विकासन्युज

आईएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालले पायो पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग

काठमाडौं । आईएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधबार काठमाडाैंमा आयोजित कार्यक्रममा उद्योगको उद्घाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए । मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिने उल्लेख गरे । सो समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ उद्योग स्थापना गरेको बताए । यसले  देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्र तर्फको मार्ग प्रशस्त गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे। स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको उनको भनाइ छ । आइएमई ग्रुप अन्तर्गत  करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका- ६ मा अवस्थित छ ।  यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन् । उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइबर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ ।  यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन् । यी बोर्डहरू लचकदार, अग्नि प्रतिरोधी, घामपानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन् ।  फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटेशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ । यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण समेत गर्न सकिन्छ, जुन १०-१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ।   प्राकृतिक प्रकोप जस्तै, भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने छन् । प्लास्टर वा रङ्गको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुनेछ । यस उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ। हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन् । उनीहरू प्रोसेसिङदेखि प्याकिङसम्मका काममा संलग्न छन् ।  एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालिले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ ।

लेबनानको पुनर्निर्माणका लागि विश्व बैंकको २५ करोड डलर सहयोग

काठमाडौं । विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको विनाशकारी युद्धपछि लेबनानको पुनर्निर्माण र पुनर्प्राप्तिमा सहयोग गर्न २५ करोड डलरको परियोजनालाई स्वीकृति दिएको छ । बैंकले यसअघि पुनर्निर्माण र पुनर्प्राप्तिको लागत करिब ११ अर्ब डलर खर्च हुने अनुमान गरेको थियो । 'विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले हिजो लेबनानलाई क्षतिग्रस्त महत्त्वपूर्ण सार्वजनिक पूर्वाधार र लाइफलाइन सेवाहरूको सबैभन्दा जरुरी मर्मत र पुनर्निर्माण तथा द्वन्द्व प्रभावित क्षेत्रहरूमा भग्नावेशषको दिगो व्यवस्थापनलाई सहयोग गर्न २५ करोड अमेरिकी डलरको आर्थिक सहयोग स्वीकृत गरेको छ', बैंकले एक विज्ञप्तिमा भन्यो । विश्व बैंकको मध्यपूर्व विभागका डिभिजन निर्देशक जिन–क्रिस्टोफ कार्रेटले भने, 'लेबनानको ठूलो पुनर्निर्माण आवश्यकतालाई ध्यानमा राख्दै परियोजनालाई विश्व बैंकबाट प्रारम्भिक २५ करोड डलर योगदानका साथ एक अर्ब डलरको स्केलेबल फ्रेमवर्कको रूपमा संरचित गरिएको छ ।' लेबनानका प्रधानमन्त्री नवाफ सलामले यस निर्णयलाई स्वागत गर्दै यस परियोजनालाई ‘युद्ध प्रभावित क्षेत्रहरूमा महत्त्वपूर्ण पूर्वाधार र आवश्यक सेवाहरूमा भएको क्षतिको जवाफ दिएर पुनर्निर्माणको महत्त्वपूर्ण कदम’ भनेको छ । 'यो सहयोगले राज्यको नेतृत्वमा रहेको कार्यान्वयन ढाँचाभित्र पुनर्प्राप्ति प्रयासहरूलाई बलियो बनाउँछ र धेरै आवश्यक अतिरिक्त वित्तपोषणको लाभ उठाउँछ', उनले भने । लेबनानी समूह हिजबुल्लाह र इजरायलबीच सेप्टेम्बरमा सुरु भएको पूर्ण युद्धसहित एक वर्षभन्दा बढीको शत्रुता नोभेम्बरको अन्त्यमा युद्धविराम सम्झौतामा समाप्त भएको थियो । द्वन्द्वले लेबनानभर व्यापक विनाश गर्‍यो । विशेष गरी देशको दक्षिण र पूर्वमा हिजबुल्लाहको गढ र बेरुतको दक्षिणी उपनगरहरूमा ठूलो विनाश ल्यायो र सन् २०१९ मा सुरु भएको आर्थिक सङ्कटले गर्दा आर्थिक सङ्कटलाई अझ बढाएको छ । पुनर्निर्माण लेबनानको सरकारले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक हो । बेरुतले युद्धपछिको पुनर्प्राप्तिको वित्तपोषणका लागि विदेशी सहायता खोजिरहेको छ ।  

नेपाल नागरिकता विधेयक असार १४ गतेको पारित हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक आगामी असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागरिकता विधेयकलाई अनावश्यक रूपमा अड्काइराख्न नहुनेमा जोड दिँदै, सरकार सबै विषयमा छलफल गर्न तयार रहेको बताएका हुन् । गृहमन्त्री लेखकले समितिले छोटो समयमा विधेयकमाथि प्रभावकारी छलफल गरी टुंगोमा पुर्‍याएको जानकारी दिँदै असार १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने प्रक्रिया अघि बढेको स्पष्ट पारे । उनले भने, 'छिटो छलफल गरेर यसलाई टुंग्याऔँ । सरकार कन्टेन्टमा छलफल गर्न तयार छ। नागरिकताको विषयलाई अब ढिला नगरी टुंग्याउनुपर्छ ।' बैठकमा नेपाल प्रहरी सम्बन्धी कानून संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलसमेत प्रारम्भ भएको थियो । गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी विधेयकलाई पनि सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै, संभव भए असार महिनाभित्रै समितिबाट पारित गरी प्रतिनिधि सभामा पेस गर्ने वातावरण बनाउन आग्रह गरे ।

दुनियाँकै ठूलो अर्थतन्त्र संकटमा ? अमेरिकामा मन्दीको खतरा फेरि बलियो

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका अहिले पनि मन्दीबाट खतरामुक्त छैन । देशका प्रमुख आर्थिक सूचकांकहरूले अझै पनि मन्दीको संकेत दिइरहेका छन् ।  लिडिङ इकोनोमिक इन्डेक्स (एलईआई) मा मे महिनामा लगातार छैटौं महिनासम्म गिरावट आएको छ । पछिल्ला ३९ महिनामध्ये ३७ पटक यसमा गिरावट आएको हो, जुन अमेरिकी इतिहासकै सबैभन्दा लामो गिरावटहरूमध्ये एक हो ।  पछिल्ला ६ महिनामा यसमा वार्षिक ५ प्रतिशतको दरले गिरावट आएको छ, जसले देखाउँछ कि अमेरिकामा मन्दीको खतरा अझै कायम छ । एलईआई आफ्नो उच्चतम बिन्दुबाट १६ प्रतिशतले घटिसकेको छ र हाल यो नौ वर्षको न्यूनतम स्तरमा पुगेको छ । सन् १९६० पछिको इतिहास हेर्दा हरेक पटक मन्दी सुरु हुनु अघि एलआ मा लामो समयसम्म गिरावट आएको देखिन्छ । त्यसैले अब अमेरिकी अर्थतन्त्र मन्दीतर्फ जाँदैछ भन्ने आशंका बलियो हुँदै गएको छ । यदि अमेरिका मन्दीमा फस्यो भने त्यसको असर सम्पूर्ण विश्वमा पर्नेछ । प्राविधिक रूपमा भने लगातार दुई त्रैमासिक अवधिमा जीडीपी घटेमा त्यसलाई मन्दी भनिन्छ । यहीबीच अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले निकट भविष्यमै ब्याजदरमा कटौती हुने सम्भावना नरहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी अहिले नीति परिवर्तनको चरणमा छौं र यसको अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने भन्न अझै गाह्रो छ । हामी अहिले प्रतिक्षामा छौं ।’ ट्रम्पको ट्यारिफ नीतिले अर्थतन्त्रमा केही असर गर्नेछ, तर त्यो कति गम्भीर असर पार्छ भन्ने हेर्न बाँकी नै छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर घटाउन दबाब दिइरहेका छन् र फेडका केही अधिकारीहरूले पनि उनको मागलाई समर्थन गरेका छन् । जुकरबर्गको नयाँ खेल : एआई दुनियाँमा अग्रता लिन अरबौं खर्च गर्न तयार चीनको ‘डलरमुक्त अभियान’ : विश्व बजारमा छाउने तयारी गर्दै युआन

अरूको नाममा परीक्षा दिँदै गर्दा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंं महानगरपालिका–१४ स्थित रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षामा एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला, चन्दननाथ नगरपालिका–८ घर भइ हाल काठमाडौं महानगरपालिका–४ धुम्वाराही बस्ने २६ वर्षीय केशव रोकाया रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, 'उक्त क्याम्पसमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएको र निजलाई आवश्यक अनुसन्धान तथा कारबाही गर्न जन प्रशासन क्याम्पसको प्राप्त पत्रानुसार पक्राउ गरिएको हो ।' निज नक्कली परीक्षार्थी रोकायालाई शिक्षासम्बन्धी ऐन कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।  

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

ललितपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।      सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेका हुन् । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।  

राष्ट्र बैंकलाई मोरङ उद्योग संघको आग्रह : लगानी, कर्जा र डिजिटल कारोबार नीतिमा सुधार गर्नुपर्ने

काठमाडौं । मोरङ उद्योग व्यापार संघले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिने मौद्रिक नीतिमा समावेश गरिनुपर्ने ११ बुँदे सुझाव नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ । संघका अध्यक्ष अनुपम राठीले जारी विज्ञप्तिमा पूँजी बजारको विकास, कर्जा प्रवाहमा लचीलोपन, साना तथा मझौला उद्योगका लागि सहजता, र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उपायहरू मौद्रिक नीतिमा समेटिनुपर्ने उल्लेख गरिएको छ । संघका प्रमुख सुझावहरूमा सेयर धितो कर्जाको सीमा १५ करोडबाट ३० करोड पुर्‍याउने, घरजग्गा धितो कर्जा सीमा ५० प्रतिशतबाट ७० प्रतिशत पुर्‍याउने, र उत्पादनमूलक उद्योगहरूका लागि चालु पुँजी कर्जाको सीमा ४० बाट ६० प्रतिशत पुर्‍याउने छन् । त्यसैगरी, साना तथा मझौला उद्योगका लागि कर्जा सीमा ५-१० करोड कायम गर्नुपर्ने र घाटामा गएका व्यवसायहरूको ऋण वर्गीकरण गर्दा व्यवसायको सम्भाव्यता तथा सुधार प्रयासलाई ध्यान दिनुपर्ने माग गरिएको छ । डिजिटल कारोबारको सन्दर्भमा बैंक तथा वालेट सेवा प्रदायकहरूले लिने ट्रान्सफर शुल्क उच्च रहेको भन्दै त्यसलाई ३ तहमा सीमित गर्नुपर्ने सुझाव दिइएको छ । नेपाल–भारत डिजिटल भुक्तानीमा समता ल्याउने, स्टार्टअप व्यवसायलाई कर्जामा पहुँच दिने, स्थिर पुँजी कर्जाको व्याजदर कम गर्ने, र खाद्य वस्तुको आयात खुला गरी विदेशी मुद्रा सञ्चिति परिचालन गर्नुपर्ने संघको भनाइ छ । साथै, अत्यधिक बैंक विदाका कारण उद्योगमा पर्ने असर न्यूनीकरण गर्न वार्षिक अधिकतम १३ दिन विदा मात्रै दिने नीति ल्याउनुपर्ने पनि माग गरिएको छ।

मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट, ५ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.३३ अंकले घटेर २६ सय बिन्दुमा झरेको  छ । आज ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।  बुधबार ३११ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । बुटवलको ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३६ करोड, राधी विद्युतको २४ करोड, सानिमा माइ हाइड्रोको २० करोड र चन्द्रागिरी हिल्सको १७ करोड रुपैयाँ बढीको करोबार भएको छ । आज मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।