मित्र इरानलाई बचाउने कि आफ्नो नाफा हेर्ने ? संकटमा रुस
काठमाडौं । अमेरिकाले तेहरानका आणविक भट्टीहरूमा बमबारी गरेपछि इरानले सहयोगका लागि रुससँग गरेको आग्रहमाथि सोमबारसम्म पनि विश्वभर चासोपूर्वक निगरानी भइरहेको छ । तर यस्तो अवस्थामा समेत मस्कोले आफ्नो रणनीतिक मित्रलाई तत्काल कुनै ठोस सहयोग गर्ने सम्भावना भने कमै देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘पूर्ण विनाश’ भनेर वर्णन गरेका ती आक्रमणले इरानलाई विश्वमञ्चमा भएका थोरै मित्र राष्ट्रहरूमध्ये रुसबाटै आशा राख्न बाध्य बनाएको छ । इरानका विदेशमन्त्री अब्बास आराघची सोमबार मस्को पुगेका छन् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गम्भीर छलफल गर्ने बताइएको छ । इरानले युक्रेन युद्धमा रुसलाई सैन्य ड्रोन र प्रविधिको ठूलो सहयोग गरेको छ, तर विश्लेषकहरूले भन्छन्- अब मस्कोले त्यसको सट्टामा इरानलाई फिर्ता दिने जति धेरै केही छैन, न दिने सम्भावना नै छ । बेरनबर्ग बैंकका प्रमुख अर्थशास्त्री होल्गर श्मिडिङले सोमबार एक टिप्पणीमा भनेका छन्, ‘इरानले पुटिनको युक्रेनविरुद्धको युद्धलाई हतियार र प्रविधिले व्यापक रूपमा सहयोग गरेको छ । अब विदेशमन्त्री आराघचीले मस्को पुगेर पुटिनसँग त्यसको सट्टा फिर्ता माग्न सक्नेछन् ।’ ‘तर पुटिनसँग केही शब्दबाहेक धेरै दिन सक्ने छैनन् । युक्रेनमाथि जारी आक्रमणका लागि उनलाई आफ्नै हतियारहरू चाहिन्छ,’ उनले थपे । त्यसका साथै रुसलाई इरानलाई खुसी राख्न र सहयोग गर्न अनि यता अमेरिकी राष्ट्रपति ट्रम्पसँग सम्बन्ध राम्रो बनाउन बीचमा सन्तुलन मिलाउनुपर्ने समस्या पनि छ । श्मिडिङले भने, ‘यदि पुटिनले इरानको पक्षमा काम गरेको अवस्थामा ट्रम्प रिसाउन सक्छन् अनि रुसमाथि नयाँ कडा प्रतिबन्ध लगाउन सक्छन् वा पुटिनको शक्तिलाई अरू तरिकाले कमजोर पार्न सक्छन् ।’ हालसम्म मस्कोको प्रतिक्रियालाई हेर्दा स्थिति सामान्य जस्तै छ । रुसले इरान र इजरायललाई वार्तामार्फत शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ । केही पाउँदा केही गुमाउँदै विश्लेषकहरू भन्छन्- इरानको द्वन्द्वले पक्कै पनि केही हदसम्म युक्रेनको सन्दर्भमा रुसलाई फाइदा पुर्याउन सक्छ किनकि यसले पश्चिमा ध्यान र स्रोतहरू युक्रेनबाट हटाउँछ । तेलको मूल्य बढ्दा तेल निर्यात गर्ने रुसका लागि युद्धकोषमा अझै आम्दानी हुने सम्भावना पनि छ । तर अर्कोतर्फ रुस अर्को मध्यपूर्वी मित्र राष्ट्र कमजोर हुँदा आफ्नै प्रभाव क्षेत्र पनि गुमाउँदैछ । गत वर्ष सिरियामा बशार अल असदको सत्ता पल्टिएपछि मस्कोले त्यहाँका हवाई र नौसैनिक बेसहरू पनि संकटमा पारिसकेको छ । इरान अत्यधिक अस्थिर भएमा रुसले त्यहाँका सम्भावित लाभदायी लगानी र पूर्वाधार परियोजनाहरू समेत गुमाउनेछ । अहिले मस्कोको लागि सबैभन्दा ठूलो प्रश्न भनेकै- इरानलाई सहयोग गर्दा वा छोड्दा के कति नाफा वा घाटा हुन्छ भन्ने हो । कार्नेगी रसिया युरेसिया केन्द्रका इरानी विदेश तथा गृह नीति विज्ञ निकिता स्मागिन भन्छिन्, ‘मस्कोले मध्यपूर्व युद्धलाई के रूपमा बुझ्ने भन्नेमा अझै निश्चित छैन ।’ ‘पछिल्लो तीन वर्षमा रुसले इरानमा धेरै परियोजनामा लगानी गरेको छ, जुन अहिले खेर जान सक्छ । तर अर्कोतर्फ मस्कोले मध्यपूर्वको अस्थिरताबाट तेलको मूल्य बढेर र युक्रेनमा चासो घटेर फाइदा उठाउने आशा राखेको छ,’ उनले थपिन् । स्मागिनले भने अनुसार रुसले इरानलाई सैन्य सहयोग दिने सम्भावना त छैन नै बरु हालै इरानमा लगानी गरेको तेल ग्यास, पूर्वाधार र पारवहन परियोजनामा परेको खतरा नै मस्कोका लागि ठूलो चुनौती बनेको छ । स्मागिनले थपे, ‘इजरायली कारवाही सुरु हुनुभन्दा केही दिनअघि मात्रै तेहरानका रुसी राजदूतले रुस इरानको सबैभन्दा ठूलो वैदेशिक लगानीकर्ता भएको बताएका थिए । राजदूतले रकम भने खुलाएका थिएनन् । तर गत वर्ष रुसी लगानी २.७६ अर्ब डलर अनुमान गरिएको थियो । तेल ग्यास परियोजनामा मात्र रुसले झण्डै ८ अर्ब डलर लगानी गर्ने योजना बनाएको थियो ।’ अब ती सबै योजनाको भविष्य नै अन्योलमा परेको छ । सान्दर्भिक सामग्री : इरान-इजरायल संघर्ष र अमेरिकी हस्तक्षेपले तेल बजारमा नयाँ संकट इरान-इजरायल युद्धमा अमेरिकाको सीधा हस्तक्षेप, मध्यपूर्वमा संकट गहिरिँदै
नेप्सेमा सामान्य सुधार, १२३ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २६०० विन्दुमा पुगेको छ । आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ५२ करोड रुपैयाँ बराबरको करोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ४२ करोड, न्यादी गुप्रको ३३ करोड, सानीमा माइ हाइड्रोको २८ करोड र हिमालयन पावर पार्टनरको २६ करोड रुपैयाँको कारोबार भएको छ । आज जोशी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
इजरायलबाट फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी गराएकी हुन् । सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन शुरू गरेको थियो । उनले इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत बताइन् । सरकारले युद्ध शुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाको भनाइ छ । उनले सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि बताइन् । हालसम्म भारतमा बन्दी बनाइएका ५७ जना नेपालीहरुको उद्धार गरिएको समेत जानकारी दिइन् । उनले भनिन्, ‘परराष्ट्र मन्त्रालयले हाल इजरायल–इरानबीच उत्पन्न द्धन्द्ध र यसका प्रभावहरुलाई अत्यन्त गम्भिरता साथ लिँदै ति क्षेत्रहरुमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको आएको छ । हालसम्म ८ सय ८५ जनाले दर्ता गर्नुभएको छ । अबको एकदुई दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज पनि गर्न गइरहेका छौँ ।’ उनले अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न समेत कार्यदल गठन गरी काम अघि बढाइएको बताइन् । इजरायल–गाँजा युद्धमा बेपत्ता भएका नेपाली विद्याथी वीपिन जोशीको रिहाईको लागि समेत सरकार प्रयासरत रहेको जानकारी दिइन् ।
साओमीले वाईयू सेभेन एसयूभीको मूल्य जुन २६ मा सार्वजनिक गर्ने
काठमाडौं । साओमीले वाईयू सेभेन एसयूभीको मूल्य जुन २६ मा सार्वजनिक गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेई जुनले सोमबार आफ्नो वेइबोमार्फत यस्तो जानकारी दिएका हुन् । नयाँ गाडीको लागि कम्पनीले यही बिहीबार आधिकारिक सार्वजनिक कार्यक्रममा मूल्य घोषणा गर्ने र अर्डर लिन सुरु गर्ने बताए । साओमीले यसअघि मे महिनामा आफ्नो दोस्रो ईभी मोडेलको विशेषताहरू सार्वजनिक गरिसकेको छ । साओमीले आधिकारिक रूपमा आफ्नो इलेक्ट्रिक कार डिभिजन सन् २०२१ मा सुरु गरेको थियो । कम्पनीले यो दशकभरि करिब १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । साओमीको पहिलो इलेक्ट्रिक कारको नाम साओमी एसयू सेभेन हो जसको माग निकै उच्च छ । साओमीको पहिलो सार्वजनिक घोषणा २०२३ को अन्त्यतिर भएको थियो भने व्यावसायिक रूपमा बिक्री २०२४ मार्च/अप्रिलदेखि सुरु ।
विद्युत प्राधिकरणको एकाधिकार खोसिँदै, अब उत्पादकले नै बिजुली बिक्री गर्न सक्ने
काठमाडौं । सरकारले विद्युत खरिद बिक्रीको काम अब निजी क्षेत्रलाई पनि दिनेगरी काम गरेको छ । अहिले जलविद्युत उत्पादकले उत्पादन गरेको बिजुलीलाई सरकारको स्वामित्व रहेको नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने व्यवस्था भएपनि अब निजी क्षेत्रले पनि आफै विद्युत खरिद तथा बिक्री गर्न पाउने व्यवस्था सरकारले गर्न लागेको हो । जलविद्युत क्षेत्रको नियामक विद्युत नियमन आयोगले खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२ को मस्यौदा सार्वजनिक गर्दै निजी क्षेत्रलाई पनि विद्युत खरिदबिक्री प्रक्रियामा सामेल गराउने तयारी भइरहेको जानकारी दिएको हो । आयोगले मस्यौदा जारी गर्दै सरोकारवाला निकाय, विज्ञ तथा सर्वसाधारणबाट राय तथा सुझाव माग पनि गरेको छ । आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा १४ (ञ) तथा नेपाल सरकार ऊर्जामन्त्रीस्तरीय जनरल नेटवर्क एक्सेस फ्रेमवर्कको आधारमा खुला पहुँच सम्बन्धी व्यवस्था गर्न यो मस्यौदा ल्याएको बताएको छ । मस्यौदा निर्देशिका आयोगको २७६औं बैठकबाट पारित भई सार्वजनिक रायका लागि सार्वजनिक गरिएको आयागेको भनाइ छ । निर्देशिकामा ३३ केभी वा सोभन्दा तलको भोल्टेज तहमा जोडिएका ५ मेगावाट वा सोभन्दा माथिको क्षमताका उत्पादन परियोजना, १ मेगावाट क्षमताका क्याप्टिभ योजनाहरु तथा औद्योगिक तथा व्यापारिक उपभोक्तालाई गैर-भेदभावपूर्ण पहुँच उपलब्ध गराउने व्यवस्था छ । खुला पहुँच भन्नाले उत्पादन, प्रसारण र वितरण पूर्वाधार अन्य कम्पनी वा उपभोक्ताले प्रयोग गर्न पाउने व्यवस्था हो । यसमार्फत उपभोक्ताले नेपाल विद्युत प्राधिकरण बाहेकका उत्पादन कम्पनीबाट प्रत्यक्ष रुपमा विद्युत किनमेल गर्न सक्नेछन् । आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले खुला पहुँच लागू भएसँगै लगानी आकर्षण, प्रतिस्पर्धा प्रवर्द्धन, जोखिम न्यूनीकरण, थोक बजार विस्तार, निजी क्षेत्रको सहभागिता र अन्तर्राष्ट्रिय बजारमा व्यापारको अवसर खुल्ने बताए । उनले अब अहिले लाइसेन्स लिएका र नयाँ आउने कम्पनीले पनि आफै उपभोक्ता खोजेर विद्युत बिक्री गर्न सक्ने जानकारी दिए । निर्देशिका कार्यान्वयनको लागि आयोगले १२० दिन र १८० दिन भित्र गर्ने कार्यहरू निर्धारण गरेको छ । यस अन्तर्गत खुला पहुँच सम्झौता, सेटलमेन्ट प्रणाली, मिटरिङ निर्देशिका, तथा दोहोरो जडान निर्देशिका जारी गरिनेछ । साथै प्रसारण तथा वितरण प्रणालीमा आवश्यक मिटर जडान गरिनेछ ।
सुनचाँदी व्यवसायीहरूको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन संसदीय समितिको निर्देशन
काठमाडौं । नेपालका सुनचाँदी व्यवसायीहरूको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन संसदीय समितिले निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले सरकारलाई उद्योगी व्यवसायीहरूको संरक्षण गर्न र राज्यले पनि आफ्नो कर प्रणाली चुस्त बनाउन अर्थ समितिले सरकारलाई निर्देशन दिएको हो । समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सन्तोष चालिसेले अरु देशमा बजार नजाने गरी यहाँका उद्योगी व्यवसायीहरूको संरक्षण गर्नेगरी यसलाई सम्पूर्ण शुद्धिकरण गर्नुपर्ने बताए । उद्योगी व्यवसायी बाँकी रहे मात्रै कर उठ्ने भन्दै उनले उद्योगी व्यवसायीहरूको संरक्षण गर्ने किसिमको नीति आवश्यक रहेको जानकारी दिए । उनले भने, ‘अरु देशमा बजार नजाने गरी यहाँका उद्योगी व्यवसायीहरूको संरक्षण गर्नेगरी यसलाई सम्पूर्ण शुद्धिकरण गरेर हामीलाई जानकारी दिने । उद्योगी व्यवसायी बाँकी रहे ट्याक्स उठ्ने र नउठ्ने हुन्छ । उद्योगी नै बाँकी रहेनन् भने ट्याक्सको कुरा नै नगरे हुन्छ ।’ समितिमा सोमबार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो ।
अब बिना ड्राइभर ट्याक्सीमा यात्रा, मस्कको रोबोट्याक्सी सार्वजनिक
काठमाडौं । विश्वकै सबैभन्दा धनी एलन मस्कको कम्पनी टेस्लाले लामो प्रतीक्षापछि अन्ततः आफ्नो रोबोट्याक्सी सार्वजनिक गरेको छ । मस्कले करिब दश वर्षअघि रोबोट्याक्सीको वाचा गरेका थिए । वाचाअनुसार उनले टेस्लालाई अष्टिनका सडकमा उतारेका हुन् । यो विद्युतीय सवारीसाधन निर्माण गर्ने विश्वकै सबैभन्दा मूल्यवान कार कम्पनीका लागि नयाँ युगको सुरुवात हो । आइतबार कम्पनीले आफ्नो ड्राइभर बिनाको ट्याक्सी सेवा सुरु गरिसकेको छ । सुरुवातमा केही गाडी मात्रै सञ्चालनमा आउनेछन् । यी गाडीहरू सहरका केही विशेष क्षेत्रमै चल्नेछन् । टेस्लाले यो विशेष सेवा प्रयोगका लागि केही विशेष व्यक्तिहरूलाई रोजेको छ । ती व्यक्तिहरूले ट्याक्सीमा यात्रा गरेर आफ्नो प्रतिक्रिया दिनेछन् । सर्वसाधारणलाई अझै केही समय पर्खनु पर्नेछ । लगानीकर्ताहरूले रोबोट्याक्सीले कम्पनीको बिक्रीमा वृद्धि ल्याउने आशा गरेका छन् । पछिल्लो समय टेस्लाको बिक्रीमा गिरावट आएको छ । कम्पनीका सीईओ एलन मस्कप्रति केही मानिसहरूमा असन्तुष्टि पनि देखिएको थियो । बिना ड्राइभरको गाडी मस्कलाई स्वायत्त प्रविधि (अटोनोमस), कृत्रिम बौद्धिकता (एआई) र ह्यूमेनोइड रोबोटमा धेरै भरोसा छ । यद्यपि यो बजार अहिलेसम्म पूर्णरूपमा सफल भएको छैन । टेस्लाले भर्खरै टेक्सासको राजधानी अष्टिनमा परीक्षण तीव्र पारेको हो । मोडेल वाई एसयूभी गाडीहरू निर्माता प्लेटसहित सहरको दक्षिणी र दक्षिणपूर्वी भागमा देखिएका छन् । मस्कले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका थिए जसमा एउटा गाडी अष्टिनमा बिनाड्राइभर चलिरहेको देखिन्थ्यो । मस्कका अनुसार सुरुमा टेस्लाले १० देखि २० वटा गाडी सञ्चालनमा ल्याउनेछ । त्यसपछि केही महिनामा यो संख्या एक हजारसम्म पुर्याउने योजना छ । पछि कम्पनीले एउटा विशेष साइबरक्याब ल्याउनेछ जसमा पेडल वा स्टेरिङ ह्वील हुनेछैन । मस्क यसअघि पनि ड्राइभरबिनाको सवारीको ठूला दाबी गरिसकेका छन् । सन् २०१६ मा उनले एउटा व्यवसायिक योजनामा स्वायत्त सवारी सेवा ल्याउने कुरा बताएका थिए । त्यसपछि सन् २०१९ मा भनेका थिए कि टेस्लाका ग्राहकहरूले २०२० सम्म आफ्ना गाडीहरूलाई रोबोट्याक्सीको रूपमा प्रयोग गर्न सक्नेछन् । नयाँ युगको सुरुवात टेस्लाले एउटा प्रणाली उपलब्ध गराउँछ जसलाई ‘फुल सेल्फ ड्राइभिङ’ भनिन्छ । तर यस नामका बाबजुद पनि यसमा चालकले सधैं ध्यान दिनैपर्छ । यसले गाडीलाई पूर्णरूपमा स्वायत्त बनाउँदैन । कम्पनीले आफ्नो रोबोट्याक्सी नेटवर्कलाई सफ्टवेयरको ‘अनसुपरभाइज्ड’ संस्करण प्रयोग गरेर सञ्चालन गर्ने बताएको छ । यसमा कुनै ड्राइभरले निगरानी राख्न आवश्यक हुने छैन । यसको अर्थ गाडीले आफै चल्नेछ । टेस्लाको यो कदमले अटोमोबाइल उद्योगमा ठूलो परिवर्तन ल्याउन सक्छ । यदि सफल भयो भने यसले यातायातको तरिकालाई पूर्णरूपमा बदलिदिनेछ । तर, सुरक्षा र कानुनी पक्ष अझै पनि चिन्ताको विषय बनेका छन् । हेर्न बाँकी छ कि टेस्लाले यी चुनौतीहरूको सामना कसरी गर्नेछ । साथै मानिसहरूले ड्राइभरलेस ट्याक्सीलाई कत्तिको रुचाउनेछन् भन्ने प्रश्न पनि छ । के उनीहरू बिनाड्राइभरको गाडीमा चढ्न सहज महसुस गर्नेछन् ? के यो प्रविधि सुरक्षित सावित हुनेछ ? यी प्रश्नहरूको उत्तर आगामी दिनहरूले नै दिनेछन् । अहिले भने टेस्लाले एउटा रोमाञ्चक र अनिश्चित भविष्यतर्फ पहिलो पाइला चालेको छ । इरान-इजरायल संघर्ष र अमेरिकी हस्तक्षेपले तेल बजारमा नयाँ संकट
विश्व रेकर्ड तोड्ने पिकअप फोटोन टुनल्याण्ड जी ७ नेपालमा सार्वजनिक
काठमाडौं । नेपालको पिकअप बजारमा एक नयाँ अध्याय सुरु भएको छ । फोटोनको बहुप्रतीक्षित पिकअप टुनल्याण्ड जी ७ शुक्रबार पुलचोकस्थित ‘द प्लाजा’मा एक भव्य कार्यक्रमबीच औपचारिक रूपमा सार्वजनिक गरिएको छ । नेपालमा सार्वजनिक हुनुअघि नै टुनल्याण्ड जी ७ ले २३ दिनमा विश्वका ८ वटा अग्ला र चुनौतीपूर्ण अफ-रोड ट्रेलहरू पार गरेर कीर्तिमान राखेको थियो । यसले यो पिकअपलाई विश्वमै पहिलो पटक यस्ता कठिन भूभाग पार गर्ने पिकअपको रूपमा स्थापित गराएको कम्पनीले जनाएको छ । टुनल्याण्ड जी ७ को नेपाल आगमनलाई स्वागत गर्दै कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले फोटोनसँगको सहकार्यप्रति विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्षहरूमा नेपालमा १ हजार ५०० भन्दा बढी फोटोन सवारीसाधन बिक्री भएको र त्यसमध्ये ५०० भन्दा बढी पिकअप रहेको समेत दिए । सार्वजनिक कार्यक्रममा फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक ली जुओचेङ, प्यासेन्जर भेहिकल बिजनेसका सीनियर मार्केटिङ म्यानेजर एमिली डिङ, लियो झाओ र एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्तालगायत कम्पनीका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमपछि टुनल्याण्ड जी ७ बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरणसमेत गरिएको थियो । फोटोनले चीनमा पहिलो पटक अटोनोमस व्यवसायिक सवारी सार्वजनिक गरेको इतिहास बोकेको कम्पनी हो । त्यसै नवप्रवर्तनशील परम्पराको पछिल्लो उदाहरण टुनल्याण्ड जी ७ हो । १६० एचपी पावर र ३९० एनएम टर्क क्षमताको यो पिकअप २२५ मिमीको ग्राउन्ड क्लियरेन्सका साथ हिमाली र कठोर अफ-रोड मार्ग सहजै पार गर्न सक्ने बनाइएको छ । हिल होल्ड कन्ट्रोल, हिल डिसेण्ट कन्ट्रोल र पुश-स्टार्ट बटनजस्ता फिचरहरूले यसको अफ-रोड क्षमतालाई अझ प्रभावकारी बनाउँछन् । साथै यसमा १२।३ इन्चको इन्फिनिटी टच स्क्रिन, तातो तथा चिसो हुने १२ तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिट, प्यानोरामिक सनरूफ र अटोमेटिक एयर कन्डिसनिङ जस्ता सुविधा पनि छन् । यो गाडी तीन फरक भेरियन्ट एलिट, लक्जरी र फ्ल्यागशिपमा उपलब्ध छ । जसको मूल्य क्रमश: ५१ लाख ९९ हजार, ६५ लाख ४० हजार र ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ । फोटोनका सवारीसाधन नेपालमा आधिकारिक रूपमा एमएडब्लू वृद्धि कमर्सियलले वितरण गर्दै आएको छ ।