विकासन्युज

राष्ट्रिय जीवन बीमाले १० वर्षसम्म व्यतीत बीमालेखमा ५० प्रतिशत विलम्ब शुल्क छुट दिने

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान)का बीमितहरुको एक वर्ष वा सो भन्दा बढी अवधि व्यतीत भएका बीमा शुल्कमा लागेको विलम्ब शुल्कमा छुट दिने भएको हो ।  विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई मध्यनजर गर्दै कम्पनीले १५ दिन अर्थात् असार २५ गतेसम्मका बीमालेख नवीकरण गरेमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो । कम्पनीका अनुसार १० वर्षभन्दा बढी व्यतीत भएका बीमालेख यस विलम्ब शुल्क योजनामा समावेश गरिने छैन । यस्तै, विलम्ब शुल्कमा छुटको सुविधा बीमा लेख अवधिमा एक पटक प्रदान गरिनेछ । एक वर्षदेखि १० वर्षसम्मका व्यतीत बीमालेखहरु यस योजनामा समावेश गरिने कम्पनीले जनाएको छ ।

सांग्रिलाबाट ४ जना संस्थापक बाहिरिँदै, सिद्धार्थ प्रिमियरको १० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका एक जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ९ लाख ९९४ हजार ६२२ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण सेयरधनीहरुका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।  यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकका चार जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक सेयरधनी ओसिन बतासले २५ हजार ७५९ कित्ता, विश्व प्रकाश गुरुङले २५ हजार ७५९ कित्ता, बलराम श्रेष्ठले ६४ हजार कित्ता र प्रभा बुढाले १४ हजार ३१२ कित्तासेयर बिक्रीमा राखेका हुन् ।  बैंकको सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण सेयरधनीहरूका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ । तर, प्रभा बुढाको स्वामित्वमा रहेको सेयर खरिदका लागि १५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

दोर्दी खोला जलविद्युतको लकइनमा नरहेको सेयर बिक्रीमा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले करिब साढे १९ लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले असार २४ गतेदेखि असार ३२ गतेसम्म लकइनमा नरहेको हकप्रद सेयर लिलाममा बिक्री गर्ने भएको हो ।  कम्पनीले १ः१ अनुपातमा प्रति सेयर १०० रुपैयाँ दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । बाँकी रहेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर जेठ ११ गतेदेखि जेठ २० गतेसम्म लिलामीमा राखेको थियो । उक्त अवधिमा समेत बिक्री नभएको सर्वसाधारण समूहतर्फको ९३ हजार ६२९ कित्ता सेयर पुनः लिलामीमा राखेको हो । सेयर खरिदका लागि इच्छुक व्यक्ति वा संस्थाले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण सेयरसम्मको लागि बोलकबोल पेस गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सडक विभागले ३ महिना रोक्यो भूमिगत विद्युतीकरणको काम

काठमाडौं । भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो ।  उनले भने, ‘अहिले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्ने लगायतका रोकिएको छ ।’  अहिले पाइप गाडि सकिएका ठाउँमा केवल जोड्ने, पोल गाड्ने लगायतका काम भइरहेको उनको भनाइ छ । सडक विभागले वर्षान्तमा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको हो । उनका अनुसार सडक छेउमा खाल्डा खन्दा सडकमा पानी पस्ने, भासिने जस्ता समस्या हुने भएकाले काम रोकिएको हो ।  आयोजनाले हालसम्म भरतपुरमा विद्युत् भूमिगतको काम ७५ प्रतिशत सम्पन्न गरेको उनले बताए । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ ।  बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा एकतर्फी भूमिगतको काम सम्पन्न भएको छ भने अर्कोतर्फ भूमिगत गर्ने काम बाँकी  छ ।  उनले भने, ‘फाउन्डेसन राख्ने काम सकिएको छ । केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ ।’ ३३ केभी जडानको काम सकिएको छ भने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ ।  खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षापछि कामलाई तीव्र बनाइने उनले बताए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न १ अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ । सुरुआती समयमा १ अर्ब ३० करोड रुपैयाँ बजेट भरतपुरलाई विनियोजन गरिएको थियो ।    निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको आयोजना प्रमुख सुवेदीले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः ८ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनको भनाइ छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे, २/२ घण्टाको अन्तरालमा होटल सुविधा

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पद मार्गमा होटल सुविधा र पद मार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो । हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिसस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए ।  हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पद मार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो । अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पद मार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन् । पद मार्गको पहिचान गरी पद मार्ग, आश्रय स्थल, चिया पसल (टिसप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पद मार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए ।  उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए ।  ‘यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ । हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे । यस वर्ष आरोही पद मार्ग हुँदै आधार शिविर पुगेका छन् । अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ,’ गुरुङले भने ।  अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुम खोला, सन्धीखर्क, गुफा फाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए ।  उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बास बस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन् । यो याममा ६ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिए ।  विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आएका माइकल परियारले बताए ।    ‘दुई दिनको यात्रापछि यहाँ पुग्न सकिने यस पद मार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ । हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ,’ उनले भने ।  पद मार्गको प्रवेश विन्दु नारच्याङ गाउँमा घरबास (होमस्टे)को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई/दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गरेका अजित सेन्चुरी बताए ।  पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले उल्लेख गरे ।  पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्डताल, दर्जनौं झरना र रमणीय हिमाली भूबनावट यस पद मार्गका मुख्य आकर्षण हुन् ।  पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिसस हर्जोग पद मार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीय वासी बताउँछन् । 

पेट्रोलियम पदार्थ आयातमा  गिरावट, राजस्व ५.७० प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब ४ करोड ६० लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा १ अर्ब ६ करोड ४३ लाख रुपैयाँ अर्थात् ५.६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा  गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ५.७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख ८७ हजार रुपैयाँले बढेको छ ।   कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ८ अर्ब ७८ करोड २७ लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ८ अर्ब ११ करोड ५९ लाख रुपैयाँ मूल्य पर्ने ९३ हजार ८२४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी ६ अर्ब २६ करोड ७१ लाख रुपैयाँ मूल्य पर्ने ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ ।  त्यसैगरी, सोही अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ मूल्य पर्ने २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, ६१ करोड २० लाख रुपैयाँ मूल्य पर्ने ६ हजार ७०८ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख रुपैयाँ मूल्य पर्ने २ हजार ५२० किलोलिटर मट्टितेल आयात भएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्ने

काठमाडौं । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी उपचारमा प्रयोग हुने औषधिको अनुसन्धान गरी उत्पादन सुरु गर्ने तयारी गरेको हो ।  विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोखरेलले नेपाली जडिबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार विधि र पद्धतिलाई महत्त्व दिँदै उत्पादनसम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिए । चालु शैक्षिक सत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको उनको भनाइ छ ।  उपकुलपति पोखरेलका अनुसार १० वटा अनुसन्धानमध्ये मधुमेह रोगको उपचार गर्ने र ब्याक्टेरियोफेज सम्बन्धी अनुसन्धानलाई विशेष महत्त्वका साथ अगाडि बढाइएको छ । आफ्नै प्रयोगशालामा अनुसन्धान गरी विभिन्न आयुर्वेदिक औषधिसम्बन्धी उत्पादनको तयारी भइरहेको उनको भनाइ छ । उनले तह १ देखि तह ५ सम्मको ‘स्किल टेस्ट’ पास गरिसकेका विद्यार्थीलाई तह ६ देखि तह ८ सम्मको अध्ययन गराउने योजनाअनुसार विश्वविद्यालय अघि बढेको धारणा व्यक्त गरे । उपकुलपति पोखरेलले विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर अन्तर्गतका विभिन्न कार्यक्रममा ३२२ विद्यार्थी अध्ययनरत रहेका जानकारी दिए । कोसी प्रदेश सरकारले विसं २०७६ मा स्थापना गरेको विश्वविद्यालय मुलुकभित्रको पहिलो प्राविधिक विश्वविद्यालय हो । उपकुलपति पोखरेलले मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय भए पनि प्रदेश सरकारबाट अपेक्षित रूपमा बजेट विनियोजन नभएको गुनासो व्यक्त गरे ।  विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी आर्थिक वर्षका लागि ३७ करोड रुपैयाँ बजेट माग गरेकोमा १४ करोड रुपैयाँ मात्र विनियोजन भएको उपकुलपति पोखरेलले उल्लेख गरे । उनले कूल बजेटको ०.५ प्रतिशत मात्रै विनियोजन हुनु दुःखद भएको बताए । 

आज विनियोजन विधेयक पारित गरिने, सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । विनियोजन विधेयक पारित भएपछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुनेछ । बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । त्यसअघि बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । बैठकमा सांसदहरू अमरेश कुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालद्वारा प्रस्तुत खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।