विकासन्युज

अब अरू विषय पढेकाले पनि शिक्षक बन्न लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौं । अब शिक्षा संकाय बाहेकका विषयमा स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरूले पनि शिक्षक लाइसेन्स (शिक्षक अध्ययन अनुमतिपत्र) को परीक्षा दिन पाउने भएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहका शिक्षकका लागि शिक्षा संकाय मात्रै पढेकाले अवसर पाउने व्यवस्था परिमार्जन गरी अन्य संकायका स्नातकलाई पनि लाइसेन्स परीक्षा दिन अवसर दिने सहमति गरेको हो । यद्यपि शिक्षक सेवा आयोगले सञ्चालन गर्ने लाइसेन्स परीक्षा भने अनिवार्य हुने व्यवस्था कायम रहनेछ । यससँगै प्रत्येक शिक्षकले पाठ्यक्रम परिमार्जन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारद्वारा तोकिएको पुनर्ताजगी (रिफ्रेसर) तालिम अनिवार्य रूपमा लिनुपर्ने र त्यसकै आधारमा अध्यावधि हुने व्यवस्था समितिले पारित गरेको छ ।

चीनको सिगात्से सहरका मेयरसहितको टोली भरतपुरमा, सहकार्य विस्तारबारे छलफल

भरतपुर । चीनको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग भ्रमण टोली शनिबार भरतपुर आइपुगेको छ । भरतपुरको भगिनी सम्बन्ध रहेको सिगात्से सहरका मेयरसहितको टोलीलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले कार्यालयमा स्वागत गरिन् । सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच दुई पालिका बीच सहकार्यलाई थप उचाई दिने विषयमा छलफल भएको थियो । भेटमा आपसी हित, दुई सहर र चीनबीचको गर्न सकिने सहकार्यको बारेमा छलफल भएको हो । प्रमुख दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा सधै सकारात्मक रहेको बताइन् । महानगरपालिका प्रमुख दाहालले भरतपुरको फोहर व्यवस्थापनमा सिगात्से सहर र चीनको सहयोग प्रस्ताव गरिन् । सिगात्से सिटिको सबै क्षेत्रमा भएको उच्च प्रविधिको प्रयोग, हरियाली सहर, समय व्यवस्थापन  एवम् प्रभावकारी फोहर व्यवस्थापनको अभ्यास भरतपुर महानगरपालिकामा पनि क्रमिक रुपमा अगाडी बढाईरहेको बताइन् । 'विशेष गरी फोहर मैला व्यवस्थापनमा यहाँहरूको सहयोगको अपेक्षा समेत गरेका छौ,' उनले भनिन् । प्रमुख दाहालले चीनबाट भरतपुरमा धेरैभन्दा धेरै पर्यटक भ्रमणका लागि वातावरण निर्माण गर्न आग्रह गरिन् । यस्तै सिगात्से सहरका मेयर हुड्गले भरतपुर महानगरपालिकासँग थप व्यापारिक सम्बन्ध अघि बढाउन खोजेको उल्लेख गरिन् । भरतपुरमा उत्पादन भएका ग्रीन फार्मिङलाई सिगात्सेले आयात गर्न खोजेको उनको भनाई थियो । उनले भरतपुर प्राकृतिक रुपमा अति नै सुन्दर रहेकाले चीनबाट भरतपुर घुम्नका लागि पर्यटकलाई निमन्त्रणा दिने पनि बताइन् । सिगात्से र भरतपुरबीच गत वर्षको कार्तिक महिनामा भगिनी सम्बन्ध कायम भएको थियो ।

आज धान दिवश : वर्षभरि हिलो नछुने नेतालाई आज भ्याइ-नभ्याई

काठमाडौं । बाइसौं धान दिवसको अवसर पारेर थुप्रै नेता तथा सांसदहरूको धान रोपाँइ तथा हिलो खेल्ने कार्यक्रम तय भएको बताएका छन् । राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री , दलका नेता तथा कृषिमन्त्रीले धान दिवशको उपलक्ष्यमा शुधकामना दिइसकेका छन् । अधिकांश सांसद र नेताहरूले  हिलो खेल्ने र  विभिन्न धान रोपाँइसँग सम्बन्धित कार्यक्रममा सहभागी हुने जनाएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एमाले सचिव गोर्कण विष्ट, नेपाली कांग्रेसका नेता राजेन्द्र केसी लगायतका नेताहरू आज खेतमा भेटिने छन् । उपमहासचिव ज्ञवाली एमाले गुल्मी काठमाडौं सम्पर्क मन्चले फर्पिङ्गमा आयोजना गरेको धान रोपाइँ तथा हिलो खेल्ने कार्यक्रममा सहभागी हुने ज्ञवालीको सचिवालयले जानकारी दिएको छ ।  ज्ञवाली दिउसो २ वजे कार्यक्रम स्थलमा पुग्ने आयोजक संस्थाले बताएको छ ।  माओवादीका महासवि देव गुरुङ पनि उपत्यकाकै धानखेतमा  हुनेछन । उनी आज पार्टीको कीर्तिपुरको स्थानीय कमिटीले आयोजना गर्ने रोपाइँ कार्यक्रममा आज मध्यान्ह १ बजे सहभागी हुन लागेका हुन् ।  कांग्रेस नेता रामहरि खतिवडाले आफू बिहान कीर्तिपुरको धान रोपाँइ तथा हिलो खेल्ने कार्यक्रममा सहक्भागी भएर सदन फर्किइसकेको बताउँछन् । एमाले सचिव विष्टले पनि पार्टीको सम्पर्क मञ्चको कार्यक्रममा फर्पिङ पुग्नै लागेको जानकारी दिए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का सांसद तथा कांग्रेस नेता राजेन्द्र केसी पनि कीर्तिपुरको टौदह र पुष्पलाल पार्कमा हुने धान रोपाइँ कार्यक्रममा उपस्थित हुने छन्। विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय भएर २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो  ।  देशको १३ लाख ९४हजार ९०७ हेक्टर भूमिमा धानखेती हुँदै आएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार देशभरि जम्मा १५ प्रतिशत मात्रै धान रोपिएको छ ।

कृषि कर्जा सुरक्षण योजनाबारे सरोकारवाला सुझाव लिँदै अन्तर्क्रिया सम्पन्न

काठमाडौं । युएनडीपीको सहकार्यमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको 'एग्री सीजीएस प्रोडक्ट्स डिजाइन स्टेकहोल्डर्स फिडब्याक' विषयक आधा दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको रोयल सिङ्गी होटलमा सम्पन्न कार्यक्रममा कोषका पदाधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, कर्जा विभागका विभागीय प्रमुखलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अर्थतन्त्रको दिगो विकासका लागि कृषि क्षेत्रमा संस्थागत कर्जाको पहुँच विस्तार गर्न र सो क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम न्यूनीकरण गरी लगानी बढाउन नयाँ कृषि कर्जा सुरक्षण योजना तर्जुमा गर्ने विषयमा सरोकारवालाको राय–सुझाव लिन यो अन्तर्क्रिया आयोजना गरिएको हो । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कार्यक्रममा प्रस्तावित कृषि कर्जा सुरक्षण योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै, वर्तमान अवस्था र तत्काल विस्तार गर्नुपर्ने क्षेत्रबारे जानकारी गराएका थिए । सहभागीहरुले सुरक्षण शुल्क र क्षतिपूर्ति दाबीको प्रतिशत निर्धारण अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार वैज्ञानिक रुपमा गर्नुपर्ने सुझावसमेत दिएका थिए । कृषि क्षेत्रमा संस्थागत कर्जा प्रवाह बढाउँदै वित्तीय पहुँच विस्तारमा सघाउन युएनडीपीले प्राविधिक सहयोग गरिरहेको कोषले जनाएको छ ।

शिक्षा विधेयक पारितका लागि दबाब दिन शिक्षक नेताहरू सिंहदरबारमा

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षक नेताहरू सिंहदरबार पुगेका छन् । आइतबार असार १५ गते सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने दिन भएकाले सरकारलाई दबाब दिन नेताहरू बिहानै सिंहदरबार पुगेका हुन् ।  ‘हामी बिहान ७ बजे सिंहदरबार पुगेका थियौं, मुख्य मुख्य केही व्यक्तिहरूलाई भेट्यौँ, विधेयक आज जसरी पनि संसदमा प्रस्तुत हुनुपर्छ भनेका छौं,’ शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले भने ।  विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने भन्दै दबाब दिन संसदीय समितिको ढोकामै शिक्षकहरू पुगेको र अहिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समिति बैठक बसेकाले आफूहरू बाहिर निस्केको उनको भनाइ छ । थापाका अनुसार विभागीय कारवाही, अस्थायी शिक्षकहरूका लागि कस्तो व्यवस्था गर्ने र शिक्षक हुन लाइसेन्स अनिवार्य गर्ने कि नगर्ने भन्ने विषयमा समितिमा सहमति हुन बाँकी छ । २०७५ सालदेखि छलफलमा रहेको विधेयक पारित नहुँदा समग्र शिक्षा प्रणाली नै अस्त व्यस्त बनेको भन्दै शिक्षक महासंघले पटक पटक आन्दोलन गर्दै आएको थियो ।  गएको चैत्रमा काठमाडौंमा भएको सडक प्रदर्शनपछि शिक्षक र सरकारबीच असार १५ गते विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने सहमति भएको थियो ।

महालक्ष्मी विकास बैंकले ल्यायो पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड, फोन पेसँगको सहकार्यमा सेवा सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने नीति अनुरूप फोन पेसँगको सहकार्यमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप 'महालक्ष्मी स्मार्ट साथी' मार्फत महालक्ष्मी फोन पे क्रेडिट कार्ड सेवामा गई, कुनै पनि स्थानबाट सुरक्षित र सजिलै भुक्तानी गर्न सक्नेछन् । यसमार्फत फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानीका साथै अनलाइन किनमेलका भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । भौतिक क्रेडिट कार्डजस्तै ४५ दिनसम्म ब्याजरहित अवधि र लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा पनि रहनेछ । यसले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य गर्दै डिजिटल सुविधालाई अझ सहज बनाउने बैंकको विश्वास छ । सेवाको सुरुआतसँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५०० रुपैयाँसम्मको क्यासब्याक अफर समेत ल्याएको छ, जसले सेवा झनै आकर्षक बनाउने विश्वास बैंकले लिएको छ।  डिजिटल नवप्रवर्धनका क्षेत्रमा नेपालका विकास बैंकहरूमध्ये अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंकले यो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको जनाएको छ । साथै, आगामी दिनमा आफ्ना डिजिटल सेवा र मोबाइल एप्लिकेसनलाई अझ परिमार्जित र परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता समेत बैंकले जनाएको छ।

पौवादुङमाका उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

भोजपुर । विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट अङ्क ल्याउने बाह्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ३, ५, ८ र १० का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । तिवारीभञ्याङ माध्यमिक विद्यालय, पञ्चकन्या मावि, मानेडाँडा मावि, सानोदुम्मा मावि, सूर्योदय मावि, सिंहबालसुधार आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कटुवालले बताए । गाउँपालिका अध्यक्ष किरण राईले आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहित गर्दै नियमित विद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रवृत्ति वितरण गर्दै आएको बताए । 'गाउँपालिकाले यहाँका विद्यालय तथा विद्यार्थीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ', अध्यक्ष राईले भने, 'यसले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुगेको छ । बर्सेनि हामीले विद्यार्थीहरूका लागि प्रोत्साहनका कार्यक्रम गरिरहेका छौँ ।' गाउँपालिकाले उत्कृष्ट दुई विद्यालयलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ । उत्कृष्ट बन्ने सानोदुम्मा माविलाई नगद रु तीन लाख र मानेडाँडा माविलाई नगद रु दुई लाखले सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको गाउँपालिका उपाध्यशक्ष ज्योत्सना राईले बताए । खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध रूपमा काम भइरहेको उनको भनाइ छ । गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्यदललाई पनि सम्मान गरेको छ । कार्यदलकी संयोजक सुनिता कटुवाल, सदस्य मचिन्द्रकुमार राई, टलक कार्की, प्रकार राई, सन्तोष राई, नारायणबहादुर खड्का र रमेश कटुवाललाई प्रशंसापत्रद्धारा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । रासस

साढे ५४ करोडमा एकैपटक ६२ ठाउँमा वासस्थान निर्माण गर्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले एकैपटक देशभर ६२ ठाउँमा ब्यारेक, गणहरूमा भवन, वासस्थान लगायत निर्माण कार्य गर्ने भएको छ । काठमाडौंसहित देशभर रहेका विभिन्न ब्यारेक, गण, वाहिनी अड्डा शिक्षालय, निवेश, तालिम केन्द्र, हेड क्वार्टरमा भवन, सैनिक वासस्थान, शौचालय लगायत निर्माण गर्ने भएको हो ।  स्थपित निर्देशनालय जंगी अड्डाका अनुसार देशभर ६२ ठाउँमा भवन, सैनिक वासस्थान, शौचालय लगायत निर्माण गर्न ५४ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको ठेक्का आह्वान गरिएको छ ।  आगामी आर्थिक वर्ष २०८२/८३ मा देशभरका विभिन्न ठाउँमा तोकिएको निर्माण कार्य गर्न बोलपत्र आह्वान गरेको छ । निर्माण कार्यको गर्न इच्छुकले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।  विगत दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा नेपाली सेना अन्तर्गतका निकायहरूमा निर्माण कार्य गरेर सन्तोषजनक कार्यसम्पादन गरेको हुनुपर्नेछ । बोलपत्र दाताले आफ्नै खर्चमा साइट भिजिट गर्नुपर्नेछ । निर्माण व्यवसायीले सम्झौता बमोजिमको काम शुरु नगरेमा, काम शुरु गरी बीचैमा छोडेमा वा सम्झौता बमोजिम कामको प्रगति नगरेमा त्यस्तो सम्झौता जुनसुकै बखत अन्त्य गरी जमानत जफत गरिने सेनाको कार्यालयले जनाएको छ । सैनिक गट्ठाघर व्यारेक, भक्तपुरका लागि थ्रीएक्स ग्रुप घर, उपत्यका पृतना तालिम शिक्षालय थानकोट ब्यारेकका लागि अधिकृत वासस्थान, ईन्द्रध्वज गण लक्ष्मणडाँडा सिन्धुपाल्चोक, युद्धकवच गण सितापाइला, केन्द्रीय एम.ई.एस.त्रिपुरेश्वरका लागि पदिक वासस्थान, नं. १ वाहिनी अड्डा बालाजुका लागि कार्यालय भवन, स्वयम्भु बारुदखानाका लागि जवान वासस्थान निर्माण गर्ने नेपाली सेनाले जनाएको छ ।  विद्युत तथा यान्त्रिक सेवा निर्देशनालय तोपखाना ब्यारेकका लागि महिला सैनिक वासस्थान, भैरवनाथ गण लक्ष्मी निवास महाराजगंजका लागि मुख्य प्रवेशदवार (बुर्जा), नं १ सैन्य तालिम केन्द्र मैथली क्याम्प त्रिशुलीका लागि महिला सैनिक बेड, उत्तर पश्चिम पृतना तालिम शिक्षालय लेखफर्सा ब्यारेक सुर्खेतका लागि अधिकृत वासस्थान, कालीशक्ति गण (ई) मोरङ्गका लागि पदिक वासस्थान, भिमदल गण धनकुटाका लागि पदिक वासस्थान, सुदुरपश्चिम पृतना तालिम शिक्षालय कैलालाीका लागि अधिकृत वासस्थान र देविदल गण मालाखेतीका लागि महिला सैनिक बेड निर्माण गर्नुपर्नेछ । यी स्थानमा निर्माणका लागि न्यूनतम ठेक्का रकम भने खुलाइएको छैन ।