विकासन्युज

प्रमुख निर्वाचन आयुक्त कार्कीले लिए शपथ

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीवार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । त्यस्तै, आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।  वाग्ले र सुब्बाले प्रमुख निर्वाचन आयुक्त कार्कीबाट शपथ ग्रहण गरेका हुन् । कार्की सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत रहेकै बखत संवैधानिक परिषदबाट प्रमुख आयुक्तमा सिफारिस भएका थिए । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि कार्कीको सपथ गरिएको हो ।  बुधवार मात्रै संसदीय सुनुवाइ समितिले तीन जनाकै नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

करदाता उपहार कार्यक्रम कार्यान्वयन गर्न वालेटलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले सञ्चालनमा ल्याउन लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायक (पीएसपी) वा वालेटलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको निर्देशनअनुसार विद्युतीय प्रणालीमा अन्तरआबद्धता स्थापित गरी कार्यक्रमलाई सफल बनाउन अनुमति प्राप्त सबै भुक्तानी सेवा प्रदायकलाई आवश्यक व्यवस्था मिलाउन भनिएको हो । निर्देशनअनुसार भुक्तानी सेवा प्रदायकहरूले आफ्ना मोबाइल एपमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सम्बन्धी बारम्बार सोधिने प्रश्न (एफएक्यू) का लागि छुट्टै खण्ड समावेश गर्नुपर्नेछ । यस्तै, आगामी साउन २१ गतेदेखि  कार्यक्रम सञ्चालनमा आउने भएकाले साउन १६ गतेदेखि नै मोबाइल एपमार्फत ग्राहकलाई सूचना (नोटिफिकेसन) पठाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यदि कार्यक्रममा सहभागी हुन ग्राहकले मोबाइल एप अद्यावधिक (अपडेट) गर्नुपर्ने अवस्था भएमा त्यससम्बन्धी जानकारी पनि नोटिफिकेसनमार्फत नै उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ । सरकारले आन्तरिक राजस्व विभागमार्फत सञ्चालन गर्न लागेको उक्त कार्यक्रममार्फत विद्युतीय भुक्तानी तथा कर प्रणालीलाई थप प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा ग्राहकलाई समयमै सूचना उपलब्ध गराउन राष्ट्र बैंकले सबै अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

तराई घटनाप्रति चेम्बरको चिन्ता, शान्ति र सद्भाव कायम गर्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही जिल्लामा हालै भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कुनै पनि हालतमा कमजोर हुन नदिन सबै पक्षसँग आग्रह गरेको छ।  चेम्बरले बिहीबार (आज) विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । विज्ञप्तिमा नेपाल विभिन्न धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको आधारमा अघि बढेको मुलुक भएकाले यही विविधता नेपालको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख छ ।  यस्तो संवेदनशील अवस्थामा संयमता अपनाउन, जिम्मेवार व्यवहार गर्न तथा अफवाह, भ्रामक सूचना र कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट टाढा रहन चेम्बरले सबै नागरिकलाई अपिलसमेत गरेको छ । चेम्बरले मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा ठूलो कुनै असहमति वा मतभेद हुन नसक्ने उल्लेख गर्दै शान्ति र जनजीवनलाई पुनः सामान्य बनाउन सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दल तथा समुदायका अगुवाले गरिरहेका प्रयासप्रति समर्थन जनाएको छ ।  साथै सबै सरोकारवालालाई खुला संवाद, पारदर्शिता, निष्पक्षता र आपसी सम्मानका आधारमा समन्वय र सहकार्य गर्न आग्रह पनि गरेको छ । विज्ञप्तिमा धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा समूह, नागरिक समाज, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई सामाजिक सद्भाव थप मजबुत बनाउन संयुक्त रूपमा योगदान गर्न पनि आह्वान गरिएको छ। दिगो शान्ति सबैको साझा प्रयासबाट मात्र सम्भव हुने चेम्बरको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सले स्थायित्व भएको वातावरणमा मात्रै व्यवसाय र लगानी विस्तार हुने तथा समुदायबीचको एकताले परिवार र समाज समृद्ध बन्ने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । पसल, उद्योग, कार्यालय तथा व्यवसाय शान्ति, सुरक्षा, सहकार्य र आपसी सम्मानमा आधारित वातावरणमा मात्रै सफलतापूर्वक सञ्चालन हुन सक्ने उल्लेख गर्दै चेम्बरले प्रभावित व्यवसायको पुनःस्थापना र जनजीवन सामान्य बनाउन आवश्यक सहयोग गर्न निजी क्षेत्र सधैं तयार रहेको जनाएको छ ।

सुनसरी घटनापछि निजी क्षेत्रको अपिल, शान्ति कायम गर्न आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज, कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति निजी क्षेत्रका दुई ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई) ले गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले बिहीबार जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । वैद्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहेको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र विभिन्न समुदायबीचको सामाजिक सद्भाव र सहिष्णुताको केन्द्रका रूपमा परिचित रहेको बताए । कुनै पनि बहानामा हुने हिंसा, झडप र अशान्तिले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको जनजीवन, उद्योग–व्यवसाय तथा समग्र आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने उनको भनाइ छ । महासंघले मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ । साथै भ्रम, उत्तेजना र अफवाहबाट टाढा रही संयमता अपनाउन तथा परम्परादेखि कायम सामाजिक भाइचारालाई थप मजबुत बनाउन सबैमा आग्रह गरेको छ । महासंघले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय नेतृत्वलाई पनि तनाव साम्य पार्दै दिगो शान्ति स्थापना गर्न सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न आह्वान गरेको छ । यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) ले पनि विज्ञप्ति जारी गर्दै सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । परिसंघले नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको उदाहरणका रूपमा परिचित मुलुक भएकाले यही पहिचानलाई जोगाउँदै संयमता अपनाउन सबै पक्षसँग आग्रह गरेको छ ।  कुनै पनि समस्या वा असन्तुष्टिको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नभई वार्ता र संवादबाट मात्रै सम्भव हुने भन्दै शान्ति, सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ । परिसंघले मुलुकको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामै रहेको उल्लेख गर्दै यस्ता घटनाले लगानी, उद्योग–व्यवसाय, उत्पादन र रोजगारी सिर्जनामा प्रतिकूल असर पार्ने जनाएको छ । आन्दोलनका क्रममा जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, बजार तथा पसल बन्द गराउने तथा लुटपाटजस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्योग–व्यवसाय र आम नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । साथै, सामाजिक तथा धार्मिक सद्भाव प्रवद्र्धन गर्न सद्भाव र्यालीलगायत शान्ति स्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न परिसंघले आफ्ना प्रदेश तथा जिल्ला संघहरू तथा निजी क्षेत्रका अन्य संस्थालाई पनि आग्रह गरेको छ ।

वीरगन्जमा पनि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रमा ५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । सम्भावित तनाव र शान्ति-सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार (आज) उक्त आदेश जारी गरेका हुन् । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।  आदेशअनुसार तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य कुनै पनि किसिमका सामूहिक गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । निषेधाज्ञाको आदेश उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।

गोलीकाण्डपछि ओलीले सरकारलाई भने– बल होइन, संवादबाट निकास खोज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जलगायत पूर्वी नेपालका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न सबै पक्षसँग अपिल गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा सुनसरीका स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको मृत्यु भएको तथा अन्य नागरिक घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्न सबै नागरिक, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीलाई भ्रामक प्रचारको पछि नलागी संयमता अपनाउन आग्रह गरेका छन् । जनतालाई विभाजित गर्ने कुनै पनि प्रयासप्रति सचेत रहनुपर्ने उनको भनाइ छ । सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै ओलीले नागरिकको जिउधनको सुरक्षा गर्नु, संवादमार्फत समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व भए पनि वर्तमान परिस्थितिमा सरकारले उदासीनता, अत्यधिक बल प्रयोग र मौनता देखाएको आरोप लगाए । उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र अविलम्ब संवादको माध्यमबाट निकास खोज्न सरकारसँग आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले हिंसा र द्वन्द्वबाट समस्याको समाधान नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार राजनीतिक सहकार्यबाट मात्रै वर्तमान संकटको समाधान सम्भव हुने बताएका छन्।  साथै, राष्ट्रिय हित, शान्ति, सुरक्षा र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक समुदायका अगुवालाई एकजुट हुन आह्वान गरेका छन् ।      

जुर्मुराए बालेन–सुधन

काठमाडौं । सुनसरी घटनामा मौन बसेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ अन्ततः जुर्मुराएका छन् । घटनाले हिंसात्मक रुप लिँदा पनि निष्क्रिय र मौन बसेका उनीहरू अन्ततः केही सक्रिय हुने संकेत गरेका छन् ।  सुनसरीको घटनाले हिंसात्मक रुप लिएर युवाहरुको मृत्यु हुन थालेपछि प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको भए पनि सम्बोधन गर्ने समय भने अझै तय भएको छैन । सुनसरीको देवानगञ्ज क्षेत्रबाट सुरु भएको तनाव मधेसका विभिन्न जिल्लासम्म फैलिँदै हिंसात्मक गतिविधि बढेपछि त्यसैलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार गृहमन्त्रीबाट घटनास्थलको प्रतिवेदन प्राप्त भएपछि प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन सार्वजनिक गरिनेछ ।  यसअघि प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङलाई तत्काल सुनसरी पुगेर घटनास्थलको वस्तुस्थिति बुझ्न निर्देशन दिएका थिए । गृहमन्त्री गुरुङ अहिले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग छलफलमा थिए ।  प्रधानमन्त्री बालेनको निर्देशनपछि गृहमन्त्री गुरुङ आज सुनसरी लागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन् ।  भेटका क्रममा घटनापछिको सुरक्षा अवस्था, पीडित परिवारको अवस्था तथा सरकारले अघि बढाएको राहत, छानबिन र शान्ति स्थापनासम्बन्धी पहलका विषयमा पनि जानकारी लिने तयारी गरिएको छ । गृहमन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी लागेका छन् । मन्त्री मेहताको गृह जिल्ला समेत सुनसरी भएकाले उनी पनि पीडित परिवारसँग भेटघाटमा सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । लामो समयदेखि सो घटनामा मौन बसेका प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङको आलोचना पनि हुँदै आएको छ । बुधबार राष्ट्रिय पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा पनि नेताहरुले उनीहरुको आलोचना गरेका थिए । प्रधानमन्त्री र गृहमन्त्रीले सबै दलहरूसँग समन्वय गर्नुपर्ने ठाउँमा मौन बसेको भन्दै उनीहरुले बालेन र सुधनको विरोध गरेका थिए । सामाजिक अभियन्तासँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि प्रधानमन्त्री र गृहमन्त्रीको सञ्जालमार्फत खोजी गरिरहेका छन् ।  

प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन्द्र)ले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको भए पनि सम्बोधन गर्ने समय भने अझै तय भएको छैन । सुनसरीको देवानगञ्ज क्षेत्रबाट सुरु भएको तनाव मधेसका विभिन्न जिल्लासम्म फैलिँदै हिंसात्मक गतिविधि बढेपछि त्यसैलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङलाई तत्काल सुनसरी पुगेर घटनास्थलको वस्तुस्थिति बुझ्न निर्देशन दिएका थिए ।  गृहमन्त्री गुरुङ अहिले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग छलफलमा छन् । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार गृहमन्त्रीबाट घटनास्थलको प्रतिवेदन प्राप्त भएपछि प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन सार्वजनिक गरिनेछ ।