विकासन्युज

पानीको बहाव बढेपछि चार पाङ्ग्रे सवारी आवतजावतमा रोक

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चार पाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।  ‘महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,’ उनले भने, ‘शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको हो ।’  यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, रोकिएको निजामती विधेयक पारित गरिँदै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्ने गरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो । आजका लागि निर्धारित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।  सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपति समक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । यस्तै, आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । अपरान्ह १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरू मध्ये १४ वटा मन्त्रालयको विनियोजन शीर्षकहरू माथि सामूहिकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने

काठमाडौं । प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्र सङ्घीय ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिन प्रस्थान गरेपछि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यभार तोकिएको हो ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार सिंहले गर्नेछन् ।  नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको दैनिक प्रशासनिक  जिम्मेवारी सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राजनीतिमा सक्रिय भएको विद्या भण्डारीको घोषणा, एमालेको सदस्यता नवीकरण

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् ।   भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’ उनले आफ्नो कुनै ठूलो महत्वाकांक्षा नरहेको पनि बताइन् ।

सर्बिया पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने युवक काठमाडौंमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका–६ घर भएका २३ वर्षीय सुनिलकुमार सोनारलाई पक्राउ गरिएको छ ।  सुनिलले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट रु १० लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई काठमाडौं महानगरपालिका–१० बाट बिहीबार पक्राउ गरेको हो ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार निजलाई कारवाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।  यसैबीच, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् । तनहुँ बन्दिपुर गाउँपालिका–१ का ४७ वर्षीय विष्णुबहादुर भण्डारी र काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका–४ का ३८ वर्षीय प्रेमबहादुर विकलाई पक्राउ गरिएको हो ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले जिल्ला अदालत काठमाडौंको २०८० मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर  मुद्दामा  रु ११ लाख  जरिवाना र एक महिना कैद सजाय ठहर भई फरार रहेका भण्डारीलाई काठमाडौं महानगरपालिका–३ महाराजगञ्जबाट शुक्रबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका विकलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार भण्डारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ भने विकलाई इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ । साथै चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोल बस्ने मोरङ लेटाङ नगरपालिका–९ घर भएकी ५५ वर्षीया असारी लिम्बुलाई पनि शुक्रबार पक्राउ गरिएको छ ।   

प्रधानमन्त्री ओली स्पेन प्रस्थान, राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिने २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एक नारायण अर्यालले बिदाइ गरे । प्रधानमन्त्रीको बिदाइका लागि विमानस्थलमा उच्च पदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख उपस्थित थिए ।  ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडी-४)’ का लागि राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उनी आज अपरान्ह त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्र सङ्घीय निकायका प्रतिनिधि सहभागी हुने छन् ।  परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकका विकासका चुनौतीबारे आफ्ना धारणा राख्नेछ । दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा सम्मेलन केन्द्रित हुनेछ । स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले  विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयासँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठलगायत छन् ।  प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

तनहुँको व्यावसायिक अङ्गुर फार्ममा पर्यटक बढ्दै, वाइन उत्पादनका लागि धादिङ पठाइँदै

दमौली । जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुरखेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ । घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अङ्गुरखेती हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् ।  काठमाडौं चन्द्रागिरिका कुमार कार्कीले पाँच वर्षअघि यहाँ जग्गा खरिद गरी व्यावसायिक रूपमा अङ्गुरखेती गरिरहेका छन् । विसं २०७७ मा घिरिङ भिनेयार्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी खेती सुरु गरेकोमा अहिले फार्ममा लटरम्म अङ्गुर फलेका छन् ।  करिब ७० रोपनी क्षेत्रफलमा डिभिको, चार्डोनी, अर्काडिया, सोन्जालगायत २१ प्रजातिका अङ्गुर लगाएको कार्कीले जानकारी दिए । उनका अनुसार जिल्लाको पहिलो अङ्गुरखेती हेर्न दैनिक ५० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।  व्यास नगरपालिका–५ का मोहनकुमार श्रेष्ठले लटरम्म फलेका अङ्गुरले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने बताए । अङ्गुर फार्ममा पसगेका छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अङ्गुरखेती प्रशंसालायक रहेको उल्लेख गरे ।  सञ्चालक कार्कीका अनुसार फार्ममा चार जनाले स्थायी र २० जनाले ज्यालादारीका रूपमा रोजगारी पाएका छन् । स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा ७०० देखि एक हजारसम्ममा खरिद गरी यहाँ ल्याएर रोपिएको उनले जानकारी दिए । अङ्गुरखेतीका लागि हालसम्म एक करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उनले बताए । कार्कीका अनुसार यहाँ उत्पादित अङ्गुर वाइन बनाउनका लागि धादिङ पठाउने गरिएको छ । सात सय ५० मिलिलिटरका बोतलमा विभिन्न तीन प्रकारका वाइन उत्पादन भइरहेको उनले जानकारी दिए ।  वाइन बनाउने कम्पनीले धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि ३०० रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन गर्दै आएको कार्कीले बताए ।  धादिङमा ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेती र वाइन उत्पादन भइरहेको भन्दै त्यहाँ उत्पादित वाइन प्रतिबोतल एक हजार २०० मा बिक्री भइरहेको उनले उल्लेख गरे ।  कार्कीले भने, ‘कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।’  वर्षामा एकपटक अङ्गुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट, बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउनेलगायत कार्य गरिएको उनको भनाइ छ ।  फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायत जातका अङ्गुर छन् । अङ्गुरको बोटमा चैत, वैशाखमा फूल फुल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुन्छ ।  यहाँको हावापानी उपयुक्त रहेकाले व्यावसायिक रूपमा अङ्गुरखेती भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । रासस

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित : आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८२ पारित भएको छ । सभाको शनिबारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।  उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताए । उनले नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् र पाउन नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भिर रहेको बताए । संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार जुटेको पनि जानकारी दिए ।  उनले भने, ‘नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् । र पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरमा संविधान, कानून र सरकार स्पष्ट छ । नागरिकता अत्यन्त संवेदनशील विषय हो । नेपालको नागरिकता पाउनुपर्ने मानिसले नगरिकता पाउनुपर्छ, पाउन नुहने मानिसले पाउनुहुन्न । यसका विषयमा दुविधा हुन सक्दैन । संविधानले गैरआवासीय नेपाली नाथगरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।’ नागरिकताको विषयमा रहेका विवाद र समस्या समाधान गर्नको लागि सरकारले नागरिकता विधेयक संशोधन गरेको हो ।