नेपालमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह : 'सुरक्षाको जिम्मा सरकारले लिन्छ'
बेइजिङ । नेपाली समुदायलाई स्वदेशमा उर्जा लगायतका क्षेत्रमा लगानी गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आग्रह गरेका छन् । हाल चीन भ्रमणमा रहेका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा सम्बोधन गर्दै लगानीको सुरक्षाको जिम्मा सरकारले लिने बताए । नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले उर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै मन्त्री खड्काले भने, 'जो जहाँ भए पनि नेपालीको माया नेपालमै हुन्छ । सरकारले लगानीको वातावरण निर्माण गरिसकेको छ । अब हामी सबै मिलेर देशको विकासमा जुट्नु पर्छ ।' मन्त्री खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको र सो मध्ये १५ हजार मेगावाटभन्दा बढी विजुली भारत लगायत तेस्रो मुलुकमा निर्यात गरिने सुनिश्चित भइसकेको जानकारी दिए । त्यसैगरी, हाल नेपाल बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गरिरहेको र आगामी वर्षमा सो परिमाण बढाएर ५ हजार मेगावाट पुर्याउने समझदारी भएको समेत बताए । उर्जामन्त्री खड्काले संसदमा छलफलका क्रममा रहेको जलस्रोत तथा विद्युत विधेयक चाँडै पारित गराउने प्रतिबद्धता व्यक्त गर्दै नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण सृजना गरिन लागेको प्रष्ट पारे । उनका अनुसार उर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गरेर मुलुकको विकासका लागि सरकार स्पष्ट नीति र कार्ययोजनासहित अघि बढिरहेको छ । भेटका क्रममा नेपाली समुदायका प्रतिनिधिहरूले विगतका अनुभवलाई स्मरण गर्दै सरकारले लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले उर्जा क्षेत्रमा सरकारले देखाएको स्पष्ट दृष्टिकोण र मन्त्री खड्काको पहलको प्रशंसा गर्दै सहकार्यका लागि आफूहरू तयार रहेको बताए । नेपाल उर्जा क्षेत्रमा भएका दीर्घकालीन योजनाका कारण छिट्टै आर्थिक समृद्धि तर्फ अघि बढ्ने विश्वास व्यक्त गर्दै मन्त्री खड्काले नेपाली समुदायलाई नेपालमै लगानी गर्न पुनः आह्वान गरे ।
‘वित्तीय अनुशासन कायम गर्न बेरुजु घटाउन आवश्यक’
काठमाडौं । संवैधानिक निकाय, तीन तहका सरकार तथा सार्वजनिक संस्थानहरूले नियमित लेखापरीक्षण गर्ने तथा देखिएको बेरुजु घटाएर वित्तीय अनुशासन कायम गर्नुपर्नेमा जोड दिइएको छ । वित्तीय अनुशासनलाई कायम गर्न बेरुजु फर्छ्याैटलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको हो । महालेखापरीक्षकको कार्यालयको ६७औं वार्षिकोत्सव अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले सरकारी निकायमा मितव्ययिता, कार्यदक्षता र प्रभावकारिताका लागि महालेखापरीक्षकको कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले लेखापरीक्षणमार्फत् सार्वजनिक स्रोत-साधनको सदुपयोग र वित्तीय अनुशासन कायम गर्न थप गम्भीर हुन बताए । ‘बेरुजु घटाउन सबै निकायले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने, कर्मचारीको क्षमता वृद्धि तथा सचेतनाका लागि आवश्यक पहल गर्ने, संस्थागत सुशासन कायम राख्न र सार्वजनिक संस्थानहरूको वित्तीय स्वास्थ्य सबल राख्न महालेखाले दिएका सुझाव प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ,’ सभामुख घिमिरेले भने । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक स्रोत साधनको प्रयोगमा अनुशासन कायम गर्न आवश्यक भएको बताए । उनले महालेखापरीक्षकको कार्यालय र लेखा समितिबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै बेरुजु फछ्र्यौट समितिको एकल प्रयास पर्याप्त नहुने बताए । ‘सार्वजनिक लेखा समितिले मात्र बेरुजु समस्या समाधान गर्न सक्दैन । यसका लागि सम्बन्धित कार्यालय पनि जिम्मेवार हुनुपर्छ,’ उनले भने । महालेखापरीक्षक तोयम रायाले सार्वजनिक निकायले लेखापरीक्षण नीति तथा वार्षिक कार्यतालिका समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘वित्तीय सुशासन कायम राख्न सबै संवैधानिक निकाय, मन्त्रालय, विभाग, प्रदेश तथा स्थानीय सरकार र सार्वजनिक संस्थाहरुको जिम्मेवारी हो । महालेखापरीक्षकको कार्यालयले हाल बक्यौता लेखापरीक्षण, जोखिममा आधारित लेखापरीक्षण, कार्यमूलक तथा विशेष लेखापरीक्षण, वातावरणीय लेखापरीक्षण, सूचना प्रविधिसम्बन्धी लेखापरीक्षण, सङ्गठित संस्थाको लेखापरीक्षण र औचित्यमूलक लेखापरीक्षण गर्दै आएको छ । यसका लागि वार्षिक कार्यतालिकासमेत प्रकाशित गरी नियमानुसार काम अघि बढाइएको जनाइएको छ । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन २०८२ अनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरुजु गत वर्षको भन्दा नौ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु पाँच खर्ब ५१ अर्ब एक करोड गरी हालसम्मको बेरुजु रू १२ खर्ब ८४ अर्ब २० करोड बराबर पुगिसकेको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०र८१ मा मात्र रु ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ । त्यस अवसरमा शून्य बेरुजु कायम गर्न सफल काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकालाई सम्मानित गरिएको थियो । न्यून बेरुजु रहेका प्रत्येक प्रदेशबाट एउटा पालिका र उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो ।
नेपाल प्रहरी सम्बन्धी कानून यसै अधिवेशनमा प्रस्तुत गर्नुपर्छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक छिटो निष्कर्षमा पुर्याउन राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेका छन् । आइतबार बसेको समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यो विधेयक मुलुकको सबैभन्दा पुराना कानूनहरूमध्ये एक भएको उल्लेख गर्दै यसलाई यथाशीघ्र अद्यावधिक गर्न आवश्यक रहेको बताए । उनले भने, ‘यो देशको सबैभन्दा पुरानो मध्येको कानून हो, समय सापेक्ष परिमार्जन र संशोधन आवश्यक छ । यसै अधिवेशनमै प्रस्तुत गर्नेगरी अघि बढाउन अनुरोध गर्दछु ।’ गृहमन्त्री लेखकले नागरिकता विधेयकलाई जस्तै प्राथमिकता दिएर नेपाल प्रहरीसम्बन्धी विधेयकलाई पनि समितिबाट पारित हुने गरी अघि बढाउन आग्रह गरे । उनले विधेयकमा प्रहरीका जवानहरूलाई ‘तल्लो स्तरका’ नभई ‘आधारभूत तहका’ भनेर सम्बोधन गर्ने प्रस्तावसमेत समावेश गरिएको जानकारी दिए । साथै, सरकारले कानूनलाई सुधारेर छिटो निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको पनि बताए ।
२६ अंकले बढ्यो नप्से, ७ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले बढेर २६२२ बिन्दुमा पुगेको छ । आज १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार ३२८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ३४ करोड, युनियन हाइड्रोपावरको २४ करोड, न्यादी गुप्रको २३ करोड र राधी विद्युत कम्पनीको २१ करोड रुपैयाँको कारोबार भएको छ । आज उत्पादन तथा प्रशोधन समूह बाहेक अरूमा हरियाली छाएको छ । बैंकिङ सेक्टर सबैभन्दा धेरै २.०० प्रतिशत बढेको छ । विकास बैंक १.६१, फाइनान्स ०.६४, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.५४, लगानी ०.३२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा ०.४२, अन्य १.३५ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले स्टिलमा लगाएको करले अमेरिकी कारखानामा सामानको अभाव
काठमाडौं । अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरहरूको माग बढेको छ तर उनीहरू बन्ने उद्योग तथा फर्महरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को इस्पात करका कारण कन्टेनर निर्माणका लागि चाहिने स्टिलको अभावको सामना गरिरहेका छन् । बाल्टिमोरको उत्तरपूर्वमा मेरिल्याण्डको बेलक्याम्पमा रहेको ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ का कार्यकारी अधिकृत रिक ह्युथरले १४ वर्षको उमेरमा आफ्नो परिवारको व्यवसायमा कसरी काम गर्न थाले भन्ने कुरा कोट्याउँदै भने, 'म मेरो टिनका क्यान उत्पादन कम्पनीलाई आगामी पुस्तासम्म जीवित राख्न कटिबद्ध रहेको छु तर ट्रम्पको करवृद्धिले यो कार्यलाई जटिल बनाइरहेको छ ।' 'हामी अहिले अस्तव्यस्तताबीच बाँचिरहेका छौं,' उनले एएफपीसँग भने । गत जनवरीमा राष्ट्रपतिको पुनः जिम्मेवारी सम्हालेपछि ट्रम्पले आयातित स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउनुभएको थियो । यसले इन्डिपेन्डेन्ट क्यानको गतिविधिमा असर गरेको छ । ह्युथरले कम्पनीमा क्यान बनाउने स्टिलको मूल्य अत्यधिक बढेपछि नयाँ खरिद रोकिएको अभाव बढेको बताउनुभयो । नयाँ कर नीतिका कारण कम्पनीले क्यानको मूल्य समायोजन गरेर बजारमा सामान पठाउनुको विकल्प नरहेको बताउनुभयो । इस्पात प्लेटको अभाव ह्युथरको कारखानामा कुकीज, सुक्खा फल, कफी र दूध पाउडरजस्ता दैनिक खाद्य सामग्रीको सुरक्षित भण्डारणका लागि कन्टेनर बनाउन टिनको लेप लगाइएका पाताहरूको प्रयोग गरिन्छ । उनको जस्तो कम्पनीका लागि अमेरिकामा निर्मित टिनप्लेट पर्याप्त छैन । उनले भने, 'टिनका भाँडा (क्यान) बनाउन हामी केवल २५ प्रतिशत टिनप्लेट संयुक्त राज्य अमेरिकाबाट प्राप्त गर्नसक्छौँ । हाम्रो इस्पातको ७० प्रतिशत हिस्सा हामी छिमेकबाट खरीद गर्न आवश्यक छ ।' ह्युथर अमेरिकी उत्पादन आधार बढाउने पक्षधर भए तापनि विश्वव्यापीकरण यति भएको छ कि ट्रम्पको विधिहरूले सामान अभाव बढाउने चिन्ता उनलाई छ । ट्रम्पले ठूला करको एक श्रृङ्खलाको घोषणा गरेका छन् । ती मध्ये केहीलाई व्यापार वार्ताका लागि दवाव दिन कतिपय देशले उत्पादन नगर्ने र विदेशबाट आयात गर्नेपर्ने वस्तुहरूमा पनि प्रशासनले कर लगाएको छ । अहिले विभिन्न चार निर्माणस्थलमा लगभग ४०० व्यक्तिहरूलाई प्रत्यक्ष रोजगार दिइरहेको इन्डिपेन्डेन्ट क्यान उदोगले वर्तमान उथलपुथलको बावजुद कुनै पनि उत्पादनलाई कम गर्ने सम्भावना नरहेको बरू उल्टै यसको माग बढिरहेकाले उत्पादनलाई बढाउनुपर्ने आवश्यकता उनले औँल्याए । ह्युथरले ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालमा स्टिलमा गरिएको कर वृद्धिका कारण आयोवामा कम्पनीको एउटा प्लान्ट गत वर्ष आंशिक रूपमा बन्द भएको बताए । मूल्य वृद्धि 'यदि राष्ट्रपतिले घोषणा गरिएको इस्पातमा ५० प्रतिशतसम्म कर लगाइएमा आफ्नो उदोगले अन्ततः २० प्रतिशतभन्दा बढी मूल्यहरू बढाउनु पर्नेछ किनकि टिनप्लेटले उसको उत्पादन लागतको एक भागको प्रतिनिधित्व गर्दछ,' ह्युथरले भने । अर्थव्यवस्थाको बारेमा चिन्ता र पर्याप्त व्यवसाय नभएको कारण केही क्रेताहरूले यस वर्ष आफ्नो अर्डरमा २० देखि २५ प्रतिशतले कटौती गरिसकेका उनले बताए । ह्युथरले कोभिड–१९ सङ्कटको आफ्नो अनुभवलाई उद्धृत गर्दै भने, 'अहिले अमेरिकीहरू अमेरिकी सामान किन्न इच्छुक देखिन्छन् तर अभावले मागलाई सम्बोधन गर्न असहज भइरहेको छ ।' उनले भने, 'महामारीको समयमा चीनसँगको आयात बन्द भएको र बन्दरगाहहरू बन्द भएकोले हाम्रो व्यापार ५० प्रतिशतले बढ्यो तर कच्चा सामग्रीको अभावमा माग पूरा गर्न असमर्थ हुनुपरेको थियो । जब महामारी समाप्त भयो, ग्राहकहरू चीनबाट खरिद गर्न थाले । आज यदि मानिसहरू हामीकहाँ आउन चाहन्छन् भने, हामी उनीहरूको माग सम्बोधन गर्ने प्रयास गर्नेछौँ । यसका लागि हामीले कम्तीमा दुई वर्षको सम्झौता गर्न आवश्यक छ ।' रासस
टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएका छन् । बस्नेतले विशेष अदालतमा उपस्थित भई बयान दिन पाउने गरी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान लिने प्रक्रिया अघि बढाइएको छ । बयानपछि आजै थुनछेक बहस हुने तयारी छ । बस्नेत मन्त्री भएका बेला नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक बजेट र कार्यक्रममा टेरामक्स प्रविधि खरिदको निर्णय पारित गरिएको थियो । मुद्दा दायर भएपछि उनी सांसद पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिने क्रममा बस्नेतले उक्त प्रविधि कल डिटेल हेर्ने वा कसैको गोपनीयता भंग गर्ने उद्देश्यका लागि नभई, भीओआईपी (कल बाइपास) नियन्त्रणका लागि मात्रै स्वीकृत गरिएको जिकिर गरेका थिए ।
नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोषलाई गर्यो १० लाख सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोषलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री तथा आगन्तुकलाई सुविधा प्रदान गर्ने, साथै पैदलमार्ग निर्माण तथा मर्मतका काममा खर्च गरिनेछ । भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि) राममोहन राव अमराले कोषका सदस्य सचिव सानुराजा शाक्यलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल, प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, गोपालप्रसाद भट्ट, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, साथै कोषका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो । नेपाल एसबिआई बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि यस्ता गतिविधि गर्दै आएको जनाएको छ । बैंकले ३१ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको छ र हाल १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम तथा १ कर्पोरेट कार्यालयमार्फत सेवा विस्तार गरिरहेको छ ।
तेस्रो वर्षमा प्रवेश गर्यो स्काइवाक काठमाडौं, वार्षिकोत्सवको अवसरमा ३ महिनासम्म उपहार दिने
काठमाडौं । कमलादीमा रहेको स्काइवाक काठमाडौं तेस्रो वर्षमा प्रवेश गरेको छ । वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको स्काइवाक काठमाडौंको एरियल भ्यू हेर्नका लागि प्रसिद्ध छ । वार्षिकोत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटोसहितको कप निस्शुल्क उपहार दिइने स्काइवाक काठमाडौँका अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए । छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा यो लागू हुनेछ । तेस्रो वर्ष प्रवेशको अवसरमा ल्याइएको यो अफर तीन महिनासम्म चल्ने पाण्डेले बताए । १३ रोपनीमा निर्माण भएको ७८ दशमलव ५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको छ । टावरको २५औं तलामा स्काइवाक (सिसा ओछ्याइएको भुइँ)मा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा आकाशमा हिँडे जस्तो अनुभव हुन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौंको प्रमुख गन्तव्य बनेको प्रवन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए । स्काइवाकमा प्रति वर्गमिटर पाँच सय किलो भार बहन क्षमताको गुणस्तरीय सिसाको प्रयोग गरिएको छ । विभिन्न स्काइवाक निर्माण गर्दा जमिनबाट ३५ मिटर तलसम्म ५८ वटा फलामका डण्डीहरू राखिएको छ । टावरको माथि पुग्नका लागि दुई वटा लिफ्ट बनाइएको छ भने एकै पटक ४५ जनासम्म माथि जान सकिन्छ । साथै स्काइवाकको माथिल्लो भागमा एकैपटक ५०० जनासम्म अट्नसक्ने कम्पनीको भनाइ छ । स्काइवाक साहसिक गतिविधिका लागि मात्रै होइन, काठमाडौंका ऐतिहासिक स्थलको जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँबाट ऐतिहासिक घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, शहीदगेट, सिंहदरबारलगायतका स्थानको अवलोकन गर्न सकिन्छ । पछिल्लो समय जमघटको थलो बनेको यो ठाउँमा स्काइवाकबाहेक पनि विभिन्न सुविधा छन् । टावर परिसरमा साना कार्यक्रम गर्न एमपी थिएटरको पनि सुविधा छ । कम्पनीका अनुसार स्काइवाक सूर्योदय र सूर्योस्तको दृश्यावलोकन तथा योगा गर्नेका लागि पनि उपयुक्त थलो हो । विष्णुहरि पाण्डे कम्पनीले अहिले पनि ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई शुल्क लिँदैन । चारपांग्रे र दुई पांग्रे सवारी साधनका लागि पर्याप्त सुविधा भएको स्काइवाक परिसरमा लक्ष्मी हेयर एण्ड ब्युटी सलुन, हिमालयन जाभा, बाइबियर माइक्रो पब, फिलि चिया, बुरितो, एभरेस्ट मस्मस्लगायतका आउटलेट पनि छन् । साथै स्काइ बार र स्काइ क्याफे सन्चालनमा आएको छ भने स्काइ क्लब निर्माणाधीन छ ।