विकासन्युज

ताप्लेजुङका पाँच स्थानीय तहको २ अर्ब ५० करोडको बजेट सार्वजनिक

फुङ्लिङ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरका छन् । पाँच स्थानीय तहले दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । यही असार ५ गते सिदिङ्वा गाउँपालिकाले ४४ करोड ५२ लाख ८७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सिरिजङ्घा गाउँपालिकाको १७औँ गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पालिका उपाध्यक्ष डा चित्र माबोले ५८ करोड ७४ लाख आठ हजार ८६३ रुपैयाँ को बजेट सार्वजनिक गरेका छन् ।  आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले यही असार ९ गते एकैदिन बजेट गाउँसभामा पेस गरेका छन् । आठराई त्रिवेणी गाउँपालिकाको २१औँ गाउँसभामार्फत आव २०८२/८३ का लागि पालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका छन् । मेरिङ्देन गाउँपालिकाले १८औँ गाउँसभामार्फत पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपैयाँको बजेट गाउँसभामा पेस गरेका छन् ।  त्यसैगरी, मैवाखोला गाउँपालिकाले १७औँ गाउँसभामार्फत पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले ४४ करोड ७१ लाख १५ हजार रुपैयाँको बजेट गाउँसभामा पेस गरेकी छन् । बाँकी फुङ्लिङ नगरपालिका, फक्ताङलुङ, मिक्वाखोला र पाथिभरा याङवरक गाउँपालिकाको आज बजेट सार्वजनिक गर्ने तयारीमा रहेको छन् ।  

कतारमा आक्रमण हुँदा नेपालीलाई असर, यात्रु अलपत्र पर्नेदेखि भाडा महँगो पर्ने चिन्ता

काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि नेपालबाट दोहा उडान हुने हवाई उडान सोमबारदेखि अवरुद्ध भएका छन् । सोमवार राति इरानले कतार स्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरेपछि उक्त क्षेत्रको महत्त्वपूर्ण केन्द्र रहँदै आएको दोहाको विमानस्थलको सञ्चालन केही बेर रोकिएको थियो । त्यसको असर नेपालमा पनि परेको छ ।  नेपालबाट कतार जान तयार रहेका यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । सबैभन्दा बढी व्यस्त हुने दुबईको विमानस्थल सोमबार साँझदेखि सुस्त रुपमा चलिरहेको छ । उडान सेवामा ढिलाइ तथा केही उडान नै रद्द हुन भइरहेका छन् ।  नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो । तर, कतारमा आक्रमण भएपछि उडान रद्द गरिएको थियो । हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको बताइएको छ । यसले यात्रुहरू अलपत्र परेका छन् भने हवाई भाडा पनि महँगो पर्ने देखिन्छ । कतिपय यात्रुले नियमित उडान रद्द भएपछि विकल्पको रुट प्रयोग गरिरहेका छन् । विकल्पको रुट प्रयोग गर्दा भाडा महँगो पर्ने बाध्यता यात्रुले बेहोरिरहेका छन् । अहिले रुस-युक्रेन द्वन्द्वका कारण पनि धेरैजसो विमान सेवा बन्द छन् । 

‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन’ मा विजेता बने आइडियल मोडल स्कुलका प्रसुन भट्ट

काठमाडौं । आइडियल मोडल स्कुल, जाउलाखेलका विद्यार्थी प्रसुन भट्टले राष्ट्रियस्तरको ‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन सिजन ७’ को उपाधि जित्न सफल भएका छन् । देशभरका विभिन्न स्कुलका विद्यार्थीहरूले निर्माण गरेका ९८१ वटा वेबसाइटमध्ये उत्कृष्ट २० छनोट गरिएपछि, त्यसैबाट उत्कृष्ट १० र अन्ततः उत्कृष्ट ३ जनामध्ये प्रसुन भट्टले उत्कृष्ट प्रस्तुति, सफा कोडिङ, युजर फ्रेन्ड्ली डिजाइन र प्राविधिक दक्षताको आधारमा निर्णायकहरूको उच्च मूल्याङ्कन पाउँदै पहिलो स्थान हासिल गरेका हुन् । दोस्रो स्थानमा आदर्श सौल युवक माध्यमिक विद्यालय, ललितपुरका सुशील खड्का र तेस्रो स्थानमा श्री सुन्दरी माध्यमिक विद्यालय, धादिङका आदेश भण्डारी रहे । विजेताले  एक लाख बराबरको ल्यापटप पुरस्कार पाउँदा, दोस्रो स्थान विजेताले नगद ५० हजार  बराबरको  उपहार र तेस्रो स्थान विजेताले नगद ३० हजार रुपैयाँ  बराबरको पुरस्कार प्राप्त गरेका छन् । फाइनल चरणको निर्णायक प्रक्रिया र पुरस्कार वितरण कार्यक्रम काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा एक भव्य समारोहका बीच सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनशीलता र प्रविधि प्रतिको लगाव बढाउने बताए। उनले प्रविधिलाई करियरको रुपमा हेर्ने सोच विस्तार गर्न यस्ता प्लेटफर्महरू महत्वपूर्ण हुने बताएका थिए । त्यसैगरी, त्रिभुवन विश्वविद्यालय सूचना तथा प्राविधिक केन्द्रका निर्देशक प्रा. डा. सुवर्ण शाक्यले प्रतियोगिताले विद्यार्थीहरूमा हौसला बढाएको उल्लेख गरे। कम्प्युटर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले सानो उमेरमै वेबसाइट निर्माणजस्तो प्रविधिक विधामा विद्यार्थीहरूको उत्साह देख्दा आफू प्रभावित भएको प्रतिक्रिया दिएका थिए । युनिभर्सल पिस फाउन्डेसन साउथ एसियाका क्षेत्रीय निर्देशक प्रकाश बाबु थापाले प्रतियोगितामा देखिएको प्रतिभालाई उल्लेखनीय भन्दै विद्यार्थीहरूको सिर्जनात्मक उचाइको प्रशंसा गरे। कार्यक्रमको परिकल्पना लाइफ कम्प्युटरका सीईओ रमेश पोखरेलको नेतृत्वमा गरिएको हो। उनले यस्तो प्रकारको प्रतियोगिता मार्फत विद्यार्थीहरूमा डिजिटल सीपको विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताए । कार्यक्रममा संयोजकको भूमिका निर्वाह गरेकी लाइफ कम्प्युटरकी प्रबन्ध निर्देशक लक्ष्मी खत्रीले देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरूको सहभागिता र उनीहरूले देखाएको लगनशीलता देख्दा कार्यक्रम सार्थक भएको बताइन् । कार्यक्रममा ‘बेस्ट टिम मेम्बर अफ द इयर’ बाट उत्कृष्ट टिम सदस्य कृष्ण ढुंगेललाई  सम्मानित गरिएको थियो । विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । स्कुल-कलेजका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न प्राविधिक संघ-संस्थाका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक दलहरूको शीर्ष नेताहरूको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राईलगायत सहभागी छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको र सरकार सञ्चालनका विविध सन्दर्भमा बैठक भइरहेको जनाइएको छ ।  

रानी जमरा सिँचाइ आयोजनाको सहयोगले किसान उद्यमी बन्दै

भजनी । टीकापुरमा मोहन्याल भैँसीपालन फार्म सञ्चालन गर्दै आएका दुर्गाप्रसाद जैशी एक सफल व्यवसायीका रूपमा स्थापित व्यक्ति हुन् । कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट राम्रो सहयोगकै कारण उनी सफल व्यवसायीका रूपमा स्थापित भएका हुन् ।  कार्यान्वयन एकाइले आफूलाई गोठ सुधार गोदाम निर्माणका लागि अनुदान, बोरिङ मोटर, पावर टिलर, नस्ल सुधारमा अनुदान, रेबिजको सुईमा सहयोग, घाँसको बीउ गाईभैँसीलाई विभिन्न पोषण सहयोग गर्दै आएको बताउँदै आयोजनाको सहयोगले भैँसीपालन व्यवसाय अगाडि बढाउन ठूलो राहत मिलेको उनको भनाइ छ । दैनिक ७० लिटर दूध बेच्ने गरेको उनले बताए । त्यसो त रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि क्षेत्रमा भविष्य देखेका किसानका लागि वरदान बन्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेका उक्त आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानका लागि अनुदानमार्फत सञ्चालन गरेका कार्यक्रमकै कारण वरदान बनेको हो । आयोजनाले किसानलाई उन्नत बीउलगायत कृषि आधुनिकीकरणसहित प्राविधिक रूपमा सहयोग गर्न थालेपछि किसानले व्यावसायिक रूपमा सफलता हासिल गर्दै गएका छन् ।  टीकापुर नगरपालिका–३ घियाकका रमेशकुमार श्रेष्ठले बङ्गुरपालन व्यवसाय गर्दै आएका छन् । उनको व्यवसायको सहयोगी आधार पनि कार्यान्वयन एकाइ नै हो । उनका अनुसार एकाइले बर्सेनि मागका आधारमा सहयोग गर्दै आएको बताए । यस्तै दीपज्योति महिला कृषक समूहले पनि आयोजनाबाट राम्रो सहयोग पाइरहेको बताएको छ । अहिले सदस्यले पाँचपाँच कट्ठामा सामूहिक तरकारीखेती गर्ने गरेको कुरा समूहका सदस्य देशरानी चौधरीले बताए । उनले रानी जमराको सहयोगले तालिम बीउमा अनुदानसहित प्राविधिक सहयोग गर्दै आएको बताउँदै आयोजनाको कारण व्यावसायिक बन्न सकिएको बताएका छन् । आयोजनाले किसानका आवश्यकताका आधारमा उन्नत बीउमा ५० प्रतिशत, उपकरणमा ७० देखि ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । आयोजनाको सहयोगमा बीउ उत्पादन गर्दै आइरहेको आयोजनाको कमाण्ड क्षेत्रका विभिन्न कृषक सहकारीलाई अनुदानमा भवन निर्माण, ग्रेडिङ मेसिन, ढुवानीका लागि सवारीसाधन उपलब्ध गराउँदा बीउ उत्पादनमा सहजता भएको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारी संस्थाका व्यवस्थापक गोविन्द रावत बताउँछन् । सहकारीसँग अहिले आयोजनाको ७५ प्रतिशत अनुदानको १० मेट्रिक टनबराबर क्षमता भएको ट्रक र करिब चार सय आठ मेट्रिक टन क्षमता भएको बीउ भण्डारण भवन पनि रहेको व्यवस्थापक रावतले बताए । आयोजनाकै सहयोगले कृषि पेसालाई व्यावसायिक रूपमा जोड्न सहयोग पुगेको तरकारीखेती गर्दै आएका जानकी गाउँपालिका–५ पहाडीपुरका किसान नारायणप्रसाद जोशीले बताएका छन् । विगतका वर्षहरूमा वैदेशिक रोजगारमा गएका उनी हाल कृषि पेसामा आबद्ध रहेर विदेशको भन्दा राम्रो आम्दानी स्वदेशमै हुने गरेको बताउँछन् । 'किसानले लगाएका तरकारीले बजार राम्रो पाउनुपर्छ विदेशको भन्दा राम्रो कमाई स्वदेशमा हुन्छ ।' उनले भने, 'हाल तीन बिघा क्षेत्रफलमा खेती गरिरहेको तर मेरो क्षमता १० बिघा क्षेत्रफलमा गर्न सक्ने हो ।'  विसं २०७७ देखि परम्परागत रूपमा बाख्रापालन गर्दै आएकी जानकी गाउँपालिका–९ अमरावतीकी किसान रिजना चन्द आयोजनाको सहयोगमा आधुनिक खोर निर्माण गरेर व्यावसायिक बाख्रापालनतर्फ प्रेरित भएको बताइन् । विद्यालयको आठ बिघा १६ कठ्ठा जग्गा भाडामा लिएर बाख्रापालनलगायत अन्य व्यावसायिक खेती गर्दै आएको चन्दका अनुसार आयोजना वास्तविक किसानका लागि वरदान बनेको छ । हाल आफूसँग सानाठूला गरेर ७५ वटा बाख्रा छ । त्यसैगरी अर्की किसान जानकी गाउँपालिका–३ सिमरन पशुपन्छी फार्मकी पशुपालक किसान सरिताकुमारी थारूले भैँसीपालन गर्दै आएकी छन् । भैँसीगोठ सुधारमा आयोजनाले सहयोग गरेको उनको भनाइ छ । थारूले भैँसीपालनका लागि भौतिक संरचना निर्माणमा किसानले आधामात्र लगानी गरेर आयोजनाले आधा अनुदान दिँदा त्यसबाट व्यावसायिक बन्न सजिलो भएको बताइन् । तीन वर्षदेखि भैँसीपालन गर्दै आएकी उनको फर्ममा हाल गाईभैँसी गरी १५ वटा छन् जसमध्ये छवटा दुहुनो भैँसी रहेकामा दैनिक ५० देखि ६० लिटर दूध उत्पादन हुँदै आएको छ ।  आयोजनाले व्यावसायिक किसानदेखि साना किसानको आयआर्जनमा वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । आयोजनाले केराखेती, बिजवृद्धि, बङ्गुरपालन, भैँसीपालन, बाख्रापालन, तरकारीखेती गर्ने किसानका आवश्यकताका आधारमा बीउ, भौतिक संरचना, नयाँ प्रविधि हस्तान्तरणमा अनुदान सहयोग गर्दै आइरहेको छभने व्यावसायिक, क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको आयोजनाका पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारती बताउँछन् । रासस

मानवीय संकटबीच गाजाका बासिन्दाहरू बढ्दो मूल्य र नगद अभावसँग संघर्ष गर्दै

काठमाडौं । अक्टोबर ७, २०२३ मा गाजामा इजरायली–प्यालेस्टिनी द्वन्द्व शुरु भएदेखि एन्क्लेभका २३ लाख बासिन्दाहरूले आर्थिक र मानवीय संकटको सामना गरेका छन् । नाकाबन्दी, आपूर्ति श्रृङ्खलाको अभाव र प्रभावकारी निरीक्षणको अभाव लगायत धेरै कारकहरू रहेको विज्ञहरुको भनाइ छ ।  रेकर्ड मुद्रास्फीति, क्रयशक्तिलाई कमजोर बनाएको छ । सबैभन्दा आधारभुत वस्तुहरूलाई पनि पहुँचबाट बाहिर राखेको छ । तीन सन्तानका बुबा ३३ वर्षीय जमिल अबु महादी, नगद पहुँचको उच्च लागतले ग्रस्त धेरै गाजाका बासिन्दाहरूमध्ये एक हुन् ।  छ सन्तानका बुबा ४५ वर्षीय मोहम्मद अल–हद्दादलाई थाहा छ कि पीठोको सानो झोलाले उनको परिवारलाई एक दिनको लागि खुवाउन मुस्किलले पुग्छ । 

विदेशबाट फर्किएका हरि मगरले भोजपुरमा सुरु गरे ६० लाखको उद्यम

भोजपुर । यहाँका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर बढेको छ । युवाहरूले आफैँले सीप सिकेर थालेको उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् । कतिपय युवा भने विदेशबाट फर्केर पुनः सीप सिकेर पनि उद्यममा जोडिएका छन् । विदेशबाट फर्केर स्वदेशमा सीप सिकेर जिल्लामा सफल उद्यमी बनेका छन्– हरि मगर (बाजेन) । वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्किएका मगरसँग हातेट्रयाक्टर मर्मत गर्ने सीप छ । यही सीप अहिले उनको जीवन धान्ने साधन बनेको छ । जिल्लामा व्यावसायिक रूपमा कृषियन्त्र उपकरण बिक्री वितरणसँगै मर्मतमा लागेका मगरलाई अहिले कामले भ्याइनभ्याई छ । पाँच वर्षअघिबाट ट्रयाक्टर बनाउने काममा लागेपछि पछाडि फर्केर हेर्नु नपरेको मगरको भनाइ छ । स्थायी घर धनकुटाको छथर जोरपाटी भएका मगर सुरुमा हातेट्रयाक्टर मर्मत गर्ने सोचले भोजपुर आएको बताउँछन् । लामो समय विदेशमा बिताएपश्चात सीप सिकेर काममा लागेका मगर अहिले सफल उद्यमीका रूपमा चिनिन्छन् । सुरुमा हातेट्रयाक्टर मर्मतको सीप लिएर सानोतिनो काम गर्ने सोचले यो पेसामा लागेका मगर अहिले उदाहणीय उद्यमी बन्नुभएको छ । सीपले उद्यमीसँगै स्वरोजार बनाएको मगरले बताए । 'मैले विभिन्न देशमा गरी १० वर्ष बिताएँ', मगरले भने, 'विदेशबाट आएपछि मैले घरेलुमार्फत हातेट्रयाक्टर मर्मत गर्ने सीप लिने मौका पाएँ । सीप लिएपश्चात गाउँघरमा पुगेर किसानको सेवा गर्ने लक्ष्यले म भोजपुर आएको थिएँ । तर त्यही सीपले अहिले स्वरोजगारसँगै उद्यमी बनायो ।' आफूले सञ्चालन गरिरहको उद्यमबाट अहिले अन्य तीन जनालाई रोजगारी दिएको उनले बताए । गाउँघरमा हातेट्रयाक्टरले खेतबारी जोत्ने चलन बढेसँगै कामको चाप पनि बढेको छ । भोजपुर नगरपालिका–७ सातधारामुनि कृषि औजार उपकरण बिक्री पसल पनि सञ्चालन गरिरहेको उनी बताउँछन् । ट्रयाक्टर बिग्रिएर समस्या परेका किसानलाई खेतबारीमा नै पुगेर सेवा दिने गरेको मगरले बताए । साथै सीप सिक्न चाहने किसानलाई निःशुल्क सीप दिने र ६० लाख लगानीमा उद्यम सञ्चालन गरिरहेको उनले बताए । 'मैले आफैँले सिकेको सीपबाट कमाएको पैसाले पसल पनि सञ्चालन गरिरहेको छु, साथीहरूको लहलहैमा लागेर विदेश गइयो । अहिले यहीँ सीप सिकेर विदेशको भन्दा राम्रो आम्दनी गरिरहेको छु । सीपले मानिसलाई सक्षम बनाउने रहेछ', उनले भने । यहाँबाट जिल्लाभरका किसानलाई आफूले जानेको सीप दिँदै आएको उनको भनाइ छ । घरेलु तथा साना उद्योग कार्यालय तथा स्थानीय तहले सञ्चालन गर्ने सीपमूलक तालिममा प्रशिक्षक रूपमा काम गर्ने मौका पाउने मगरले बताए । तालिममार्फत दुई सय बढी किसानलाई हातेट्रयाक्टर मर्मतको सीप दिइसकेको उनको भनाइ छ । पछिल्लो समय गाउँघरमा गोरुले जोतेर खेती गर्ने चलन कम हुँदै आएको छ । कृषिजन्य यन्त्र उपकरणको प्रयोगले किसानलाई सहजता भए पनि सञ्चालन तथा मर्मतको ज्ञान नुहँदा भने किसानले समस्या भोग्दै आएका छन् । रासस

तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम

भरतपुर । भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ। सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ। आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार यही असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो । उनले भने, 'अहिले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्नेलगायतका रोकिएको छ ।' अहिले पाइप गाडिसकिएका ठाउँमा केवल जोड्ने, पोल गाड्नेलगायतका काम भइरहेको उनले बताए । सडक विभागले वर्षातमा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको हो । उनका अनुसार सडक छेउमा खाल्डा खन्दा सडकमा पानी पस्ने, भासिनेजस्ता समस्या हुने भएकाले काम रोकिएको हो । आयोजनाले हालसम्म भरतपुरकामा विद्युत् भूमिगतको काम ७५ प्रतिशत सम्पन्न गरेको उनले बताए । पूर्वपश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा एकतर्फी भूमिगतको काम सम्पन्न भएको छ भने अर्काेतर्फ भूमिगत गर्ने काम बाँकी छ । उनले भने, 'फाउन्डेसन राख्ने काम सकिएको छ । केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ।' तेत्तीस केभी जडानको काम सकिएको छ भने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ । खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षातपछि कामलाई तीव्र बनाइने उनले बताए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको आयोजना प्रमुख सुवेदीले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ। काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनले बताए । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।