विकासन्युज

कृषि कर्जा सुरक्षण योजनाबारे सरोकारवाला सुझाव लिँदै अन्तर्क्रिया सम्पन्न

काठमाडौं । युएनडीपीको सहकार्यमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको 'एग्री सीजीएस प्रोडक्ट्स डिजाइन स्टेकहोल्डर्स फिडब्याक' विषयक आधा दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको रोयल सिङ्गी होटलमा सम्पन्न कार्यक्रममा कोषका पदाधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, कर्जा विभागका विभागीय प्रमुखलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अर्थतन्त्रको दिगो विकासका लागि कृषि क्षेत्रमा संस्थागत कर्जाको पहुँच विस्तार गर्न र सो क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम न्यूनीकरण गरी लगानी बढाउन नयाँ कृषि कर्जा सुरक्षण योजना तर्जुमा गर्ने विषयमा सरोकारवालाको राय–सुझाव लिन यो अन्तर्क्रिया आयोजना गरिएको हो । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कार्यक्रममा प्रस्तावित कृषि कर्जा सुरक्षण योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै, वर्तमान अवस्था र तत्काल विस्तार गर्नुपर्ने क्षेत्रबारे जानकारी गराएका थिए । सहभागीहरुले सुरक्षण शुल्क र क्षतिपूर्ति दाबीको प्रतिशत निर्धारण अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार वैज्ञानिक रुपमा गर्नुपर्ने सुझावसमेत दिएका थिए । कृषि क्षेत्रमा संस्थागत कर्जा प्रवाह बढाउँदै वित्तीय पहुँच विस्तारमा सघाउन युएनडीपीले प्राविधिक सहयोग गरिरहेको कोषले जनाएको छ ।

शिक्षा विधेयक पारितका लागि दबाब दिन शिक्षक नेताहरू सिंहदरबारमा

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षक नेताहरू सिंहदरबार पुगेका छन् । आइतबार असार १५ गते सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने दिन भएकाले सरकारलाई दबाब दिन नेताहरू बिहानै सिंहदरबार पुगेका हुन् ।  ‘हामी बिहान ७ बजे सिंहदरबार पुगेका थियौं, मुख्य मुख्य केही व्यक्तिहरूलाई भेट्यौँ, विधेयक आज जसरी पनि संसदमा प्रस्तुत हुनुपर्छ भनेका छौं,’ शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले भने ।  विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने भन्दै दबाब दिन संसदीय समितिको ढोकामै शिक्षकहरू पुगेको र अहिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समिति बैठक बसेकाले आफूहरू बाहिर निस्केको उनको भनाइ छ । थापाका अनुसार विभागीय कारवाही, अस्थायी शिक्षकहरूका लागि कस्तो व्यवस्था गर्ने र शिक्षक हुन लाइसेन्स अनिवार्य गर्ने कि नगर्ने भन्ने विषयमा समितिमा सहमति हुन बाँकी छ । २०७५ सालदेखि छलफलमा रहेको विधेयक पारित नहुँदा समग्र शिक्षा प्रणाली नै अस्त व्यस्त बनेको भन्दै शिक्षक महासंघले पटक पटक आन्दोलन गर्दै आएको थियो ।  गएको चैत्रमा काठमाडौंमा भएको सडक प्रदर्शनपछि शिक्षक र सरकारबीच असार १५ गते विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने सहमति भएको थियो ।

महालक्ष्मी विकास बैंकले ल्यायो पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड, फोन पेसँगको सहकार्यमा सेवा सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने नीति अनुरूप फोन पेसँगको सहकार्यमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप 'महालक्ष्मी स्मार्ट साथी' मार्फत महालक्ष्मी फोन पे क्रेडिट कार्ड सेवामा गई, कुनै पनि स्थानबाट सुरक्षित र सजिलै भुक्तानी गर्न सक्नेछन् । यसमार्फत फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानीका साथै अनलाइन किनमेलका भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । भौतिक क्रेडिट कार्डजस्तै ४५ दिनसम्म ब्याजरहित अवधि र लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा पनि रहनेछ । यसले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य गर्दै डिजिटल सुविधालाई अझ सहज बनाउने बैंकको विश्वास छ । सेवाको सुरुआतसँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५०० रुपैयाँसम्मको क्यासब्याक अफर समेत ल्याएको छ, जसले सेवा झनै आकर्षक बनाउने विश्वास बैंकले लिएको छ।  डिजिटल नवप्रवर्धनका क्षेत्रमा नेपालका विकास बैंकहरूमध्ये अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंकले यो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको जनाएको छ । साथै, आगामी दिनमा आफ्ना डिजिटल सेवा र मोबाइल एप्लिकेसनलाई अझ परिमार्जित र परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता समेत बैंकले जनाएको छ।

पौवादुङमाका उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

भोजपुर । विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट अङ्क ल्याउने बाह्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ३, ५, ८ र १० का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । तिवारीभञ्याङ माध्यमिक विद्यालय, पञ्चकन्या मावि, मानेडाँडा मावि, सानोदुम्मा मावि, सूर्योदय मावि, सिंहबालसुधार आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कटुवालले बताए । गाउँपालिका अध्यक्ष किरण राईले आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहित गर्दै नियमित विद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रवृत्ति वितरण गर्दै आएको बताए । 'गाउँपालिकाले यहाँका विद्यालय तथा विद्यार्थीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ', अध्यक्ष राईले भने, 'यसले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुगेको छ । बर्सेनि हामीले विद्यार्थीहरूका लागि प्रोत्साहनका कार्यक्रम गरिरहेका छौँ ।' गाउँपालिकाले उत्कृष्ट दुई विद्यालयलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ । उत्कृष्ट बन्ने सानोदुम्मा माविलाई नगद रु तीन लाख र मानेडाँडा माविलाई नगद रु दुई लाखले सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको गाउँपालिका उपाध्यशक्ष ज्योत्सना राईले बताए । खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध रूपमा काम भइरहेको उनको भनाइ छ । गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्यदललाई पनि सम्मान गरेको छ । कार्यदलकी संयोजक सुनिता कटुवाल, सदस्य मचिन्द्रकुमार राई, टलक कार्की, प्रकार राई, सन्तोष राई, नारायणबहादुर खड्का र रमेश कटुवाललाई प्रशंसापत्रद्धारा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । रासस

साढे ५४ करोडमा एकैपटक ६२ ठाउँमा वासस्थान निर्माण गर्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले एकैपटक देशभर ६२ ठाउँमा ब्यारेक, गणहरूमा भवन, वासस्थान लगायत निर्माण कार्य गर्ने भएको छ । काठमाडौंसहित देशभर रहेका विभिन्न ब्यारेक, गण, वाहिनी अड्डा शिक्षालय, निवेश, तालिम केन्द्र, हेड क्वार्टरमा भवन, सैनिक वासस्थान, शौचालय लगायत निर्माण गर्ने भएको हो ।  स्थपित निर्देशनालय जंगी अड्डाका अनुसार देशभर ६२ ठाउँमा भवन, सैनिक वासस्थान, शौचालय लगायत निर्माण गर्न ५४ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको ठेक्का आह्वान गरिएको छ ।  आगामी आर्थिक वर्ष २०८२/८३ मा देशभरका विभिन्न ठाउँमा तोकिएको निर्माण कार्य गर्न बोलपत्र आह्वान गरेको छ । निर्माण कार्यको गर्न इच्छुकले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।  विगत दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा नेपाली सेना अन्तर्गतका निकायहरूमा निर्माण कार्य गरेर सन्तोषजनक कार्यसम्पादन गरेको हुनुपर्नेछ । बोलपत्र दाताले आफ्नै खर्चमा साइट भिजिट गर्नुपर्नेछ । निर्माण व्यवसायीले सम्झौता बमोजिमको काम शुरु नगरेमा, काम शुरु गरी बीचैमा छोडेमा वा सम्झौता बमोजिम कामको प्रगति नगरेमा त्यस्तो सम्झौता जुनसुकै बखत अन्त्य गरी जमानत जफत गरिने सेनाको कार्यालयले जनाएको छ । सैनिक गट्ठाघर व्यारेक, भक्तपुरका लागि थ्रीएक्स ग्रुप घर, उपत्यका पृतना तालिम शिक्षालय थानकोट ब्यारेकका लागि अधिकृत वासस्थान, ईन्द्रध्वज गण लक्ष्मणडाँडा सिन्धुपाल्चोक, युद्धकवच गण सितापाइला, केन्द्रीय एम.ई.एस.त्रिपुरेश्वरका लागि पदिक वासस्थान, नं. १ वाहिनी अड्डा बालाजुका लागि कार्यालय भवन, स्वयम्भु बारुदखानाका लागि जवान वासस्थान निर्माण गर्ने नेपाली सेनाले जनाएको छ ।  विद्युत तथा यान्त्रिक सेवा निर्देशनालय तोपखाना ब्यारेकका लागि महिला सैनिक वासस्थान, भैरवनाथ गण लक्ष्मी निवास महाराजगंजका लागि मुख्य प्रवेशदवार (बुर्जा), नं १ सैन्य तालिम केन्द्र मैथली क्याम्प त्रिशुलीका लागि महिला सैनिक बेड, उत्तर पश्चिम पृतना तालिम शिक्षालय लेखफर्सा ब्यारेक सुर्खेतका लागि अधिकृत वासस्थान, कालीशक्ति गण (ई) मोरङ्गका लागि पदिक वासस्थान, भिमदल गण धनकुटाका लागि पदिक वासस्थान, सुदुरपश्चिम पृतना तालिम शिक्षालय कैलालाीका लागि अधिकृत वासस्थान र देविदल गण मालाखेतीका लागि महिला सैनिक बेड निर्माण गर्नुपर्नेछ । यी स्थानमा निर्माणका लागि न्यूनतम ठेक्का रकम भने खुलाइएको छैन । 

पाखाबारीमा लोभलाग्दो केराखेती : १५ लाखसम्म आम्दानी

बेनी । बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन् । वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्कनुभएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल भएका हुन् । सुरुमा तीन रोपनीमा केराखेती गर्नुभएका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लागेका थिए । 'अहिले मेरो सबै जग्गामा केराखेती छ, करिब २५ रोपनीमा केराखेती विस्तार गरेको छु, वार्षिक रूपमा रु १० देखि १५ लाख केराबाट आम्दानी हुन्छ, नयाँ बोटले उत्पादन दिन थाल्यो भने आम्दानी पनि बढ्ने अनुमान गरेको छु', खत्रीले भने । परम्परागत रूपमा धान रोप्ने खेत र मकै, कोदोलगायत अन्नबाली लगाउने बारीमा खत्रीले व्यावसायिक केराखेती लगाएका छन् । केराखेतीका लागि आवश्यक पर्ने मलका लागि कुखुरापालन पनि गरेका खत्रीले परम्परागत खेतीबालीलाई व्यावसायिक बनाउने र परिश्रम गर्न सकेमा स्वदेशमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । उनका चारवटा केराखेतीको बगान छन् । काउलेगौँडामा विगत एक दशकयता केराखेतीको लहर चलेको हो । यहाँका करिब एक सय ५० घरपरिवार सबैले केराखेती गरेका छन् । काउलेगौँडाको थाकन, गौउथले, मुलबारी, पाटारुख, बराहथान तुसारेलगायत क्षेत्रमा केराखेतीको व्यावसायिकता बढेको छ । यस गाउँमा रुद्र चोखाल, दीपक खड्का, ओमकार पुरी, सोम केसी, भगवती बस्नेत, रुद्रबहादुर बस्नेतलगायतले केराको व्यावसायिक खेती गरेका छन् । काउलेगौँडाका विभिन्न टोलबस्तीमा करिब चार सय रोपनीमा केराखेती विस्तार भएको काउलेगौँडा कृषि समूहका अध्यक्ष पुन्य चोखालले जानकारी दिए । अध्यक्ष बस्नेतले समेत साढे पाँच रोपनी बढी जग्गामा केराखेती गरेका छन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत काउलेगौँडामा एक सय २० रोपनी जग्गामा तीन हजार पाँच सय हजारी जातको नयाँ बिरुवा लगाइएको छ । पच्चीस जना किसान आबद्ध काउलेगौँडा कृषक समूहले बेनी नगरपालिकाको रु १२ लाख अनुदान र किसानको रु १२ लाख बराबरको साझेदारीमा एक सय २० रोपनी जग्गामा केराखेती विस्तार गरिएको छ । दुईवटा माटे पोखरी र एक ढलान गरेको पक्की सिँचाइ पोखरी निर्माण गरी स्थानीयस्तरमा रहेका मुलको पानीलाई जम्मा गरेर तीन हजार पाँच सय मिटर पाइप लाइन विस्तार गरेर केराखेती भएको ठाउँमा सिँचाइको बन्दोबस्त मिलाइएको समूहका अध्यक्ष चोखालले बताए । पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत भर्याङ, सिकेचरलगायतका कृषि औजार र उपकरणसमेत खरिद गरी वितरण गरिएको छ । यहाँ हजारी, धुर्से र मुर्रे जातका केराखेती हुँदै आएको छ । काउलेडौँडा क्षेत्रमा अहिले स्थानीय पानीका मुलहरूलाई जम्मा गरेर केराखेतीमा सिँचाइको प्रबन्ध मिलाउँदै आइएको छ । व्यावासायिक रूपमा खेती विस्तार भइरहेकाले निकट भविष्यमा हिउँदयाममा केरालाई सिँचाइको अभाव हुने भएकाले रघुगङ्गा र कालीगण्डकी नदीबाट लिफ्ट प्रविधिको सिँचाइ आयोजनाका लागि माग गरिएको कृषक समूहका अध्यक्ष चोखालले जानकारी दिए । अन्नबाली छाडेर केराको व्यावसायिक खेती युवायुवती वैदेशिक रोजगारको कारण विदेश जाने र गाउँघरमा अन्नबालीको खेती लगाउन काम गर्ने जनशक्ति पाइन छाडेपछि स्थानीयले केराखेती सुरु गरेका थिए । खेतबारीलाई बाँझो रहन नदिन सुरु भएको केराखेती अहिले गाउँको आम्दानीको प्रमुख स्रोत बनेको छ । गाउँमा अधिकांशले खेतीयोग्य जमिनका साथै पाखो बारीमा पनि केराखेती लगाएको स्थानीय कुलबहादुर बस्नेतले बताए । 'करिब आठ रोपनी जग्गामा केराखेती विस्तार गरेको छु, अहिले त्यसले उत्पादन दिन थालेको छ, उत्पादन भएको केरा बिक्रीका लागि बजार अभाव छैन, खेती गर्न पनि कठिन छैन', बस्नेतले भने । व्यावसायिक रूपमा पशुपालन गरेर दूध बिक्री गर्दै आएका बस्नेतले गाउँ नजिकै रहेको गलेश्वर बजारमा दूध तथा केरा बिक्री गरेर मासिक रु २७ हजारबराबर आम्दानी हुने गरेको अनुभव सुनाए । गाउँमा अधिकांश घरले केराखेतीबाट नगद आम्दानी गर्न थालिसकेका छन् । परम्परागत खेतीबाट नगद आम्दानी नहुने र श्रम गर्ने जनशक्तिको अभाव हुन थालेपछि अन्नबालीको विकल्पमा यस गाउँमा केराखेती विस्तारले तीव्रता पाएको थियो । स्थानीय किसान टेकबहादुर भण्डारीले अन्नबालीको तुलनामा केराखेतीबाट तेब्बर बढी आम्दानी हुने गरेको सुनाए । करिब पाँच वर्षदेखि केराखेती गर्नुभएका बस्नेतले धानखेती हुने करिब आठ रोपनी खेतमा केराखेती विस्तार गरेका छन् । 'अन्नबाली लगाउनुभन्दा केराखेतीबाट धेरै फाइदा छ, बिरुवा लगाएपछि हिउँदयाममा सिँचाइ पुर्याउन सकियो भने उत्पादन राम्रो हुन्छ, पहिले अन्नबाली लगाउने स्थानीय अहिले फलफूलखेतीतर्फ आकर्षित भएका छौँ', उनले भने । स्वरोजगार र समृद्धिका लागि पकेट क्षेत्र विस्तार म्याग्दी अहिले पनि केरामा आत्मनिर्भर बन्न सकेको छैन । बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ९ को काउलेगौँडा केराखेतीको पकेट क्षेत्र मानिन्छ । नगरपालिकाले सम्भावित खेतीको व्यावसायिकता बढाउन र किसानलाई स्वरोजगार, जिल्लालाई आत्मनिर्भर, गाउँलाई समृद्धिको बाटोमा अघि बढाउन पकेट क्षेत्र विस्तारलाई जोड दिएको छ । चालु आर्थिक वर्षमा वडा नं ३ भकिम्लीलाई विकी र वडा नं ९ घतानको काउलेगौँडालाई केरा पकेट विस्तार कार्यक्रम सञ्चालन गरी किसानलाई प्रोत्साहन गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताए । उनका अनुसार, नगरपालिका र कृषक समूहको रु १२–१२ लाखको साझेदारीमा सञ्चालन गरिएको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमबाट कम्तीमा ६० प्रतिशत रकम केराको क्षेत्र विस्तारमा लगानी भएको छ । बेनी –९ घतानका वडाध्यक्ष चक्रबहादुर केसीले निर्वाहमुखी खेती किसानीबाट काउलेगौँडाका किसान केराखेतीको व्यावसायिकतामा लागेको बताए । स्थानीयले खेतबारी बाँझो रहन नदिन सुरु गरेको केराखेती सफल भएपछि अहिले अभियानकै रूपमा केराखेती विस्तारले तीव्रता पाएको र यसले यहाँका स्थानीयको जीवनस्तर सुधारमा पनि सघाउन थालेको वडाध्यक्ष केसीले जानकारी दिए । यहाँ उत्पादन भएको केरा अहिले गलेश्वर बजार र सदरमुकाम बेनीमा खपत हुँदै आएको छ । बजार खोज्न नपर्ने र व्यापारी केरा खरिदका लागि गाउँमै पुग्ने भएकाले केराखेतीमा आकर्षण बढेको छ । बोट लगाएको दुई वर्षभित्र नै उत्पादन दिन सुरु गर्ने र एउटा बोटबाट दर्जनौँ घारीका रूपमा विस्तार हुने तथा अन्य फलफूलको तुलनामा गोडमेल र मलजलमा समेत झन्झट कम हुने भएकाले केराखेती किसानको रोजाइमा पर्न थालेको छ । म्याग्दीमा अहिले पनि बाहिरबाट केरा आयात हुने भएकाले केराखेतीको पकेट विस्तारले जिल्लालाई केरा उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । रासस

एकभन्दा बढी खातामा एउटै मोबाइल नम्बर राखेर खाता सञ्चालन गर्न बन्देज

काठमाडौं । कुमारी बैंकले एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर (आधिकारिक तथा योग्य खातामा बाहेक) राखेर खाता सञ्चालन गर्न बन्देज गर्ने भएको छ । बैंकले एक भन्दा बढी खाताहरूमा एउटै मोबाइल नम्बर राखि बैंकिङ्ग सेवा प्राप्त गरि रहेका ग्राहकको खाता बन्देज गर्ने भएको हो ।  नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान तथा सम्पुष्‍टि सम्बन्धमा ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण ग्राहककै रहे÷नरहेको सुनिश्चित गर्न बैंकले आग्रह गरेको छ ।  निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नु पर्ने व्यवस्था रहेको तथा दूर संचार सेवा प्रदायकहरूले सञ्चालनमा नआएका सिम कार्डहरू पुनः जारी गरि अन्य प्रयोगकर्तालाई हस्तान्तरण गरेको हुन सक्ने बैंकले जनाएको छ । त्यसैले एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर (आधिकारिक तथा योग्य खातामा बाहेक) राखेर खाता सञ्चालन गर्न बन्देज गरिने बैंकले जनाएको छ । एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर राखेर कारोबार (मोबाइल बैंकिङ्ग समेत ) गरिरहेका ग्राहकलाई असार २९ गतेभित्र पायक पर्ने नजिकको शाखामा सम्पर्क गरि आफ्नो मोबाइल नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ । 

अमेरिकाद्वारा सुडानमाथि प्रतिबन्धको घोषणा

काठमाडौं । सुडानको रक्तपात पूर्ण गृहयुद्धमा खार्तुमको सेनाले रासायनिक हतियारको प्रयोग गरेको भन्दै सुडान सरकारमाथि अमेरिकाले प्रतिबन्ध लागू भएको घोषणा गरेको छ । अमेरिकी सरकारले शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित गरेको सूचनामा अमेरिकी निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षका लागि कायम रहने जनाएको छ । प्रतिबन्ध अन्तर्गत सुडानलाई अत्यावश्यक मानवीय सहायता र खाद्यान्न वा अन्य कृषि जन्य वस्तु वा उत्पादनबाहेक अन्य सहायता बन्द गरिने अमेरिकाले जनाइएको छ । यद्यपि, केही सुविधामा आंशिक रूपमा माफी गरिनेछ किनभने  ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा हितको लागि यो आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ।   अमेरिकी विदेश मन्त्रालयले गत महिना प्रतिबन्धहरूको घोषणा गर्दै भनेको थियो, ‘लगभग सबै देशहरू द्वारा हस्ताक्षरित एक अन्तर्राष्ट्रिय सन्धिले रासायनिक प्रयोग गर्न निषेध गरेको छ त्यसैले अमेरिकाले सुडान सरकारलाई सबै रासायनिक हतियारको प्रयोग रोक्न र रासायनिक हतियार कन्भेन्सन अन्तर्गत आफ्नो दायित्वहरू पालन गर्न आग्रह गर्दछ।’   न्युयोर्क टाइम्सले जनवरीमा सुडानको सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको उल्लेख गरेको थियो ।   नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँस जस्तो देखिएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या भई मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ ।   खार्तूमले रासायनिक हतियार प्रयोग गरेको आरोपको खण्डन गर्दै आएको छ ।  व्यावहारिक रुपमा सुडानका सैन्य प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका नेता तथा उहाँका प्रतिद्वन्द्वी तथा पूर्व डेपुटी नेता मोहम्मद हमदान डग्लो दुवै अमेरिकी प्रतिबन्धको चपेटामा परिसकेकाले यसको प्रभाव सीमित हुनेछ ।   सन् २०२३ को अप्रिलमा सेना र आरएसएफबीचको शक्ति सङ्घर्षपूर्ण युद्धमा परिणत भयो र यसको विनाशकारी परिणाम पहिले नै गरिब मुलुक रहेको सुडानका लागि अभिशाप बनेको छ ।  यस द्वन्द्वका कारण दसौँ हजार मानिसको मृत्यु भएको छ भने एक करोड ३० लाख विस्थापित भएका छन् । सुडान युद्धलाई संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा खराबमध्येको एक मानवीय सङ्कटको रूपमा व्याख्या गरेको छ।