विकासन्युज

होमस्टेले गाउँमै बस्न सिकाउँदै

मिला दरै काठमाडौं । घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी फेरिएको छ । घरेलु कार्यमा व्यस्त रहने महिलाको जीवनशैलीमा परिवर्तन आएको छ । तनहुँको भानु नगरपालिका-९ चिती खोलाका महिला जीवनशैली परिवर्तनसँगै अहिले आयआर्जनतर्फ जोडिएका छन् । नियमित गरिने कार्यसँगै पाहुना स्वागत गर्ने भएपछि अहिले उनीहरूको परिवर्तन भएको छ । विसं २०७६ मा स्थापना भएको ग्रीन हिल भिलेज सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरेपछि घरधन्दासँगै काम परिवर्तन भएको छ । घरबासमार्फत यहाँका अधिकांश महिला आयआर्जनसँग जोडिएका छन् । यहाँका प्रत्येक घरलाई सिँगारेर घरबासमा परिणत भएपछि महिलाहरूको जीवनशैलीमात्र होइन, गाउँको पहिचानसमेत फेरिएको छ ।  ग्रीन हिल भिलेज होमस्टे सञ्चालक समितिकी सचिव सुशीला पुलामी भन्छिन्, ‘यहाँका महिलाको जीवनशैलीमा परिवर्तन आउनुका साथै परिवार छाडेर बालबालिका लिएर अन्त बसाइँ सर्ने कार्य रोकिएको छ ।’  घरबासले परिवारसँगै बसेर आयआर्जनसँग जोडेको उनी बताउँछिन् । पुलामी भन्छिन्, ‘हालसम्म हामीले यहाँका महिला बालबच्चासहित पठनपाठनका लागि भन्दै अन्यत्र गएको थाहा पाएका छैनौँ, गाउँमै बस्न सिकाएको छ ।’  यहाँका महिलाले आफैंले उत्पादन गरेका खाद्यवस्तुकै माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सकिन्छ भन्ने सोचेकै थिएनन् । उनी भन्छिन्, ‘हामीले पहिला पहिला त गाउँमा पर्यटक आउने कल्पना पनि गरेका थिएनौँ, खेतबारी र घरायसी काममा सीमित रहेका हामी अहिले ती कामसँगै पाहुनाको स्वागत गर्न व्यस्त हुन्छौं । होमस्टे सञ्चालनपछि हाम्रो दैनिकीमात्र होइन, गाउँको पहिचान नै फेरिएको छ ।’  ६ वर्ष अगाडि र अहिलेको गाउँको स्वरूप नै परिवर्तन भएको पुलामीको भनाइ छ । उनी भन्छिन्, ‘होमस्टे भनेको के हो भन्नेसम्म पनि थाहा नभएका हामी अहिले यहीबाट आर्थिक रूपमा सबल बन्न सिकाएको छ ।’ चिती खोलाका २१ घरमा सञ्चालन गरिएको घरबासमा एकै पटकमा करिब ४२ जनालाई बासको व्यवस्था हुन्छ । घरबासले स्थानीयस्तरमै उत्पादित खानाका परिकार पाहुनालाई खुवाउने गर्छन् । घरबास सञ्चालनका निम्ति क्षमता विकास, पाहुना सत्कार, विभिन्न खानाका परिकार बनाउने लगायतका तालिम लिइसकेको र सहज भएको सदस्य सीता सारूले बताइन् ।  ‘स्थानीय उत्पादन, गाउँघरमै पाइने जैविक, विषादी रहित र रैथाने परिकार पाहुनालाई खुवाउँछौँ । पहिले यही उत्पादन आफैंले मात्र खान धेरै भएर आफन्त र छर छिमेकमा बाँडिन्थ्यो, अहिले यही उत्पादन आम्दानीको स्रोत बनेको छ,’ उनले भनिन् ।  यस्तै, होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनाकुमारी सारू मगरले गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय महिलाको जीवनशैलीमा धेरै परिवर्तन आउनुका साथै आर्थिक रूपमा सबल बन्दै गएको बताइन् ।  ‘होमस्टे सञ्चालनपछि आर्थिक रूपमा मात्र होइन, यहाँका महिलालाई आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा समेत अगाडि बढाएको छ,’ उनले भनिन्, ‘गाउँमै उत्पादित खाद्यवस्तुको उपयोग गरी आय स्तर बढाउन पाएपछि यहीबाट बसाइँसराइ जाने कुरा नै भएन ।’ यहीँ आम्दानी हुने भएपछि अन्यत्र जाने सोच यहाँका महिलामा आएको नपाएको उनको भनाइ छ । ‘ग्रीन हिल भिलेज होमस्टेले पाहुनालाई शान्त र प्राकृतिक वातावरणमा बस्ने अवसर दिएको छ, साथै यहाँका महिलालाई आर्थिक रूपमा आत्मनिर्भरतातर्फ सचेत गराएको छ,’, मगरले भनिन्, ‘पाहुनाले पनि हाम्रो गाउँको मौलिकता र आतिथ्यताबारे राम्रो प्रतिक्रिया दिएका छन्  । यसले हामीलाई थप ऊर्जा मिलेको छ, त्यसैले होमस्टेको सेवा थप मौलिक र आफ्नोपनको महसुस गर्ने गरी सेवा दिँदै आएका छौँ ।’ होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । हालसम्म करिब २ हजार ५०० पर्यटकलाई स्वागत गरेको घरबासका संस्थापक सदस्य गीता अधिकारी पाण्डेले बताइन् ।  ‘पाहुना गाउँको रहनसहन, खाना र स्थानीय संस्कृतिबाट प्रभावित भएर फर्कनुहुन्छ,’ उनले भनिन् ।  घरबासमा एक रात बास बसेकी सिएमसीमा अध्ययनरत छात्रा श्रेषा सुवेदीले यहाँको आथित्यताले अपनत्व महसुस हुने बताइन् ।  ‘यहाँको चिसो हावा र रमणीय दृश्यले लोभ्याएको छ । यहाँको अधिकांश खानेकुरा नै अर्गानिक पायौँ । साँच्चै अर्गानिक खाना खान फेरि आउने धोको छ,’ उनले भनिन् । ​​​​घरबास सञ्चालनमा सहज बनाउने उद्देश्यले यहाँ आवश्यक पूर्वाधार पनि थपिँदै गएको छ । पाहुनालाई सञ्चालक समितिका सदस्यले पालैपालो गाउँ तथा वरपरका पर्यटकीय गन्तव्य घुमाउने, परम्परागत नाच देखाउने गर्छन् । गाउँमा पाहुना आउन थालेपछि गाउँ पनि सफा र चिटिक्क बन्दै गएको छ ।  यहाँ आउने पाहुनाले कृषि अवलोकन, प्राकृतिक सौन्दर्यको रूपमा रहेका जङ्गलमा विभिन्न चराचुरुङ्गीको आवाज सुन्न, सुन्दर सफा हावापानीमा रमाउन, चोककोट, गढीमाईसम्म हाइकिङ, चन्द्र झरना, शिवमन्दिर र चियाबारी पनि अवलोकन गर्न सक्छन् । यहाँबाट मनास्लु हिमालको सुन्दर दृश्य देख्न सकिन्छ । पृथ्वी राजमार्ग अन्तर्गत पुरानो बजारका रूपमा रहेको डुम्रे बजारबाट डुम्रे-बेँसीसहर-चामे मोटर मार्गबाट करिब २० किलोमिटर यात्रा गरेपछि घरबासमा पुग्न सकिन्छ ।रासस

असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।  यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतिपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्य वर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । 'भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने सँस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।   धान दिवस विसं २०६१ मङ्सिर २९ गते मन्त्री स्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतिपाती हो । किसान वर्षभरिका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

पानीको बहाव बढेपछि चार पाङ्ग्रे सवारी आवतजावतमा रोक

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चार पाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।  ‘महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,’ उनले भने, ‘शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको हो ।’  यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, रोकिएको निजामती विधेयक पारित गरिँदै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्ने गरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो । आजका लागि निर्धारित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।  सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपति समक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । यस्तै, आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । अपरान्ह १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरू मध्ये १४ वटा मन्त्रालयको विनियोजन शीर्षकहरू माथि सामूहिकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने

काठमाडौं । प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्र सङ्घीय ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिन प्रस्थान गरेपछि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यभार तोकिएको हो ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार सिंहले गर्नेछन् ।  नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको दैनिक प्रशासनिक  जिम्मेवारी सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राजनीतिमा सक्रिय भएको विद्या भण्डारीको घोषणा, एमालेको सदस्यता नवीकरण

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् ।   भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’ उनले आफ्नो कुनै ठूलो महत्वाकांक्षा नरहेको पनि बताइन् ।

सर्बिया पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने युवक काठमाडौंमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका–६ घर भएका २३ वर्षीय सुनिलकुमार सोनारलाई पक्राउ गरिएको छ ।  सुनिलले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट रु १० लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई काठमाडौं महानगरपालिका–१० बाट बिहीबार पक्राउ गरेको हो ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार निजलाई कारवाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।  यसैबीच, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् । तनहुँ बन्दिपुर गाउँपालिका–१ का ४७ वर्षीय विष्णुबहादुर भण्डारी र काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका–४ का ३८ वर्षीय प्रेमबहादुर विकलाई पक्राउ गरिएको हो ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले जिल्ला अदालत काठमाडौंको २०८० मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर  मुद्दामा  रु ११ लाख  जरिवाना र एक महिना कैद सजाय ठहर भई फरार रहेका भण्डारीलाई काठमाडौं महानगरपालिका–३ महाराजगञ्जबाट शुक्रबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका विकलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार भण्डारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ भने विकलाई इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ । साथै चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोल बस्ने मोरङ लेटाङ नगरपालिका–९ घर भएकी ५५ वर्षीया असारी लिम्बुलाई पनि शुक्रबार पक्राउ गरिएको छ ।   

प्रधानमन्त्री ओली स्पेन प्रस्थान, राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिने २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एक नारायण अर्यालले बिदाइ गरे । प्रधानमन्त्रीको बिदाइका लागि विमानस्थलमा उच्च पदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख उपस्थित थिए ।  ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडी-४)’ का लागि राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उनी आज अपरान्ह त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्र सङ्घीय निकायका प्रतिनिधि सहभागी हुने छन् ।  परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकका विकासका चुनौतीबारे आफ्ना धारणा राख्नेछ । दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा सम्मेलन केन्द्रित हुनेछ । स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले  विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयासँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठलगायत छन् ।  प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।