पतञ्जलि जग्गा प्रकरण : माधव नेपालको बयान सकियो, थुनछेक बहसको तयारी
काठमाडौं । विशेष अदालतमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान सकिएको छ । विशेष अदालतका तीन न्यायाधीश तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनले पूर्ण इनकारी बयान दिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालको पतञ्जलि जग्गा प्रकरणमा संलग्नता रहेको भन्दै उनी विरुद्धको मुद्दा दायर गरेपछि उनले बयान दिएका हुन् । नेपालको बयान सकिएपछि थुनछेक बहस तयारी सुरु भएको छ । अहिले नेपालको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापाको नेतृत्वमा अर्का वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, सुदूरपश्चिम प्रदेशका पूर्वमहान्यायाधिवक्ता चन्द्रबहादुर शाही लगायतका अधिवक्ताहरू तयारी अवस्थामा रहेका छन् । विशेष अदालतले पौने दुई बजेपछि थुनछेक बहस सुरु गर्ने तयारी गरेको बहसमा उपस्थित एक अधिवक्ताले जानकारी दिए । आयोगले नेपालसहित ९३ जना व्यक्तिहरूमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ । आयोगले अध्यक्ष नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ । अहिले उनको सांसद पद पनि निलम्बित भएका छ । काभ्रेमा रहेको पतञ्जलि योग पीठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसअघि अध्यक्ष नेपालसहितको बयान लिएको थियो । २०६६ सालमा नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। । तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो ।
मोबाइलबाट नियन्त्रण हुने लिफ्ट प्रविधि, पुलाचौरका घरघरमा धारा
म्याग्दी । जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो । आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको आयोजना सात वर्षमा सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सुवेदीले बताए । 'तीन वटा योजनाअन्तर्गत निर्माण खानेपानी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा ढिलाइ भएको हो', उनले भने, 'पुलाचौरको तल्लो र मध्य गाउँको योजना यसअघिका वर्षमा सकिएको थियो । माथिल्लो टोलमा यसै सातादेखि पानी वितरण गरेर आयोजनालाई पूर्णता दिएका हौँ ।' अध्यक्ष सुवेदीका अनुसार जोत्रे र पधेरा मुहानको पानीलाई ७५ हजार लिटर क्षमताको टङ्कीमा सङ्कलन गरेर २० हर्सपावर क्षमताको ‘सबमर्सिव’ पम्पबाट दुई सय ५० मिटरमाथि रहेको चुलेसीस्थित अर्को टङ्कीमा पुर्याएर थप तीन वटा रिजर्भ टङ्कीमार्फत वितरणको व्यवस्था मिलाइएको छ । आठ सय मिटर लामो तीन इञ्चको पाइपमार्फत माथिल्लो टङ्कीमा पानी पु¥याइएको उनले उल्लेख गरे । आयोजनाबाट एक सय ८२ परिवार लाभान्वित भएका उपभोक्ता समितिका सचिव सागर पौडेलले बताए । 'विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा पनि धारा जडान गरिएको छ । सबैका घरमा मिटरसहितको निजी धारा जडान गरेर पानी वितरणको व्यवस्था मिलाएको छ', उनले भने । सचिव पौडेलले यसअघि सार्वजनिक धाराबाट गाग्री, बोत्तल र ग्यालीनमा पानी ओसार्नुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास व्यक्त गरे । 'आठ/दश घरले एउटा धाराबाट पानी ल्याउँदा पालो पर्खनुपर्ने र कहिलेकाँही पानीका कारणले विवाद पनि हुन्थ्यो', स्थानीय मिनाकुमारी विकले भने, 'घरकै धारामा पानी आउन थालेपछि पानी ओसार्दा हुने समयको बचत र झञ्जट हटेको छ ।' उपभोक्ताको श्रमदान बाहेक आयोजना निर्माणमा दुई करोड १० लाख ४८ हजार ३४८ खर्च भएको खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए । उपभोक्ताले कूल लागतको १० प्रतिशतका दरले श्रमदान गरेका छन् । पानी तान्ने विद्युत् उपकरण सञ्चालन गर्न ‘मोबाइल अपरेटिङ सिस्टम’ जडान गरिएको छ । यो प्रणालीबाट उपभोक्ताले घरबाट पानी तान्ने उपकरण खोल्न र बन्द गर्न सक्छन् । विद्युतीय उपकरण भण्डारण, उपभोक्ता संस्थाको कार्यालय र हेरालुको आवासका लागि भवन पनि निर्माण भएको छ । योजना निर्माणमा प्रतिघर २० दिनका दरले श्रमदान गरिएको उपभोक्ता बलबहादुर परियारले बताए । घरघरमा पानी वितरण हुन थालेपछि पुलाचौरबासीको दैनिकी फेरिएको छ । 'पानीको पालो कुर्दा खाना पकाउन ढिला भएर कहिलेकाँही बालबालिका विद्यालय जान नपाउने अवस्था थियो', उनले भने, 'अहिले समयको बचत हुनुका साथै सरसफाइ गर्न सहज भएको छ भने स्थानीयको दैनिकी फेरिएको छ ।' रासस
गभर्नर पौडेलसँग १७ करोड बढीको सम्पत्ति : १४ करोडको सेयर, २ करोडको घर, २७ लाख बचत
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले १७ कराेड बढीकाे सम्पत्ति विविरण सार्वजनिक गरेका हुन् । सार्वजनिक पद धारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुरूप उनले आफ्नो नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन् । उनले विभिन्न कम्पनीमा संस्थापक सेयरधनी रहेको खुलाएका छन् । उनको उनले सात कम्पनीमा १४ करोड बढी लगानी रहेको घोषणा गरेका छन् । उनले सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर, चितवन इनर्जी र ग्लोबेको प्रालिमा प्रवर्द्धकका रुपमा कुल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ सेयर रहेको बताएका छन् । यस्तै, पौडेलले आफ्नो र आफ्नो श्रीमती प्रतिभा शर्मा गरी कुल २० लाख बढी विभिन्न बैंकमा बचत रहेको बताएका छन् भने सानिमा बैंकमा डलर खातामा साढे ५ हजार अमेरिकी डलर रहेको घोषणा गरेका छन् । यस्तै, उनले ४५ तोला सुन, आफ्नो श्रीमती प्रतिभा शर्माको नाममा नवलपरासी र ललितपुरमा घरजग्गा रहेको उल्लेख गरेका छन् । उनले १ करोड ५५ लाख रुपैयाँको ललितपुरको जग्गाको मुल्य उल्लेख गरेका छन् भने नवलपरासीको जग्गाको ६० लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । उनले श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ बराबरको सुजुकी कार रहेको पनि घोषणा गरेका छन् ।
जुकरबर्गको नयाँ खेल : एआई दुनियाँमा अग्रता लिन अरबौं खर्च गर्न तयार
काठमाडौं । मेटाका सीईओ मार्क जुकरबर्ग कृत्रिम बौद्धिकता (एआई)को दौडमा सबैभन्दा अगाडि निस्कन निकै आतुर देखिएका छन् । पछिल्ला केही महिनादेखि उनी स्वयम् एआई क्षेत्रमा काम गर्ने तेज दिमाग भएका व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्क गरिरहेका छन् । वाल स्ट्रिट जर्नलका अनुसार उनले केही व्यक्तिहरूलाई १० करोड अमेरिकी डलर (झन्डै १ हजार ३७६ करोड नेपाली रुपैयाँ) सम्मको अफर पनि गरेका छन् । जुकरबर्गले सयौं अनुसन्धानकर्ता, वैज्ञानिक, इन्जिनियर र उद्यमीहरूलाई मेटाको नयाँ ‘सुपरइण्टेलिजेन्स ल्याब’ मा सहभागी गराउन प्रयासरत छन् । उनी ती प्रतिभावान् व्यक्तिहरूलाई ठूलो रकम अफर गरेर आफ्नो कम्पनीमा ल्याउन चाहन्छन् । केही व्यक्तिहरूलाई १० करोड डलरको प्याकेजसँगै एआई स्टार्टअप स्केलमा हिस्सा दिने प्रस्ताव पनि गरिएको छ । यसबाहेक उनीहरूले स्केलका सीईओ अलेक्जेन्डर वांगमाथि झण्डै १४ अर्ब डलर खर्च गरेका छन् । वांग मेटाको नयाँ एआई टोलीको नेतृत्व गर्नेछन् । २८ वर्षीय वांग प्रविधि क्षेत्रको इतिहासमै अहिलेसम्मकै महँगो नियुक्तिमा पर्न सफल भएका छन् । रिपोर्टअनुसार जुकरबर्गले ओपनएआईका कर्मचारीहरूसँग पनि कुरा गरेका छन्, जसमा सह(संस्थापक इल्या सुत्स्केभर पनि थिए । तर, ओपनएआईका सीईओ साम अल्टम्यानका अनुसार जुकरबर्गको प्रस्ताव कुनै पनि शीर्ष कर्मचारीले स्वीकार गरेका छैनन् । जुकरबर्ग आफै छन् भर्ती प्रक्रियामा सक्रिय जुकरबर्ग स्वयम् भर्ती प्रक्रियामा प्रत्यक्ष सहभागी छन् । उनी विश्वास गर्छन् कि मेटामा उनले सबैभन्दा ठूलो योगदान यही क्षेत्रमा दिन सक्छन् । जुन व्यक्तिहरूलाई उनी मनाउने काममा सफल हुन्छन्, तिनीहरूलाई उनी प्रायः आफ्नो पालो आल्टो वा लेक ताहोस्थित घरमा बोलाउँछन् । उनी हायरिङको सम्पूर्ण प्रक्रियामा समावेश हुन्छन्, यहाँसम्म कि कुन कर्मचारी कहाँ बस्ने भन्ने पनि उनी नै निर्धारण गर्छन् । केही व्यक्तिहरूले जुकरबर्गको अफर अस्वीकार गरेका छन् । उनीहरूको भनाइ छ कि जुकरबर्गको ‘सुपरइण्टेलिजेन्स’ सम्बन्धी अवधारणा स्पष्ट छैन र ५० जनाको एआई टोलीका लागि कुनै ठोस योजना पनि देखिँदैन । जुन व्यक्तिहरूलाई जुकरबर्गले प्रत्यक्ष सन्देश पठाएका थिए, तीमध्ये केहीलाई विश्वास नै लागेन कि मेटाका सीईओ आफैले सम्पर्क गरेका हुन् । केहीले त इमेललाई मजाक ठानी उत्तरै दिएनन् । जुकरबर्ग एआईको भविष्यप्रति पूर्ण विश्वास राख्छन् । उनी मेटालाई यस क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनी बनाउने लक्ष्यमा छन् । यसैले उनी उत्कृष्ट प्रतिभाहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर ठूलो रकम खर्च गरेर पनि आफ्नो टोली बलियो बनाउन चाहन्छन् ।
भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र हो : पूर्वअर्थमन्त्री पाण्डे
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले अझ आन्तरिक र नजिकका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न जरुरी रहेको बताएका हुन् । उनले नेपालले चीन र भारतका पर्यटकहरुलाई बढी भित्र्याउने गरी आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताए । उनले चीन र भारतका मध्यमवर्गलाई लक्षित गरी पर्यटनका योजनाहरु अघि बढाउनुपर्ने बताए । नेपालमा हरेक वर्ष भारत र चीनबाट ५० लाख भारतीय र ५० लाख चिनियाँ पर्यटक भित्रिए नेपालको अर्थतन्त्र कायापलट हुने जिकिर गरे । उनीहरुलाई धान्नसक्ने पर्यटन पूर्वाधार बनाउनुपर्नेमा जोड दिए । पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘नेपालको सबैभन्दा ठूलो रिसोर्स भविष्यमा के हुनसक्छ भन्दा टुरिजम हुनसक्छ । त्यसमा म के देख्छु भने सबैभन्दा बढी को घुम्न जान्छ भन्दा र कहाँ जान्छ भन्दा नजिकका मान्छे नजिक ठाउँमा जान्छ । धेरै धनीहरु त यहाँ आउँदैनन् । तर मध्यम वर्गका चीन र भारतका मान्छे यहाँ आउनसक्छन् । उनीहरुमै धेरै जनसंख्या छ । ५० लाख भारत र ५० लाख मानिस चीनबाट आउनसक्ने सम्भावना छ ।’ पूर्वअर्थमन्त्री पाण्डेले प्रभावकारी सरकारको खोजि गर्न जरुरी रहेको बताए ।
अर्ली महाधिवेशनको तयारीमा आज एमालेको सचिवालय वैठक बस्दै
काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मध्यान्ह तीन बजे बस्ने भएको छ । आगामी भदौ २० देखि गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्रमा आयोजना गरिने विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा बैठकमा छलफल हुने एक सचिवालय सदस्यले बताए । आजको बैठकका निर्णयसँगै एमाले अर्ली महाधिवेशनतर्फ अग्रसर भएको उनको ठहर छ । एमालेको विधानअनुसार विधान महाधिवेशन गरेको ६ महिनाभित्रै निर्वाचन महाधिवेशन गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ । यसरी हेर्दा पार्टी महाधिवेशन अब माघभित्रै गर्नु पर्दछ । ती सचिवालय सदस्यका अनुसार अध्यक्ष केपी शर्मा ओली पुषमा एघारौं महाधिवेशन गर्ने मनस्थितिमा छन् । एमालेले दशौं महाधिवेशन २०७९ मंसिरमा गरेको थियो । विधानतः एमालेको महाधिवेशन २०८४ को मङसिरमा हुनुपर्ने हो । तर प्रधानमन्त्रीसमेत रहेका ओली २०८२ को पुषमै महाधिवेशन गर्ने मुडमा रहेको ती सचिवालय सदस्यले बताए ।
नेशनल लाइफको अध्यक्षमा सिंह पुनः निर्वाचित, प्राधिकरणका अध्यक्ष ओझाबाट लिइन् शपथ
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा प्रेमा राज्यलक्ष्मी सिंह पुनः निर्वाचित भएकी छन् । असार ५ गते सम्पन्न कम्पनीको ३७औं वार्षिक साधारण सभाबाट सर्वसम्मतिमा सिंह पुनः अध्यक्ष चयन भएकी हुन् । बीमा ऐन २०७९ को दफा ४७(६) बमोजिम नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक कार्यक्रमबीच सिंहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति रहेको थियो । शपथ ग्रहणपछि प्राधिकरणका अध्यक्ष ओझाले नव-पुनर्निर्वाचित अध्यक्ष सिंहको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे । सिंहले पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति विशेष गरी बीमा प्राधिकरण र अध्यक्ष ओझाप्रति आभार प्रकट गरेकी छन् ।
देशभरका सुनचाँदी व्यवसाय बन्द हुने, कर नीतिविरुद्ध व्यवसायीले आन्दोलन गर्ने
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा सुन, चाँदी, हिरा, जवाहरत तथा हस्तकला व्यवसायलाई लक्षित गर्दै २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट लगाउने प्रस्ताव गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले यस कर नीतिलाई अव्यवहारिक भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । महासंघका अनुसार करको यस्तो भारले केवल व्यवसायीहरू मात्र होइन, आम उपभोक्तालाई समेत प्रत्यक्ष असर पार्नेछ । महासंघले राज्यका सबै नीति, नियम र कानुनलाई व्यवसायीहरूले अहिलेसम्म इमानदारीपूर्वक पालना गर्दै आएको स्मरण गराउँदै, यसपटकको कर नीति व्यवसाय बन्द गराउन बाध्य पार्ने खालको रहेको जनाएको छ । समस्या समाधानका लागि महासंघले प्रधानमन्त्री, अर्थमन्त्री, संघीय संसदका समिति, नियमनकारी निकायहरू र राजनीतिक दलका प्रमुख नेताहरूसँग पटक–पटक छलफल गरी आग्रह गरिसकेको बताएको छ । केही सकारात्मक प्रतिक्रिया आए पनि ठोस निर्णय नभएको भन्दै महासंघले संघर्षका कार्यक्रमहरू अगाडि बढाउने निर्णय गरेको हो । संयुक्त आन्दोलनका कार्यक्रम अन्तर्गत असार मसान्तसम्म विरोध ब्यानर, कालो झण्डा र कालो पट्टीसहित विरोध प्रदर्शन, सचेतनामूलक पम्प्लेट वितरण, व्यवसायी अभिमुखीकरण कार्यक्रम र जनप्रतिनिधि जवाफदेही कार्यक्रम सञ्चालन गरिनेछ । असार १३ गते देशभर व्यवसाय बन्द गरी सदरमुकामहरूमा विरोध सभा तथा वाग्मती प्रदेशमा काठमाडौंमा वृहत र्याली गरिने जनाइएको छ । सरकारले माग सम्बोधन नगरेमा साउन १ गतेदेखि सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्दै राष्ट्रव्यापी सडक आन्दोलन थालिनेछ । महासंघले तत्काल अध्ययन कार्यदल गठन गरी समस्याको समाधान गर्न सरकारलाई अपिल गरेको छ । साथै आम उपभोक्ता र सरोकारवाला संघ–संस्थाहरुलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ ।