यातायात व्यवस्था विभागको सर्भरमा समस्या, अनिश्चितकालका लागि लाइसेन्ससम्बन्धी सम्पूर्ण सेवा बन्द
काठमाडौं । यातायात व्यवस्था विभागको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएको छ । विभागले शुक्रबारदेखि (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएपछि लाइसेन्ससँग सम्बन्धित सबै सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै प्रणालीमा समस्या आएकाले समाधानको प्रयास भइरहेको उल्लेख गरेको छ । सूचनाअनुसार इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक अवस्थामा गरिने लाइसेन्स प्रिन्ट लगायतका सम्पूर्ण कामहरू पूर्ण रूपमा रोकिएका छन् । प्रणालीमा आएको यस समस्याले गर्दा नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन दिने, लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेकाहरूको राजस्व तिर्ने, बायोमेट्रिक दिने, लाइसेन्स नवीकरण गर्ने र स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने जस्ता सबै कामहरू देशभर ठप्प भएका हुन् । विभागले प्रणालीको मर्मत तथा समाधानको कार्य जारी रहेको बताए पनि कहिलेसम्ममा सेवा पुनः सञ्चालनमा आउँछ भन्नेबारे कुनै निश्चित समयसीमा तोकेको छैन । यसअघि पनि पटक-पटक विभागको सर्भरमा समस्या आउँदा सेवाग्राहीले सास्ती खेप्दै आएका थिए । सेवा अवरुद्ध हुँदा लाइसेन्सको परीक्षा पास गरेर बसेका, विदेश जानका लागि छिटो लाइसेन्स बनाउन चाहेका तथा नवीकरणको पर्खाइमा रहेका लाखौं सेवाग्राहीहरू प्रत्यक्ष मारमा परेका छन् ।
एनआईसी एसिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता
काठमाडौं । एनआईसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरूले नेपालपे क्युआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे प्लसमा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एपमार्फत यस बैंकले उपलब्ध गराएको नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) जयन्द्र रावल र एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । अलिपे प्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरु आवद्ध रहेका छन् । यस सम्झौतापछि यस बैंकमा जोडिएका मर्चेन्टहरुले अलिपे प्लस नेटवर्कमा जोडिएका मुलुकहरुका पर्यटकहरूले नेपालपे क्युआर मार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन् । बैंक र एनसीएचएलबीच भएको यस सम्झौताले मुलुकको अन्तरदेशीय क्युआर भुक्तानीमा समेत प्रवद्र्धन गरी नेपालमा आउने पर्यटकहरुका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको छ ।
ग्लोबल आइएमई समुन्नत योजना बिक्रीमा, १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल
काठमाडौं । सेयर, सेयर, सेयर ! टोलमा, क्याफेमा, अफिसमा, सबैतिर सबै जना सेयरको कुरा गर्छन् । एउटाले सेयरबाट मालामाल कमायो भन्छ । अर्कोले फाइदा लिनै नजानेको कुरा गर्छ । अर्कोले ठूलो रकम गुमाएको कुरा गर्छ । यसले तपाईंलाई दुविधा बनाएको हुनसक्छ । पुँजी बजारमा लगानी गर्न इच्छा छ तर प्रयाप्त जानकारी छैन, उच्च जोखिम लिनु हुन्न भन्ने सोचमा हुनुहुन्छ भने म्युचुअल फण्डमा लगानी गर्नु तपाईंको लागि सजिलो विकल्प हुनसक्छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ बिक्रीमा अर्थात सार्वजनिक निष्काशनमा ल्याएको छ । १ अर्ब २० करोडको यस कोषमा लगानीकर्ताको माग बढी भएको अवस्थामा १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलका अनुसार यस योजनाका इकाईधनीहरूले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । बैंकले ५ प्रतिशतभन्दा कम ब्याज दिइरहेको र सेयरमा लगानी गर्न पनि जोखिम देख्ने लगानीकर्ताको लागि यो राम्रो अवसर भएको जानकारहरू बताउँछन् । वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत लाभांश दिने कम्पनीको प्रक्षेपण मन पर्यो ? मन परेको छ भने तपाईले असार २२ गतेदेखि मेरो सेयरमा अनलाइन आवेदन गर्न गर्न सक्नु हुनेछ । लगानी आवेदन छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन बन्द हुनेछ । यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् । प्रति इकाई मूल्य १० रहेको यस म्युचुअल फण्डमा एक हजार रुपैयाँदेखि अधिकतम १ करोड २० लाख रुपैयाँसम्म लगानी गर्न सकिनेछ । यो फण्ड १० वर्ष अवधिको हो । २०९२ साल साउनमा यो योजना सकिनेछ र लगानीकर्ताको लगानी फिर्ता हुनेछ । यो म्युचुअल फण्ड नेपाल स्टक एक्सचेञ्ज सूचीकृत हुने भएकोले आफूलाई चाहेको बेलामा बेलामा बेचेर पैसा लिन पाइन्छ । यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल हो जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ । यस योजनाको निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ यस म्युचुअल फण्ड र यसको व्यवस्थान राम्रो छ भन्ने हो । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरू सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।
एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने
काठमाडौं । एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन ९ईभी० मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले सर्भिस सेन्टर सञ्चालनमा ल्याउन लागिएको एमएडब्लु वृद्धिले जनाएको छ। रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने विश्वास लिइएको छ । डीपल, डोङ्गफेङ्ग र सेरेस ब्रान्डका विद्युतीय सवारीसाधनहरूका लागि मात्र यो सर्भिस सेन्टर समर्पति हुने जनाइएको छ । सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन् जसले धेरै संख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन्। एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन् । यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ । यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
एभरेष्ट बैंकको १३३ औं शाखा महोत्तरीको बर्दिबासमा विस्तार
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औं शाखा विस्तार गरेको छ । यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरीबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ । बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले शाखाको उद्घाटन गरे । बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरि १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६८ एटीएम छन् । यस बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रियाका लागि पेरिस जाँदै पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताए । उनले सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न विगत लामो समयदेखि पहल गरिरहेको जानकारी दिए। मन्त्री पाण्डेले भन्नुभयो, ‘तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्नेगरी हाम्रो एजेण्डा छ । वर्ल्ड हेरिटेज कमिटीको मिटिङ पेरिसमा छ । हामी १० वर्ष यता त्यो प्रयासमा छौं । त्यसमा पनि थुप्रै जटिलताहरू छन् । कसले सपोर्ट गर्ने, कसले नगर्ने भन्ने । २१ वटा देश सम्मिलित कमिटी छ । त्यो कमिटीको बहुमतले निर्णय गर्नुपर्छ । त्यसमा भारत, कतार, जापान, कोरिया लगायतका एसियन देशहरू छन् ।’ तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरू फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्क, आधुनिक सहरमा हुने पूर्वाधार सबै थिए भन्ने कुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था रहेको उनले बताए । मन्त्री पाण्डे ७ तारिखमा पेरिस जान लागेका हुन् ।
प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की, सञ्चालक बने पूर्वसीईओ अर्याल
काठमाडौं । प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार १९ गते बसेको बैठकले सञ्चालक रहेका कार्कीलाई अध्यक्षमा नियुक्त गरिएको हो । लिला प्रकाश सिटौलाको ४ वर्षे कार्यकाल गत चैत १२ गते सकिएपछि बैंकको अध्यक्ष पद रिक्त थियो । यस्तै, बैंकको स्वतन्त्र सञ्चालकमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकाका रमेश राज अर्याल स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् । अर्याल कुमारी बैंकका पूर्व सीईओ हुन् ।
नेपाल-मलेसिया व्यापारिक सम्बन्ध विस्तारतर्फ, रोजगारी सिर्जना र पूर्वाधार विकासमा जोड
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी)को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता भएको छ । शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा लगानी सिर्जना गरी रोजगारी सिर्जना गर्नेबारे छलफल भएको हो । भेटमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका छन् । प्रतिनिधि मण्डलमा मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी थिए । भेटपछि कुराकानी गर्दै मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजाले नेपालमा बेरोगारी दर उच्च रहेको बताउँदै सम्भावना धेरै भएकाले लगानी विस्तार गरेर रोजगारी सिर्जना गर्न सकिने बताए । सो क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले बताएको छ। सचिवालयक अनुसार लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरे । ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी अघि बढनुहोस् । सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्री पौडेलको भनाई उद्धृत गर्दै सचिवालयले भन्यो । अर्थमन्त्री पौडेलले भने, ‘मलेसिया र नेपालबीचको सम्बन्ध राम्रो रहेको छ । हामीले अर्थमन्त्रीलाई भेटेर सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न खोजेको जानकारी गरायौं । बहुपक्षीय लगानीका बारेमा छलफल भयो । अर्थमन्त्रीले नेपालमा लगानी गर्नका लागि आह्वान गर्नुभयो । म नेपाल र मलेसियाबीच व्यापार तथा लगानीका थुप्रै सम्भावनाबारे अवगत छु । पूर्वाधार विकास, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा क्षेत्रमा नेपालसँग सहकार्य हुनसक्छ ।’ मलेसिया-नेपाल व्यापार परिषद् (एमएनबीसी) को टोलीले बिहीवार नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वकर्ताहरुसँग समेत छलफल गरेको थियो । सो क्रममा मलेसिया व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आसपी सहकार्यका विषयमा छलफल भएको थियो ।