विकासन्युज

सबै मिलेर सरकार बनाउनु राम्रो कुरा : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन कुनै न कुनै राजनीतिक दलसँग मिल्नैपर्ने बाध्यता रहेको बताएका छन् । शनिबार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन गाह्रो रहेको बताए । बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक भएको पनि जानकारी दिए । सबै मिलेर सरकार बनाउनु राम्रो कुरा पनि भएको जिकिर गरे । बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक रहेको पनि बताए । जसकारण राजनीतिमा उत्तारचढाव आउनु स्वभाविक रहेको तर्क गरे ।  सभापति देउवाले भने, ‘हाम्रो देशमा यो बहुदलीय व्यवस्थामा कम्पिटिशन हुनेकुरा स्वभाविक हो । अरु उत्तारचढाव हुने स्वभाविक हो । तै पनि अहिले हामीले हेरिरहेका छौँ, हाम्रो देश अघि बढेको छ । महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व भएको व्यवस्था छ । त्यस मानेमा यो समावेशी संविधान बनाएका छौँ । नमिले हुँदै हुँदैन, बाध्यतै हो यो । राम्रो कुरा पनि हो यो । कमसेकम सबै मिलेर काम गर्नु राम्रो पनि छ । मन परेको होस्, मन नपरेको होस् त्यस्तै छ । के गर्नुहुन्छ, काम गर्नुपर्ने छ ।’ सभापति देउवाले समूहिकृत रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कुलिङ पिरियडमा अनियमितता छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० मा समेटिएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने सहमति भएको छ । शनिबार सभामुख देवराज घिमिरेसहित प्रमुख सचेतकहरूको छलफलपछि गठित हुने यो समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २/२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १/१ जना सदस्य रहनेछन् । समितिको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम बन्ने समितिको सदस्यको नाम सोमबार सार्वजनिक हुने र समितिलाई छानबिनका लागि १५ दिनको समय दिइने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । आगामी बैठकले यस निर्णयलाई अनुमोदन गर्ने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियाले पनि विशेष समिति गठनको सहमति भएको पुष्टि गर्दै दलहरुलाई भोलिसम्म सदस्यको नाम पठाउन सभामुखले आग्रह गरेको जानकारी दिए ।

सहकारीलाई अब केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण र सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । शनिबार ललितपुरमा १०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कमजोरीहरू सबै ठाउँबाट भएको बताउँदै अब विगतमा भएका कमजोरीलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताएका हुन् ।  उनले सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपर्‍यो भनेर माग आए बमोजिम नै प्राधिकरण बनाइएको बताए । नियमन प्राधिकरण बनेसँगै काम नै सुरुवात नभई नियन्त्रण खबरदार भन्ने गरिएको उनको भनाई थियो।  मन्त्री अधिकारीले भने, ‘कमजोरी सबै ठाउँबाट भएको छ । अब त्यो कमजोरीलाई सच्याएर अघि जान जरुरी छ । यहाँहरूकै माग हो की यो सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपर्‍यो भनेर यहाँहरूले नै आवाज उठाउनुभएको होइन ? यहाँहरूले आन्दोलन गर्नुभएको होइन, यहाँहरूले माग राख्नुभएको होइन ? अहिले त्यही नियमन प्राधिकरण बनेको छ । उसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ, भन्ने कुरा सुरुवात नहुँदै नियन्त्रण खबरदार भन्न थालिएको छ ।’ मन्त्री अधिकारीले सहकारी ठिक रहेको र सहकारी नै राष्ट्रको मेरुदण्ड भएको बताए । 

असन प्रवेशद्धारमा निर्मित सिंहद्धारको बालेनले गरे उद्घाटन

काठमाडौं । राजधानीको ऐतिहासिक तथा प्रमुख व्यापारिक केन्द्र असन बजारको प्रवेशद्धारमा निर्माण गरिएको सिंहद्धार (सिंहको मूर्ति) काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्वारमा स्थापना गरिएको सिंहको प्रति मूर्तिको निर्माण लागत सात लाख रुपैयाँ रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ ।  अभियुक्त चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।  यसैबीच, बैङ्किङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुली दुधौली नगरपालिका–८ घरका ३० वर्षीय प्रलाद खड्का र हेटौँडा उपमहानगरपालिका–४ घर भएका ३६ वर्षीय सुनिल लामालाई पक्राउ गरिएको हो ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका–७ चावहिल गङ्गाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरि नगरपालिका–५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउमध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ ।      

विद्यार्थीलाई गगनको सुझाव : ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरुको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे । आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए । देशमा केही राम्रो भएको तर केही राम्रो गर्न नसकिएको स्वीकार गरे । राम्रो गरेकोमा धन्यवाद दिन र भनेजति गर्न नसकेकोमा प्रश्न गर्न आग्रह गरे । विद्यार्थीलाई अब हाम्रो जिम्मा हो भनेर जिम्मेवारी लिँदै नथाक्न, नभाग्न र नगल्न सुझाव दिए ।  महामन्त्री थापाले भने, ‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस् । तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । यो देशमा केही राम्रो भएको छ । गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् । बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न । नथाक्नुस्, नभाग्नुस् । नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, क्वेशन गर्नुस् । क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस् ।’ महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताए ।

०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गरे । महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भुमिका संगीतले खेलेको बताए । जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी भुमिका खेलेको बताए । आगामी निर्वाचनको लडाईंमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भुमिका खेल्ने जानकारी दिए ।  अध्यक्ष दाहालले भने, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रुपमा तपाईंहरु सबै पनि आफ्नो भुमिका पूरुा गर्नुहुनेछ ।’ अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा शुरु भएको दाबी गरे ।   

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

सिरहा । सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।  कार्यालयका अनुसार असार महिनाबाहेक नै १३ करोड ७५ लाख ८१ हजार राजस्व सङ्कलन भइसकेको छ, जुन चालु आवको कूल लक्ष्य रु १२ करोड १२ लाख ९२ हजारभन्दा एक करोड ६२ लाख ८९ हजार बढी हो । भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार मङ्सिरबाहेक सबै महिनामा राजस्व लक्ष्यभन्दा बढी उठाइएको हो । उनले भने, 'मङ्सिरमा मात्र ९४ प्रतिशत राजस्व सङ्कलन भएको थियो, बाँकी सबै महिनामा लक्ष्यभन्दा बढी सङ्कलन भएको छ ।' उनका अनुसार, अहिलेसम्मको समग्र राजस्व सङ्कलन लक्ष्यको ११३ प्रतिशत पुगेको छ । सापकोटाले चालु आवको अन्तिम महिना असारमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने प्रक्षेपण गर्दै आव सकिँदासम्म १५ प्रतिशत बढी राजस्व सङ्कलन हुने विश्वास व्यक्त गरे। राजस्व सङ्कलनमा सफलता हासिल गर्दा पनि माडर भन्सारमा लामो समयदेखि छलफलमा रहेको ‘प्लान्ट क्वारेन्टाइन’ सेवा स्थापनामा भने अझै ठोस कार्यान्वयनको चरणमा पुगेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित विभागले सेवा स्थापनाको आवश्यकता बारम्बार औँल्याउँदै आएका छन्, तर प्रक्रियागत ढिलाइका कारण योजना अलपत्र छ । सापकोटाका अनुसार माडरमा प्लान्ट क्वारेन्टाइन सेवा स्थापना गरिएमा माडर, ठाडी र राजविराज गरी तीन वटा भन्सार कार्यालयलाई सेवा दिइनेछ । यी सबै नाका हुलाकी राजमार्गमार्फत माडरसँग सिधा जोडिएका छन्, जसले समन्वय र ढुवानी प्रक्रियालाई सहज बनाउनेछ । उहाँले अझै स्पष्ट पार्दै भने, 'यदि माडरमा प्लान्ट क्वारेन्टाइन सेवा उपलब्ध गराइयो भने राजस्व असुली पनि दोब्बरले वृद्धि हुने निश्चित छ ।' हाल कृषिजन्य वस्तु आयात–निर्यात गर्ने व्यवसायीलाई क्वारेन्टाइन प्रमाणीकरणका लागि पूर्वमा विराटनगर वा पश्चिममा जलेश्वरसम्म पुग्नुपर्ने बाध्यता छ । यसले ढुवानी खर्चमात्र होइन, उपभोक्ता मूल्यमा अप्रत्याशित वृद्धि गराएको व्यवसायीले गुनासो गरेका छन् । रासस