शिवम् सिमेन्ट्सको लाभांश घोषणा
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले साढे १२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सचिव लेखनाथ अर्यालकाअनुसार शिवमले २०८१–८२ को वार्षिक साधारणसभा मंसिर २५ गते गर्ने र सो सभाले कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्ने एजेन्डा रहेको छ । कम्पनीले चुक्ता पुँजी ५ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ बराबरको २.५० प्रतिशत अर्थात १३ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशत अर्थात् ५४ करोड ५६ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर ११ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको सचिव अर्यालले जानकारी दिएका छन् । मंसिर १० गतेसम्म कायम हरेका सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउनेछन् ।
सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश पारित
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले बैंकको हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैँयाको ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैंया बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैँया नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति सर्यो, मंसिर ४ गते बस्ने
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मिति परिवर्तन गरेको छ । पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा यसअघि २०८२ मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने भनिएको बैठक अब २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी परिवर्तन गरिएको पार्टीले जनाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेकाे विज्ञप्तिअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिको उपस्थिति रहनेछ । केन्द्रीय कार्यसमितिका आवश्यक कामकारबाही तथा छलफललाई व्यवस्थित गर्न मिति परिवर्तन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
काठमाडौं । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्याएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई सोमबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीच भाडामा दिने र लिने करार सम्झौता गर्दा सूचनामा उल्लेख भएकाभन्दा बढी जग्गा दिएको पाइएकाले अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको जानकारी दिए । ब्यूरोका अनुसार कित्ताको जग्गाभन्दा बढी अर्को कित्तासमेत थप गरी भाडामा दिने र लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा आधारविना बदनियतपूर्वक सम्झौता गरिएको पाइएको छ । उक्त जग्गा विसं २०७४ जेठ १४ गते करार सम्झौता गरी भाडामा दिइएको थियो । ब्यूरोले उक्त घटनाको अनुसन्धानका क्रममा गत कात्तिक २१ गते ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई समेत पक्राउ गरेको थियो ।
सिटी होटलको प्रतिसेयर नेटवर्थ ८४.९३ रुपैयाँ पुग्यो
काठमाडौं । सिटी होटलको प्रतिसेयर नेटवर्थमा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा प्रतिसेयर नेटवर्थ ४.१० रुपैयाँले बढेको हो । सिटी होटल नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटल सञ्चालक हो । अघिल्लो त्रैमास अर्थात् आव २०८१/८२ को अन्तिम त्रैमासमा प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मा नेटवर्थ वृद्धि हुँदै ८४.९३ रुपैयाँ पुगेको हो । सिटी होटल लिमिटेडले हकप्रद सेयर जारी गरेसँगै प्रतिसेयर नेटवर्थ बढेको हो । हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने कम्पनीको घोषणाले दोस्रो त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने सञ्चालकहरुको विश्वास छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो । हकप्रद सेयरबाट संकलित रकममार्फत ब्याजमा ३० देखि ३५ प्रतिशत कमी आउनेछ । कम्पनीले पछिल्लो समय सञ्चालनमा सुधार गर्नुका साथै नयाँ व्यावसायिक पहलकदमी र वित्तीय भार न्यूनीकरणमा ठोस कदम चालेको छ । यसले कम्पनीको आम्दानी र नगद प्रवाहमा सकारात्मक प्रभाव पारेको छ । कम्पनीले लाभको यात्रालाई थप सुदृढ बनाउन सुधारात्मक पहल र नयाँ आम्दानीका स्रोतहरुको विस्तार गर्ने रणनीति तय गरेको देखिन्छ । पहिलो त्रैमासिक अवधिको प्रतिवेदनमा विभिन्न ११ वटा रणनीति उल्लेख गरिएका छन् । अधिक कर्पोरेट कार्यक्रमहरू र निजी समारोहहरू आकर्षित गर्न ब्यांक्वेट तथा खानपानका सुविधाहरूलाई सुधार गर्ने, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा दुतावाससँग सम्बन्धित इभेन्ट तथा कार्यक्रमहरु बढाई आम्दानीमा वृद्धि गर्ने, स्थानीय बजारबाट व्यापार बढाउनका लागि ध्यान केन्द्रित गर्ने, कम्पनीको व्यवसायलाई समय–समयमा समिक्षा गरी सेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्ने, नेपालमा भविष्यमा अयोजना हुने भनिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलका महासंघ तथा क्लबहरुसँग सहकार्य गर्ने लगायत रणनीति बनाइएको छ । कम्पनीले रणनीतिहरु कार्यान्वयन गर्ने क्रममा क्यासिनो सञ्चालनको तयारी गरेको छ । करिब २ महिनाभित्र सञ्चालनमा आउने क्यासिनोबाट उच्च मार्जिन भएको राजश्व स्रोत थपिने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बनाउने विश्वास गरिन्छ । होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी पनि गरिएको छ । यसले होटलको सेवा दायरा बढाउनुका साथै उच्च श्रेणीका ग्राहकर्लाइ आकर्षित गर्नेछ । कम्पनीले आयस्रोत बढाउन प्रयोगमा नआएका होटलका विभिन्न स्थान भाडामा उपलब्ध गराउने तयारी गरेको छ । यसबाट दीर्घकालीन भाडा आम्दानी सुनिश्चित भई सञ्चालन खर्च बहन गर्न थप सहयोग पुग्ने देखिन्छ ।
सोमबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०५ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
सडकका २५ रूग्ण ठेक्का तोडियो, १० प्रतिशत ब्याज र बाँकी काम गर्न लाग्ने खर्च असुली गर्ने
काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रूग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रूग्ण ठेक्का तोडिएको सार्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । त्यसपछि सडक विभाग मातहतका कार्यालय रूग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए । सडक डिभिजन कार्यालय काठमाडौंबाट गत ११ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको कार्यालयका प्रमुख सुबोध देवकोटाले जानकारी दिए । कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने देवकोटाले उल्लेख गरे । निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको छ । ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमा समेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाइ निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन,ठेक्काका म्याद नरहेको, ठेक्का फरफारक नगरेकाले सम्झौता रद्द गरिएको उल्लेख छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्न तर्फ कुनै चासो नदेखाइ ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।
सामसुङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने
काठमाडौं । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसुङ) ले आगामी ५ वर्षमा ३१० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो । सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी-चिप निर्माताहरू मध्ये एक हो र यसले एआई उद्योग र यसमा निर्भर पूर्वाधारको लागि महत्त्वपूर्ण चिप्स आपूर्ति गर्छ । दक्षिण कोरिया विश्वव्यापी सेमिकन्डक्टर बजारको अर्को प्रमुख प्रविधि उत्पादक एसके हाइनिक्स रहेको राष्ट्र पनि हो । ५ वर्षको लगानी प्याकेजमा ‘मेमोरी चिप्सको मागहरू पूरा गर्न’ डिजाइन गरिएका नयाँ सेमिकन्डक्टर सुविधा (प्योङटेक प्लान्ट ५) निर्माण गर्ने योजना समावेश रहेको छ,’ सामसुङले एक विज्ञप्तिमा जनाएको छ। पूर्ण रूपमा सञ्चालनमा आएपछि प्योङटेक प्लान्टले विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति श्रृंखला र दक्षिण कोरियाको घरेलु चिप्स प्रणाली दुवैमा अझ ठूलो रणनीतिक भूमिका खेल्ने अपेक्षा गरिएको छ। नयाँ सेवा २०२८ मा सञ्चालन सुरु गर्ने योजना रहेको छ। कम्पनीले बिस्तृत विवरण सार्वजनिक नगरिकन भनेको छ, ‘सामसुङ एसडीएस, समूहको आइटी र लजिस्टिक शाखाले दक्षिण जियोला र गुमीमा दुई एआई डाटा सेन्टरहरू स्थापना गर्नेछ।’ सामसुङ इलेक्ट्रोनिक्सल एआई-ईन्धनको मागको कारण तेस्रो त्रैमासिकमा यसको नाफा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतभन्दा बढीले बढेको छ। एआई–सम्बन्धित खर्च विश्वव्यापी रूपमा बढिरहेको र आकासिँदो प्रविधिको शेयर मूल्याङ्कनले एआई बजारमा देखिएका फोका अन्ततः फुट्न सक्छन् भन्ने चिन्तालाई बढाएको छ। दक्षिण कोरियाली सरकारले अर्को वर्ष आर्टिफिसियल इन्टेलिजेन्समा तीन गुणा बढी खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आइतबार घोषणा गरिएको लगानी प्याकेज आएको हो । अमेरिकी राष्ट्रपति ली जे म्युङले ‘एआई युगको सुरुवात’ गर्ने र देशलाई संयुक्त राज्य अमेरिका र चीनपछि विश्वको शीर्ष तीन एआई शक्तिमध्ये एक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।