विकासन्युज

सुनसरी घटनापछि निजी क्षेत्रको अपिल, शान्ति कायम गर्न आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज, कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति निजी क्षेत्रका दुई ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई) ले गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले बिहीबार जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । वैद्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहेको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र विभिन्न समुदायबीचको सामाजिक सद्भाव र सहिष्णुताको केन्द्रका रूपमा परिचित रहेको बताए । कुनै पनि बहानामा हुने हिंसा, झडप र अशान्तिले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको जनजीवन, उद्योग–व्यवसाय तथा समग्र आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने उनको भनाइ छ । महासंघले मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ । साथै भ्रम, उत्तेजना र अफवाहबाट टाढा रही संयमता अपनाउन तथा परम्परादेखि कायम सामाजिक भाइचारालाई थप मजबुत बनाउन सबैमा आग्रह गरेको छ । महासंघले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय नेतृत्वलाई पनि तनाव साम्य पार्दै दिगो शान्ति स्थापना गर्न सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न आह्वान गरेको छ । यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) ले पनि विज्ञप्ति जारी गर्दै सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । परिसंघले नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको उदाहरणका रूपमा परिचित मुलुक भएकाले यही पहिचानलाई जोगाउँदै संयमता अपनाउन सबै पक्षसँग आग्रह गरेको छ ।  कुनै पनि समस्या वा असन्तुष्टिको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नभई वार्ता र संवादबाट मात्रै सम्भव हुने भन्दै शान्ति, सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ । परिसंघले मुलुकको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामै रहेको उल्लेख गर्दै यस्ता घटनाले लगानी, उद्योग–व्यवसाय, उत्पादन र रोजगारी सिर्जनामा प्रतिकूल असर पार्ने जनाएको छ । आन्दोलनका क्रममा जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, बजार तथा पसल बन्द गराउने तथा लुटपाटजस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्योग–व्यवसाय र आम नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । साथै, सामाजिक तथा धार्मिक सद्भाव प्रवद्र्धन गर्न सद्भाव र्यालीलगायत शान्ति स्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न परिसंघले आफ्ना प्रदेश तथा जिल्ला संघहरू तथा निजी क्षेत्रका अन्य संस्थालाई पनि आग्रह गरेको छ ।

वीरगन्जमा पनि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रमा ५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । सम्भावित तनाव र शान्ति-सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार (आज) उक्त आदेश जारी गरेका हुन् । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।  आदेशअनुसार तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य कुनै पनि किसिमका सामूहिक गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । निषेधाज्ञाको आदेश उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।

गोलीकाण्डपछि ओलीले सरकारलाई भने– बल होइन, संवादबाट निकास खोज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जलगायत पूर्वी नेपालका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न सबै पक्षसँग अपिल गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा सुनसरीका स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको मृत्यु भएको तथा अन्य नागरिक घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्न सबै नागरिक, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीलाई भ्रामक प्रचारको पछि नलागी संयमता अपनाउन आग्रह गरेका छन् । जनतालाई विभाजित गर्ने कुनै पनि प्रयासप्रति सचेत रहनुपर्ने उनको भनाइ छ । सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै ओलीले नागरिकको जिउधनको सुरक्षा गर्नु, संवादमार्फत समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व भए पनि वर्तमान परिस्थितिमा सरकारले उदासीनता, अत्यधिक बल प्रयोग र मौनता देखाएको आरोप लगाए । उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र अविलम्ब संवादको माध्यमबाट निकास खोज्न सरकारसँग आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले हिंसा र द्वन्द्वबाट समस्याको समाधान नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार राजनीतिक सहकार्यबाट मात्रै वर्तमान संकटको समाधान सम्भव हुने बताएका छन्।  साथै, राष्ट्रिय हित, शान्ति, सुरक्षा र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक समुदायका अगुवालाई एकजुट हुन आह्वान गरेका छन् ।      

जुर्मुराए बालेन–सुधन

काठमाडौं । सुनसरी घटनामा मौन बसेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ अन्ततः जुर्मुराएका छन् । घटनाले हिंसात्मक रुप लिँदा पनि निष्क्रिय र मौन बसेका उनीहरू अन्ततः केही सक्रिय हुने संकेत गरेका छन् ।  सुनसरीको घटनाले हिंसात्मक रुप लिएर युवाहरुको मृत्यु हुन थालेपछि प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको भए पनि सम्बोधन गर्ने समय भने अझै तय भएको छैन । सुनसरीको देवानगञ्ज क्षेत्रबाट सुरु भएको तनाव मधेसका विभिन्न जिल्लासम्म फैलिँदै हिंसात्मक गतिविधि बढेपछि त्यसैलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार गृहमन्त्रीबाट घटनास्थलको प्रतिवेदन प्राप्त भएपछि प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन सार्वजनिक गरिनेछ ।  यसअघि प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङलाई तत्काल सुनसरी पुगेर घटनास्थलको वस्तुस्थिति बुझ्न निर्देशन दिएका थिए । गृहमन्त्री गुरुङ अहिले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग छलफलमा थिए ।  प्रधानमन्त्री बालेनको निर्देशनपछि गृहमन्त्री गुरुङ आज सुनसरी लागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन् ।  भेटका क्रममा घटनापछिको सुरक्षा अवस्था, पीडित परिवारको अवस्था तथा सरकारले अघि बढाएको राहत, छानबिन र शान्ति स्थापनासम्बन्धी पहलका विषयमा पनि जानकारी लिने तयारी गरिएको छ । गृहमन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी लागेका छन् । मन्त्री मेहताको गृह जिल्ला समेत सुनसरी भएकाले उनी पनि पीडित परिवारसँग भेटघाटमा सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । लामो समयदेखि सो घटनामा मौन बसेका प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङको आलोचना पनि हुँदै आएको छ । बुधबार राष्ट्रिय पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा पनि नेताहरुले उनीहरुको आलोचना गरेका थिए । प्रधानमन्त्री र गृहमन्त्रीले सबै दलहरूसँग समन्वय गर्नुपर्ने ठाउँमा मौन बसेको भन्दै उनीहरुले बालेन र सुधनको विरोध गरेका थिए । सामाजिक अभियन्तासँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि प्रधानमन्त्री र गृहमन्त्रीको सञ्जालमार्फत खोजी गरिरहेका छन् ।  

प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन्द्र)ले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको भए पनि सम्बोधन गर्ने समय भने अझै तय भएको छैन । सुनसरीको देवानगञ्ज क्षेत्रबाट सुरु भएको तनाव मधेसका विभिन्न जिल्लासम्म फैलिँदै हिंसात्मक गतिविधि बढेपछि त्यसैलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङलाई तत्काल सुनसरी पुगेर घटनास्थलको वस्तुस्थिति बुझ्न निर्देशन दिएका थिए ।  गृहमन्त्री गुरुङ अहिले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग छलफलमा छन् । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार गृहमन्त्रीबाट घटनास्थलको प्रतिवेदन प्राप्त भएपछि प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन सार्वजनिक गरिनेछ । 

गृहमन्त्री गुरुङ आज सुनसरी जाँदै, मृतक परिवारसँग भेट्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गरेपछि उनी सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नेछन् । भेटका क्रममा घटनापछिको सुरक्षा अवस्था, पीडित परिवारको अवस्था तथा सरकारले अघि बढाएको राहत, छानबिन र शान्ति स्थापनासम्बन्धी पहलका विषयमा पनि जानकारी लिने तयारी गरिएको छ । गृहमन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जाने कार्यक्रम रहेको छ । मन्त्री मेहताको गृह जिल्ला समेत सुनसरी भएकाले उनी पनि पीडित परिवारसँग भेटघाटमा सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सुनसरी–मधेश तनावमा राष्ट्रपतिको अपिल : सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबै पक्षलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेशका विभिन्न क्षेत्रमा विकसित भएको तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । बिहीबार जारी गरेको विशेष अपिलमा राष्ट्रपति पौडेलले नेपालको पहिचान नै सदियौँदेखि कायम रहेको सामाजिक सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता भएको उल्लेख गर्दै यही परम्परालाई जोगाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । उनले राजनीतिक दल, नागरिक समाज, समुदायका अगुवा तथा सम्पूर्ण नेपालीलाई शान्ति, अमनचयन र सुव्यवस्था कायम राख्दै राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले वर्तमान विषम परिस्थितिलाई थप जटिल बन्न नदिन समुदायबीच आपसी विश्वास, मित्रता, सहिष्णुता र सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । साथै उत्पन्न अवस्थालाई यथाशीघ्र सामान्य बनाउँदै नागरिकले शान्तिपूर्ण रूपमा जीवनयापन गर्न सक्ने वातावरण पुनःस्थापित गर्न सरकारबाट आवश्यक प्रयास हुने विश्वास पनि व्यक्त गरेका छन् । अपिलमार्फत राष्ट्रपति पौडेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै निकाय सचेत हुनुपर्ने बताएका छन् ।

सामाजिक सद्भाव कायम राख्न परिसंघको अपिल, हिंसा र हड्तालबाट टाढा रहन आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ । परिसंघले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको उदाहरणका रूपमा परिचित मुलुक भएकाले यही पहिचानलाई जोगाउँदै संयमता अपनाउन सबैमा आग्रह गरेको हो । परिसंघले कुनै पनि समस्या वा असन्तुष्टिको समाधान वार्ता र संवादबाट मात्रै सम्भव हुने उल्लेख गर्दै आन्दोलन, हिंसा वा मुठभेडबाट समस्या समाधान नहुने जनाएको छ । त्यसैले शान्ति, सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ । परिसंघले मुलुकको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामै रहेकाले यस्ता घटनाले लगानी, उद्योग–व्यवसाय र रोजगारी सिर्जनामा नकारात्मक असर पार्ने जनाएको छ । आन्दोलनका क्रममा जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, बजार तथा पसल बन्द गराउने र लुटपाटजस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्योग–व्यवसाय र आम नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । साथै, सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न तथा सद्भाव प्रवर्द्धन गर्न अन्य संघसंस्थासँग सहकार्य गरी सद्भाव र्‍यालीलगायत शान्ति स्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न परिसंघले आफ्ना प्रदेश तथा जिल्ला संघ र निजी क्षेत्रका अन्य संस्थालाई पनि आग्रह गरेको छ ।