विकासन्युज

छात्रवृत्तिमा पढ्न चाहनुहुन्छ ? काठमाडौं महानगरले फारम खुला गर्‍यो

काठमाडौं । काठमाडौं महानगरले कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहनेहरूका लागि आवेदन खुला गरेको छ । माध्यामिक शिक्षा परीक्षा एसईईमा ग्रेड भएका विद्यार्थीलाई मध्यनजर गर्दै महानगरले सूचना निकालेको हो । महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीले अनलाइन मार्फत आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ । इच्छुक विद्यार्थीले यही असार १८ गतेदेखि २७ गते रातीसम्म फारम भर्न सक्ने महानगरले एक सूचना जारी गर्दै जानकारी गराएको हो । आवेदन भरेका विद्यार्थीहरूको परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा लिइने छ । परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित सयवटा वस्तुगत बहुवैकल्पिक प्रश्न हुने छन् ।  

ट्रम्पको प्रहारले टेस्लाको सेयर धराशायी,  मस्कको नेटवर्थ १२ अर्बले घट्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कबीचको तिक्तता बढ्दै गएको छ । मस्कले ‘वन बिग ब्यूटीफुल बिल’को आलोचना गरेका थिए । त्यसपछि ट्रम्पले मस्कमाथि तीव्र हमला गर्दै भने, ‘यदि सरकारले दिने अनुदान बन्द गर्यो भने मस्कले आफ्नो व्यवसाय बन्द गरेर दक्षिण अफ्रिका फर्किनुपर्ने हुन्छ । उनी न त स्याटेलाइट बनाउन सक्नेछन्, न त विद्युतीय सवारीसाधन (ईभी)।’ ट्रम्पको उक्त टिप्पणीपछि मंगलबार टेस्लाका सेयरमा भारी गिरावट आयो । यस गिरावटका कारण मस्कको नेटवर्थ १२.१ अर्ब अमेरिकी डलरले घट्यो । विश्वकै सबैभन्दा बहुमूल्य अटो कम्पनी टेस्लाको सेयर मंगलबार ५.३४ प्रतिशतले घट्यो । ब्लूमबर्ग बिलिनियर इन्डेक्स अनुसार मस्कको नेटवर्थ उक्त दिन १२.१ अर्ब डलरले घटेर हाल ३५१ अर्ब डलरमा पुगेको छ । यस वर्ष मात्रै मस्कको नेटवर्थमा ८१.९ अर्ब डलरको गिरावट आएको छ । केही महिना अघिसम्म ट्रम्पका नजिकका मानिने मस्क अहिले उनीविरुद्ध उत्रिएका छन् । उनले चेतावनी दिँदै भनेका छन्, यदि ‘वन बिग ब्यूटीफुल बिल’  पारित भयो भने उनी आफ्नै राजनीतिक दल गठन गर्नेछन् । अन्य धनी व्यक्तिहरूको अवस्था मंगलबार विश्वका शीर्ष १० धनीमध्ये ८ जनाको नेटवर्थ घट्यो । केवल अमेजनका संस्थापक जेफ बेजोस र फ्रान्सेली व्यवसायी बर्नार्ड अरनल्टले नाफा कमाए । अरनल्टको नेटवर्थ ७.१५ अर्ब डलरले बढ्यो भने बेजोसको १.१ अर्ब डलरले । मस्कपछि सबैभन्दा ठूलो घाटामा फेसबुक संस्थापक मार्क जुकरबर्ग परे । उनको नेटवर्थ ६.४४ अर्ब डलरले घटेर २५४ अर्ब डलरमा झर्‍यो । उनी अहिले विश्वका दोस्रो धनी व्यक्तिका रूपमा छन् । यसैबीच भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नेटवर्थ भने २.२४ अर्ब डलरले वृद्धि भएको छ ।  अर्का भारतीय व्यवसायी र अदानी समूहका अध्यक्ष गौतम अदानीको नेटवर्थ १६।७ करोड डलरले बढ्यो ।

‘लेख्नु भनेको सोच्नु हो’ : के च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरूले कम सिक्छन् ?

काठमाडौं । जब जोसेलिन लेइत्जिङ्गरले आफ्ना विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको जीवनमा उनीहरूले भेदभाव देखेका समयहरूको बारेमा लेख्न लगाए, उनले धेरै कथामा स्याली नामकी महिला पीडित भएको थाहा पाए । 'यो स्पष्ट थियो कि च्याटजिपिटीले यसलाई सामान्य महिलाको नाम हो भन्ने निर्णय गरेको थियो', सिकागोको इलिनोइस विश्वविद्यालयमा व्यापार र समाजसम्बन्धी स्नातक कक्षा पढाउने लेइत्जिङ्गरले भने, 'उनीहरूले आफ्नै जीवनका आफ्नै उपाख्यानात्मक कथाहरू पनि लेखिरहेका थिएनन् ।' लेइत्जिङ्गरले आफ्ना एक सय ८० विद्यार्थीमध्ये आधाले गत सेमेस्टरमा कुनै न कुनै समयमा च्याटजिपिटीको अनुचित प्रयोग गरेको अनुमान गरे जसमा कृत्रिम बुद्धिमत्ता (एआई) को नैतिकताबारे लेख्नु पनि समावेश थियो । यसलाई उनले ‘विडम्बनापूर्ण’ र ‘दिमाग भ्रमित पार्ने’ भो । त्यसैले निबन्ध लेख्न च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरू कम आलोचनात्मक सोचमा संलग्न हुन्छन् भन्ने हालैको अनुसन्धानले उनलाई अचम्म बनाएन । सहकर्मी–समीक्षा नगरिएको प्रिप्रिन्ट अध्ययन व्यापक रूपमा अनलाइन साझा गरिएको थियो र स्पष्ट रूपमा केही निराश शिक्षकहरूसँग मिल्दोजुल्दो थियो । यस पेपरको पछाडि एमआइटी अनुसन्धानकर्ताहरूको टोलीले गत महिना अनलाइन प्रकाशित भएदेखि सबै प्रकारका शिक्षकहरूबाट तीन हजारभन्दा बढी इमेल प्राप्त गरेको प्रमुख लेखक नतालिया कोस्मिनाले बताइन् । ‘आत्माविहीन’ एआई निबन्धहरू  सानो अध्ययनका लागि बोस्टन क्षेत्रका ५४ वयस्क विद्यार्थीलाई तीन समूहमा विभाजन गरिएको थियो । एक समूहले २० मिनेटका निबन्धहरू लेख्न च्याटजिपिटी प्रयोग गर्‍यो, अर्कोले सर्च इन्जिन प्रयोग गर्‍यो र अन्तिम समूहले केवल आफ्ना दिमागको सहारा लिनुपर्‍यो । अनुसन्धानकर्ताहरूले विद्यार्थीहरूको मस्तिष्क गतिविधि मापन गर्न इइजी उपकरणहरू प्रयोग गरे र दुई शिक्षकले निबन्धहरूलाई अंक दिए ।​​​​​​​ च्याटजिपिटी प्रयोगकर्ताहरूले सबै स्तरमा मस्तिष्क मात्र प्रयोग गर्ने समूहभन्दा उल्लेखनीय रूपमा खराब अंक पाए । उनीहरूको मस्तिष्कका विभिन्न क्षेत्रहरू कम पटक एकअर्कासँग जोडिएको इइजीले देखायो । च्याटजिपिटी समूहका ८० प्रतिशतभन्दा बढीले उनीहरूले भर्खरै लेखेका निबन्धबाट अन्य दुई समूहका करिब १० प्रतिशतको तुलनामा केही पनि उद्धृत गर्न सकेनन् ।  तेस्रो सत्रसम्म च्याटजिपिटी समूह मुख्यतया प्रतिलिपि र टाँस्नमा केन्द्रित देखिन्थ्यो । शिक्षकहरूका अनुसार उनीहरूले ‘आत्माविहीन’ च्याटजिपिटी निबन्धहरूलाई सजिलै पहिचान गर्न सक्थे किनभने तिनमा राम्रो व्याकरण र संरचना थियो तर रचनात्मकता, व्यक्तित्व र अन्तर्दृष्टिको कमी थियो । तथापि कोस्मिनाले च्याटजिपिटी प्रयोगले मानिसहरूलाई अल्छी वा अधिक मूर्ख बनाउँछ भन्ने पेपरले देखाएको दाबी गर्ने मिडिया रिपोर्टहरूको विरोध गरिन् । उनले चौथो सत्रलाई औँल्याइन्, जतिबेला मस्तिष्क मात्र प्रयोग गर्ने समूहले आफ्नो निबन्ध लेख्न च्याटजिपिटी प्रयोग गर्‍यो र न्युरल कनेक्टिभिटीको अझ उच्च स्तर प्रदर्शन गर्‍यो ।​​​​​​​ कोस्मिनाले अध्ययनको सानो नमूना आकारबाट निष्कर्ष निकाल्न धेरै चाँडो भएको कुरामा जोड दिइन् तर एआई उपकरणहरू कसरी सिकाइमा मद्दत गर्न थप सावधानीपूर्वक प्रयोग गर्न सकिन्छ भनेर थप अनुसन्धानका लागि आह्वान गरिन् । अनुसन्धानमा संलग्न नभएकी क्यालिफोर्निया विश्वविद्यालय सान डियागोका न्युरोसाइन्टिस्ट एस्ले जुभिनेटले प्रिप्रिन्टबाट गलत रूपमा व्याख्या गर्ने केही ‘गलत’ शीर्षकहरूको आलोचना गरिन् ।  'यस पेपरमा हाम्रो मस्तिष्कमा एलएलएम (च्याटजिपिटी जस्ता ठूला भाषा मोडेलहरू) को प्रयोगले न्यूरल प्रभावका बारेमा कुनै दाबी गर्न पर्याप्त प्रमाण वा पद्धतिगत कठोरता छैन', उनले भनिन् । बट बाहिर सोच्दै  लेइत्जिङ्गरले सन् २०२२ मा च्याटजिपिटी जारी भएदेखि विद्यार्थी निबन्धहरूमा आएको परिवर्तनलाई अनुसन्धानले प्रतिबिम्बित गरेको बताए, किनकि हिज्जे त्रुटिहरू र प्रामाणिक अन्तर्दृष्टि दुवै कम सामान्य भए कहिलेकाहीँ विद्यार्थीहरूले च्याटजिपिटीबाट प्रतिलिपि गरेर टाँस्दा फन्ट पनि परिवर्तन नगरेको उनले बताए । तर लेइत्जिङ्गरले केही कक्षामा विश्वविद्यालयहरूले एआईको प्रयोगलाई प्रोत्साहित गरिरहेको तर अरूमा प्रतिबन्ध लगाइएको छ भने तिनीहरू भ्रमित हुन सक्छन् भन्दै विद्यार्थीहरूप्रति समानुभूतिको आह्वान गरे । नयाँ एआई उपकरणहरूको उपयोगितालाई कहिलेकाहीँ क्यालकुलेटरहरूको परिचयसँग तुलना गरिन्छ, जसमा शिक्षकहरूलाई उनीहरूको तरिका परिवर्तन गर्न आवश्यक पर्दछ । तर लेइत्जिङ्गर आफ्नो निबन्ध प्रश्न च्याटजिपिटीमा टाँस्नुअघि सिक्ने प्रक्रियामा धेरै महत्त्वपूर्ण चरणहरू छाडेर विषयको बारेमा केही जान्न आवश्यक पर्दैन भन्ने विद्यार्थीहरूप्रति चिन्ता व्यक्त गरे ।  गुमनाम रहन चाहने २० वर्ष उमेरका बेलायती विश्वविद्यालयका एक विद्यार्थीले च्याटजिपिटीलाई व्याख्यान नोटहरू सङ्कलन गर्न, इन्टरनेट खोज्न र विचारहरू उत्पन्न गर्न उपयोगी उपकरण पाएको बताए । 'मलाई लाग्छ कि तपाईंको काम लेख्नका लागि च्याटजिपिटी प्रयोग गर्नु ठीक होइन किनभने तपाईं विश्वविद्यालयमा यसैका लागि आउनुभएको होइन', उनले भने ।  यो समस्या उच्च विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूभन्दा बाहिर जान्छ । शैक्षिक पत्रिकाहरू एआई–उत्पन्न वैज्ञानिक कागजातहरूको विशाल आगमनसँग सामना गर्न सङ्घर्ष गरिरहेका छन् । पुस्तक प्रकाशन पनि प्रतिरक्षित छैन, एउटा स्टार्टअपले एक वर्षमा आठ हजार एआई–लिखित पुस्तकहरू निकाल्ने योजना बनाएको छ । 'लेख्नु भनेको सोच्नु हो, सोच्नु भनेको लेख्नु हो, र जब हामी त्यो प्रक्रियालाई हटाउँछौँ, सोचाइका लागि यसको अर्थ के हो ?', लेइत्जिङ्गरले प्रश्न गरे । रासस

नेपाललाई हिमताल संरक्षणका लागि ५ अर्बको अन्तर्राष्ट्रिय सहयोग

काठमाडौं । हिमताल विस्फोटबाट हुनसक्ने क्षति कम गर्ने कार्यका लागि नेपालले हरित जलवायु कोषबाट ५ अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको छ । हिमताल संरक्षणको क्षेत्रमा नेपालले प्राप्त गरेको यो रकम हरित जलवायु कोषले उपलब्ध गराएको पहिलो र सबैभन्दा ठूलो सहयोग हो । युएनडिपीको सहयोगमा जल तथा मौसम विज्ञान विभाग र उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमार्फत प्रश्तावित परियोजनालाई पपुवान्युगिनीमा बसेको हरित जलवायु कोषको बोर्ड बैठकले स्वीकृत गरेको छ । हिमताल विस्फोटबाट हुने क्षतिलाई न्युनिकरण गर्ने कार्यका लागि बोर्डले ३६ दशमलव १ मिलियन अमेरिकी डलर (झन्डै ५ अर्ब नेपाली रुपैयाँ) को १५ वर्षे परियोजना स्वीकृत गरेको छ । यो परियोजनामा पहिलो चरणको ७ वर्ष हरित जलवायु कोषले उपलब्ध गराएको अनुदानबाट कार्यक्रम सञ्चालन हुनेछ । दोस्रो चरणको ८ वर्ष नेपाल सरकारले अन्य निकायसँगको सहलगानीमा परियोजना अघि बढाउनुपर्ने छ ।   पछिल्लो ८ वर्षमा करिव १३ दशमलव  ९ मिलियन अमेरिकी डलर (करिव २ अर्ब नेपाली रुपैयाँ) बराबरको कार्य गरिने अनुमान गरिएको छ । यसबाहेक परियोजनाले समेटेका स्थानीय सरकारसहित अन्य संवद्ध विभाग, निकाय तथा मन्त्रालयले पनि समानान्तर आर्थिक दायित्व लिनेछन् । संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई हिमनदी संरक्षणका लागि अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउँदै गर्दा नेपालले हिमताल संरक्षणका लागि हरित जलवायु कोषको अनुदान पाएको हो । परियोजनाको नेतृत्व गर्ने मन्त्रालय उर्जा जलस्रोत तथा सिंचाई सचिव सरिता दवाडीले सरोकारवाला निकाय र विकास साझेदार युएनडिपिको निरन्तरको सहयोग र सहकार्यपछि प्रोजेक्ट स्वीकृत भएकोमा सबैलाई धन्यवाद दिइन् । उनले छो रोल्पा र इम्जा हिमताल संरक्षणमा प्राप्त गरेको सफलता पछि ४ वटा ताल संरक्षणमा अनुदान प्राप्त भएको उल्लेख गर्दै अन्य तालको संरक्षणमा पनि मन्त्रालयले काम गर्दै जाने प्रतिवद्धता जनाइन् । उनले भनिन् ‘विगत ८ वर्षको प्रयासमा ४ वटा लेक लोअरिङ्गको लागि जिसिएफको प्रोजेक्ट प्राप्त गरेका छौ । यसमा म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु र यसमा संलग्न हुने सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । यसको कार्यान्वयन गर्ने निकाय उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र यो अन्तर्गतको जल तथा मौसम विज्ञान विभाग रहेको छ । यो हाम्रो इनिसियल इन्टरभेन्सन हो । यसलाई विस्तारै अन्य लेकमा इन्टरभेन्सन गदै जाने हिसावले मन्त्रालय अघि बढ्छ भन्न चाहन्छु । ’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका हिमताल विष्फोटबाट हुने क्षति कम गर्ने कार्यका लागि प्राप्त अनुदान नेपालका लागि निकै महत्वपुर्ण रहेको बताए । प्राप्त अनुदानबाट हिमतालको सतह कम गर्ने,जलतथा मौसमी केन्द्र स्थापना, विपद पूर्वसूचनामा पहुँच विस्तार र जलाधार संरक्षणमा खर्च गरिने बताए । यो परियोजनाले कोशीका ३ र गण्डकीको एउटा हिमताललाई समेटेको जानकारी दिए । उनले भने ‘यसका लागि तीनै तहका सरकार, विकास साझेदार, एनजिओ,आईएनजीओ, नीजि क्षेत्र, अनुसन्धान गर्ने संस्था लगायत संगको समन्वय र सहकार्यमा जल तथा मौसम विज्ञान विभाग, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको लिडमा एनडिआरआरएमए र भू संरक्षण विभाग समेतको सहभागीतामा यो कार्य गर्छौं ।’ नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकाले पर्वतीय क्षेत्रले सामना गरेका जटिल जलवायु जोखिमलाई सम्बोधन गर्न नेपाल सरकारसँग साझेदारी गर्न पाउनु आफूहरुका लागि महत्वपूर्ण अवसर भएको प्रतिक्रिया दिए । हरित जलवायु कोषको सहयोगमा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन रक्षा र उत्थानशीलताका लागि संचालन हुने कार्यक्रम दीर्घकालीन लगानी भएको जानकारी दिए । जल सतह घटाउने, जल तथा मौसमी केन्द्र स्थापना गर्ने र समयमै पूर्वसूचना प्रवाह गरी त्यस क्षेत्रका बासिन्दालाई सचेत गराई जोखिम न्युनिकरण गर्ने र भूसंरक्षणमार्फत जलाधार संरक्षण गर्ने परियोजनाका प्राथमिकताका क्षेत्र रहेका छन् । त्यसैगरी प्रोजेक्ट क्षेत्रमा १ सय ५० हेक्टर भन्दा बढी क्षेत्रमा वृक्षरोपणमार्फत जलाधार क्षेत्रको भूसंरक्षण गर्ने लगायतका कयौ कार्यक्रमहरु रहेका छन् । 

बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बुधबार ६० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ६० अर्ब निक्षेप खिच्न लागेको हो ।  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ७० खर्ब ५८ अर्ब माथि पुगेको छ । निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो ।  ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । सामान्यता २१ दिनका लागि राष्ट्र बैंकलले बोलपत्र आह्वान गर्ने गरेपनि पछिल्लो समय भने लामोसमयका लागि राष्ट्र बैंकले बजारबाट पैसा खिच्न थालेको छ ।

फेरारीको नयाँ ‘अमाल्फी’ कूप सार्वजनिक, मूल्य २ लाख ४० हजार युरो

काठमाडौं । फेरारीले मंगलबार नयाँ ‘अमाल्फी’ कूप सार्वजनिक गरेको छ । लक्जरी स्पोट्स कार निर्माता फेरारीले पेट्रोल र हाइब्रिड मोडेललाई मिसाउँदै आफ्नो पहिलो पूर्ण विद्युतीय सवारीसाधन (ईभी) सार्वजनिक गर्ने तयारी गरिरहेको बेला यो नयाँ मोडेल ल्याइएको हो । ८ सिलिन्डर र ३.८५ लिटर इञ्जिन क्षमताको अमाल्फीले सन् २०१९ मा सार्वजनिक गरिएको सफल ‘रोमा’ मोडेललाई प्रतिस्थापन गर्दै अपग्रेड पनि गरेको छ । यो मोडेल फेरारीको इन्ट्री सेग्मेन्टमा पर्दछ । अमाल्फी सार्वजनिक हुनुभन्दा दुई महिना अघिमात्र फेरारीले २९६ स्पेसियाले हाइब्रिड कार र त्यसको कनभर्टिबल भर्सन ल्याएको थियो । फेरारीले आफ्नो पहिलो विद्युतीय कार (ईभी) यस वर्षको अक्टोबरबाट तीन चरणमा सार्वजनिक गर्न सुरु गर्ने जनाएको छ । यद्यपि दोस्रो ईभी मोडेल- जसले अझै ठूलो बजारलाई लक्षित गर्ने जनाइएको छ जुन सन् २०२८ भन्दा पहिले आउने अपेक्षा गरिएको छैन । किनभने उच्च प्रदर्शनका लक्जरी ईभीहरूप्रति माग पर्याप्त नभएको स्रोतहरूले रोयटर्सलाई जनाएका छन् । अमाल्फीको आकार ‘रोमा’ जस्तै भए पनि यसको बाह्य स्वरूप विशेषगरी अगाडिको डिजाइनमा परिवर्तन गरिएको छ । फेरारीका प्रमुख मार्केटिङ तथा वाणिज्य अधिकारी एनरिको गालिएराले अमाल्फी उच्च प्रदर्शन, प्रविधि र ड्राइभिङ आनन्दका हिसाबले एक साँचो फेरारी स्पोट्र्सकार भएको बताए । अमाल्फी पूर्ण रूपमा आन्तरिक दहन इञ्जिन (आईसीई) बाट सञ्चालित छ, जसले ६४० हर्सपावर उत्पादन गर्छ र यसको उच्चतम गति ३२० किलोमिटर प्रति घण्टा छ । कम्पनीका अनुसार यसमा पछाडिको भागमा एक्टिभ स्पोइलर जडान गरिएको छ, जसले उच्च गतिमा स्थिरता प्रदान गर्छ । रोमा झैं अमाल्फी पनि ‘२ प्लस कूप हो, जसमा दुई साना पछाडि सीटहरू छन् । नयाँ मोडेलको सुरुआती मूल्य २ लाख ४० हजार युरो ९झण्डै २ लाख ८१ हजार अमेरिकी डलर० तोकिएको छ । ग्राहकहरूलाई पहिलो डेलिभरी युरोपबाट सुरु हुँदै अर्को वर्षको पहिलो त्रैमासिकमा गरिने जनाइएको छ । अमेरिकी ग्राहकहरूलाई डेलिभरी त्यसपछि तीनदेखि छ महिनापछि सुरु हुने छ, जसमा आयात करका कारण मूल्य केही बढ्नेछ । ‘रोमा’ कूपको उत्पादन बन्द गरिएको छ भने सन् २०२३ मा सार्वजनिक गरिएको यसको रिट्र्याक्टेबल टप संस्करण फेरारीको उत्पादन सूचीमा यथावत् रहेको छ ।

नारायणगढ-बुटवल सडक विस्तार ६९ प्रतिशत सम्पन्न, चौथो पटक म्याद थप्ने तयारी

त्रिवेणी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।   नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । यस अवधिको अन्त्यमा आइपुग्दा ६९ प्रतिशत काम सकिएको हो ।  सूचना अधिकारी खनालका अनुसार चौथो पटक म्याद थपको प्रक्रिया अघि बढाइएको छ । नारायणगढ–बुटवल सडकको कूल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ५७६ दिन थप म्याद थपका लागि माग गरेको छ । एक वर्षका लागिमात्र म्याद थप गर्ने तयारी गरिएको सूचना अधिकारी खनालले बताए ।  चौथो पटक म्याद थप्ने तयारी हुँदै गर्दा नारायणगढदेखि दुम्किबाससम्मको खण्डमा एकतर्फी रुपमा ५५ किलोमिटर कालोपत्र सडकमा यात्रा गर्न सकिने उनले बताए । यस खण्डको चोरमारा बजार, अरुणखोला र दुम्कीबास बजारको केही भागमात्र कालोपत्र गर्न बाँकी रहेको सूचना अधिकारी खनालले बताए ।  डाइभर्सनको दुःख हट्ने नारायगण–बुटवल सडकखण्डअन्तर्गत दुम्कीबासको विनयी खोलामा रहेको पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिँदै आएको छ । गत पुसमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात वारपार गराइँदै आइएको छ । पटक पटक वर्षासँगै आएको बाढीका कारण डाइभर्सन बगाउँदा चालक तथा यात्रुले सास्ती खेप्दै आएका छन् ।  आयोजनाले भाँचिएको पुल छेउमा नयाँ पुल निर्माण गरेको छ । उक्त पुल अब दुई तीन दिनमा सञ्चालन गरिने सूचना अधिकारी खनालले बताए । पुलमा मौसमले साथ दिएमा बुधबार कालोपत्र गरिने र ढिलोमा आउँदो शनिबार सञ्चालन गर्ने योजना रहेको उनले बताए । नयाँ पुल सञ्चालनमा आएमा डाइभर्सनका कारण सास्ती खेप्दै आएका चालक तथा यात्रुलाई सहजता मिल्ने छ ।  नवलपुर खण्डमा लामो पुल अन्तर्गत पर्ने अरुणखोला र गिरुवारी खोलामा भने बर्खापछि पुल निर्माणको काम गरिने छ । सामान्य गर्न मिल्ने केही काम नियमित भए पनि बर्खाअघि यी पुल निर्माण सम्पन्न नहुने सूचना अधिकारी खनालले बताए ।  दाउन्नेमा यातायात सहज बनाउन मर्मत गरिने नारायगण–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने खण्डमा यातायात सहज बनाउन अबको काम केन्द्रित रहने आयोजनाका सूचना अधिकारी खनालले बताए । पानी पर्ने बित्तिकै दाउन्ने खण्डमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।  दाउन्ने खण्डमा अब निर्माणको काम रोकेर मर्मतको काम मात्र गरिने सूचना अधिकारी खनालले बताए । कल्भट निर्माणसहित अन्य काम रोकेर यातायात सहज रुपमा सञ्चालनका लागि मर्मतको काममात्र गर्न लागिएको उनको भनाइ छ । दाउन्ने खण्डमा ग्राभेल राखेर नियमित मर्मतको काम गर्ने र पानी परे पनि यातायात सञ्चालन समस्या आउन नदिनतर्फ आफूहरूको ध्यान केन्द्रित रहेको उनले बताए ।  एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा अघि  बढेको  सडक विस्तार योजनाको दुवै खण्ड गरेर कूल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर  चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ/छ  मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ ।  राजमार्ग विस्तारको महत्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै रहेको छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदासमेत बाटो चिप्लो भएर घण्टौं जाममा पर्नुपर्ने बाध्यता रहेको छ । रासस

भारतीय बोट ब्रान्ड नेपाल भित्रियो, प्रिमियम इयरबड्स र इयरफोन बिक्री सुरु

काठमाडौं । भारतको ख्यातीप्राप्त वेयरेबल ब्रान्ड बोट लाइफस्टाइल नेपाली बजारमा आधिकारिक रूपमा लन्च भएको छ । मंगलबार शार्क ट्यांक इन्डियाका जज एवं बोटका सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले औपचारिक रूपमा लन्च गरेका हुन् । नेपालका लागि बोट लाइफस्टाइल ब्रान्डको आधिकारिक बिक्रेता रमेश कर्प हुनेछ, जसले विभिन्न उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण गर्नेछ । बोट भारतको नम्बर एक वेयरेबल ब्रान्डका रूपमा परिचित छ र यसअघि नेपालमा निर्भाना सिरिजका केही उत्पादनहरू बिक्री गर्दै आइरहेको थियो । तर, आधिकारिक रूपमा लन्च भएपछि यसको उपस्थिति अझ सुदृढ हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । कम्पनीका अनुसार हाइ-परफर्मेन्स एक्टिभ न्वाइज क्यान्सेलेसन युक्त प्रिमियम इयरबड्स र इयरफोनहरू नेपाली बजारका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा बिक्रेतामार्फत उपलब्ध हुनेछन् । लन्च कार्यक्रममा सह–संस्थापक अमन गुप्ताले नेपाल आफूहरूको लागि विशेष बजार रहेको र यहाँको ग्राहकलाई गुणस्तरीय प्रविधि पुर्‍याउन पाउँदा हर्षित भएको बताए । त्यसैगरी, टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले नेपाली बजारमा ब्रान्डको औपचारिक प्रवेशसँगै ग्राहक सन्तुष्टिका लागि उत्कृष्ट उत्पादन र सेवा पुर्‍याउने प्रतिबद्धता जनाए ।