विकासन्युज

खाडी मुलुकका उडान पुनः सञ्चालन, विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले

काठमाडौं । खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन् ।  सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए ।  यस्तै, हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका थिए । कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु  आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ । गएराति रोकिएका उडान आज मध्याह्न १२ बजेका लागि तय गरिएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको कतार गन्तव्यको उडान रद्द भएको थियो । जसका कारण गन्तव्यमा हिँडेका सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए । कतारबाट काठमाडौं आउने विमानको उडान पनि आज रद्द भएको छ । बिहान ८ बजेका लागि काठमाडौं आइपुग्नुपर्ने विमान कतारले रद्द गरेको बताइएको छ । महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रुपमै उडान हुने विश्वास व्यक्त गरे । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको सोमबार दोहा उडानमा २६९ यात्रु थिए । उनीहरुलाई आज गन्तव्यतर्फ पठाउन विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । कतारको परिस्थितिका कारण खाडी मुलुकका नियमित उडानमा केही बिलम्ब हुने बताइएको छ । सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना आएपछि उडान रद्द गरिएको थियो । वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए । नेपालका तीनसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । रासस

विपद्पछि उद्धारका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तैनाथ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  विपद् जोखिम न्यूनिकरणका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताए । अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै आफूले सुरक्षा निकायहरुलाई विपद् न्यूनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको जानकारी दिए । जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेको र विपद् भएको खण्डमा जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको जानकारी दिए । आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरू बनाइ प्रदेश सरकारलाई जिम्मा लगाइएको बताए ।  गृहमन्त्री लेखकले भने, ‘देशभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तयारी रहनका लागि निर्देशन गरिएको छ । सुरक्षाकर्मीहरुः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग आफ्नो ठाउँमा विपद् जोखिमको विषयमा तयारी अवस्थामा बसेका छन् ।’ गृहमन्त्री लेखकले काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर विपद् सुरक्षार्थ खटाइएको बताए । सरकारसँग सिमित श्रोत र साधन रहेको बताउँदै ठूलो विपद्को व्यवस्थापन गर्न सरकारले मात्रै गर्छ भनेर बस्न नहुने बताए ।   

स्वचालित ड्राइभिङ फिचरकै कारण दुर्घटना ? टेस्लाविरुद्ध मृतक परिवारको मुद्दा

काठमाडौं । टेस्लाविरुद्ध न्यू जर्सीको क्याम्डेनस्थित संघीय अदालतमा सोमबार मुद्दा दायर गरिएको छ । गत सेप्टेम्बरमा अटोपाइलट र फुल सेल्फ-ड्राइभिङ फिचर रहेको २०२४ मोडल एस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । ‘गलत मृत्यु’ सम्बन्धी उक्त मुद्दामा डेविड ड्रायरम्यान (५४), उनकी श्रीमती मिचेल (५४) र छोरी ब्रुक (१७) को मृत्यु कारको ‘त्रुटिपूर्ण र अस्वाभाविक रूपमा खतरनाक डिजाइन’ का कारण भएको दाबी गरिएको छ । मुद्दामा क्षतिपूर्ति र दण्डात्मक क्षतिपूर्ति माग गरिएको छ । प्रकाशित रिपोर्टअनुसार ड्रायरम्यान परिवार गत सेप्टेम्बर १४ मा न्यू जर्सीको वुडब्रिज टाउनसिपमा संगीत महोत्सवबाट फर्कंदै गर्दा उनीहरू सवार मोडल एस बाटोबाट बाहिरिएर साइनबोर्ड, रेलिङ र कङ्क्रिट पुलको खम्बामा ठोक्किएको थियो । मुद्दा निवेदनमा भनिएको छ कि गाडीको त्रुटिपूर्ण डिजाइनले गाडीलाई सही लेनबाट बाहिर जान र आपतकालीन ब्रेक नलगाउन बाध्य पार्यो, जसले दुर्घटना निम्त्यायो ।  साथै टेस्लाले चालक डेविड ड्रायरम्यानलाई उनको मोडल एस असुरक्षित रहेको चेतावनीसमेत नदिएको उल्लेख छ । मस्कले सन् २०१६ मा अटोपाइलट ‘मानिसभन्दा सायद राम्रो’ भन्ने अभिव्यक्ति दिएको कुरा पनि मुद्दामा प्रस्तुत गरिएको छ । मुद्दा निवेदनअनुसार ड्रायरम्यान परिवारका सदस्यहरूले सिट बेल्ट लगाएका थिए। ‘हजारौं टेस्ला चालकहरूले कम्पनीको अटोपालट एड्भान्स ड्राइभर-असिस्टेन्स सिस्टम (एडीएएस) प्रविधिलाई सामान्य सफ्टवेयर अपडेटपछि नै पूर्ण सुरक्षित र स्वचालित ड्राइभिङ जस्तो बुझेर भर पारेका छन्, तर वस्तुतः यो प्रविधाले चालकको सहयोगबिनै विभिन्न सामान्य सडक अवस्थाहरूलाई सुरक्षित रूपमा सामना गर्न सक्दैन,’ मुद्दामा भनिएको छ । अर्बपति उद्यमी एलन मस्कको नेतृत्वमा रहेको टेक्सासको अस्टिनस्थित टेस्लाले बजार बन्दपछिको समयसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । उजुरीकर्ताका वकिलहरूले समेत तत्काल प्रतिक्रिया जनाएका छैनन् । मस्कको कम्पनी टेस्लामाथि लामो समयदेखि यसको स्वचालित ड्राइभिङ प्रविधिको सुरक्षाबारे प्रश्न उठ्दै आएको छ । टेस्लाले भने आफ्ना फिचरहरू ‘पूर्ण रूपमा सचेत चालक’   का लागि मात्र भएकाले स्टेरिङ ह्वीलबाट हात नछोड्न निर्देशन दिएको बताउँदै आएको छ र हालको फिचरहरूले सवारीसाधनलाई पूर्ण स्वचालित बनाउँदैन भनेर स्पष्ट पारेको छ । अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनको दबाबपछि सन् २०२३ डिसेम्बरमा टेस्लाले अमेरिकामा दुई करोडभन्दा बढी गाडी फिर्ता बोलाएर एडीएएसमा सुरक्षात्मक सुधार थप्ने सहमति जनाएको थियो । अब बिना ड्राइभर ट्याक्सीमा यात्रा, मस्कको रोबोट्याक्सी सार्वजनिक

बजेट पारित गराउने सत्तापक्षीय दलको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलबार भएको सत्तापक्षीय राजनीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसदमा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको शीर्षनेताहरूको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरूलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो । सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विवषयमा प्रमुुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिए ।  

महोत्तरी : स्थानीय तहको आर्थिक अनुशासन कमजोर, बेरुजु आकासियो

महोत्तरी । महोत्तरीका स्थानीय तहको बेरुजु ९ अर्ब रुपैयाँ नजिक पुगेको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित जम्मा १५ स्थानीय तहको बेरुजु आर्थिक वर्ष २०८०/८१ सम्म ८ अर्ब ७३ करोड ६५ लाख ९२ हजार नाघेको छ। यसमध्ये पछिल्लो आव २०८०/८१ को मात्र ६४ करोड ६० लाखमाथि रहेको महालेखा परीक्षकको कार्यालय काठमाडौंले वार्षिक लेखापरीक्षण प्रतिवेदनमा औंल्याएको छ ।  जिल्लाका स्थानीय तहमध्ये बलवा नगरपालिकाको बेरुजु सबैभन्दा बढी ९३ करोड ६९ लाख ४० हजारमाथि छ । आव २०८०/८१ को मात्र पनि बलवाको बेरुजु ७ करोड २० लाख ४५ हजारमाथि छ । त्यसैगरी पिपरा गाउँपालिकाको बेरुजु ९३ करोड ४८ लाख ९७ हजार नाघेको छ । पिपराको आव २०८०/८१ को बेरुजु १ एक करोड ८४ लाख ८० हजारमाथि छ । जलेश्वर नगरपालिकाको  ८२ करोड ९३ लाख, मनराशिशवा नगरपालिकाको ७० करोड ५१ लाख ४१ हजार, गौशाला नगरपालिकाको ७० करोड ५१ लाख ४१ हजार, सम्सी गाउँपालिकाको ५२ करोड ८३ लाख ७४ हजार, लोहारपट्टी नगरपालिकाको ५२ करोड ३१ लाख ५५ हजार, बर्दिबास नगरपालिकाको ५१ करोड २३ लाख ६४ हजार र मटिहानी नगरपालिकाको रु ५० करोड ४५ लाख ९१ हजारमाथि बेरुजु पुगेको छ । यसरी ५० करोडमाथि बेरुजु पुगेका जिल्लाका स्थानीय तहको सङ्ख्या नै नौ पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी सोनमा गाउँपालिकाको ४८ करोड नौ लाख, एकडारा गाउँपालिकाको ४७ करोड ९६ लाख ९१ हजार, रामगोपालपुर नगरपालिकाको ४७ करोड २० लाख ५२ हजार, महोत्तरी गाउँपालिकाको ४२ करोड २७ लाख ८२ हजार, भङ्गाहा नगरपालिकाको ४१ करोड ६९ लाख २६ हजार र औरही नगरपालिकाको सबैभन्दा कम २८ करोड ४३ लाख १७ हजार बेरुजु प्रतिवेदनले देखाएको छ । यी १५ वटै स्थानीय तहको आव २०८०÷८१ को मात्र पनि बेरुजु रु ६४ करोड ६० लाख आठ हजारमाथि छ ।  आव २०८०/८१ को मात्र बेरुजु केलाइँदा लोहारपट्टीको सबैभन्दा बढी रु नौ करोड ८५ लाख ४४ हजार प्रतिवेदनमा उल्लेख छ । गत आवमा गौशालाको ८ करोड ८४ लाख ५९ हजार, जलेश्वरको ८ करोड एक लाख, रामगोपालपुरको ४ करोड ६१ लाख १९ हजार र एकडाराको ४ करोड पाँच लाख २३ हजार बेरुजु छ । यस्तैऽ सोनमाको ३ करोड ७६ लाख २६ हजार, भङ्गाहाको ३करोड २८ लाख ८१ हजार, मनराशिशवाको २ करोड ९३ लाख १३ हजार, बर्दिबासको २ करोड ८७ लाख १८ हजार, सम्सीको २ करोड ६६ लाख ८६ हजार र औरहीको २ करोड १३ लाख ४४ हजार गत आवको मात्र बेरुजु छ । त्यसैगरी पिपराको रु एक करोड ८४ लाख ८० हजार, मटिहानीको रु एक करोड ५३ लाख ३५ हजार र महोत्तरी गाउँपालिकाको सबैभन्दा कम रु ९८ लाख ३२ हजारमाथि गत आवको मात्र बेरुजु छ । महालेखा परीक्षकको कार्यालयले कुल रु १८ अर्ब ४८ करोड १५ लाख ६७ हजारको लेखापरीक्षण गर्दा १५ स्थानीय तहको आव २०८०/८१ को बेरुजु रु ६४ करोड ६० लाख आठ हजार देखिएको हो । बेरुजु देखिएका रकम सबै आर्थिक अनियमितता नै हुने नभई कतिपय शीर्षकका आवश्यक कागजात अपुग भएर र नियमित नगरेर पनि देखिएको हुनसक्ने प्रतिवेदनमै उल्लेख छ । यसपालि आव २०८१/८२ सकिनै लाग्दा विगतका बेरुजु घटाउन स्थानीय तहले के-कस्ता पहलकदमी लिए, त्यो भने अब आउने आर्थिक वर्षमा गरिने लेखापरीक्षणबाट स्पष्ट हुने लेखा प्रणालीका जानकार नेपाल सरकारका अवकाशप्राप्त उपसचिव बर्दिबास–३ का बासिन्दा रामकुमार कार्की बताउँछन् ।  

चैते धानको उत्पादन बढ्दा मूल्य घट्यो, किसान मारमा

काठमाडौं । चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या आएको छ । धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको हो । त्यसले गर्दा किसानले लगानी उठाउन नसकेको गुनासो गरेका छन् । अघिल्लो वर्ष करिब दुई लाख मेट्रिकटन धान उत्पादन हुँदा बजारको मागअनुसार आपूर्ति हुनसकेको थिएन । चालु आर्थिक वर्षमा करिब चार लाख मेट्रिकटन धान उत्पादन भएको अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले गत वर्ष धानको बिक्री गरी किसानले राम्रो आम्दानी गरेकाले यस वर्ष दोब्बर उत्पादन गरेकाले भण्डारण तथा बिक्रीवितरणमा समस्या आएको बताए ।  सरकारले गत वर्ष प्रतिक्विन्टल दुई हजार ८०८ रुपैयाँ समर्थन मूल्य तोकेको थियो । धानको नयाँ जात, बीउबिजन, सिँचाइ प्रणाली, उत्पादन लागतको मूल्याङ्कन गरी सरकारले समर्थन मूल्य तोक्ने व्यवस्था छ । अहिले प्रतिक्विन्टल एक हजार ८०० रुपैयाँमा सामान्य बिक्री भएको जनाइएको छ ।  धान समर्थन मूल्यमा खरिद गरी भण्डारण तथा बिक्री गर्न कृषि मन्त्रालयअन्तर्गत उद्योग मन्त्रालयमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पत्रचार गरेको छ । यसो गर्दा नपुग रकम अर्थ मन्त्रालयमार्फत उपलब्ध गराउन तयारी गरिएको छ ।  तराई तथा भित्री मधेसका करिब ३५ जिल्लामा धानबाली पाकेर भित्र्याउने तयारी गरिएको छ । एक लाख ३० हजार हेक्टर जमिनमा धानखेती गरिएको छ । चालु आर्थिक वर्षमा प्रतिक्विन्टल दुई हजार ८५८ रुपैयाँ समर्थन मूल्य तोकेको छ ।  अखिल नेपाल किसान महासङ्घका इन्चार्ज बलराम बाँस्कोटाले चैते धानले किसानको लगानी पनि नउठेको गुनासो गर्दै सरकारले अविलम्ब त्यसको विकल्प खोज्नुपर्ने विचार व्यक्त गरे ।   

‘खल्ती’ ले सुरु गर्‍यो स्मार्ट डिपोजिट : डिजिटल वालेटमार्फत अब नियमित बचत सम्भव

काठमाडौं । खल्तीले मञ्जुश्री फाइनान्सको सहकार्यमा डिजिटल वालेटमार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिना देखि ६० महिना सम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १०० रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा रहेको खल्तीले जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालित हुने यो डिपोजिट खाता मञ्जुश्री फाइनान्सको नाममा खोलिनेछ र मासिक प्रकाशित आरडी ब्याजदर नै लागु हुनेछ । प्रयोगकर्ताले खल्ती एपबाटै बचतको स्थिति हेर्न सक्ने सुविधा पनि पाउनेछन् । खल्तीका बिजनेस पार्टनरसिप प्रमुख बसन्त दाहालका अनुसार स्मार्ट डिपोजिटले वित्तीय अनुशासन र डिजिटल बचत संस्कार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिलसिनाले यो सेवा डिजिटल कारोबारमा समय र प्रक्रिया दुबैलाई सहज बनाउने बताउँदै भने, 'अब खल्ती प्रयोगकर्ताले घरमै बसेर खाता खोल्न र बचत गर्न सक्नेछन् ।' स्मार्ट डिपोजिटजस्ता प्रविधिमैत्री वित्तीय सेवाहरूले ‘डिजिटल नेपाल’ निर्माणको यात्रालाई गति दिने अपेक्षा गरिएको छ ।

हवाई आक्रमणमार्फत ‘शान्ति’ ल्याउने अजीव समय

काठमाडौं । अन्य देशमाथि आक्रमण गर्नु शान्तिको कारण बन्न सक्छ भन्ने कुरा सोच्दा पनि अजीब लाग्छ, तर शनिबारदेखि मध्यपूर्वमा अचानक चर्किएको तनाव पछाडि यही तर्क देखिन्छ । र अहिले चाँडै युद्धविरामको चर्चा भइरहेको छ । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक भट्टीहरूमा हवाई आक्रमणको अनुमति दिए, जसले अमेरिकालाई इजरायलको तेहरानसँगको युद्धमा प्रवेश गरायो । आइतबार इरानका विदेशमन्त्री अब्बास आराग्चीले तेहरानले आफ्नो सार्वभौमिकता, हित र जनतालाई जोगाउनका लागि ‍‘सबै विकल्प सुरक्षित राखेको’बताए । सोमबार इरानले अमेरिकाविरुद्ध बदला स्वरूप कतारस्थित अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र आक्रमण र्गयो । र सोमबार साँझ अमेरिकामा ट्रम्पले युद्धविरामको घोषणा गरे । ट्रम्पले ट्रुथ सोशलमा इजरायल र इरानले ‍‘’पूर्ण र सम्पूर्ण युद्धविराम‍’ मा सहमति जनाएको र यसले ‘१२ दिनको युद्धको आधिकारिक अन्त्य’ गर्ने बताएका छन् । दुई देशबीचको युद्ध जुन १२ मा इजरायलले इरानमाथि आक्रमण गर्दा सुरु भएको थियो । उनले मंगलबार मध्यरातदेखि युद्धविराम लागू हुने बताएका छन् । तर इरान र इजरायल दुबै पक्षले ट्रम्पको युद्धविराम समयतालिका सार्वजनिक रूपमा पुष्टि गरेका छैनन् ।  यो सामान्य खाली भाषणबाजी मात्रै होइन भन्ने संकेत देखिन्छ । ट्रम्पका अनुसार इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा गरिने आक्रमणको बारेमा अमेरिकालाई पहिले नै जानकारी दिएको थियो । यो ‍‘अपेक्षित बदला आक्रमण‍’ थियो भन्ने कुरा रिपब्लिकन हाउस स्पिकर माइक जोनसनले पनि भनेका छन् । न्यू योर्क टाइम्सका अनुसार इरानका तीनजना अधिकारीहरूले पुष्टि गरेअनुसार कतारले पनि इरानबाट पहिले नै चेतावनी पाएको थियो । इरानको राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो क्षेप्यास्त्र आक्रमणले ‘हाम्रो मित्रवत र दाजुभाइ राष्ट्र कतार वा त्यसका सम्मानित जनतालाई कुनै खतरा नपुर्‍याएको’ जनाएको छ । यसलाई सारमा भनिँदा यो नै ‍‍‘शक्तिमार्फत शान्ति ल्याउने रणनीति‍’ हो भनेर आरबीसी क्यापिटल मार्केट्सकी ग्लोबल कमोडिटी रणनीतिक प्रमुख हेलीमा क्रफ्टले सीएनबीसीलाई बताइन् । सबै पक्षले आफ्नो शक्ति देखाउने गरी सावधानीपूर्वक नियन्त्रित र प्रतीकात्मक प्रहार साटासाट गरेर मध्यपूर्वको तनाव कम हुने सानो सम्भावना देखिएको छ । मित्र इरानलाई बचाउने कि आफ्नो नाफा हेर्ने ? संकटमा रुस इरान-इजरायल संघर्ष र अमेरिकी हस्तक्षेपले तेल बजारमा नयाँ संकट इरान-इजरायल युद्धमा अमेरिकाको सीधा हस्तक्षेप, मध्यपूर्वमा संकट गहिरिँदै