विकासन्युज

५० हुलाक कार्यालय डिजिटल बन्दै, अब शैक्षिक प्रमाणपत्र पनि घरमै

कमलकुमार बस्नेत काठमाडौं । हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउनका लागि ‘स्मार्ट हुलाक’को अवधारणामा काम अघि बढाएको छ । नयाँ सरकार गठनपछि सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीको बुँदा नं २७ मा राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था मिलाइने उल्लेख गरिएको थियो । त्यस्तै सरकारको चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट वक्तव्य बमोजिम देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्ने उल्लेख गरेको थियो ।  परम्परागत पत्र वितरणमा सीमित हुलाक सेवालाई डिजिटल, प्रविधिमैत्री र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले ‘स्मार्ट हुलाक’ कार्यक्रम सञ्चालन गरिएको हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताइन् । उनका अनुसार पहिलो चरणमा देशका विभिन्न जिल्लाका ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ । स्मार्ट हुलाक निर्माणका लागि पूर्वाधार निर्माण, डिजिटल सुरक्षा, ट्रयाकिङ प्रणालीलगायत भुक्तानीको सुविधा पनि उपलब्ध गराइनेछ । ‘हुलाकलाई समयअनुकूल प्रविधिसँग जोडेर नागरिकलाई सहज, छरितो र भरपर्दो सेवा दिने लक्ष्यका साथ स्मार्ट हुलाक अवधारणा अघि बढाइएको हो,’ महानिर्देशक पङ्गेनीले भनिन् । उनले हुलाक कार्यालयको भौतिक पूर्वाधार सुधार, सूचना प्रविधि प्रणाली जडान, इन्टरनेट पहुँच, विद्युतीय काउन्टर सञ्चालन तथा कर्मचारीको क्षमता अभिवृद्धिलाई पनि कार्यक्रमको प्राथमिकतामा राखिएको बताइन् ।  विभागका अनुसार स्मार्ट हुलाक सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच विस्तार हुनुका साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत डिजिटल सेवाको पहुँच बढ्ने अपेक्षा गरिएको छ । महानिर्देशक पङ्गेनीले हुलाकलाई केवल चिठीपत्र आदानप्रदान गर्ने संस्थाका रूपमा नभई आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरिन् । उनका अनुसार स्मार्ट हुलाक कार्यक्रम चरणबद्ध रूपमा देशभर विस्तार गरिनेछ । त्यसका लागि आवश्यक नीति, पूर्वाधार तथा प्रविधि विकासको काम अघि बढाइएको विभागले जनाएको छ । शैक्षिक प्रमाणपत्रदेखि राहदानी अब घरमै विभागका अनुसार वर्तमान सरकारको पहलपछि हुलाकमार्फत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन पनि घरमै पुर्याउन थालिएको छ । सरकार गठन भएको ४ महिनामा २ लाख ३७ हजार ३११ थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी भइसकेका छन् भने हुम्ला बाहेक ७६ जिल्लाका हुलाक कार्यालयले उक्त अवधिमा ७ हजार ८८५ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्याइएको छ ।  त्यसैगरी यातायात व्यवस्था विभागबाट हालसम्म ८ लाख ८१ हजार १६६ सवारी चालक अनुमतिपत्र सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको छ भने कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालीकोट र पर्सा जिल्ला गरी ७ जिल्लामा १ हजार ९४ वटा सवारी चालक अनुमतिपत्र सेवाग्राहीको घरमै पुर्याइएको छ । विभागका अनुसार १७ वटा अस्पतालबाट १ हजार ४१७ स्वास्थ्य प्रयोगशालाका नमुनाहरू परीक्षणका लागि सुरक्षित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पुर्याइएको छ । त्यसैगरी त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयसँगको सम्झौतामा २६३ थान शैक्षिक प्रमाणपत्र विद्यार्थीको घरसम्मै पुर्याइएको छ ।

२ सय किसान संकटमा, सहकारीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । झापाको दमक-३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्री बापतको रकम लामो समयदेखि भुक्तानी नगर्दा करिब २ सय दुग्ध किसान आर्थिक सङ्कटमा परेका छन् । प्रारम्भिक रूपमा ६० किसानको २२ लाख ६५ हजार २०० रुपैयाँ बक्यौता प्रमाणित भइसकेको छ भने पीडितका अनुसार रकम पाउन बाँकी किसानको सङ्ख्या अझै धेरै छ । भुक्तानी नहुँदा किसानलाई पशुका लागि दाना खरिद, घरखर्च सञ्चालन तथा व्यवस्थापनमा समस्या भएको छ । पीडित किसानले सहकारीमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी दिएका छन् । उजुरीमा वर्तमान अध्यक्ष हिमालय प्रसाद दाहाल, पूर्वअध्यक्ष गेहनाथ पोखरेल, पुष्प ढकाल र शान्तिराम भट्टराईलगायत जिम्मेवार पदाधिकारीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ । सहकारीका अध्यक्ष हिमालयप्रसाद दाहालले किसानको दूध बिक्री बापतको रकम तिर्न बाँकी रहेको स्वीकार गर्दै संस्थाको आर्थिक अवस्था अघिल्लो व्यवस्थापनदेखि नै कमजोर बन्दै गएकाले समस्या उत्पन्न भएको बताए । ‘हामी फरार भएका छैनौँ । सहकारीको जग्गाजमिन तथा अन्य सम्पत्ति बिक्री गरेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्छौं,’ उनले भने । दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाईको अनुसार उक्त सहकारीले पछिल्ला दुई वर्षदेखि संस्था नवीकरण गरेको छैन । साथै, साधारण सभा तथा संस्थाको वित्तीय अवस्थाबारे पनि नगरपालिकालाई नियमित जानकारी नआएको र संस्थाको अवस्थाबारे अध्ययन भइरहेको उनले बताए । 

७ प्रतिशत ब्याज पाइने लक्ष्मी सनराइज बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आज साउन १४ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ बिक्री खुला गरेको हो ।  बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बिक्री गरिने बैंकले जनाएको छ ।  बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरे साउन २८ गतेसम्म समय लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

५५ लाख सन्चो बिक्रीको लक्ष्य, बिक्री गर्न २ सुपर स्टकिस्ट खोज्दै

काठमाडौं । सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले आफ्ना उत्पादनहरूको देशव्यापी बिक्री-वितरणलाई थप प्रभावकारी र व्यवस्थित बनाउने भएको छ ।  कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ मा उत्पादन हुने लोकप्रिय सन्चो ५ मि.लि. सहित सन्चो बाम, सन्चो सिलाजित, हिमालयन मसाज आयल, सन्चो जटा केश तेल र सन्चो १० मि.लि. लगायतका हर्बल उत्पादनहरूको बिक्री-वितरणलाई प्रदेशगत रूपमा विस्तार गर्न दुई सुपर स्टकिस्ट नियुक्त गर्ने भएको हो । कम्पनीका अनुसार बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि एक तथा गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशका लागि अर्को गरी दुई सुपर स्टकिस्ट नियुक्त गरिनेछ । तोकिएका योग्यता र शर्त पूरा गर्ने इच्छुक व्यापारिक फर्म वा कम्पनीले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिनुपर्नेछ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रस्ताव पेस गर्ने इच्छुक फर्म वा कम्पनीले कम्पनीको मौज्दातमा रहेको सन्चो ५ मि.लि. मध्ये न्यूनतम ४ लाख ५० हजार थान बराबरको १ करोड ५७ लाख ५० हजार रुपैयाँभन्दा कम नहुने रकमको एकमुष्ट खरिद प्रस्ताव पेस गर्नुपर्नेछ । गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशका लागि प्रस्ताव पेस गर्ने फर्म वा कम्पनीले पनि सोही परिमाण र न्यूनतम रकम बराबरको एकमुष्ट खरिद प्रस्ताव पेस गर्नुपर्ने कम्पनीले जनाएको छ । प्रत्येक कार्यक्षेत्रका लागि सबैभन्दा बढी एकमुष्ट खरिद प्रस्ताव गर्ने फर्म वा कम्पनीलाई सम्बन्धित क्षेत्रको सुपर स्टकिस्टका रूपमा छनोट गरिनेछ । छनोट भएका सुपर स्टकिस्टले सम्झौता गर्दा आफूले प्रस्ताव गरेको खरिद रकम कम्पनीको बैंक खातामा जम्मा गर्नुपर्नेछ । आर्थिक वर्ष २०८३/८४ का लागि कम्पनीले सन्चो ५ मि.लि.को ५५ लाख थान तथा अन्य हर्बल उत्पादनहरूको ५२ हजार थान बिक्री गर्ने लक्ष्य राखेको छ । यसअनुसार बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सुपर स्टकिस्टले सन्चो ५ मि.लि. २७ लाख ५० हजार थान र अन्य हर्बल उत्पादन २६ हजार थान खरिद गर्नुपर्नेछ। गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशका सुपर स्टकिस्टले पनि सोही परिमाणमा खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सडकको दायाँ–बायाँ १५ मिटरभित्रका अतिक्रमण हटाउन अल्टिमेटम

काठमाडौं । सडक डिभिजन जनकपुरले माइस्थान-गौशाला-सम्सी तथा बर्दिबास-जलेश्वर सडक खण्डमा भएका अतिक्रमण ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएको छ । कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सडकको केन्द्र रेखादेखि दायाँ-बायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र गरिएको सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन दिएको हो । सडक क्षेत्रमा सवारी पार्किङ, व्यापारिक मालसामान राख्ने, निजी व्यवसायका विज्ञापन बोर्ड राख्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा खुद्रा व्यापार सञ्चालन गर्ने तथा अस्थायी संरचना निर्माण गर्ने जस्ता गतिविधिले यातायात सञ्चालन, ट्राफिक व्यवस्थापन र सर्वसाधारणको आवतजावतमा बाधा पुगेको कार्यालयले जनाएको छ । त्यसैले आव सूचना प्रकाशित गरी अबका ३५ दिनभित्र सडक क्षेत्र खाली गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरिएको छ । निर्धारित अवधिभित्र अतिक्रमण नहटाए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ र २० बमोजिम अनधिकृत संरचना भत्काउने तथा हटाउने प्रक्रिया अघि बढाइने डिभिजनले जनाएको छ । अतिक्रमण हटाउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुलउपर गरिने सूचनामा उल्लेख छ ।

विदेशी नागरिक कुटपिट गर्ने २ जना र पाथीभारा माता पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौंको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो । सो डान्स क्लबले भारतीय नागरिकलाई कुटपिट गरी बढी बिल बनाई जबरजस्ती मोबाइल बैंकिङमार्फत बिल तिर्न लगाउने गरेको पाइएको छ । उनीहरूले प्रहरी कर्मचारीको काममा बाधा गरेको तथा हातपात गरेका थिए । उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  प्रहरी नियन्त्रणमा पाथीभारा माता जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।  थापाले धर्मका नाममा झारफुक तथा हेराई मनाई गर्छु भन्दै एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापालाई फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले टेलिफोनमार्फत जानकारी गराएका थिए । त्यस लगत्तै प्रहरीले थापालाई पक्राउ गरेको हो । उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

आज बस्दै प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।

मनसुनी वायुको प्रभाव: आज पनि भारी वर्षाको उच्च जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिमा उल्लेखछ ।  कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी  कोशी प्रदेशको पहाडी र तराई भू-भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।