मौद्रिक नीति यी तीन पक्षमा केन्द्रित हुनुपर्ने सीएनआईको सुझाव
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव दिएको छ । शुक्रबार राष्ट्र बैंककमा आयोजित एक कार्यक्रममा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्र बैंकका गभर्नर विश्व पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गरे । परिसंघका अनुसार हालको आर्थिक मन्दीबाट मुलुकलाई पुनः लयमा फर्काउन मौद्रिक नीतिले निर्णायक भूमिका खेल्नुपर्ने आवश्यकता छ । परिसंघले राष्ट्र बैंकलाई पेश गरेको सुझावपत्रमा भनिएको छ, ‘विगत तीन वर्षदेखि नेपाली अर्थतन्त्र जटिल परिस्थितिबाट गुज्रिरहेको छ । पछिल्ला केही महिनामा बजार मागमा आंशिक सुधार देखिए पनि आर्थिक गतिविधि अझै सामान्य स्थितिमा फर्किएको छैन ।’ परिसंघको पछिल्लो ‘इन्डष्ट्रियल स्टाटस रिपोर्ट’ अनुसार हाल बजार माग १९ प्रतिशतले सुधारिएको देखिए पनि उद्योगहरूको सञ्चालन क्षमता अझै औसत ६२ प्रतिशतमा सीमित छ । गत वर्ष यो क्षमता ४० प्रतिशत मात्र थियो । यसले देखाउँछ कि आर्थिक गतिविधि अझै पूर्ण रूपमा पुनः सुचारु भइसकेको छैन । यसैगरी, परिसंघले ब्याजदर ऐतिहासिक रूपमा घटेको भए पनि कर्जा माग अत्यन्त न्यून रहेको उल्लेख गर्दै लगभग ६ खर्ब रुपैयाँबराबरको कर्जायोग्य रकम बैंक प्रणालीमै थन्किएको उल्लेख गरेको छ । बजारमा मागको कमी, निजी क्षेत्रको लगानीप्रतिको उदासीनता र सरकारी नीतिगत अनिश्चितताले गर्दा कर्जा प्रवाहमा उल्लेखनीय सुधार नआएको परिसंघको भनाइ छ । खासगरी राष्ट्र बैंकको मौद्रिक नीति यी तीन पक्षमा केन्द्रित हुनुपर्ने सुझाव परिसंघले दिएको छ । माग बढाउने नीति : तत्कालको न्यून बजार मागलाई उकास्ने तथा आर्थिक गतिविधि सक्रिय बनाउने नीति आवश्यक । नीतिगत सुधार : मौद्रिक नीतिमा स्पष्टता, स्थिरता र पूर्वानुमान कायम गर्न सुधारात्मक उपायहरू अवलम्बन गर्नुपर्ने । संरचनागत सुधार : राष्ट्र बैंक स्वयंको संस्थागत दक्षता र प्रभावकारिता बढाउन संरचनागत सुधारमा पनि ध्यान दिनुपर्ने । परिसंघका अध्यक्ष अग्रवालले मौद्रिक नीतिको तयारी प्रक्रियामा निजी क्षेत्रका धारणा ग्रहण गरेकामा राष्ट्र बैंक र गभर्नरप्रति आभारसमेत व्यक्त गरेका छन् ।
सडक ऐन परिमार्जन हुँदै, अनुमतिबिना सडक खन्नेलाई १० लाख जरिवाना
काठमाडौं । सरकारले करिब ५० वर्ष पुरानो ‘सार्वजनिक सडक ऐन, २०३१’ लाई प्रतिस्थापन गर्दै सडक पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन नयाँ ऐन ल्याउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामा सडक अनुशासन उल्लंघन गर्नेलाई कडा दण्ड र जरिवानाको प्रस्ताव गरिएको छ । मन्त्रालयका अनुसार पुरानो ऐन समयसापेक्ष नभएकाले नयाँ विधेयक आवश्यक परेको हो । हाल सरोकारवालाहरूबाट सुझाव संकलन भइरहेको र प्राप्त सुझावहरूलाई समेटेर विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ । विधेयकको मस्यौदामा सार्वजनिक सडकको वर्गीकरण, सडक सीमा, जग्गा प्राप्ति, क्षतिपूर्ति, सवारी साधनको आकार र भारवहन क्षमता निर्धारण जस्ता विषयहरू समेटिएका छन् । मस्यौदा अन्तिम भएपछि मन्त्रिपरिषदबाट स्वीकृतिका लागि पठाइनेछ । त्यसपछि संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ । विधेयकमा सडकमा क्षति पुर्याउने र नियम मिच्नेलाई प्रस्तावित दण्ड (जरिवाना) कडा बनाइएको छ । अनुमतिविना सडक खन्दाः सडक कार्यालयको अनुमति नलिई ढल, पाइप, बिजुलीको पोल वा तार बिछ्याउन सडक खनेमा १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ भने सडक छेउमा अनुमति नलिई पेट्रोल पम्प, चार्जिङ स्टेशन, होटल वा ग्यारेजजस्ता संरचना बनाएमा १० लाख रुपैयाँसम्म जरिवाना गरिने बताइएको छ। यसैगरी, सडक खन्न स्वीकृति लिएर पनि तोकिएको मापदण्ड पूरा नगरेमा १० लाख रुपैयाँसम्म जरिवाना, तोकिएको भारवहन क्षमताभन्दा बढी सामान बोक्ने मालवाहक सवारीलाई प्रतिपटक ५ लाख रुपैयाँसम्म जरिवाना, तोकिएको सडक सीमाभित्र स्थायी भवन वा संरचना बनाएमा ५ लाख रुपैयाँसम्म जरिवाना, सडक कार्यालयको स्वीकृति लिएर पनि तोकिएका सर्त र मापदण्डविपरीत काम गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । यसैगरी, सडक निर्माण वा मर्मतका लागि सामग्री लैजान वा सडकमा राखिएका सामान हटाउन अवरोध गरेमा १ लाख रुपैयाँसम्म जरिवाना, सडक सौन्दर्यीकरणका लागि रोपिएका रुखबिरुवा काटेमा वा क्षति पुर्याएमा १ लाख रुपैयाँसम्म जरिवाना गर्ने भनेको छ भने हाल २ हजार मात्र जरिवाना छ । तोकिएको भन्दा ठूलो आकारका वा सडकलाई क्षति पुर्याएमा उपकरण चलाएमा १ लाख रुपैयाँसम्म जरिवाना, अवरोध र हुलहुज्जतः जग्गा अधिग्रहण वा गैरकानुनी संरचना हटाउँदा अवरोध गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद हुने व्यवस्था पनि मन्त्रालयले गरेको छ । हाल २ हजार मात्र जरिवाना छ भने सार्वजनिक सडकमा घरपालुवा पशुपंक्षी छाडेमा ५ हजार रुपैयाँसम्म जरिवाना हुने मन्त्रालयले जनाएको छ ।
लगानीका लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिवद्ध :अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बेलायत-नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरूलाई लगानीको लागि आग्रह गरेका हुन् । नेपाल र बेलायतबीचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लण्डन स्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा विशेष सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतबीच २ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको, गोरखा सैनिकहरू भर्ती, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठूलो योगदान रहेको चर्चा गर्दै दुई देशबीचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्याउनु पर्ने बताए । नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहको चर्चा गर्दै उनले नेपालको रणनीतिक भौगोलिक अवस्थिति, युवा र दक्ष जनशक्ति, कम श्रम लागत र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको बताए । ‘नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको छ । नेपालसँग ४० हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न सक्ने क्षमता छ । स्वच्छ र हरित ऊर्जा भविष्य हो र हामी बेलायती कम्पनीहरूलाई यी अवसरमा सहभागी हुन आमन्त्रण गर्छौं,’ अध्यक्ष ढकालले भने सूचना प्रविधिमा नेपाली युवाको सीप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी हब बनाउन सकिने बताउँदै अध्यक्ष ढकालले लगानीकर्तालाई नेपालमा लगानीको लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिवद्ध रहेको बताए । नेपाल र बेलायतबीचको सम्बन्धलाई प्रगाढ बनाउन बेलायतस्थित नेपाली समुदायले खेलेको भूमिका सराहनीय रहेको चर्चा गर्दै अध्यक्ष ढकालले नेपाली उत्पादनको बजारीकरण, पर्यटन प्रबर्द्धन लगायतका क्षेत्रमा नेपाली समुदायले थप योगदान दिन सक्ने बताए । कार्यक्रमले दुवै देशबीच व्यापार, लगानी र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
विकाश हाइड्रोपावरको आईपीओमा १४ लाखभन्दा बढीको आवेदन
काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका छन् । कम्पनीले असार १८ गतेदेखि निष्काशन गरेकाे उक्त आईपीओमा हालसम्म (२० गते) सम्ममा १ करोड ८२ लाख २४ हजार ३२० कित्ताका लागि ४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका हुन् । प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस आईपीओमार्फत विकाश हाइड्रोपावरले कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्छन् । लगानीकर्ताले असार २२ गतेसम्म आवेदन पाउनेछन् । विकाश हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना हाल ४.५५ मेगावाट क्षमतासहित २०७९ साल फागुन १७ गतेदेखि व्यवसायिक उत्पादनमा आएको छ । उत्पादन भएको विद्युत् हाल राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको र बिक्री भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ बाँडफाँड नियमअनुसार छिट्टै हुने जनाइएको छ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस प्रदान गरेको छ ।
महालक्ष्मी मन्दिरलाई ललितपुर महानगरको ६३ लाख ८१ हजार रुपैयाँ बराबरको चाँदी सहयोग
काठमाडौं । ललितपुर महानगरपालिकाले महालक्ष्मीथानस्थित महालक्ष्मी मन्दिरलाई ३४ हजार ३०० ग्राम (३४.३ केजी) चाँदी सहयोग गरेको छ । महानगरले शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच महालक्ष्मीथान व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । महानगरले हस्तान्तरण गरेको उक्त चाँदी जीटुजीमार्फत किनेर हस्तान्तरण गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उनका अनुसार महानगरले नेपाल राष्ट्र बैंकसँग बिहीबारको बजार भाउअनुसार चाँदी खरिद गरेको हो । हिजोको बजारभाउ अनुसार चाँदी प्रतितोला २१ सय ७० रुपैयाँ रहेको छ । ३४ हजार ३ सय ग्राम चाँदी तोलामा रूपान्तरण गर्दा २९ सय ४१ तोला हुन आउँछ । यसरी हिसाब गर्दा महानगरले महालक्ष्मी मन्दिरलाई ६३ लाख ८१ हजार ९७० रुपैयाँ बराबरको चाँदी हस्तान्तरण गरेको हो । व्यवस्थापन समितिले मन्दिरमा चाँदी अलङ्कार राख्ने प्रयास गरेको प्रयासलाई सराहना गर्दै सहयोग गर्न पाउँदा सौभाग्य महसुस गरेको प्रमुख महर्जनले बताए । प्रमुख महर्जनका अनुसार यसरी महानगरले चाँदी नै हस्तान्तरण गरेको पहिलो पटक हो । प्रमुख महर्जनले पैसा दिनुको साटोमा चाँदी नै उपयुक्त हुने भन्दै चाँदी सहयोग गरेको जानकारी दिए । प्रमुख महर्जनले चाँदी अलङ्कार राख्ने काममा कुनै पनि किसिमको कमीकमजोरी नदेखिने गरेर काम गर्न व्यवस्थापन समितिलाई अनुरोध गरे । ‘काममा कसैले आलोचना नआउनेगरी काम गर्नूहोस्, छिटोभन्दा छिटो सम्पन्न गर्नूहोस्,’ प्रमुख महर्जनले भने । त्यस्तै प्रमुख महर्जनले जे काम गरिन्छ, त्यसमा पारदर्शी भएर काम गर्दा कसैले औंला नउठाउने अभिव्यक्ति दिए। महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दासले महानगरले सम्पदा र संस्कृतिमा उदाहरणीय काम गर्दै आएको बताइन् । ‘हामीले सम्पदा र संस्कृतिमा गरेको उदाहरणीय काम देखेर अन्य पालिकाहरू हामीसँग सिक्न आउनुहुन्छ । तपाईंहरूले कसरी काम गरिरहनु भएको छ भनेर । यसले हामीलाई थप उत्साह मिल्छ,’ उनले भनिन् । प्रमुख प्रशासकीय अधिकृत दासले महालक्ष्मी मन्दिरको लागि सहयोग गरेर इँटा थप्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् । व्यवस्थापन समितिले मन्दिरमा पित्तलको ठाउँमा चाँदी अलङ्कार निर्माण गर्न लागेको हो । चाँदी अलङ्कार व्यवस्थापन समितिका संयोजक द्वारिका नाथ खनालका अनुसार अहिलेसम्म विभिन्न उद्योग व्यवसायी, संस्था, भक्तजनबाट सहयोग जुटिरहेको छ । चाँदी अलङ्कारमा कुनै पनि अपरदार्शिता नहुने बताउँदै उनले हरेक कुरा पारदर्शितामा हुने प्रतिबद्धता जनाए । ललितपुर महानगर वडा नं ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले महालक्ष्मी मन्दिरलाई चाँदीले अलंकार गर्नको लागि भक्तजनबाट मात्रै एक/डेढ करोड भक्तजनबाट उठिसकेको बताए । महानगरले पनि त्यस कार्यक्रमा सहयोग गरेको उनले धन्यवाद व्यक्त गरे । ज्यापू समाजका अध्यक्ष एव समितिका सल्लाहकार सन्तमान महर्जनले महालक्ष्मी मन्दिर विगतका दिनमा भन्दा धेरै नै व्यवस्थित बन्दै गएको र यसमा सबैको ठूलो योगदान रहेको जानकारी दिए । मन्दिरलाई थप सुन्दरता बढाउन चाँदीको अलंकार राख्न लागेको र त्यसमा सबैको सहयोगको अपेक्षा राखेका छन् । यसमा ज्यापू समाजको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
केराबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । केराबारीमा बृहद निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सञ्चालन भएको छ । मोरङ उद्योग व्यापार संघ र नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरको संयुक्त आयोजना तथा केराबारी व्यापार प्रवन्ध समितिको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । उक्त शिविरमा जनरल मेडिसिन सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी नसा रोग सेवा, बालरोग सेवा, नाक, कान, घाँटी सेवा, दन्तरोग सेवा, शल्यक्रियाचिकित्सा सेवा, आँखाजाँच सेवा, रेडियोलोजी सेवा, ईसीजी (मुटुको जाँच) सेवा, ल्याव परिक्षण (रगत, पिसाव जाँच) सेवाहरुबाट ७०० भन्दा बढी स्थानीयवासीले सेवा लिएका थिए। सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखी मोरङ उद्योग व्यापार संघ र नोबेल हस्पिटल निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । सो क्षेत्रका नगरवासीहरूको स्वास्थ्य परीक्षण, विभिन्न रोगका चेक जाँच गर्न अझ बढी सहज होस भन्ने उद्देश्यले सो शिविर राखिएको हो । एक दिने उक्त शिविरमा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, प्रवक्ता दिपेश सुवेदी, स्वास्थ्य शिविर संयोजक एवं संघका आमन्त्रित सदस्य डा.दीपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक अमित अग्रवाल, महिला उद्यम समितिकी सह-संयोजक साधना झा, सचिव जीना श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी त्यसैगरी केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष लगायत कार्यसमितिको उपस्थिति रहेको थियो ।
महालक्ष्मी विकास बैंकका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न्न कार्यक्रम सम्पन्न गरेको छ । सोही अन्तर्गत बैंकको मार्तडी-बाजुरा शाखाद्धारा बाजुरास्थित श्री लक्ष्मी माध्यमिक विद्मालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका तथा पढाइमा अब्बल रहेका विधार्थीहरुलाई अध्ययनलाई सहज होस भन्ने हेतुका साथ स्कुल ब्याग वितरण गरेको छ । साथै पाटन नगरपालिका- ०१ मेल्चौरा बैतडी स्थित श्री सिद्धेश्वर माध्यामिक विद्यालयलाई यस बैंकको पाटन-बैतडी शाखाद्वारा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरेको छ । ८०० विद्यार्थी र ३० जना कर्मचारी रहेका उक्त विद्मालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगहरुबाट बच्न सहयोग पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको हो । त्यसैगरी बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुर स्थित श्री बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । साथै काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.४ क्वाँटोल, चण्डेश्वरी स्थित श्री मदन आश्रित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ । साथै यस बैंकको कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमको कारणले हुन सक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ । त्यसैगरी, प्रहरी वृत मालीगाउँ काठमाण्डौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत मालीगाँउ, काठमाण्डौंलाई स्थलगत रुपमा खटिने प्रहरीहरुलाई सहज होस भन्ने उद्देश्यका साथ खानेपानी वितरण गरेको छ । साथै रोटरी क्लब अफ वीरगंजको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ भने रोटरी क्लब अफ गैंडाकोटको सहकार्यमा श्री नवदुर्गा आधारभुत विद्यालयमा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
अब सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा
काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।