विकासन्युज

तेस्रो वर्षमा प्रवेश गर्‍यो स्काइवाक काठमाडौं, वार्षिकोत्सवको अवसरमा ३ महिनासम्म उपहार दिने

काठमाडौं । कमलादीमा रहेको स्काइवाक काठमाडौं तेस्रो वर्षमा प्रवेश गरेको छ । वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको स्काइवाक काठमाडौंको एरियल भ्यू हेर्नका लागि प्रसिद्ध छ ।  वार्षिकोत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटोसहितको कप निस्शुल्क उपहार दिइने स्काइवाक काठमाडौँका अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए ।  छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा यो लागू हुनेछ । तेस्रो वर्ष प्रवेशको अवसरमा ल्याइएको यो अफर तीन महिनासम्म चल्ने पाण्डेले बताए । १३ रोपनीमा निर्माण भएको ७८ दशमलव ५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको छ । टावरको २५औं तलामा स्काइवाक (सिसा ओछ्याइएको भुइँ)मा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा आकाशमा हिँडे जस्तो अनुभव हुन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौंको प्रमुख गन्तव्य बनेको प्रवन्ध निर्देशक  विष्णुहरि पाण्डेले बताए । स्काइवाकमा प्रति वर्गमिटर पाँच सय किलो भार बहन क्षमताको गुणस्तरीय सिसाको प्रयोग गरिएको छ । विभिन्न  स्काइवाक निर्माण गर्दा जमिनबाट ३५ मिटर तलसम्म ५८ वटा फलामका डण्डीहरू राखिएको छ ।  टावरको माथि पुग्नका लागि दुई वटा लिफ्ट बनाइएको छ भने एकै पटक ४५ जनासम्म माथि जान सकिन्छ । साथै स्काइवाकको माथिल्लो भागमा एकैपटक ५०० जनासम्म अट्नसक्ने कम्पनीको भनाइ छ । स्काइवाक साहसिक गतिविधिका लागि मात्रै होइन, काठमाडौंका ऐतिहासिक स्थलको जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँबाट ऐतिहासिक घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, शहीदगेट, सिंहदरबारलगायतका स्थानको अवलोकन गर्न सकिन्छ । पछिल्लो समय जमघटको थलो बनेको यो ठाउँमा स्काइवाकबाहेक पनि विभिन्न सुविधा छन् । टावर परिसरमा साना कार्यक्रम गर्न एमपी थिएटरको पनि सुविधा छ । कम्पनीका अनुसार स्काइवाक सूर्योदय र सूर्योस्तको दृश्यावलोकन तथा योगा गर्नेका लागि पनि उपयुक्त थलो हो । विष्णुहरि पाण्डे कम्पनीले अहिले पनि ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई शुल्क लिँदैन ।  चारपांग्रे र दुई पांग्रे सवारी साधनका लागि पर्याप्त सुविधा भएको स्काइवाक परिसरमा लक्ष्मी हेयर एण्ड ब्युटी सलुन, हिमालयन जाभा, बाइबियर माइक्रो पब, फिलि चिया, बुरितो, एभरेस्ट मस्मस्लगायतका आउटलेट पनि छन् । साथै स्काइ बार र स्काइ क्याफे सन्चालनमा आएको छ भने स्काइ क्लब निर्माणाधीन छ ।

आधा वर्ष बित्दा पनि बनेन विनयी खोला पुल, बुटवल-नारायणगढ सडक पूर्णरूपमा बन्द

काठमाडौं । वर्षा सुरु भएसँगै देशभरका सडक अस्तव्यस्त छन् । विशेषगरी नारायण-बुटवल सडकखण्डको मारमा नागरिकले निकै सास्ती खेप्नु परेको छ । सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।  विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । 'अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ', उनले भने । उनका अनुसार वर्षाका कारण विनयी त्रिवेणी-३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध बनेको हो । 'अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधान आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ', प्रहरी उपरीक्षक ढकालले भने । राजधानी आउँदै गरेका नागरिकहरू सडकमै रात बिताउन बाध्य छन् । महेन्द्रनगरका भुवन कुँवर दाउन्ने सडक अवरुद्ध हुँदा एक दिन बाटोमै बस्न बाध्य भए । त्यस्तै, बुटबलका श्याम विष्ट पनि दाउन्नेमा अलपत्र परे । भुवन र श्याम प्रतिनिधिपात्र मात्र हुन् ।  पूर्वी नवलपरासीको दुम्कीबासस्थित विनयी खोलामा गत पुस २६ गते फलामे पुल भाँचिएपछि तत्कालीन रूपमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सुचारु गरिएको थियो ।  उक्त पुल पूर्वी नवलपरासीमा रहेको सबैभन्दा लामो पुल हो, जुन अत्यधिक भार बोकेको भारतीय मालबाहक लरीका कारण क्षतिग्रस्त भएको थियो ।  पुल भाँचिएपछि सो स्थानको उत्तरतर्फ डाइभर्सन बनाइएर यातायात सञ्चालनमा ल्याइएको भए पनि केही हप्तामै परेको भारी वर्षाले डाइभर्सन बगायो, जसले गर्दा पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन र मालसामान ढुवानी पूर्णरूपमा अवरुद्ध भएको छ । डाइभर्सन विकल्पका रूपमा प्रयोग भइरहे पनि स्थानीयले मालबाहक ट्रक आवागमनमा रोक लगाएका कारण समस्या थपिएको हो ।  पुरानो पुल भाँचिएको स्थानको नजिकै नयाँ पुल निर्माणको काम सुरु भएको भए पनि लामो समयदेखि निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको सवारी सञ्चालनमा निरन्तर अवरोध आइरहेको छ । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका अनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरिएको छ । डाईभर्सन पानी नपरेको समयमा मात्रै खुला गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका प्रमुख डिएसपी मधु नेपाल जानकारी दिए ।  उनका अनुसार दिउँसोको समयमा डाइभर्सन बनाउँदै मालबाहक गाडीहरू आवातजावत गर्ने गरिएको छ ।  उनले भने, ‘मालबाहक गाडीबाहेक अरू साना तथा ठूला गाडीका लागि अर्को बाटो प्रयोग गरिएको छ । त्यो बाटो हुँदै जाँदा १९ किलोमिटर किमी बढी लाग्छ । ’  एक हप्तामै सञ्चालनमा आउँदै विनयी खोला पुल विनयी खोला पुलमा एक हप्तामै गाडी गुडाउने तयारी भइरहेको नारायणगढ बुटवल सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए । उनका अनुसार पुलमा रेलि र कालोपत्रेको काम मात्रै बाँकी रहेको छ ।  खनालले भने, ‘पुल पुरै नयाँ बनेको छ । यो पुल २४५ मिटर लामो छ । चौडाइ साढे ७ मिटर छ । यो पुलमा जति ठूला हेभी ट्रक गाडीहरू गुडाएपनि भाँचिदैन । पुल ठूलो भारवहन क्षमताको बनेको हो । अब अघिको जस्तो समस्या आउँदैन । हामीले एक हप्ताभित्रै गाडी गुडाउने तयारी गरिरहेका छौं ।’ पानीको निकास राम्रोसँग भएन : पूर्वाधारविज्ञ  नेपालमा वर्षा सुरु भएपछि धेरैजसो सडक भत्किने समस्या बारम्बार देखिन्छ । पूर्वाधार विज्ञहरू कभरेज क्षेत्र बढी भएका कारण यसको निकास कम भएर सानो पानी पर्दा सडक भत्किने बताउँछन् ।   पूर्वाधारविज्ञ रामबहादुर घिमिरे वर्षाको पानीको निकास उचित नहुँदा समस्या आएको बताउँछन् । उनका अनुसार वर्षाको पानीले उचित निकास पाएन भने सडकमै जम्छ अनि बिटुमिन/डामरको तहभित्र पस्छ र कमजोर बनाउँछ ।  यसले गर्दा सडकको फाउन्डेसन कमजोर पार्दछ । घिमिरेले धेरैजसो सडक निर्माणमा गुणस्तरीय बिटुमिन, ग्राभेल वा सब-बेस मेटरियल प्रयोग नगरिँदा पनि सडक भत्किने गरेको सुनाए।  घिमिरेले भने, ‘सडक बनाउँदा माटो वा ग्राभेलको तह ठीकसँग नमिलाएमा पानीले त्यसलाई छिटो कमजोर बनाउँछ । यस्तो तहमा पानी सजिलै घुस्ने भएकाले ढल्ने सम्भावना बढी हुन्छ । सडकको ढलान सही नहुँदा पानी सतहमै थन्किन्छ । धेरैजसो ग्रामीण वा नगरपालिकास्तरका सडकहरू यस्ता हुन्छन् ।’ नेपालका सडक वर्षामा भत्किनु प्राविधिक कमजोरीहरूको परिणाम हो ।  खासगरी कमजोर निकास प्रणाली, गुणस्तरहीन निर्माण, र डिजाइनमा ध्यान नदिइएको ।  दिगो समाधानका लागि इन्जिनियरिङ मापदण्डअनुसार निर्माण, गुणस्तर नियन्त्रण र नियमित मर्मतसम्भार अत्यावश्यक छन् ।

धान-चामलमा परनिर्भरता : ३८ अर्बभन्दा बढीको आयात

काठमाडौं । नेपाल धान -चामलमा पनि परर्निभर छ । पर्याप्त उत्पादन नहुँदा विदेशबाट धानचामल आयात गरेर नेपालको माग धान्नुपर्ने अवस्था देखिएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाअनुसार मुलुकको लागि आवश्यक पर्ने करिव ७९ लाख मेट्रिक टन धानमध्ये करिव १० लाख मेट्रिक टन धान उत्पादन अपुग  छ । फलस्वरुप, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म करिव धान, धानको बीउ, चामलर कनिका गरी कुल ७ लाख ५३ हजार मेट्रिक टन धान जन्य वस्तु आयात भएको छ । यी वस्तु आयातमा करिव ३८ अर्ब ९४ करोड रुपैयाँ विदेशिएको छ ।   मन्त्रालयकाअनुसार विशेषगरि चालममा बढी निर्भरता, सोमध्ये पनि नेपालमा कम उत्पादन हुने मसिना तथा वासनादार चामलमा उपभोक्ताको बढी रोजाइ, छिमेकी मुलुकले धान निर्यातले लिने नीतिगत व्यवस्था लगायतका कारण उत्पादन वृद्धि हुँदाहुँदै पनि धान/चामलको आयात अपेक्षाकृत कम हुन सकेको छैन ।  कुनै समय नेपालले धान र चामल निर्यात गर्ने नेपाल परनिर्भर बन्दै गएको छ । नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गरेको थियो । नेपालमा उत्पादित धान र चामल आन्तरिक उपभोगमा बढी भएका कारण निर्यात हुन्थ्यो । खासगरी दक्षिण कोरियालाई समेत नेपालको चामल तथा धान निर्यात हुन्थ्यो ।  सोही कारण नेपाललाई कृषि प्रधान देशको रुपमा समेत चित्रण गरिएको थियो ।  अहिले धान चामलमा देखिएको परनिर्भरता हटाउन सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । तैपनी परनिर्भरता हटाउने कार्यक्रम बजेटमा राख्न भने छाडिएको छैन । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा पनि मुलुकलाइ आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउने विषय उल्लेख छ । आगामी वर्षहरुमा धानको उत्पादन र उत्पादकत्व वृद्धिको लागि मन्त्रालयले प्राथमिकताका साथ विशेषगरी चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृद्धिका कार्यक्रमहरू तीनै तहका सरकारमार्फत सञ्चालनको व्यवस्था गर्ने लक्ष्य छ । मलखाद, गुणस्तरीय बीउ र अनुसन्धानबाट प्राप्त नविनतम प्रविधिहरु किसान माझ पुर्याउन कार्यक्रमहरू केन्द्रित  कृषि मन्त्रालयका अधिकारीहरुको भनाइ रहेको छ ।  परनिर्भरता नहटेपनि पछिल्लो समय धान उत्पादन भने केही बढेको सरकारी तथ्यले देखाउँछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाअनुसार चालु आवमा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । यो उत्पादन गत वर्षको तुलना ४ दशमलव ४ प्रतिशतले बढी हो । मन्त्रालयकाअनुसार चालु आबमा मनसुन औषत भन्दा तीन दिन अगाडी सक्रिय हुन पुगेको र सो अवधिमा औषत वर्षा गत आ.व.को सरदर भन्दा उच्च रहन जाँदा वर्षे धान बालीको लागि सहयोगी बन्न पुगेको छ । यसै गरी रासायनिक मल र उन्नत जातको धानको आयात गत वर्षको सोही अवधिको तुलनामा वृद्धि हुनु पनि धान उत्पादनकालागी प्रभावकारी रहन गएको छ ।  धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमि आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले उत्पादन बढ्ने अनुमान गरिएको छ  । वर्षे र चैते दुवै गरी चालु  आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान  गरिएको छ । जुन गत आ.व.को तुलनामा १.२८ प्रतिशतले कमि हो ।  औषत उत्पादकत्व ४.१९ मेट्रिक टन  प्रति हेक्टरमा पुगेको छ ।  यो हालसम्मको उच्च बिन्दु हो । सोही अवधिमा चैते धान र वर्षे धानको उत्पादन तथा उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा वृद्धि हुन गएको छ । प्रदेशगत रुपमा कोशी प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशहरुमा कुल धान उत्पादनमा वृद्धि भएको छ भने बाँकी तीन प्रदेशहरूका उत्पादन वृद्धि नकरात्मक रहन गयो ।  जिल्लागत हेर्ने हो भने रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कमि रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको छ । यसै गरी नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखापरी उत्पादनमा कमी आउँदा र लमजुङ्ग जिल्लामा धान बाली लगाईएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्राइएको क्षेत्रफलमा कमि आई उत्पादनमा कमि हुन आएको छ । 

नाटो खर्च बढाउने ट्रम्पको दबाबले युरोपमा असर

काठमाडौं । नाटो सदस्यहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको माग पागलपन भएको बताएका छन् । यसले युरोपेली देशहरूको सबैभन्दा महत्वपूर्ण सम्पतीमा असर गर्ने विज्ञहरुको भनाइ छ ।  संयुक्त राज्य अमेरिकाले माग गरेको उच्च खर्च लक्ष्यलाई अनुमोदन गर्न नेदरल्याण्ड्सको द हेगमा नाटो नेताहरूले भेट गरेका थिए । रक्षामा आफ्नो जिडिपीको २.१ प्रतिशतभन्दा बढी खर्च गर्ने प्रस्ताव स्पेनले भने अस्वीकार गरेको छ ।  युरोपमा नेटोमाथि प्रश्न उठाउन थाल्नुपर्ने उनको भनाइ छ । किनभने नेटोले युरोपलाई थप सैन्य खर्च र विश्वमा थप सैन्य तनाव मात्र ल्याएको बताए ।   

अधिक तरलता थुप्रिएपछि ३० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले आइतबार ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ६३ दिनका लागि ३० अर्ब निक्षेप खिच्न लागेको हो ।   बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ७० खर्ब २० अर्ब माथि पुगेको छ ।  निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ भदौ १५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।   बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।   

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

मध्यविन्दु । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।  विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । 'अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ', उनले भने । उनका अनुसार वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध बनेको हो । 'अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधान आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ', प्रहरी उपरीक्षक ढकालले भने । निरन्तरको वर्षासँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि पटकपटक बगाउँदै आएको छ ।

दुई करोड ५५ लाखको लागतमा फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

काठमाडौं । जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् ।    सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङ हेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको छ ।  दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिइन् ।   

ईभी युगमा चम्कँदै लिथियमको बजार, भण्डारमा दक्षिण अमेरिकाको वर्चस्व

काठमाडौं । संसारभर विद्युत सवारीसाधन (ईभी) को संख्या तीव्र गतिमा बढेसँगै लिथियमको प्रयोग पनि बढिरहेको छ । विशेषगरी लिथियमको प्रयोग ब्याट्री निर्माणमा गरिन्छ ।  हाल अधिकांश लिथियमको उत्पादन अष्ट्रेलिया र चीनमा ‘हार्ड रक माइनिङ’ प्रविधिबाट गरिन्छ । अष्ट्रेलियामा सबैभन्दा बढी ४९ प्रतिशत लिथियम उत्पादन हुन्छ भने चीनमा १७ प्रतिशत उत्पादन हुन्छ । बाँकी लिथियम चिली र अर्जेन्टिनामा ‘ब्राइन’ (खनिजयुक्त नुनिलो पानी) प्रविधिबाट उत्पादन गरिन्छ । तर, आउँदो समयमा यो तरिका परिवर्तन हुनसक्छ । हाल ल्याटिन अमेरिका विश्व ऊर्जा रूपान्तरणको केन्द्रको रूपमा उदाउँदैछ, जहाँ विश्वको आधाभन्दा बढी लिथियम भण्डार रहेको छ । लिथियमलाई अहिले ‘नयाँ तेल’ भनिन्छ किनभने यो इलेक्ट्रिक सवारीसाधन र स्वच्छ प्रविधिका लागि अत्यन्तै आवश्यक मानिन्छ । विश्वभर अत्यधिक माग भएकै कारण यसलाई ‘ह्वाइट गोल्ड’ अर्थात् सेतो सुन पनि भन्ने गरिन्छ । दक्षिण अमेरिकाको ठूलो हिस्सा अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएस जिओलोजिकल सर्भे) का अनुसार दक्षिण अमेरिकी देशहरू बोलीविया, अर्जेन्टिना र चिलीले विश्वको सबैभन्दा ठूलो लिथियम भण्डारको हिस्सा ओगटेका छन् । बोलीवियामा अनुमानित २३ मिलियन मेट्रिक टन लिथियम रहेको छ भने अर्जेन्टिनामा पनि लगभग २३ मिलियन टन र चिलीमा ११ मिलियन टन लिथियमको भण्डार रहेको छ । यी तीन देश अहिले स्वच्छ ऊर्जा आपूर्ति श्रृंखला र स्रोत सुरक्षाका विषयमा विश्वव्यापी छलफलको केन्द्र बनेका छन् । संसार जीवाश्म इन्धन (पेट्रोल, डिजेल आदि) को सट्टा ब्याट्रीको विकल्पतर्फ बढ्दै जाँदा भूराजनीतिक ध्यान पनि अब तेल धनी मिडिल इस्टबाट लिथियम धनी देशहरूतर्फ सरेको देखिन्छ । अन्य प्रमुख लिथियम भण्डार भएका देशहरूमा अमेरिका (१९ मिलियन टन), अष्ट्रेलिया (९ मिलियन टन) र चीन (६.८ मिलियन टन) रहेका छन् । मूल्य कति ? लिथियम संसारकै सबैभन्दा नरम र हल्का धातुहरूमध्ये एक हो । यो धातु यति नरम हुन्छ कि चक्कुले सजिलै काट्न सकिन्छ र यो पानीमा पनि तैरन सक्छ । यसको विशेषता भनेको यो रासायनिक ऊर्जालाई विद्युतीय ऊर्जामा रूपान्तरण गर्न सक्ने क्षमता हो । हाल यसको प्रयोग स्मार्टफोनको ब्याट्रीदेखि लिएर ब्याट्रीले चल्ने लगभग सबै उपकरणमा भइरहेको छ । यही कारणले गर्दा लिथियमको विश्वव्यापी माग निकै उच्च छ । अन्तर्राष्ट्रिय बजारमा एक टन लिथियमको मूल्य १ करोड रुपैयाँसम्म पर्न सक्छ । विश्व बैंकको एक प्रतिवेदनअनुसार सन् २०५० सम्म विश्वभर लिथियमको माग ५०० प्रतिशतले बढ्नेछ । आगामी सम्भावना र चुनौतीहरू विश्वभर लिथियमको माग आकाशिँदै जाँदा यसले वातावरणीय, सामाजिक र राजनीतिक चुनौतीहरू पनि ल्याउने देखिन्छ । ब्राइन प्रविधिबाट लिथियम निकाल्दा जलस्रोतमा असर पर्न सक्छ भने हार्ड रक माइनिङले पारिस्थितिक प्रणालीलाई क्षति पुर्‍याउन सक्छ ।  दोस्रो तर्फ लिथियममा निर्भरता बढेसँगै यसको पुनः प्रयोग र वैकल्पिक ब्याट्री प्रविधिमा लगानीको आवश्यकता पनि तीव्र भएको छ । केही वैज्ञानिक समूहहरू ‘सोडियम-आयन’, ‘सोलिड-स्टेट वा ‘हाइड्रोजन सेल जस्ता नयाँ प्रविधिमा अनुसन्धानरत छन् जसले भविष्यमा लिथियममाथिको निर्भरता घटाउन सक्ने सम्भावना छ । लिथियम धातु मात्र नभइ अब अब ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र प्रविधिको अग्रगामी प्रतिस्पर्धाको केन्द्र बन्दै गएको छ ।