व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब
एजेन्सी । जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब ७.५ अर्ब अमेरिकी डलर) बराबरको व्यापार घाटा दर्ता गरेको छ । यो पछिल्ला तीन महिनामध्ये पहिलो व्यापार घाटा हो । बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयातको कुल परिमाण उच्च रहेकाले समग्र व्यापार सन्तुलन घाटामा गएको हो । जापानको वित्त मन्त्रालयको प्रारम्भिक प्रतिवेदनअनुसार जनवरीमा निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८ प्रतिशतले वृद्धि भई ९.१९ खर्ब येन पुगेको छ । यसअघि महिनामा निर्यात ५.१ प्रतिशतले बढेको थियो, जसको तुलनामा जनवरीको वृद्धि उल्लेखनीय रूपमा उच्च देखिएको छ । निर्यातमा भएको यो विस्तारले बाह्य बजारमा जापानी वस्तुहरूको माग सुदृढ रहेको सङ्केत गर्छ । यता आयात भने वार्षिक आधारमा २.५ प्रतिशतले घटेर १०.३४ खर्ब येनमा झरेको छ । अघिल्लो महिनामा आयात ५.३ प्रतिशतले बढेको थियो । आयात घटे पनि यसको कुल आकार निर्यातभन्दा ठूलो रहेकाले व्यापार घाटा कायम भएको हो। ऊर्जा, कच्चा पदार्थ तथा उपभोग्य वस्तुहरूको आयात संरचनाले पनि व्यापार सन्तुलनमा प्रभाव पारेको जनाइएको छ । अर्थविश्लेषकहरूका अनुसार निर्यात वृद्धिले अर्थतन्त्रलाई केही हदसम्म टेवा दिए पनि विश्वव्यापी आर्थिक अवस्था, विनिमय दरको उतारचढाव तथा घरेलु मागको स्थितिले आगामी महिनाहरूमा व्यापार सन्तुलनमा थप प्रभाव पार्न सक्ने देखिन्छ । सरकारको आगामी आर्थिक नीतिले निर्यात प्रवर्द्धन र आयात व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि चासो व्यक्त गरिएको छ ।
कांग्रेसको १० भिजन : आर्थिक भार नपर्ने नेपालदेखि विश्वले सम्मान गर्ने स्वाभिमानीसम्म
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र अर्थात् १० भिजन सार्वजनिक गरेको छ । पार्टी सभापति गगन थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेश प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा बुधबार सांस्कृतिक नगरी जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । नेपाली कांग्रेसको १० वटा प्रतिज्ञामा सम्मानित भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल र ओखती र ओत दिने नेपाल रहेका छन् । यस्तै, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र समुन्नतिमा लम्किने नेपाल शीर्षक दिएर कांग्रेसले १० वटा प्रतिज्ञा सार्वजनिक गरेको हो । ‘नेपाली कांग्रेसले चाहेको यतिमात्र छ कि आगामी दिनहरूमा आम मतदाता र जनताले प्रतिज्ञापत्रको कार्यान्वयनका आधारमा पार्टी, तमाम नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्यांकन गर्नुहुनेछ’, कांग्रेसले भनेको छ, ‘कांग्रेसले आफ्नो प्रतिज्ञा पूरा गर्न तर,अमुक र अमूर्त कारण देखाएर जिम्मेवारीबाट नभाग्ने समेत बताएको छ । ‘हामी अमुक र अमूर्त कारण देखाएर कहिल्यै जिम्मेवारीबाट पन्छिदैनौं ।’ यस्तो छ कांग्रेसको भिजन नेपाली कांग्रेस जनता-जनार्दनको बलमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहने, जीवनलाई सुखी बनाउने कुनै कुराको अभाव नभएको” व्यवस्था ल्याउने महान लक्ष्य बोकेर स्थापना भएको पार्टी हो । युग परिवर्तन भए पनि जनतालाई सम्पन्न र सम्मानित बनाउने संघर्षकालीन इतिहासको त्यही लक्ष्य नै हाम्रो मूल प्रेरणा हो । परिवर्तित समयको चेतनालाई आत्मसात गरेर नयाँ सोच र युवा ऊर्जासहित परिमार्जित भएको नेपाल, कामसे विचारमा स्पष्ट र कार्यशैलीमा चनाखो बनेको छ । विगतका ठूला ऐतिहासिक उपलब्धिमाथि गर्व गर्दै र समस्त कमी–कमजोरीको अनुभवबाट पाठ सिक्दै हामी देशको अवस्था बदल्ने र देशलाई सम्हाल्ने दृढ प्रतिबद्धताका साथ तपाईंको घरदैलोमा आएका छौं । आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिका एकमात्र उद्देश्य नेपाललाई समृद्ध र नेपालीलाई सम्मानित बनाउनु हुनेछ । यसका निम्ति हामीले हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ तल उल्लेख गरेका छौं । यो आगामी पाँच वर्षभित्रै हासिल हुन सक्ने लक्ष्य होइन, हामीले बनाउन चाहेको सुन्दर नेपालको तस्वीर हो । हाम्रो यो प्रतिबद्धतापत्रमा प्रस्तुत गरिएका सिद्धान्त, नीति र आगामी पाँच वर्षका कार्यक्रमहरू त्यही लक्ष्यलाई हासिल गर्ने प्रारम्भिक पाइला हुन् । १. सम्मानित भएर बाँच्न पाउने नेपाल हाम्रो परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुनेछ । कानूनको परिधिभित्र रही इच्छाअनुसारको काम, पेशा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ । देश–विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुने छैनन् । हामी यस्तो समाजको निर्माण गर्नेछौं, जुन कुनै पनि बहानामा हुने शारीरिक, मानसिक वा लैंगिक हिंसाबाट मुक्त हुनेछ । वंश, जात वा लिङ्गका आधारमा प्राप्त हुने विशेषाधिकार एवं जन्म भएको परिवार वा स्थानको आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुनेछ । जात, धर्म, वर्ण, लिङ्ग, वर्ग वा भूगोलका आधारमा सिर्जना भएका छुवाछुत, विभेद र अवरोधलाई भत्काउँदै हामी प्रत्येक नागरिकले आत्मसम्मानका साथ निर्धक्क बाँच्न र सिर्जना गर्न सक्ने साझा घर र सहिष्णु समाज बनाउनेछौं । २. सपना देख्न सक्ने नेपाल हाम्रो परिकल्पनाको नेपाल प्रगति र उन्नतिको सपना देख्ने नागरिकहरूको देश हुनेछ । दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाहसँगै अग्रज पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयासले ती सपनाहरू साकार हुनेछन् । राष्ट्रिय नव निर्माणको भावनाले ओतप्रोत युवाहरू शासन र विकासका साझेदार बन्नेछन् । उज्यालो भविष्य खोज्ने युवालाई स्वदेशमै परिवारसँगै रमाउँदै मर्यादित र आकर्षक अवसरहरू हुनेछन्, जहाँ उनीहरूको सिर्जनशीलताको उच्च कदर र प्रोत्साहन हुनेछ । हाम्रो राज्य प्रवास रहेर पौरख र सामथ्र्य खर्चिरहेका नेपालीहरूको पनि अभिभावक हुनेछ । संसारभरि छरिएका नेपालीको भावना, ज्ञान, सीप र पूँजी मातृभूमिको पुनर्जागरणमा जोडिनेछ । हाम्रो देश विदेशिएका नेपालीलाई ‘फर्कन रहर लाग्ने’ र स्वदेशमा रहेकालाई ‘यहीं सुनौलो भविष्य देखिने’ जीवन्त देश हुनेछ । ३. सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सिर्जना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य हुनेछ । सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिनेछ । साथै, आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आय आर्जन गर्न सक्ने गरी सक्षम बनाउनेछ । श्रमिकको पसिना पवित्र छ, उसको मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मान राज्यको कर्तव्य हुनेछ । राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्नेछ, तर अवैध तरिकाले सम्पत्ति थप्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्नेछ । आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिकै रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्नेछ । ४. पेटभर खुवाउने, देशलाई चिनाउने किसानको नेपाल हाम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन् । कृषि पेशा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ । नेपाली किसानले मुलुकलाई चाहिने स्वस्थकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चितता समेत पाउनेछन् । युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन् । राज्यले सिंचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ । नेपालको उत्पादनलाई विश्व बजारमा ‘ब्रान्ड’ बनाउने दृष्टिकोण बोकेका कृषि उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ । ५. ओखती र ओत दिने नेपाल हाम्रो परिकल्पनाको नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ । परिवारमा कसैलाई रोग लागिहाले ‘कसरी उपचार गर्ने’ र ‘अस्पतालको शुल्क कसरी तिर्ने’ भन्ने डरबाट नागरिकहरू मुक्त हुनेछन् । स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, ‘उपचार नागरिकको मौलिक अधिकार’ भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ । विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पूरा गर्नेछ । ६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्वपूर्ण लगानी मान्दछ । शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुनेछ । आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुने छैन । शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्छ, त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ । सबै किसिमका हिंसा र शोषणबाट मुक्त हाम्रा नानीबाबुहरूले विद्यालय र खेलमैदानमा रमाउँदै बाल्यकाल बिताउन पाउनेछन् । प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरू विद्यार्थीको सिर्जनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र हुनेछन् । जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणालीले हाम्रा युवालाई विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बनाउनेछ । ७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुनेछन् । ‘निमुखालाई ऐन र ठूलालाई चैन’ हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् । अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ । स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुनेछन् । राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटल नेपाल’ को अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउनेछन् । निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ । ८. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल हाम्रो विविधता र विशेषता नै नेपालको मौलिक पहिचान हो । नेपालका हिमाल, पहाड र मधेसमा बस्ने सबै जातजाति, उनीहरूले बोल्ने भाषा, मान्ने धर्म, परम्परा, संस्कृति, कला र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशेष पहिचान हो । हाम्रा विविध भाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण हुनेछ । हाम्रो परिकल्पनाको नेपालमा यी सबै विविधता र विशेषताहरूको समान रूपमा सम्मान र संवद्र्धन हुनेछ । यिनै विविधता र विशेषताको जगमा उभिएर हामी आधुनिकतासँग कदममा कदम मिलाएर अघि बढ्ने नेपाल निर्माण गर्नेछौं । विश्व ज्ञान, विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको, तर आफ्नो मौलिकतामा गर्व गर्ने नेपाल निर्माण हुनेछ । ९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल हाम्रो परिकल्पनाको नेपाल विश्व समुदायमाझ एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रको रूपमा स्थापित हुनेछ । नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिनेछ । हाम्रो छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुनेछ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाइनेछ । हामी नेपाललाई सगरमाथा, बुद्ध, पशुपति र जानकीको देशका रूपमा मात्र होइन, विश्व समुदायको एक जिम्मेवार र प्रतिष्ठित सदस्यका रूपमा चिनाउनेछौं । हामी यस्तो नेपाल बनाउनेछौं, जहाँको राहदानीलाई अरूले सम्मान गरून् र हामीले सदैव गर्व गर्न सकौं । १०. समृद्धितर्फ लम्कने नेपाल हाम्रो प्रणालीको कार्यसम्पादन क्षमता उत्कृष्ट र परिणाममुखी हुनेछ । सबै योजनाहरूको गति र गुणस्तर विश्वस्तरको हुनेछ । कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको तीव्र विकास हुनेछ । हिमाल, नदी, वनजंगलजस्ता हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित रहनेछन् । हाम्रो अर्थतन्त्र खुला, प्रतिस्पर्धी, प्रविधिमैत्री र वातावरणमैत्री हुनेछ, जसले अन्तर्राष्ट्रिय लगानी र प्रविधिलाई आकर्षित गर्नेछ । हाम्रो परिणाममुखी लोकतन्त्रमा सरकार सत्ताको निरन्तरतामा होइन, जनजीवनमा देखिने प्रत्यक्ष सुधार र उपलब्धिमा केन्द्रित हुनेछ । देश निर्माणको अभियानमा सबै जात, जाति, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक सहभागिता रहनेछ । समृद्धिको लाभ सामाजिक न्यायका आधारमा सबै नागरिकले समान रूपमा पाउने अवस्था सुनिश्चित हुनेछ । सबल, सक्षम, स्वतन्त्र र सम्मानित नेपाली नागरिकको साझा प्रयासबाट निर्माण हुने समृद्ध नेपालमा जातीय, भाषिक, क्षेत्रीय लगायतका विविधताको जोडबाट नयाँ भाव सिर्जना भई नेपाली राष्ट्रियता सुदृढ र सबल हुनेछ ।
देशको अस्मिता र अस्तित्व नै संकटमा परेको छ : पूर्वराजा शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक यतिबेला अस्वाभाविक छटपटीको भूमरीमा परेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा बुधबार (आज) सार्वजनिक सन्देश जारी गर्दै उनले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको बताएका हुन् । ‘देश इतिहासकै सबैभन्दा गहिरो दर्दनाक अवस्थामा आइपुगेको’ पूर्वराजा शाहको भनाइ छ । ‘सिंगै मुलुक यतिबेला अस्वाभाविक छटपटिको भूमरीमा फसेको छ। देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन् । विगतमा अनेकौं नाम र अवरणमा अनेकौं आन्दोलन र संघर्ष भए । संघर्षको आडमा परिवर्तन पनि गरिए । तर, सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दिए भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ,’उनले भनेका छन् । पूर्वराजा शाहले एक नेपालीले अर्को नेपालीलाई शत्रु ठान्ने गलत संस्कृति विकास भएकोतर्फ चिन्ता व्यक्त गरेका छन्। ‘हाम्रो शत्रु विपन्नता र अस्थिरता हो । तर, एउटा नेपालीको बैरी अर्को नेपाललाई ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दिएका छौं । जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ,’ सन्देशमा उल्लेख छ । पूर्वराजा शाहले आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्णबिराम लगाउँदै परस्पर सद्भाव र एकताको राजनीति गर्न पनि सबैसँग आग्रहसमेत गरेका छन् । उनले राष्ट्रिय सहमति गरेर चुनाव गर्नुपर्नेमा द्वन्द्वलाई यथावत् राखेर चुनावमा जान लागिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। यस्तै, उनले पूर्वी नेपालबाट राजधानी फर्किंदा आफूप्रति दर्शाइएको स्वागत र सम्मानप्रति आभार व्यक्त गर्दै यसले आफूलाई अटल दायित्वबोध मिलेको बताएका छन्।
पुरानो शैलीले नयाँ देश बन्दैन, २०९२ सम्मको सोचसहित कांग्रेस बदलियो : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पुरानो शैलीले नयाँ देश बनाउन नसकिने दावी गरेका छन् । बुधबार (आज) जनकपुरधाममा आयोजित कांग्रेसको प्रतीज्ञासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशलाई सम्हाल्न कांग्रेस बदलिएर आएको उपसभापति शर्माले बताए । ‘पुरानै ढंगले चलेर नयाँ परिणाम दिन सकिँदैन,’ शर्माले भने, ‘नयाँ संसद्, नयाँ सरकार बनाउने मात्रै होइन, हामी बदलिनुपर्छ । नवीन ढंगले अघि बढ्न मधेसमा आएका छौं । हामी नयाँ भएर आएका छौं ।’ उपसभापति शर्माले आजका लागि मात्र नभई २०९२ सालका लागि सोंचिरहेको बताए । ‘आजका लागि मात्रै सोच्ने होइन। हामी २०८२ सालको लागि मात्रै होइन, २०९२ सालका लागि सोचिरहेको छौं,’ उनले भने। जेनजी आन्दोलनपछि कांग्रेस मात्रै बदलिएको उनको जिकिर छ । प्रतीज्ञासभामा प्रतीज्ञापत्र पनि सार्वजनिक भएको छ ।
कांग्रेसको प्रतीज्ञापत्र सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसको प्रतीज्ञापत्र सार्वजनिक भएको छ । पार्टी सभापति गगनकुमार थापाले बुधबार (आज) जनकपुरमा आयोजित प्रतीज्ञासभामा प्रतीज्ञापत्र सार्वजनिक भएको हो । सार्वजनिक भएको प्रतीज्ञापत्र संक्षिप्त अंश हो । विस्तृत अंश भने बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने जनाइएको छ ।
साढे तीन सय शब्दको भाषणमा फत्ते बोले बालेन (पूर्णपाठसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम पुगेर परिवर्तनको उद्घोष सभालाई सम्बोधन गरे । रास्वपाले आयोजना गरेको सो सभामा बोलेका बालेनले संक्षिप्त रुपमा धेरै विषयहरु प्रस्तुत गरे । उनले आफूले सपनामा सुदूरपश्चिम बनेको देखेकोदेखि देशलाई स्विट्जरल्यान्ड बनाउनेभन्दा पनि त्यसभन्दा ठूलो सम्भावना सुदूरपश्चिममा रहेको र रास्वपाले ठूलो भन्दा पनि स–सानो विषयलाई सम्बोधन गरेर काम गरेर देखाउने बताए । यस्तो छ उनको सम्बोधनको पूर्णपाठ नमस्कार । कि छन् हालचाल ? निकाइ छौं कि नाइ ? बेली छकालै एउटा सुइना देख्या थें । सुदूरपश्चिम बनेको, देश बनेको, त्यो सपना पूरा ग¥न्र्या हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो । बोहरा जी (दिपक बोहरा) बुझ्या छौं कि नाइ ? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु प¥यो, स्वास्थ्य उपचार पाउनु प¥यो त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन डेढ वर्षमा बन्नु प¥यो, त्यो हो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुप¥यो । यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने ? राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस, एमाले, माओवादी र सबै नेपाली जनता हिड्ने बाटो बनाउँछ । मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन् । स्विट्जरल्यान्डको बाउ बढिमालिका यही छ किन बनाउनुप¥यो स्विट्जरल्यान्ड ? स्विट्जरल्यान्डको पराकाष्ठा रामारोशन यही छ, खप्तड नेशनल पार्क यही छ किन बनाउनुप¥यो स्विट्जरल्यान्ड ? हामी नेपालीहरु माल भाको चाल नपाएको मान्छेहरु पर्यौं । भाको चिज देखाउनै सक्या छैन, सुदूरपश्चिमलाई जोड्नै सक्या छैन । सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुँदो रहेछ, ८ लाख १ मिलियन सब्स्क्राइबर भएको तर त्यो गीत काठमाडौंको चोक चोकमा बज्दैन । सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन यहाँको गीतहरु काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ काठमाडौंसँग । सुरुमा त गीत बज्नुप¥यो, त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ । सुन्दा सानो जस्तो लाग्छ । तर, त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा । सुदूरपश्चिमलाई सुनजिक प्रदेश बनाउनुप¥यो त्यो हो रास्वपाको एजेन्डा । तपाईंहरुलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ । म धेरै बोल्ने मान्छे होइन । राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो । काम दिनुस् है । तपाईंहरुले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो के-के छ तपार्इंहरुको काम उम्मेदवारहरुलाई हाम्रो पार्टीमा मान्छेहरुलाई हाम्रो काम यो हो भनेर लिष्ट दिनू । भोट नदिए पनि हुन्छ बरु कामको लिष्ट दिनू, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । आँखा हेर्न पर्दैन । काम हेर्नूहोला । म धेरै बोल्दिनँ । धेरै–धेरै धन्यवाद । सुदूर अब दूर नाइ झिक्कै झिक्कै माया तम्लाई । धेरै–धेरै माया ।