विकासन्युज

वाह्य ऋण पुँजी निर्माणमा खर्च गरिनेछ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताएका छन् । शनिबार प्रतिनिधि सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वैदेशिक ऋण, अनुदानहरुलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताएका हुन् ।  उनकाअनुसार वाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनुहुँदैन भन्ने पक्षमा सरकार छ ।  उनले भने–‘हामी स्पष्ट हुन जरुरी छ । साधारण खर्चका लागि ऋण लिने होइन । पुँजीगत खर्चका लागि लिनुपर्छ । उत्पादन उत्पादकत्व बढाउन ऋण लिनुपर्छ । यसका निम्ति आएका सुझावहरुप्रति सम्मान गर्न चाहन्छु । सरकारको दृष्टिकोण पनि त्यही नै हो । यसको अर्थ हामी ऋणलाई पुँजी निर्माणको क्षेत्रमा खर्च गछौँ भन्ने नै हो ।’ अर्थमन्त्री पौडेलले ऋण लिएर तिर्ने अवस्था अहिले पनि रही रहेको बताए । विगतको दायित्व धेरै भएकाले अहिले संयमित तवरले नै ऋण लिइएको उनको भनाइ रहेको छ । 

७० हेक्टरमा फैलियो ड्रागन फ्रुट, सुर्खेतका ४५ किसानको रोजगारी र आम्दानीको आधार

वीरेन्द्रनगर । सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका किसान ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा ड्रागन फ्रुटको सम्भावना देखिएपछि ४५ जना किसानले व्यावसायिक खेती सुरु गरेका हुन् । वीरेन्द्रनगर–८ का कृष्ण अधिकारीले चार वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । कोरिया पढ्न गएका अधिकारी पढाइ सकेर नेपाल फर्केपछि काठमाडौंमा कोरियन भाषा पढाउन सुरु गरे पनि उनलाई आफ्नै माटोले तान्यो। कृषि पेसामा केही गर्छु भन्ने योजनासहित उनले ड्रागन फ्रुटको खेती सुरु गरेका थिए । अहिले अधिकारीको आम्दानीको स्रोत ड्रागन फ्रुट बनेको छ । करिब ४० लाख लागत लागेको बताउँदै उनले ड्रागन फ्रुट, कुरिलो, फूल र मौरीपालन गरेको जानकारी दिए । अधिकारीले वीरेन्द्रनगर–११ ग्रागेतालमा २३ कट्ठा जमिन भाडामा लिएर कर्णाली ड्रागन कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिक खेती सुरु गरेका हुन् । उनले २० कट्ठामा ड्रागन र बाँकीमा जग्गामा कुरिलो, फूल र मौरीपालन गर्दै आइरहेको बताए । सुरूवातमा सात सय ५० पोलमा तीन हजार ड्रागनका बिरुवा लगाएको जनाउँदै अधिकारीले फार्ममा हाल नौ सय पोलमा तीन हजार ६०० बेर्ना उत्पादनमूलक बनेका बताए । बिरुवाले एक वर्षमा उत्पादन दिने हुँदा लगानी छिटो उठ्ने उनको भनाइ छ । उनले भारतबाट ‘सियाम रेड’ जातका ड्रागनका बेर्ना ल्याएर खेती सुरु गरेका थिए । वार्षिक एक लाख भाडा तिर्ने उक्त जमिन अहिले अधिकारीको आम्दानीको स्रोत बनेको छ । ड्रागनको उत्पादन जेठदेखि मङ्सिरसम्म हुने गर्दछ । कोपिला आएको ३५ दिनमा फल बजार पठाउन सकिन्छ । यो वर्ष पहिलो सिजनमा एक सय ५० किलो फल उत्पादन भइसकेको अधिकारीले जानकारी दिए । ‘दोस्रो सिजनको फल बजार पठाउन सुरु भइसकेको छ । यस सिजनमा २० क्वीन्टलभन्दा बढी उत्पादन हुने अनुमान छ’, उनले भने । गत वर्ष ६० क्वीन्टल फल बिक्री गरेर रु २२ लाख आम्दानी गरेको अधिकारीले जानकारी दिए । यस वर्ष उत्पादन बढेर एक सय क्वीन्टल पुग्ने अनुमान गरिएको भन्दै करिब ३० लाखको कारोबार हुने अपेक्षा गरिएको उनले उल्लेख गरे । ‘खुद्रा बजारमा प्रतिकिलो चार सय र थोकमा रु तीन सय ५० मा बिक्री हुँदै आएको ड्रागनको माग दिनानुदिन बढ्दो छ । एक पटक लगाएको ड्रागनको बिरुवाले २० वर्षसम्म फल दिन्छ’, उनले भने । ड्रागनसँगै उनले कुरिलो खेती गरेका थिए । चैतदेखि भदौसम्म फल दिने यो वनस्पति एकपटक लगाएपछि १० वर्षसम्म उत्पादन दिन्छ । यस वर्ष मात्रै कुरिलो बिक्री गरेर उनले ६० हजार आम्दानी गरेको बताए । कुरिलो प्र्रतिकलिो ६ सयमा बिक्री हुन्छ । मौरीपालन सुरु गर्न परीक्षणमा तीन घार मौरी राखेको बताउँदै अधिकारीले यस वर्ष मौरीको घार विस्तार गरी ६० वटा पुर्‍याउने योजना रहेको जानकारी दिए । उनले भने, ‘अहिले मौरी परीक्षणका लागि तीन घार मात्र राखेका छौँ। उत्पादन प्रशस्त हुने अपेक्षा छ। यस वर्ष मौरीको घार ६० सम्म पुर्‍याउने तयारीमा छौं ।’ कृषिमा आत्मनिर्भर हुँदै गएको अधिकारीले फार्ममा एक जनालाई स्थायी रोजगारी पनि दिएका छन् । उनलाई मासिक १७ हजार तलब दिने गरेको अधिकारीले बताए । उनका अनुसार ड्रागन र कुरिलोका बिरुवा उत्पादन र बिक्रीबाट वार्षिक रु मात्र एक लाख ५० हजार आम्दानी हुने गरेको छ । अधिकारी जस्तै वीरेन्द्रनगर–१२ की पद्मा रावत ड्रागन फ्रुटको खेतीमा रमाउन थाल्नुभएको पाँच वर्ष भयो। वि.सं. २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फार्म स्थापना गरी श्रीमान् वीरबहादुर बुढा र उहाँले खेती गर्ने योजना बनाउनुभएको थियो । वि.सं. २०७७ चैतमा बिरुवा लिन भारतको गुजरात पुगे । त्यतिबेला कोरोना सङ्क्रमण महामारीका रूपमा फैलिएको थियो । कोरोनाका कारण वीरबहादुरको वि.सं. २०७८ वैशाख १७ गते मृत्यु भएपछि रावतले व्यवसायलाई निरन्तरता दिँदै आएका हुन् । रावतले छ सय ५० पोलमा दुई हजार ६०० बिरुवाबाट सुरु गरेका ड्रागन फ्रुटको खेती अहिले एक हजार ४०० पोलमा पाँच हजार ६०० बिरुवा पुगेका छन् । वार्षिक तीन लाख तिर्नेगरी जग्गा १५ वर्षका लागि सम्झौता गरी भाडामा लिएको उनले जानकारी दिए । ‘यस वर्षको पहिलो सिजनको ड्रागन बजार पठाउन सुरु भएको छ । अहिलेसम्म दुई क्वीटल बिक्री गरिसकेकी छु । एउटा बोटले आठ पटकसम्म उत्पादन दिन्छ । एउटा खम्बामा चार वटाका दरले बिरुवा रोप्ने गरिन्छ । यो फलको मूल्य अहिले केही घटेको छ, पहिला जस्तो अहिले आम्दानी हुँदैन तर आफूलाई घर खर्च र छोराछोरीको पढाइ खर्च पुगेको छ’, उनले भने । वर्षमा छ लाखसम्म आम्दानी हुने गरेको रावतले जानकारी दिए । उनले भने, ‘नयाँ रोपेका बिरुवाले फल दिने समय नभएकाले आम्दानी कम भएको हो । ड्रागनका बिरुवा बिक्री गरेर वार्षिक रु तीन लाख आम्दानी हुन्छ ।’ उनले फार्ममा तरकारी, फूलका बेर्ना लगाउनुका साथै कुखुरा र बाख्रापालन पनि गर्दै आएका छन् । कर्णाली ड्रागन उत्पादन महासङ्घ, कर्णाली प्रदेशका अध्यक्ष महेन्द्र खनालले पछिल्लो समय सुर्खेतका किसान ड्रागन खेतीतर्फ आकर्षित हुन थालेका बताए । उनका अनुसार अहिले सुर्खेतमा ४५ जना किसानले ड्रागन फ्रुटको खेती गर्दै आइरहेका छन् । उनका अनुसार करिब ७० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटको खेती भइरहेको छ । खनालका अनुसार हाल उत्पादन भएका ड्रागन सुर्खेतमा बिक्री हुनुका साथै नेपालगञ्ज र काठमाडौंसम्म पठाइने गरिएको छ । सरकारी तथा निजी क्षेत्रको सहकार्यमा बजार पहुँच, भण्डारण सुविधा र प्रविधिको पहुँच सुनिश्चित गरिएमा ड्रागन फ्रुट खेतीले कर्णाली प्रदेशको कृषि व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने अध्यक्ष खनालले बताए । रासस

ब्राजिलको बेरोजगारी दर विगत १० वर्षयताको सबैभन्दा न्यून

रियो दि जेनेरियो । ब्राजिलमा चालु वर्षको मार्चदेखि मेसम्मको अवधिमा बेरोजगारी दर घट्दै ६.२ प्रतिशतमा पुगेको छ, जुन विगत दश वर्षको सोही अवधिमा सबैभन्दा कम हो भन्ने तथ्य ब्राजिलको भूगोल तथा तथ्याङ्क संस्थान (आईबीजिई) द्वारा सार्वजनिक गरिएको छ । संस्थानका अनुसार, डिसेम्बर–फेब्रुअरीसम्मको अघिल्लो त्रैमासिक अवधिमा बेरोजगारी दर ६.८ प्रतिशत थियो। हालको दर अघिल्लो अवधिको तुलनामा ०.६ प्रतिशत बिन्दुले कमी आएको हो। यस्तै, गत वर्षको यही अवधिमा ७.१ प्रतिशत रहेको दर अहिले ०.९ प्रतिशत बिन्दुले घटेको देखिएको छ । उक्त त्रैमासिक अवधिमा करिब ६८ लाख व्यक्तिहरू बेरोजगार रहेको विवरण छ, जुन अघिल्लो त्रैमासिकको ७५ लाखभन्दा ८.६ प्रतिशतले कम हो। यो घटबढको आधारमा करिब ६ लाख ४४ हजार व्यक्तिहरूले रोजगारी प्राप्त गरेको देखिन्छ। त्यस्तै, अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो संख्या करिब नौ लाख ५५ हजारले घटेको छ, जुन १२.३ प्रतिशतको गिरावट हो। आईबीजिईका विश्लेषक विलियम क्राटोकभिलका अनुसार, ‘बेरोजगारी दर घट्नुको प्रमुख कारण रोजगारी प्राप्त गर्ने व्यक्तिहरूको संख्या उल्लेख्य रूपमा बढ्नु हो। साथै, श्रमशक्तिको अपूर्ण उपयोग पनि घटेको पाइन्छ ।’ उनका अनुसार सामाजिक सुरक्षा प्रणालीमा योगदान पुर्याउने व्यक्तिहरूको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सर्वेक्षणको सन्दर्भ सप्ताहमा १४ वर्ष वा सोभन्दा माथिका ६ करोड ८३ लाख नागरिकहरू कुनै न कुनै प्रकारको रोजगारीमा संलग्न थिए । ‘यसले श्रम बजारको सुदृढीकरणलाई संकेत गर्दछ। औपचारिक रोजगारीमा आबद्ध तथा स्वरोजगारीमा रहेका धेरै व्यक्तिहरू नियमानुसार दर्ता भएका छन्, जसको फलस्वरूप पेन्सन प्रणालीमा योगदान पुर्याउने व्यक्तिको संख्या बढेको देखिन्छ,’ विश्लेषक क्राटोकभिलले थप जानकारी दिए । रासस

बजेटमा रहेका करसम्बन्धी केही प्रावधानहरू उद्योग, व्यवसाय र रोजगारीविरुद्ध छन् : सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा रहेका केही करसम्बन्धी प्रावधानहरूले उद्योग, व्यवसाय र रोजगारीमा प्रतिकूल असर पार्ने बताएका छन् । शनिबार प्रतिनिधि सभामा बोल्दै उनले वायर रडमा कर ५ प्रतिशतबाट १० प्रतिशत पुर्याइएकोप्रति आपत्ति जनाए । उनले त्यसले औद्योगिक क्षेत्र कमजोर बनाउने र रोजगारी घटाउने जोखिम रहेको बताए । सांसद महतले सुनलाई विलासी वस्तुको रूपमा नहेरी सुनचाँदीका गहना–गरगहनामा लगाइएको विलासी कर खारेज गर्न माग गरे । साथै सुन आयातका लागि रहेको कोटा प्रणाली हटाएर खुला आयातको व्यवस्था गर्नुपर्ने सुझाव समेत उनले दिए । त्यस्तै आयुर्वेदिक औषधिमा भ्याट लगाउने प्रस्ताव पुनर्विचार गर्नुपर्ने उल्लेख गर्दै महतले भ्याटको दायरा विस्तार गर्दा नस्वास्थ्यसँग जोडिएका क्षेत्रप्रति सावधानी अपनाउनुपर्ने बताए । जलविद्युत् आयोजनाजस्ता पूर्वाधार विकासका लागि आयात हुने सामग्रीमा मात्र १ प्रतिशत कर लगाइएको भए पनि त्यसबाट पर्याप्त राजस्व उठ्न नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

फ्रान्समा सार्वजनिक स्थानमा धूमपान प्रतिबन्ध

पेरिस । फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय (बस स्टप) जस्ता सार्वजनिक स्थानहरूमा धूमपान  पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ । शनिबार सरकारी गजेठमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पोहोर पोखरी (स्विमिङ पूल) तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ । स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूमपान  (प्यासिभ स्मोकिङ) बाट जोगाउन यस्तो निर्णय आवश्यक भएको बताए । उनले भने, ‘जहाँ बालबालिका हुन्छन्, त्यहाँबाट चुरोट हट्नुपर्छ । बालबालिकालाई शुद्ध हावा सास फेर्ने अधिकार छ ।’ यो नियम इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) मा लागू हुने स्पष्ट गरिएको छैन भने क्याफेहरूको बाहिरी टेरेसमा भने धूम्रपान गर्न पाइनेछ । नियम उल्लंघन गर्ने व्यक्तिलाई १३५ युरो (करिब १५८ अमेरिकी डलर) जरिवाना तिर्नुपर्नेछ । फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूमपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ । हालै गरिएको जनमत सर्वेक्षणअनुसार ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूमपान  प्रतिबन्धलाई समर्थन गरेका छन् । रासस

गुल्मीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृतक ४५ वर्षीय वसन्त घिमिरे स्थानीय बासिन्दा हुन् । उनले गाउँकै बिग्रिएको ट्रान्सफर्मर मर्मत गर्ने प्रयास गर्दा करेन्ट लागेको वडा अध्यक्ष लिला खनालले जानकारी दिए । खनालका अनुसार एक सातादेखि ट्रान्सफर्मरमा समस्या आएपछि नेपाल विद्युत प्राधिकरणलाई पटक–पटक मर्मतका लागि अनुरोध गरिए पनि समयमा मर्मत नभएपछि स्थानीयले आफैं मर्मत प्रयास गरेका थिए । त्यसै क्रममा दुर्घटना भएको बताइएको छ । घिमिरे विद्युत मर्मत तथा उपकरण बिक्री–वितरणको काम गर्दै आएका व्यक्ति थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुर्कोटबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी स्रोतले जनाएको छ ।

५२ करोडमा दरवाङ–मुना सडक कालोपत्र हुँदै, म्याग्दीको सबैभन्दा ठुलो आयोजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरान्नतिसम्बन्धी आयोजना कार्यान्वयनमा आएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक ५२ करोड बढीको लागतमा कालोपत्र गर्न लागिएको हो । गण्डकी प्रदेशसभाका सांसद रेशमबहादुर जुग्जालीले पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनी छनोट गरी ठेक्का सम्झौता गरेपछि सडक स्तरान्नतिसम्बन्धी आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए । 'मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो', उनले भने, 'आयोजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र झिनडाडा–मुना (चार किलोमिटर) अस्फाल्ट प्रविधिको कालोपत्रसहित ढलान हुुनेछ ।' गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका आयोजनामध्ये यो सबैभन्दा ठूलो र बढी बजेटको रहेको जुग्जालीले जानकारी दिए । जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले प्रशासनिक खर्चबाहेक रु ६७ करोड लागत अनुमान गरिएको आयोजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सिम्रन/सक्षम जेभीले सबैभन्दा कम ५२ करोड ८० लाख ५३ हजार बोलकबोल गरेपछि यही असार ११ गते ठेक्का सम्झौता भएको जानकारी दिए । 'सङ्घीय र प्रदेश सरकारको (समपूरक) ५०/५० प्रतिशत लागत साझेदारी रहने यस आयोजनाको ठेक्का अवधि २७ महिनाको छ', उनले भने, 'सङ्घीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २४ बजेट विनियोजन गरेको यस आयोजनाका लागि आगामी आवका लागि रु २३ करोड २२ लाख विनियोजन भएको छ ।' केहीदिनमा कार्यक्षेत्रमा परिचालित भएर सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थाल्ने ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् । उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किमी दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष रु १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । उक्त आयोजनाको निर्माण कम्पनी रामसागर/बिएस धवलागिरि जेभीले करिब ५५ प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेका बेला विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक आयोजनामा समावेश गराउने निर्णय गराएका थिए । 'बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किमी सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ', जुग्जालीले भने, 'अबको तीन वर्षभित्र दरवाङबाट मुनासम्मको सडक पक्की बनाउने छौँ ।' मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको केही दिनअघि मार्ग खुलेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । सङ्घीय सरकारले मरेनीबाट जलजला ढोरपाटन जोड्ने सडकका लागि चालु आवमा विनियोजन गरेको ६ करोड ५० लाख बजेटले आयोजनामार्फत सडकको मार्ग खोल्न ठेक्का लगाइएको थियो । रासस

एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने सरकारको लक्ष्य : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६५ देखि ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी योजना अघि बढाउने बताएका छन् । शनिबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले हालै सार्वजनिक एसईईको नतिजालाई लिएर केही व्यक्तिले विद्यार्थीको मेहनत र क्षमतालाई अपमान गर्ने किसिमले टिप्पणी गरेकोप्रति आपत्ति जनाए । 'विद्यार्थीको मेहनतको अपमान गर्ने कुरा दुःखद छ,' उनले भने । यस वर्ष एसईईको नतिजा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएर ६१.८१ प्रतिशत पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसलाई सुखद उपलब्धि भनेका छन् । '४८ प्रतिशतभन्दा कम नतिजाबाट ६१.८१ प्रतिशत पुर्याउन मेहनत गर्ने विद्यार्थी, शिक्षक र अभिभावकलाई धन्यवाद दिन चाहन्छु,' उनले भने । प्रधानमन्त्रीले आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरू फेल नहुने जस्तो शैक्षिक वातावरण बनाउनेतर्फ सरकारले ध्यान दिने स्पष्ट पारे । 'विद्यार्थीले मेहनत गरेर आफ्नो भविष्य बनाउने क्षमता राख्छन्, सरकारले त्यस्तो वातावरण बनाउँछ,' उनले भने ।