पर्सामा हुण्डी कारोबार गर्ने तीन पक्राउ, २८ लाख रुपैयाँसहित नियन्त्रणमा
काठमाडौं । स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँ हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई रु नौ लाख ४७ हजारसहित र वीरगञ्ज महानगर आर्दशनगरबाट र वडा नं ३ का विनितकुमार श्रीवास्तवलाई १५ लाख ८१ हजारसहित पक्राउ गरिएको हो । त्यसैगरी, बाराको परवानीपुर गाउँपालिका–४ का स्थायी बासिन्दा दीपककुमार सोनारलाई रु तीन लाखसहित पक्राउ गरिएको हो । अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एमरएस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो । मालिका गाउँपालिका–३ र ४ को सिमानामा तामाखानी छ । मालिका गाउँपालिका-३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार भूगर्भविद्हरुको टोलीले खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन गर्नेछ । प्रभावित क्षेत्रका बासिन्दाहरुको सुझाव सङ्कलनका लागि कम्पनीले गत हप्ता ओखरबोटमा सार्वजनिक सुनुवाइ गरेको थियो । कम्पनीले मङ्गलबार सात दिने सार्वजनिक सूचना पनि जारी गरेर प्रभावित क्षेत्रका बासिन्दा तथा सङ्घसंस्थाबाट सुझाव माग गरेको छ । स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी व्यक्त गरेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन सुझाव दिएका छन् । स्थलगत अध्ययनका लागि आएका भूगर्वविद् रोनित पौडेलले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान गरिने बताए । खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने उनको भनाइ छ । मालिका गाँउपालिका-३ का ७२ वर्षीय विसराम पटेलका अनुसार ओखरबोटको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको पटेलले बताए । तामाखानीमा दैनिक दुई सयभन्दा बढी कामदर खटिनुका साथै प्रत्येक दिन सात/आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलको सम्झना छ । तामाखानीमा दुई वटा मुहान छन् । ती मुहानहरुको लम्बाइ दुई सय ५० देखि पाँच सय मिटरसम्म रहेको छ । यहाँ अझैसम्म पनि तामाका घाउ देख्न सकिन्छ । दुई सय मिटरभित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् । रासस
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मङ्गलबार राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर भएको हो । सम्झौतापत्रमा राष्ट्रिय ग्रीड प्रसारण कम्पनीको प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर सागर श्रेष्ठ र एससी पावर कम्पनी प्रालि, सुर्मा सरोबर हाइड्रोपावर प्रालि, माता मालिका इनर्जी मल्टिपल प्रालि, सूर्य होल्डिङ प्रालि र हिमजल हाइड्रोपावर प्रालिका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । ऊर्जामन्त्री खड्काले सम्झौताले नेपालले ऊर्जा क्षेत्रको विकासमा लिएको लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । 'ऊर्जा क्षेत्रको सही प्रवर्द्धन र लगानी व्यवस्थापनको अभावले नेपालको समृद्धिको मार्गमा ठूलो अवरोध पुर्याएको छ, यसप्रकारका सम्झौताले मात्र हामीलाई ऊर्जा क्षेत्रमा आवश्यक सुधार ल्याउन मद्दत पुग्नेछ', उनले भने । ऊर्जासचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताललगायतले सरकारले सन् २०३५ सम्म राखेको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न यस्ता सम्झौताले सहयोग पुग्ने बताएका थिए । एससी पावर कम्पनी पालिद्वारा प्रवर्द्धन गरिएको तिला–१ जलविद्युत् आयोजना (४४० मेगावाट, कालीकोट), सुर्मा सरोबर हाइड्रोपावर प्रालिद्वारा महाकाली सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजना(५४ मेगावाट, बझाङ), माता मालिका इनर्जी मल्टिपल प्रालिद्वारा मालुमेला सेतीनदी पिकिङ हाइड्रोपावर आयोजना (७२ मेगावाट, बझाङ), सूर्य होल्डिङ प्राइभेट लिमिटेडद्वारा अपर मेवा खोला ‘ए’ हाइड्रोपावर आयोजना (३१.९२ मेगावाट, ताप्लेजुङ) र हिमजल हाइड्रोपावर प्रालिद्वारा सुपर दरौदी हाइड्रोपावर प्रोजेक्ट (९.१४३ मेगावाट, गोरखा) रहेका छन् ।
कुमारी बैंकले बैंक खातामा बीमा सुविधा हटाउने
काठमाडौं । कुमारी बैंकले बैंक खातामा बीमा सुविधा हटाउने भएको छ । बैंकले विभिन्न बचत खाताहरूमा प्रदान गरिँदै आएको बीमा सुविधा साउन ३१ गतेपछि बन्द गर्ने जनाएको हो । बैंकले विगत लामो समयदेखि परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम स्यालरी एकाउन्ट, कुमारी रेमिट प्रिमियम सेभिङ एकाउन्ट लगायत अन्य विभिन्न खाताहरूमा बीमा सुविधा प्रदान गर्दै आएको छ । परिवार सुरक्षा बचत खातामा रहेको २६ लाख, कुमारी प्रिमियम स्यालरी एकाउन्ट र कुमारी रेमिट प्रिमियम सेभिङ एकाउन्ट रहेको ७/७ लाखसम्मको बीमा सुविधा यथावतै राखि अन्य खाताहरूमा प्रदान गर्दै आएको बीमा सुविधा साउन ३१ गते पश्चात् कायम नरहने बैंकले जनाएको छ । उक्त खातामा ग्राहकहरूले पाइरहेको अन्य सबै सेवा सेवासुविधाहरु भने यथावत् रहने बैंकले जनाएको छ । बैंकले असार १७ गतेपछि उल्लेखित खाताहरू बाहेक अन्य खाताहरूलाई नयाँ बीमा सुविधामा समावेश गरिने छैन । तर, यसअघि बीमामा समावेश भइसकेका ग्राहकहरूले साउन ३१ गतेसम्मका स्वास्थ्य उपचारको बिल बैंक समक्ष दावी गर्न सक्ने जनाएको छ ।
पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप, होटललाई उद्योगमा वर्गीकृत गरिँदै
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषय प्राथमिकताका साथ अघि बढेको जानकारी दिएका छन् । राष्ट्रिय सभामा जवाफ दिँदै उनले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यावसायिक संस्थामा रूपान्तरण गर्न व्यवस्थापन सुधारको कामसमेत प्राथमिकताका साथ अघि बढेको समेत बताए । ‘नेपाल एयरलाइन्समा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका लागि अन्तर्राष्ट्रिय लिज तथा प्रदेशसँगको सहकार्यमा पारदर्शी र खुला प्रक्रियाद्वारा जहाजहरू थप गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री पाण्डेले भने । मन्त्री पाण्डेले देशभरका विभिन्न विमानस्थलको अवस्थाबारे सभालाई जानकारी दिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडानको सङ्ख्या वृद्धि भइरहेको र आन्तरिक उडान सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको उनको भनाइ छ । ‘दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नति तथा विकासका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अध्ययन तथा पूर्वतयारी भइरहेको छ,’ मन्त्री पाण्डले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा सञ्चालन ढाँचा स्पष्ट गरी कार्य अघि बढाइने छ ।’ यस्तै, सुर्खेत विमानस्थलको स्तरोन्नति तथा विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अध्ययन तथा पूर्वतयारी भइरहेको उनले जानकारी दिए । त्यसका लागि प्राधिकरणमार्फत आवश्यक बजेट परिचालन भई कार्य अघि बढ्ने समेत मन्त्री पाण्डेको भनाइ छ । यसैगरी उनले सबै धर्मावलम्बीका आस्थाका प्रतीकको संरक्षण र सम्भारमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । वृहत्तर लुम्बिनी गुरु योजना अनुरूपका कार्यहरू सम्पन्न गर्न मन्त्रालय र कोषको सहकार्यमा कार्य भइरहेको मन्त्री पाण्डेले जानकारी दिए । सगरमाथा हेरिटेज ट्रेलमा बजेट विनियोजन भई निरन्तर कार्य भइरहेको जानकारी दिँदै उनले दोलखा पद मार्ग, मन्दिर तथा गुम्बाहरूको संरक्षणलगायत पूर्वाधारमा बजेट विनियोजन भएको उनले जानकारी गराए । पर्यटकीय गन्तव्यलाई गुणस्तरीय र आकर्षक बनाउन ३ करोड रुपैयाँमाथिका योजनालाई प्राथमिकता दिई कार्यान्वयनमा लगिने समेत मन्त्री पाण्डेको भनाइ छ । यस्तै, कैलालीको गौरीफन्टा लगायत सबै नाकाबाट आउने पर्यटकीय सेवाका सवारीसाधनलाई सहज आगमनको व्यवस्था मिलाउन गृह मन्त्रालय र अर्थ मन्त्रालयलगायत निकायसँगको समन्वयमा काम भइरहेको उनले सभालाई जानकारी दिए । ‘यसका साथै सबै धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकताका साथ पालना गर्न हामी प्रतिबद्ध छौँ,’ मन्त्री पाण्डेले भने, ‘होटल तथा रिसोर्टलाई उद्योगको क्षेत्रमा वर्गीकृत गरी यसमा लगानी, रोजगारीजस्ता अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रमा योगदान अभिवृद्धि गर्ने गरी राज्यबाट नीतिगत व्यवस्था भएको छ ।’ यस्तै, नेपाल पर्यटन बोर्ड, मन्त्रालय, निजी क्षेत्र, कूटनीतिक नियोग तथा नेपालीहरूको ‘डायस्पोरा’मार्फत पर्यटन प्रवर्द्धनका काम भइरहेको उनको भनाए छ ।
नेतृत्वप्रति आक्रोस भए पनि व्यवस्थाप्रति समर्थन घटेको छैन: अध्यक्ष नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विचलन आएका कारण नेतृत्वप्रति जन आक्रोस र निराशा भए पनि वर्तमान व्यवस्थाप्रतिको समर्थन नघटेको बताएका छन् । पार्टीको धनुषा जिल्ला कमिटीको सातौं अधिवेशन उद्घाटन समारोहमा उनले जन आक्रोस र निराशा चिर्न सेवा प्रवाहमा जोड दिनुपर्ने बताए । अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रिया वादी एवं पुँजीवादी चिन्तनका कारणले सिङ्गो कम्युनिष्ट पार्टी नै बदनाम हुन थालेको भन्दै सचेत हुनुपर्ने धारणा राखे । उनले पतञ्जलि जग्गा प्रकरणबारे आफू ‘नबिराउनु, नडराउनु’ भन्ने पक्षमा रहेको उल्लेख गरे ।
विकास हाइड्रोको आईपीओ बिक्री खुला, १० हजार कित्ता आवेदन दिन पाइने
काठमाडौं । विकास हाइड्रोपावरले आज असार १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरी बाँडफाँट पश्चात् सर्वसाधारण सेयरधनीहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर जारी गर्नेछ । जसमध्ये कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ७० हजार ९१० कित्ता कर्मचारी, १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो ।कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा असार ३२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
अर्घाखाँचीको सुपा देउरालीमा केबलकार निर्माण गरिने
काठमाडौं । अर्घाखाँचीको सुपा देउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । यही असार १३ गतेको सन्धिखर्क नगर कार्यपालिकाको बैठकले सुपा देउराली केबलकार प्रालिलाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुपा देउराली मन्दिरदेखि मसिनाको लेकसम्म केबलकार निर्माण गरिनेछ । प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा पछिल्ला वर्षमा उल्लेखनीय वृद्धि भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताए । मन्दिरमा देवीको दर्शन गर्न कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी सङ्ख्यामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, बिहारबाट समेत धार्मिक पर्यटकहरू सुपा देउरालीमा आउने गरेको वडा नं ७ का अध्यक्ष चुरा बहादुर केसीले बताए । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने जनविश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । मन्दिरमा पाठी, बोकाको बली चढाउने चलन छ ।