बिर्तामोडमा एसएमएल इसुजु ग्राहक भेटघाट सम्पन्न
काठमाडौं । नेपालका लागि एसएमएल इसुजु गाडीहरूको एकमात्र वितरक लक्ष्मी कमर्शियल भेइकल्सले झापाको बिर्तामोडमा ‘ग्राहक भेटघाट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका १५० भन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो । कार्यक्रम लक्ष्मी ग्रुप र एसएमएल इसुजुको प्रस्तुतीकरणबाट सुरु भएको थियो । त्यसपछि लक्ष्मी कमर्शियल भेइकल्सका बस इन्चार्ज रामहरि थपलियाले एसएमएल इसुजु गाडीहरूको प्राविधिक विशेषता र फाइदाहरूबारे प्रकाश पारे । बिक्री तथा बिक्रीपछिको सेवा विभागका प्रमुख सञ्जय खड्काले सेवा विस्तार र ग्राहक सन्तुष्टिमाथि कम्पनीले जोड दिएको उल्लेख गर्दै ग्राहकहरूको प्रतिक्रिया सधैं प्राथमिकतामा राखिने र आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गरिने प्रतिवद्धता जनाए । ग्राहक सन्तुष्टि अभिवृद्धि र दीर्घकालीन साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले झापा क्षेत्रमै एसएमएल इसुजु ब्रान्डको छवि अझ बलियो बनाएको कम्पनीले जनाएको छ । आगामी दिनहरूमा पनि एसएमएल इसुजु गाडीहरूको गुणस्तर, सेवा र बिक्रीपछिको सेवाबारे जानकारी दिन यस्ता ग्राहक केन्द्रित कार्यक्रमहरू देशभर नै आयोजना गर्ने योजनामा कम्पनी रहेको जनाएको छ। लक्ष्मी कमर्शियल भेइकल्सले भारतमा जापानी प्रविधिको प्रयोग गरी निर्माण गरिएका एसएमएल इसुजु बस तथा ट्रकहरूको बिक्री, सेवा तथा स्पेयर पाट्र्स एकै छानामुनि उपलब्ध गराउँदै आएको छ । नेपालको भू–आकृति र बजारमा भरपर्दो र प्रभावकारी मानिने एसएमएल इसुजु गाडीहरूले लामो समयदेखि लोकप्रियता कायम राख्दै आएका छन् । विशेष गरी स्कुल बस सेग्मेन्टमा यो ब्रान्डले नेपालमा लामो समयदेखि अग्रणी स्थान ओगट्दै आएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरू अनुमोदन गरेको छ । साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसमेत टुंग्याइएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्चलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जानकारी दिएको छ । सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले आगामी आर्थिक वर्षको साधारणसभा समयमा नै गर्ने प्रतिबद्धता व्यक्त गर्दै सेयरधनीलाई दीर्घकालीन रुपमा उचित प्रतिफल दिन कम्पनी प्रतिबद्ध रहेको बताए । उनले सभामा उपस्थित भई सहयोग गर्ने सबै सेयरधनीलाई धन्यवाद पनि व्यक्त गरे। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत जेठ २८ गते एक दिन बुक क्लोज गरेको थियो। यस अनुसार जेठ २७ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले सभाबाट पारित भएको ८ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।
बजेट सन्तुलित छ, अब कार्यान्वयनमा जोड दिइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसदहरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताएका छन् । 'हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ । त्यसकारण बजेटमा सबै सांसद सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ । माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ,' प्रधानमन्त्री ओलीले भने, 'हामीलाई लगानीको आवश्यकता छ, यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनु परेको छ । लगानीको आवश्यकता, विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ ।' प्रधानमन्त्री ओलीले संसद् जनताको बलिदान, सङ्घर्ष र सपनालाई साकार पार्ने थलो भएकाले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्काफुल्का टिप्पणी नगर्न आग्रह गरे । उनले विद्यमान व्यवस्थालाई अझ प्रभावकारी बनाउने गरी संविधानको संशोधनमा सरकार लाग्ने भएकाले संविधान र प्रणालीको अपमान हुने खालका कुरा नगर्न आग्रह गरे । 'यो प्रणाली र संविधानको रक्षा गरौँ । यसको कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध, नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्ने सवालमा सरकार अघि बढेको छ । यसमा सबै ढुक्क भए हुन्छ', प्रधानमन्त्री ओलीले भने, 'म ममाथि गरिएको गाली र अपमान सहन्छु तर सहिद, जनताको बदिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन्न । संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन ।' प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका योजना बैङ्कको व्यवस्था गरी तीन करोडभन्दा कमका आयोजना नराखिएको नीति तर्जुमा गरिएको जनाउँदै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनका लागि जोड दिइने बताए । राज्यका सबै निकायलाई विकास निर्माण र सुशासनका लागि प्रभावकारी रुपमा काम गरेर जनअपेक्षाअनुरुप सम्मुनतिको मार्गमा अघि बढाउन सरकार प्रयासरत रहेको स्पष्ट गर्दै सरकारलाई कसैका विरुद्ध कुनै खेल खेल्ने फुर्सद नभएकाले खेल खेल्यो भन्ने खालका प्रचार नगर्न आग्रह गरे ।
अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान
काठमाडौं । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि पश्चिमी देशहरूले रुसमाथि विभिन्न किसिमका प्रतिबन्धहरू लगाए । विश्वमा सबैभन्दा बढी प्रतिबन्ध रुसमाथि नै छन् । तर यस्ता कडा प्रतिबन्धका बाबजुद पनि यसको अर्थतन्त्र अझै बलियो बनेको छ । सरकारी तथ्यांकअनुसार २०२४ मा रुसको अर्थतन्त्र ४.३ प्रतिशतले बढेको छ, जुन जी-७ समूहका सबै देशहरूभन्दा धेरै हो । जी-७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका समावेश छन् । गत वर्ष बेलायतको अर्थतन्त्र १.१ प्रतिशत र अमेरिकाको अर्थतन्त्र २.८ प्रतिशतले मात्र वृद्धि भएको थियो । प्रश्न उठ्छ- पश्चिमी प्रतिबन्धहरूका बाबजुद रुसको अर्थतन्त्र कसरी चाँडो बढ्यो ? रुसले युरोपतर्फ जाने तेलको आपूर्ति चीन र भारततर्फ मोडिदिएको छ । भारत र चीन दुबैले ठूलो परिमाणमा रुसबाट तेल आयात गरिरहेका छन् । पछिल्ला वर्षहरूमा रुस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । साथै रुसको मुद्रा ‘रुबल’ यस वर्ष विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रामध्ये एक बनेको छ । बैंक अफ अमेरिकाका अनुसार यसको मूल्यमा ४० प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । तर बीबीसीको एउटा रिपोर्टअनुसार यस वर्ष रुसका लागि अवस्था त्यति राम्रो छैन । देशभित्र महँगी लगातार बढ्दो क्रममा छ । रुसमा महँगी दर ९.९ प्रतिशत पुगेको छ । साथै ब्याजदर बढेर २० प्रतिशतसम्म पुगेको छ । कम्पनीहरूले आवश्यक कर्मचारी पाउन सकेका छैनन् । रुसका वित्तमन्त्रीले चेतावनी दिएका छन् कि देश ओभरहीटिङ (अत्यधिक वृद्धि) पछि मन्दीको नजिक पुगेको छ । पश्चिमी प्रतिबन्धहरूले आयातको मूल्य बढाएको छ भने श्रमिकको अभावका कारण मजदुरी पनि महँगो भएको छ । सरकारी तथ्यांकअनुसार २०२४ को अन्त्यसम्म देशमा झण्डै २६ लाख श्रमिकको कमी थियो । यसको मुख्य कारण ठूलो संख्यामा मानिसहरू युक्रेनसँगको युद्धमा पठाइएका छन् वा युद्धबाट जोगिन विदेश भागेका छन् । केन्द्रीय बैंकले बढ्दो महँगीलाई नियन्त्रण गर्न यस वर्ष ब्याजदर रेकर्ड स्तरसम्म बढाएको छ । तर यसले कम्पनीहरूले लगानीका लागि आवश्यक पुँजी जुटाउन झन् महँगो बनाएको छ । प्रतिबन्ध र कमजोर मूल्यका कारण रुसको तेल र ग्यासबाट हुने आम्दानीमा गिरावट आएको छ । सरकारी तथ्यांकअनुसार मे महिनामा यो गत वर्षको तुलनामा ३५ प्रतिशत कम भएको छ ।
आएन काठमाडौं महानरको बजेट, बजेट होलिडेको आशंका
काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐनको दफा ७४ अनुसार प्रत्येक वर्षको असार १० गतेभित्र सबै स्थानीय तहले राजस्व र व्ययको अनुमान सम्बन्धित गाँउ वा नगर सभामा पेस गर्नु पर्दछ । तर देशकै पहिलो र ठूलो महानगर काठमाडौं महानगरपालिकाले भने ऐनको उक्त डेडलाइन पुरा गर्न नसक्ने भएको छ । गत वर्षको पुषदेखि कार्यपालिका बैठक बस्न नसक्दा महानगर आय व्ययको अनुमान कानुनले निर्दिष्ट गरेको समयमा नगर सभामा प्रस्तुत गर्नबाट चुकेको हो । करिब २५ अर्ब रुपैयाँ वार्षिक बजेट रहेको महानगर पछिल्लो समय राजनीतिक खिचातानीको केन्द्र बन्दै जाँदा आगामी आर्थिक वर्षको बजेट अनिश्चितजस्तै भएको बुझ्न सकिन्छ । नगर प्रमुख बालेन्द्र शाहले उपप्रमुख र वडाअध्यक्षहरूलाई विश्वासमा लिन नसक्दा राजधानीको महानगर नै बजेटविहीन बन्ने आशंका बढेको छ । काठमाडौं टावरको नक्सा अनुमति विषयमा मेयर शाहसँग विवाद भएपछि गत वर्ष पुष ८ गते महानगरका प्रशासकीय प्रमुख सरोज गुरागाईंलाई महानगरमा हाजिर गर्नबाट रोकिएको थियो । गुरागाईं चैत्र २१ गते महानगरमा हाजिर भएका थिए । मेयर शाहले गुरागाईंसँग अनावश्यक इगो लिँदा महानगर बजेटविहीन बन्ने जोखिम बढेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।
ललितपुर महानगरको सात अर्ब ४६ करोडको बजेट सार्वजनिक, आत्मनिर्भर अर्थतन्त्र र युवा रोजगारीमा जोड
ललितपुर । ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार बजेट नगरसभामा प्रस्तुत गरेको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरिन् । चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पूँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार विनियोजन गरिएको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यकाअनुसार, बहुवर्षीय योजना, अधुरा आयोजनाको भुक्तानी र पूर्वाधार निर्माणका लागि आगमी आर्थिक वर्षमा १५ प्रतिशतले बजेट वृद्धि गरेको हो । पूर्वाधार विकासका लागि १५ करोड रुपैयाँ थप गरी ४५ करोड ६२ लाख विनियोजन गरिएको छ । वडास्तरीय र अन्य कार्यक्रम भने चालु वर्षकै हाराहारीमा राखिएको छ । महानगरले बजेट कार्यान्वयनको लागि संघीय सरकारबाट १ अर्ब ३२ करोड, प्रदेश सरकारबाट २२ करोड ९२ लाख र अन्तर सरकारी स्रोतबाट ८० करोड ६५ लाख प्राप्त गर्ने अनुमान गरेको छ । आन्तरिक स्रोतबाट ३ अर्ब ५५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। बाँकी १ अर्ब ५४ करोड रुपैयाँ मौज्दातबाट व्यहोर्नेछ । राजस्व अभिवृद्धिका लागि कर सचेतना कार्यक्रम निरन्तरतासहित नयाँ वैकल्पिक रणनीति अवलम्बन गरिनेछ । भवन अभिलेखीकरण लगायत नक्सा प्रशासन व्यवस्थित गर्दै १ अर्बभन्दा बढी आन्तरिक राजस्व संकलनको लक्ष्य लिएको छ । बजेटले समृद्धि, सुशासन, सम्पदा संरक्षण, दिगो पूर्वाधार, हरियाली प्रवद्र्धन, आत्मनिर्भर अर्थतन्त्र, शिक्षा, स्वच्छ खानेपानी, स्वास्थ्य, युवा रोजगारजस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ ।
इरानबाट दोहोरो खतरा समाप्त भएको इजरायलको दावी, युद्धविराममा सहमति
काठमाडौं । इजरायल सरकारले घोषणा गरेको छ कि उसले इरानमाथिको पछिल्लो सैन्य अपरेशनबाट आफ्ना प्रमुख उद्देश्यहरू प्राप्त गरिसकेको छ र त्यसपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको युद्धविराममा सहमति जनाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घन भएको खण्डमा कडा जवाफ दिनेछ । हाम्रो अपरेशनले इरानबाट आउने परमाणु हतियार र ब्यालिस्टिक मिसाइलको दोहोरो खतरा समाप्त पारेको छ ।’ इजरायली सेनाले ‘अपरेशन राइजिङ लायन’ नाम दिइएको कारबाहीअन्तर्गत इरानी सैन्य नेतृत्वमाथि ठूलो क्षति पुर्याएको, दर्जनौं सैन्य संरचनाहरू ध्वस्त पारेको र एक वरिष्ठ परमाणु वैज्ञानिकलाई समेत मारिएको जनाएको छ । इजरायली सरकारका अनुसार यस अपरेशनपछि देशले ऐतिहासिक सफलता हात पारेको छ र आफूलाई विश्वका शक्तिशाली राष्ट्रहरूको पहिलो पंक्तिमा राखेको छ । नेतन्याहूको कार्यालयले एक्समार्फत जनाउँदै भनेको छ, ‘प्रधानमन्त्री नेतन्याहूले रक्षा मन्त्री, आइडीएफ प्रमुख र मोसाद निर्देशकसँग सोमबार राति सुरक्षा क्याबिनेट बैठक गरेका थिए। यस बैठकमा अपरेशनका सबै उद्देश्य सफलतापूर्वक पूरा भएको प्रतिवेदन पेस गरिएको छ ।’ इजरायलले यस अवसरमा अमेरिकी सरकार र पूर्व राष्ट्रपति ट्रम्पलाई इरानी परमाणु खतरा अन्त्य गर्ने कार्यमा सघाएकोमा धन्यवाद पनि दिएको छ । इरान र इजरायलबीचको शत्रुता नयाँ होइन । विगत केही दशकदेखि इजरायलले इरानको परमाणु कार्यक्रमलाई आफ्नो अस्तित्वका लागि ठूलो खतरा मान्दै आएको छ । इरान भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । हालैका दिनहरूमा इजरायलले इरानका विभिन्न सैन्य र परमाणु अनुसन्धान केन्द्रहरूमा लक्षित आक्रमणहरू गरिरहेको छ । यसै क्रममा ‘अपरेशन राइजिङ लायन’ सञ्चालन गरी इजरायलले इरानको सामरिक क्षमतामा गम्भीर क्षति पुर्याएको हो । युद्धविराम पछि पनि दुबै पक्षका समर्थक र प्रतिद्वन्द्वी मुलुकहरू यस क्षेत्रमा स्थायित्व कायम रहन्छ कि रहने छैन भन्ने विषयमा सतर्कताका साथ निगरानी गरिरहेका छन् । हवाई आक्रमणमार्फत ‘शान्ति’ ल्याउने अजीव समय
विराटनगर महानगरले सार्वजनिक गर्यो ४ अर्बको बजेट
मोरङ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । मंगलबार आयोजित नगरसभाको १६औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेका हुन् । बजेटको स्रोतमा सङ्घीय सरकार वित्तीय समानीकरण अनुदान ३४ करोड ३४ लाख रुपैयाँ, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान तीन करोड ६२ लाख ३० हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट प्राप्त हुने राजस्वमध्ये मूल्य अभिवृद्धि कर १५ करोड ३९ लाख रुपैयाँ, अन्तःशुल्क पाँच करोड, १३ लाख रुपैयाँ, मनोरञ्जन तथा विज्ञापन कर एक करोड रुपैयाँ, सावारी साधन कर तीन करोड आठ लाख रुपैयाँ, घरजग्गा रजिस्ट्रेशन ९४ करोड ६० लाख तीन हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । यसैगरी आन्तरीक राजस्वतर्फ एक अर्ब ४० करोड रुपैयाँ, सङ्घीय सरकार सशर्त र समपुरक अनुदान ८३ करोड ३४ लाख रुपैयाँ, प्रदेश सरकार ससर्त अनुदान चार करोड २३ लाख ६७ हजार रुपैयाँ, सडक बोर्ड नेपाल एक करोड ५० लाख रुपैयाँ, अन्य सङ्घसंस्था १६ लाख रुपैयाँ, नगद मौज्जात १४ करोड रुपैयाँ गरी चार अर्ब ४० लाख रुपैयाँको अनुमान छ । साथै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख रुपैयाँ, ऋणको साँवा ब्याज भुक्तानीका लागि पाँच करोड रुपैयाँ, चालु आर्थिक वर्षको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरूका लागि आठ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ समपूरक योजनाका लागि छ करोड २० लाख रुपैयाँ, वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरी आएका योजनाका लागि ७० करोड रुपैयाँ, नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड रुपैयाँ, फोहोर पानी प्रशोधन केन्द्रका लागि दुई करोड ६० लाख रुपैयाँ, विद्युतीकरण कार्यक्रमका लागि दुई करोड रुपैयाँ, भवन संहिता तथा निर्माण इजाजतका लागि एक करोड ६५ लाख रुपैयाँ, सडक पूर्वाधार तथा बस्ती विकासका लागि १० करोड २७ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको छ । सडक बोर्डबाट सञ्चालन हुने योजनाका लागि एक करोड ५० लाख रुपैयाँ साथै नगरस्तरीय योजनातर्फ ६४ करोड ६१ लाख रुपैयाँ एक हजार गरी पूर्वाधार विकासतर्फ कुल एक अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ लगायत अन्य खर्चमा चार अर्ब ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले ‘छोरी बचाउ, छोरी पढाउ’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गर्भवती, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स तथा विराटनगरबासीका लागि प्रदान गर्र्दै आएको शववाहन सेवालाई निरन्तरता दिएको छ । ‘एक घर, एक रोजगारी’ भन्ने मूल नाराका साथ लक्षित वर्गका लागि विविध क्षेत्रमा निःशुल्क प्रशिक्षण तथा तयारी कक्षा सञ्चालन गरी रोजगारीको वातावरण सिर्जना गर्ने, नवप्रवर्तनमा आधारित उद्योगको स्थापना गर्न महानगरबासीको प्रोत्साहित गर्नुका साथै बिउपुँजीको आवश्यक प्रबन्ध गर्ने, महानगर रोजगार मेलालाई निरन्तरता दिई थप रोजगारी सिर्जना गर्ने, ऐतिहासिक विराटराजाको दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगिने कार्यक्रमलाई निरन्तरता दिइएको छ । महानगरभित्र सञ्चालित उज्यालो विराटनगर अभियानलाई निरन्तरता दिएको छ भने सडक बत्तीको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा भौतिक सामग्रीको व्यवस्थापन गर्ने नीति कार्यक्रम तथा बजेटमा उल्लेख छ ‘कर करले हैन, रहरले तिरौँ’ भन्ने नाराका साथ करदाता शिक्षा अभियान सञ्चालन गरी आन्तरिक आय वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।