विकासन्युज

नक्कली हतियार देखाइ आतंक फैलाउने झापाका घिमिरे पक्राउ

काठमाडौं । ललितपुरमा नक्कली हतियार देखाइ आतंक फैलाउने झापाका किरण घिमिरे पक्राउ परेका छन् ।  शनिबार सातदोबाटो प्रहरी वृत्तको टोलीले चापागाउँ दोबाटोबाट उनलाई मोटरसाइकल र हतियारसहित  नियन्त्रणमा लिएको ललितपुर प्रहरी परिसरले जनाएको छ । घिमिरेले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा हतियार लुकाएर राखेका थिए ।  लामो हतियार ३०३ राइफलजस्तो देखिने डमी थान–१, सानो हतियार कटुवा पेस्तोल जस्तो देखिने डमी थान–२, फमले बनेको खुकुरी जस्तो देखिने थान–२ र बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो ।  ललितपुर जिल्ला प्रशासनबाट कार्यालयबाट ७ दिन म्याद थप गरी थप गरेर अभद्र व्यवहार गर्न नहुने कसुर मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

गृहमन्त्री अर्यालको निर्देशन- सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउनू

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीले नेपाल प्रहरीको साइबर ब्यूरो र हनुमानढोकामा अवस्थित पुरानो काठमाडौं प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेका छन् । गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्लेसहितको टोलीले भोटाहिटीस्थित साइबर ब्यूरो पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।  गृहमन्त्री अर्यालले प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालबाट हुन सक्ने अमर्यादित र कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार वा जानकारीहरूलाई सूक्ष्म ढंगले अनुगमन गर्नुपर्ने बताए।   अवैधानिक र दर्ता बिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूको नियमनका लागि खेल्नु पर्ने भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । ब्यूरोबाट नियमित र विशेष रूपमा प्रदान गरिने सेवाबारे ब्यूरो प्रमुख तथा प्रहरी नायव महानिरीक्षक नबिन्द अर्यालबाट जानकारी लिएका थिए ।  ब्यूरोले निर्वाचनको समय अझै बढी सक्रिय भई स्वचालित रूपमा कार्यालय आफै सक्रिय भएर सामाजिक सञ्जालमा राखिने र छरिने भ्रमहरूलाई माथिको आदेश कुर्न नपर्ने र अवैधानिक पोस्ट तथा मिथ्या जानकारीहरूलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन अर्यालले निर्देशन दिए ।  समाजमा सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्यमा सामाजिक सञ्जालको दुरुपयोग हुन नदिई फागुन २१ गतेको निर्वाचनको माहौल बनाईराख्न पनि ब्युरोले अहिले गरेको कार्यमा थप तदारुकताका साथ काम गर्नु पर्नेमा मन्त्री अर्यालले जोड दिए ।

४ जनालाई अजरबैजान पठाउने भन्दै ठगी गर्ने विश्वकर्मा पक्राउ

काठमाडौं । अजरबैजान पठाउने भन्दै चार जनालाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।  शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भोजपुरका महेन्द्र विश्वकर्मालाई पक्राउ गरेको हो । अजरबैजान लैजाने भन्दै ४ लाख रुपैयाँ ठगी गरी लामो समयसम्म झुक्याएकाले उनलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका ३१ बाट उनलाई पक्राउ गरिएको हो ।  भोजपुर हतुवागढी ९ का विश्वकर्मालाई अनुसन्धानका लागि कारवाही गर्न वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको कार्यालयले जनाएको छ ।

नेता बजगाईंले छाडे कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद राजेन्द्र बजगाईंले पार्टीभित्रका केही व्यक्तिसँग असन्तोष राख्दै पार्टी छोड्ने निर्णय गरेका छन् ।  बजगाईंले सामाजिक सञ्जालमा लैख्दै केही व्यक्तिका गलत गतिविधिका कारण कांग्रेसबाट अलग हुने सोचमा पुगेको बताए । सामाजिक सञ्जाल एक्समार्फत उनले भारी मनले यस्तो निर्णयको नजिक पुगेको उल्लेख गरे ।  कांग्रेस आफैमा दोषी नभए पनि केही सीमित पात्रको व्यवहार र प्रवृत्तिले आफूलाई पार्टी छाड्ने अवस्थासम्म पु‍र्‍याएको बजगाईंको भनाइ छ । सुुरुदेखि नै सभापति देउवाको विपक्षमा रहेका बजगाईं २०७९ मा गोरखावाट प्रतिनिधि सभा सदस्यमा समेत निर्वाचित भएका थिए ।

बैंकका कर्मचारीलाई कुटपिट गर्ने भन्दै अन्तर्वार्ता दिने प्रसाईं समूहका संग्रौलाले साइबर ब्यूरोमा माफी मागे

काठमाडौं । सामाजिक सञ्जालमा भ्रम छर्ने र बैंकका कर्मचारीमाथि कुटपिट गर्नुपर्छ भन्दै अन्तर्वार्ता दिने एकजनाले नेपाल प्रहरीको साइबर ब्यूरोमा माफी मागेका छन्।  नागरिक बचाउ महाअभियान नेपालका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक ४४ वर्षीय देवीप्रसाद संग्रौलाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिट गर्नुपर्ने भन्दै अन्तर्वार्ता दिएका थिए । उनले ‘अर्थ सरोकार’ युट्युब च्यानलमा अन्तर्वार्ता दिएका थिए ।  संग्रौलाले सामाजिक सञ्जालहरूमा बैंकका कर्मचारीहरूलाई कुट्ने पिट्ने, भण्डारखाल जस्तो काण्ड मच्चाउनु पर्ने भन्दै अभिव्यक्ति दिएका थिए । ब्यूरोमा उनले कानुनी राज्यमा कानुनको उलंघन गरी बैङ्कका विरुद्धमा बोल्नु मेरो गल्ती भएको बताएका छन् ।  संग्रौलाले आगामी दिनमा कानुनलाई शिरमा राखी सच्चिएर बोल्ने र समाज तथा राज्यलाई असर पर्ने कुनै पनि अभिव्यक्ति नदिने प्रतिज्ञासमे व्यक्त गरेका छन् ।  ‘एक पटकका लागि नेपाल सरकारसँग क्षमा याचना चाहन्छु,’ उनले भनेका छन् । ब्यूरोले सामाजिक सञ्जाल लगायत अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्य दृश्य सामग्रीहरू प्रसारित गर्नेमाथि समेत यस ब्यूरोले निगरानी गरिरहेको जनाएको छ ।  सामाजिक नैतिकताविरुद्ध यस्ता गतिविधिमा संलग्न भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने ब्यूरोले उल्लेख गरेको छ ।

ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बुद्धि अकेला पुनः नियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा बैंकर बुद्धि अकेला नियुक्त भएका छन् । अकेकाले बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिएका हुन् ।  संस्थाको सञ्चालक समितिको २०८२ पुस २९ गते बसेको २१६ औं बैठकले अकेलालाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो ।  अकेला ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्थाको नामवाट कारोबार भएदेखि नै संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अनुभवी बैंकर हुन् । हाल उनी सो बैंकमा डीजीएम पदमा रूपमा कार्यरत छन् ।  शपथग्रहण कार्यक्रममा संस्थाका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिकृष्ण जोशी तथा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) श्रीराम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

कजारियाको नयाँ शोरुम विराटनगरमा

विराटनगर । कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गर्दै विराटनगरको मुनाल पथमा नयाँ शोरुमको उद्घाटन गरेको छ ।  न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस शोरुमले विराटनगर र आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ । कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरे ।  विराटनगरको नयाँ शोरुममा आवासीय, व्यावसायिक र वास्तुकलासम्बन्धी प्रयोजनका लागि विभिन्न आधुनिक र ग्राहक–मैत्री डिजाइनका प्रिमियम टायलहरू उपलब्ध छन् ।  कजारिया रमेश टायल्सले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उद्योगमार्फत ३ हजारभन्दा बढी डिजाइन विकल्पहरू प्रदान गर्दै आएको छ । हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका टायल उत्पादनहरू बलियो, दीगो, पानी तथा दाग प्रतिरोधी हुने साथै आधुनिक डिजाइनमा उपलब्ध छन् ।  कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०*१२० सेमी, ६०*६० सेमी, १९.५*१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०*४०सेमी) तथा सेरामिक वाल टायल (३०*६० सेमी, ३०*४५ सेमी) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।

नवलपरासी-१ मा ‘हेभीवेट’ भीडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा ‘हेभीवेट’ उम्मेदवारले उम्मेदवारी दर्ता गरेसँगै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त देखिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने र स्थानीयका समस्या बुझिरहेका छन् । क्षेत्र नं. १ मा नेपाली कांग्रेसका यसअघिका प्रतिनिधिसभा सदस्य एवं डलर अर्बपति व्यवसायी विनोद चौधरी प्रतिस्पर्धामा छन् भने उनीसँगै यसअघि पनि प्रतिस्पर्धा गरेका जनता समाजवादी पार्टीबाट अनुभवी नेता पूर्वमन्त्री हृदयश त्रिपाठी चुनावी मैदानमा छन् । यसैगरी, नेकपा एमालेबाट पूर्वसुस्ता गाउँपालिकाका अध्यक्ष एवं विद्यालय सञ्चालक रामप्रसाद पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व नेपाली कांग्रेसका नेता एंव व्यवसायी विक्रम खनाल, राष्ट्रिय जनमोर्चाबाट निर्माण व्यवसायी ढुण्डिराज पोखरेल प्रतिस्पर्धामा छन् ।  नवलपरासी सुस्ता पश्चिममा ६ वटा राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।  उम्मेदवारहरू टोलटोलमा मतदाता रिझाउन व्यस्त छन् भने आफ्नो चुनावी एजेण्डा सहित बस्ती-बस्तीमा पुगिरहेका छन् ।  विगतमा गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरू अहिले एक्लाएक्लै चुनावी मैदानमा होमिएका हुन् । यसअघिको निर्वाचनमा व्यवसायी विनोद चौधरीले हृदयश त्रिपाठीलाई ७ हजार १९१ मतले पराजित गरेका थिए ।  चौधरीले २९ हजार ५१९ मत पाउदा त्रिपाठीले २२ हजार ३२८ मत ल्याएका थिए । अघिल्लो पटक चौधरीलाई नेकपा माओवादी केन्द्र र त्रिपाठीलाई नेकपा एमालेको साथ थियो तर अहिले एक्लाएक्लै प्रतिस्पर्धा गर्दा कडा चुनावी भीडन्त हुने देखिएको छ । चौधरीले विगतमा गरेका कामको फेहरिस्त सुनाउँदै अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् भने त्रिपाठीले आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दालाई मुख्य एजेन्डाको रुपमा राखेका छन् ।  त्यस्तै, रास्वपाका विक्रम खनाल ‘घण्टी’ लिएर युवा पुस्ता र असन्तुष्ट मतदाताको घरमा पुग्दै नयाँ नेतृत्वको आवश्यकता औंल्याएका छन् । एमालेका पाण्डेले पनि विकास र समृद्धिको नारासहित मतदाताको आँगनमा पुग्ने उद्घोष गरेका छन् ।  जनमोर्चाका उम्मेदवार पोखरेलले भ्रष्टाचारविरुद्धको दृढ लडाइँ, प्रदेश संरचनाको पुनरावलोकन तथा स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने एजेण्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले विगतदेखि नै स्वच्छ राजनीति, राष्ट्रहित र जनताको पक्षमा आवाज उठाउँदै आएकोले यस पटक गिलास चिन्हमा मतदान गरेर भ्रष्टाचारमुक्त र आत्मनिर्भर नेपाल निर्माणमा सहयोग गर्न मतदातालाई आग्रह गरेका छन् । उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाताहरूले भने पुरानै समस्याहरू दोहोर्‍याइरहेका छन् । किसानहरूले समयमै मल र बीउको उपलब्धता, डुबानको समस्या, सुकुम्वासी समस्याको समाधान र युवा स्वरोजगारका विषयमा उम्मेदवारहरूको ध्यानाकर्षण गराइरहेका छन् ।