लिएर स्नातकसम्म अध्ययन गरेका सरोजले २०७६ सालबाट गाउँमा आएर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गरेका हुन् । सरोज र कौशिला दम्पती काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न ड्रागन फ्रुटखेती सुरू गरेको उनीहरु बताउँछन् । ड्रागन फ्रुट फूल फुलेको ३५–४५औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने सरोजले जानकारी दिए । सरोजले ड्रागन फ्रुटखेतीका लागि मात्र रु १८ लाख लगानी गरिसकेको जनाइएको छ । व्यावसायिक कृषि पेसामा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवद्र्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदान दिने वातावरण मिलाउनुपर्नेमा सरोजको जोड छ । सामान्य अनुदानले कृषि क्षेत्रको प्रवद्र्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न सरकारलाई सरोजको आग्रह छ । सरोजले सुरू गरेको व्यावसायिक कृषि फार्ममा ड्रागन फ्रुटसँगै आँप, कागती र केराको व्यावसायिक खेती गर्नुका साथै मौरीपालन गरे छ । सरोजको फार्ममा लगाइएका ड्रागन फ्रुट, केरा र मौरीले उत्पादन दिन थाले पनि आँप र कागतीका बिरुवा भने भर्खर हुर्कंदै गरेका छन् । एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य केही गर्नु नपर्ने र रोपेको २०र२५ वर्षसम्म लगातार फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने सरोजले बताए । जेठ अन्तिमदेखि मङ्सिर अन्तिमसम्म फल दिने ड्रागन फ्रुटको एउटै बोटबाट हरेक वर्ष आठ पटकसम्म फल टिप्न मिल्ने सरोजले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘हिमालयन एग्रो फार्म’ दर्ता गरेर व्यावसायिक कृषि व्यवसाय सुरू गर्नुभएका सरोजलाई गाउँपालिकाले ड्रागन फ्रुटका लागि पिलर निर्माण तथा टायर खरिदका लागि रु दुई लाख अनुदान रकम उपलब्ध गराइएको कृषि शाखा प्रमुख उद्धव बास्तोलाले जानकारी दिए । युवा कृषक सरोजलाई आगामी दिनमा सहयोग गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । रासस
हिम स्टार उर्जाको आईपीओ बाँडफाँड सम्पन्न, आयोजना प्रभावित र वैदेशिक रोजगार श्रमिकलाई सेयर वितरण
काठमाडौं । हिम स्टार उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा उक्त आईपीओ बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर बिक्रीका लागि जेठ ३० गतेदेखि आईपीओ खुला गरेको थियो । माग भन्दा बढी आवेदन असार १३ गतेमै प्राप्त भएपछि सो दिनमै निष्कासन बन्द गरिएको थियो । आयोजना प्रभावित क्षेत्रमा १ हजार २९ जना आवेदकबाट ३ लाख ९९ हजार ७४० कित्ता सेयरका लागि आवेदन परेका थिए । बाँडफाँड प्रक्रियामा १० देखि २३० कित्ता माग गर्ने ५५४ आवेदकलाई मागबमोजिम ७० हजार १०० कित्ता र २५० देखि ५१०० कित्ता माग गर्ने ४७५ आवेदकलाई प्रति आवेदक २४० कित्ता दरले १ लाख १४ हजार कित्ता सेयर वितरण गरिएको हो । बाँकी २,४०० कित्ता सेयरका लागि २५० कित्ता भन्दा बढी माग गर्ने ४७५ जनामध्ये २४० जनालाई गोलाप्रथा विधिबाट थप १० कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको ९३ हजार २५० कित्ता साधारण सेयर असार ३० देखि असार १३ गतेसम्म खुला गरिएको थियो । उक्त सेयरका लागि ७१ हजार २१७ आवेदकबाट १३ लाख ८१ हजार १४० कित्ता सेयरको आवेदन परेकोमा, विभिन्न कारणले १० हजार २५१ जनाका २ लाख ८३ हजार ९० कित्ता आवेदन रद्द भएको थियो । त्यसपछि बाँकी ६० हजार ९६६ जनाका १० लाख ९८ हजार ५० कित्ता सेयर आवेदनलाई गोलाप्रथा अनुसार बाँडफाँड गरिँदा ६० हजार ९३२ जनालाई प्रति आवेदक १० कित्ताका दरले ९ हजार ३२५ जनालाई ९३ हजार २५० कित्ता सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।
उद्योगमैत्री नीति र रोजगारीको अवसर सिर्जना गर्न ढिलाइ नगर्नुहोस् : डा. स्वर्णिम वाग्ले
काठमाडौं । उद्योग संगठन मोरङको आयोजनामा समसामयिक आर्थिक विषयमा एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, प्रतिनिधिसभा सदस्य तथा अर्थविद् डा. स्वर्णिम वाग्ले र प्रवक्ता तथा सांसद मनीष झाको विशेष उपस्थिति थियो । छलफलको सुरुवातमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले हालको आर्थिक अवस्थालाई चिन्ताजनक भन्दै स्वदेशी उद्योगहरू आन्तरिक र बाह्य अस्थिरताले संकटमा परेको बताए । उनले बैंकिङ क्षेत्रको तरलता र घट्दो ब्याजदरका बाबजुद उद्योगले अपेक्षित प्रगति गर्न नसकेको उल्लेख गरे । साथै, बढ्दो लजिस्टिक खर्च, उत्पादन लागत र व्यापार घाटाले अर्थतन्त्रमा थप दबाव परेको धारणा राखे । डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासक्रम संकुचित हुँदै गएको भन्दै सुधारका कदम ढिला नगरी तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए । युवाहरूको विदेश पलायन रोक्न स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा पनि उनले जोड दिए । त्यस्तै, प्रवक्ता मनीष झाले दीर्घकालीन योजना र एकीकृत रणनीतिको खाँचो औंल्याउँदै उद्योगमैत्री नीतिको अभावले लगानीकर्तामा अनिश्चय र निराशा बढाएको बताए । कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले लोडसेडिङ र ट्रिपिङका कारण उद्योगहरू प्रभावित भइरहेको बताएका थिए भने पूर्वअध्यक्ष सुयश प्याकुरेलले प्रक्रिया सरलीकरणमा समय खेर जाने समस्या औंल्याए । संगठनका कोषाध्यक्ष पारस लुनियाले कागजजन्य वस्तुको निर्यातका लागि आवश्यक कच्चा पदार्थमा महसुल समायोजन नगरेकोप्रति असन्तोष व्यक्त गरे । कार्यसमिति सदस्य सौरभ सारडाले नीति तथा कानुनको द्रुत परिवर्तनले लगानी र उद्योग सञ्चालनमा अन्योलता पैदा गरिरहेको बताए । कार्यक्रममा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरा, महिला उद्यमी, युवा उद्यमी तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।
आइएमई लाइफ इन्स्योरेन्सको पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको क्लब योजनामध्ये सर्वोच्च स्तरको 'एभरेष्ट क्लब' मा पहिलो पटक पुग्न सफल भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का, उच्च व्यवस्थापन टोली, विभागीय प्रमुखहरू, कम्पनीका कर्मचारी तथा लक्ष्मी घिमिरेका परिवारजनको समेत उपस्थिति रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत खड्काले भने, ‘यो सम्मान केवल ‘एभरेष्ट क्लब’ मा प्रवेशको मात्र नभई, जीवन बीमा व्यवसायमा देखाएको निष्ठा, लक्ष्यप्रतिको प्रतिबद्धता र निरन्तर परिश्रमको सच्चा सम्मान हो ।’ कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै आएको र यसमार्फत सम्पूर्ण अभिकर्तालाई थप प्रेरणा र ऊर्जा प्रदान गर्ने उद्देश्य लिएको बताइएको छ । लक्ष्मी घिमिरेको यो उपलब्धिलाई कम्पनीले नयाँ प्रेरणाको स्रोतको रूपमा लिएको छ । परिवारको साथसाथै कम्पनीको समर्थनले बीमा व्यवसायमा महिलाको भूमिका थप सशक्त बनाउँदै लैजाने विश्वाससमेत व्यक्त गरिएको छ ।
वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल ५२ अर्बको आयात
वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकी गत आवको ११ महिनामा भने रु सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिए । वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा भटमास तेल प्रशोधित निर्यात भने रु ५५ अर्ब तीन करोड मूल्य पर्ने २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । गत आवको सोही अवधिमा भने रु आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै रु नौ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । गत आवको सोही समयमा भने रु आठ अर्ब चार करोड मूल्यको भएको थियो । वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको ११ महिनामा रु आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गत आवको ११ महिनाको अवधिमा रु नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।
नालामा पुल भाँचियो, राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो । पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ । हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए । जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले उक्त सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।
चैते धान बिक्री नभएर चिन्तामा किसान, समर्थन मूल्य निर्धारण गर्न आग्रह
भजनी । कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा छन् । यसवर्ष तीन बिघाहमा लगाएको धान उनले अझैँ बिक्री गर्न सकेका छैनन् । व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उनले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन । ‘व्यापारीले सस्तोमा धान खोज्नुहुन्छ । उहाँहरुले भनेको दररेटमा धान बिक्री गर्दा आफ्नो लागत नै उठ्ने देखिँदैन ।’ उनी भन्छन्, ‘आजभोलि धान रोपेर पछुतो लागिरहेको छ ।’ सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन् । किसानले प्रतिक्विन्टल रु दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गरिरहँदा कतिपय किसानको त्यतिमा पनि धान बिक्री हुन सकेको छैन । गत वर्ष प्रतिक्विन्टल रु तीन हजार ८०० रुपैयाँ पाएका किसानलाई यसवर्ष उत्पादन बढेपछि धान बिक्री गर्न समस्या भएको अर्का किसान डल्लु दास बताउँछन्। ‘गतवर्ष मैले नै तीन हजार ८०० प्रतिक्विन्टल चैते धान बिक्री गरेको थिए ।’उनले भने, ‘यसवर्ष त्यहीँ धान बिक्री गर्नका लागि व्यापारीसँग हारगुहार किसानले गरिरहेका छन् ।’ उनका अनुसार कैयौँ किसानले उदारोमा पनि धान व्यापारीलाई दिएका छन् । पैसा कहिले पाइने भन्ने ग्यारेन्टी नभएर पनि किसानले व्यापारीलाई धान बिक्री गर्न थालेलको डल्लु बताउँछन्। भजनी नगरपालिका–५ लालभोझीका कृषि बुढाले उत्पादन गरेको धान उदारोमा जबरजस्ती व्यापारीका जिम्मा लगाउनुपरेको गुनासो गरिन् । उनले नगदमा उत्पादन गरेको वस्तु उदारोमा बेच्नु पर्ने बाध्यता आइपरेको बताए । ‘एक बिघा क्षेत्रफलमा चैते धान लगाउँदा झण्डै १८ हजार खर्च आउँछ । उत्पादन भएको धान बिक्री गर्नलाई बजार छैन । कसैलाई बेच्नु पर्ने भए पनि लागत भन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता छ ।’ उनले भने, ‘न्युनतम दररेट तोकेको सरकारले कम्तिमा भनेकै दररेटमा धान खरिदको व्यवस्था गरिदिएको भए किसान हतोत्साहित हुने स्थिति आउने थिएन ।’ भजनीमा यसवर्ष झण्डै एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती भएको थियो । उत्पादनका हिसाबले किसानमा वर्षेनी आकर्षण बढ्दै गएको भए पनि बजारीकरणले सधैँ धोका हुने गरेको किसान परदेशु चौधरीको भनाइ छ । उनले गतवर्ष धानको राम्रो रेट पाएपछि यसवर्ष दुई बिघाह बिस्तार गरेको बताउँदै अहिले त्यो विस्तार गरेकोमा पछुतो लाग्न थालेको बताए । ‘उत्पादन राम्रो भएका कारण किसानको आकर्षण बढ्दै गएको छ ।’ उनले भने, ‘उत्पादन भएको धान बिक्रीका लागि हुने समस्याले आगामी वर्षमा उत्पादन घट्ने सम्भावना देखिएको छ ।’ वर्षात सुरु भइसकेका कारण किसानलाई उत्पादन भएको धान व्यवस्थापनमा चुनौती थपिएको छ । बाढी र डुवानको उच्च जोखिममा रहेको भजनी सामान्य वर्षामा डुवानमा पर्छ । डुवान भएपछि उत्पादन भएको धानलाई कहाँ व्यवस्थापन गर्ने भन्ने अर्को चिन्ता किसानलाई छ । ‘व्यापारीले समयमा धान खरिद नगरे उत्पादन भएको धान कता राख्ने भन्ने चिन्ता छ ।’ स्थानीय भोजराज कठरिया भन्छन्, ‘वर्षातको समयमा घर बाढीले डुवाउँदा आफै हुलाकी सडकमा जानुपर्ने बाध्यता हुन्छ । खानका लागि राखिएको अन्नपात त जोगाउन सकिँदैन भने यत्रो धान कसरी व्यवस्थापन गर्ने होला ?’ कैयौँ किसानले उत्पादन गरेको धान आज पनि हुलाकी सडकमै छ । घरमा राख्ने ओभानो ठाउँ नभएपछि किसानले धान घर नलिएर व्यापारी खोजिरहेका छन् । किसानलाई दबाबमा राखेर सस्तोमा धान खरिद गर्ने दाउ व्यापारीले खोजिरहेका छन् । ‘हामी किसानको समस्या देखेर निकै चिन्तित छौँ । हरेक निकायलाई गुहार माग्दा पनि समस्या समाधान हुन सकेको छैन ।” भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भने, ‘प्रदेश सरकार, साल्ट ट्रेनिङ, सङ्घीय सरकारसँग पनि किसानले उत्पादन गरेको धान खरिदको लागि आग्रह गर्दै आएका छौँ, सुनुवाइ भएको छैन ।’ उनले धानको समर्थन मूल्य तोकेको सरकारले धान खरिद गरेर सहजीकरण गरिदिन पनि आग्रह गरे । ‘आज सयौँ क्विन्टल धान उत्पादन भएको छ । सरकारले धान खरिद नगर्दा त्यसको फाइदा व्यापारीले उठाएका छन् ।’ उनले भने, ‘आज किसानले लागतभन्दा कम मुल्यमा धान बेच्न विवश छन् भने भोली त्यो किसान कृषिमा कसरी उत्साहित बन्न सक्ला ?’ भजनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको चैते धान जोन सञ्चालन हुँदै आएको छ । धान जोनका कारण यसवर्ष भजनीमा चैत धान विस्तार विगतको भन्दा बढेको थियो । रासस
नेपालमै करिअर बनाउन ह्वाइट हाउसको काउन्सिलिङ
काठमाडौं । हिमालयन ह्वाइट हाउसले तीन दिने करिअर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ । विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई केन्द्रित गर्दै यो कार्यक्रमको आयोजना गरिएको हो । प्लस टु पास गरिसकेपछि नेपाली युवाको लर्को विदेशतिर लागिरहेको अवस्थामा विद्यार्थीलाई नेपालमै रोक्नको लागि कलेजले कार्यक्रम गरेको जनाएको छ । पुतलीसडकस्थित कलेज प्रांगणमा शुक्रबारबाट सुरु भएको कार्यक्रममा विद्यार्थीले आफ्नो रुचि तथा योग्यताका आधारमा सही करिअर कसरी छनोट गर्न सकिन्छ भन्नेबारे ब्याचलर्समा अध्ययनरत विद्यार्थीहरूले काउन्सिलिङ गरिरहेका छन् । विद्यार्थीहरूको रुचि क्षमताको मूल्यांकन गर्दै उपयुक्त शैक्षिक क्षेत्र वा पेशा कसरी रोज्ने भन्नेबारे विद्यार्थीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका प्रधानाध्यापक तोयानारायण पौडेलले बताए । ‘अहिले नेपालमा ब्याचलर तहको शिक्षा कस्तो छ भन्ने सबैलाई थाहा छ,’ उनी भन्छन्, ‘कमसेकम १२ कक्षा सकेर विदेश जाने विद्यार्थीमात्रै नेपालमै रोक्न सक्ने हो भने विद्यार्थीहरू लागि पनि राम्रो र देशका लागि पनि फाइदा हुन्छ, तर योतिर ध्यान कसैको गएको पाइँदैन ।’ हिमालयन ह्वाइट हाउसले विदेशमा ५०/६० लाखमा पढाइ हुने कोर्स नेपालमा ७/८ लाखमा गर्न सक्ने भन्दै विद्यार्थीहरूलाई उत्प्रेरणा दिन काउन्सिलिङ गरिरहेको छ । कार्यक्रममा नेपालभित्र पढाइ हुने विषय, अवसरका विषयमा विद्यार्थीलाई काउन्सिलिङ गरिरहेको छ । कार्यक्रममा उपत्यका भित्रका र बाहिरका विभिन्न कलेजका विद्यार्थीको सहभागिता रहेको छ । पहिलो दिन के गरियो ? कार्यक्रमको पहिलो दिन करिअर काउन्सिलसँगै फुड फेस्ट र म्युजिकल कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न स्टल राखेर बरिस्टा, किचन कुकिङ, बार लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा सिकेको कुरालाई कसरी प्रयोग ल्याउने भन्नेबारे समेत उनीहरूलाई सिकाइयो । सिकेका आधारमा प्रतिस्पर्धा गराइ उत्कृष्ट समूहलाई प्रमाणपत्रसमेत दिइएको छ । सँगै डान्स कार्यक्रम पनि गरिएको थियो । पहिलो दिन ६ सयभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागी भएको कलेजले जनाएको छ । ‘विद्यार्थीहरूका लागि यस्ता कार्यक्रमको निकै महत्व छ, उनीहरूले कक्षाकोठा भित्रको भन्दा राम्रो सिक्छन्,’ कलेजका प्रधानाध्यापक तोयानारायण पौडेलले भने । शनिबार इन्जिनियर र मेडिकलमा जाने रुचि भएका विद्यार्थीलाई काउन्सिलिङ गर्ने जनाइएको छ । कुन विषय पढ्दा यसको फाइदा स्वदेशमा कस्तो छ र विदेशको हकमा कस्तो छ भन्ने सिकाइने भएको छ । कार्यक्रममा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ इन म्यानेजमेन्टमा सञ्चालित १२ वटा फरक–फरक कार्यक्रमको बारेमा विद्यार्थीलाई जानकारी दिएको छ । जहाँ बीएचएम, बीबीए, बीआइटी सिभिल इन्जिनियरिङ, बायोटेक, बायोमेडिकल लगायतका कार्यक्रम सञ्चालनमा छन् । प्लस टु पास भएका विद्यार्थीलाई यी विषयमा जानकारी दिइ रुचिअनुसार विषय छनोट गर्न सल्लाह दिइरहेको प्रधानाध्यापक पौडेलले भने । खुसी विद्यार्थी बझाङकी प्रियंका बोहोरा तीनकुनेमा रहेको पेन्टागन इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययन गर्छिन् । अहिले उनी परीक्षा दिएर नतिजाको पर्खाइमा छिन् । फुर्सदको समयमा उनी शुक्रबार हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले आयोजना गरेको कार्यक्रममा आएकी थिइन् । पहिलो पटक ‘द राइजिङ लिडर’ कार्यक्रममा सहभागी भएकी प्रियंका यस्ता कार्यक्रम विद्यार्थीको लागि निकै आवश्क रहेको बताउँछिन् । किताबी ज्ञानभन्दा दैनिक जीवनमा प्रयोग हुने व्यवहारिक कुराहरू निकै आवश्यक रहेको बताउँदै हरेक कलेजले यस्ता कार्यक्रम गर्न आवश्यक रहेको सुनाउँछिन् । ‘एक दिन यो कार्यक्रममा सहभागी हुँदा मैले धेरै कुरा सिकें,’ भन्छिन्, ‘बरिष्टा, बारको विषयमा त्यति थाहा थिएन तर आज सिक्ने अवसर मिल्यो । सँगै नयाँ साथीहरूसँग पनि परिचय भयो । यो अवसरको लागि कलेजलाई धन्यवाद ।’ प्रेस्टन इन्टरनेशनल कलेजमा अध्ययनरत ऋतिका लामाले कार्यक्रममा आउँदा कफी कसरी बनाउने भन्ने बारेमा थाहा पाइन् । दैनिक जीवनमा खाँदै आएको कफी कसरी बनाउने, यो बनाउन के के चाहिन्छ भन्ने विषयमा जानकारी पाउँदा उनी निकै खुसी थिइन् । ‘सिकाउने समकक्षीहरू पनि राम्रो हुनुहुन्थ्यो, हामीले पनि रमाइलो तरिकाले सिक्यौं,’ उनी भन्छिन्, ‘विदेश जाने साथीहरूका लागि त अझ यस्तो सीप निकै आवश्यक छ । रमाइलो भयो नयाँ साथीहरूसँग चिनजान भयो, लगानी कसरी गर्ने, मार्केटिङ के हो भन्नेबारे पनि थाहा भयो ।’ प्रियंका, ऋतिकाजस्ता काठमाडौं उपत्यका भित्र र बाहिरका विद्यार्थी अहिले करिअर हिमालयन ह्वाइट हाउसमा करिअर काउन्सिलिङका विषयमा सिकिरहेका छन् ।