राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोन ऋण’ सेवा डिजिटल संसार एपमार्फत सुरु
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै ‘आरबीबी फोन ऋण’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । उक्त सेवा बैंकको आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराइएको हो । यो डिजिटल कर्जा सेवा एफ–वन सफ्ट समूह अन्तर्गतको फोन ऋण प्रालिद्वारा प्रदान गरिएको हो, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा प्रवाह सुनिश्चित गर्ने बैंकले जनाएको छ । यस सेवामार्फत राष्ट्रिय वाणिज्य बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकहरूले हाललाई एक लाख रुपैयाँसम्मको कर्जा कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन् । औपचारिक कर्जामा सहज पहुँच विस्तार गर्नु सेवाको मुख्य उद्देश्य रहेको छ । कर्जाको सीमा तथा योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय गरिनेछ । जसमा तलब जम्मा कारोबारको नियमितता, हाल कायम ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहारलाई आधार बनाइनेछ । ग्राहकहरूले एक महिनाभित्र एकमुष्ट वा १२ महिनासम्म किस्ताबन्दी प्रणालीमार्फत कर्जा चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् । साथै, समयअगावै कर्जा भुक्तानी गर्ने सुविधा पनि उपलब्ध रहेको छ । मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले आरबीबी डिजिटल संसार एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराई सेवा दर्ता गर्न सक्नेछन् । योग्य ग्राहकहरूले एपको ड्यासबोर्डबाटै कर्जा आवेदन दिन सक्ने र स्वीकृतिपछि सेवा उपयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त सेवाको शुभारम्भ बैंकको ६१औँ वार्षिकोत्सव समारोहका अवसरमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गरेका हुन् । सेवाबारे जानकारी दिँदै उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौड्यालले भने, 'आरबीबी फोन ऋण सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल कर्जा समाधान प्रदान गर्नु हाम्रो लक्ष्य हो । प्रविधिको प्रयोगमार्फत वित्तीय सेवामा पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता हो ।' आरबीबी फोन ऋण सेवाको सुरुवातले राष्ट्रिय वाणिज्य बैंकको डिजिटल बैंकिङ रूपान्तरणको यात्रालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
९ कम्पनीमा सकारात्मक सर्किट, १३ अर्ब ७८ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से )परिसूचक ५७ अंकले बढेर २७७२ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३१ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ग्रीन भेन्चरको ३९ करोड, शिवम् सिमेन्टको ३२ करोड, युनाइटेड मोदीको ३० करोड र बन्दिपुर केबलकारको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दिपुर केबलकार, हिमस्टार ऊर्जा, माबिलुङ इनर्जी, रिलाइन्स फाइनान्स, आँखु खोला र त्रिशुली जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । आइतबार सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैकिङ १.७९ प्रतिशत, डेभलपमेन्ट बैंक १.६८ प्रतिशत, फाइनान्स १.७३ प्रतिशत, होटल तथा टुरिजम ३.३५ प्रतिशत, हाइड्रोपावर २.७४ प्रतिशत र लगानी २.८४ प्रतिशतले बढेका छन् ।
चीनमाथिको निर्भरता घटाउन अमेरिकाको रणनीति, दुर्लभ खनिज कम्पनीमा १.६ अर्ब डलर लगानी
काठमाडौं । अमेरिकी सरकारले ओक्लाहोमा रहेको उत्खनन कम्पनी यूएसए रेयर अर्थमा १.६ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । यसबापत सरकारले कम्पनीको १० प्रतिशत हिस्सेदारी प्राप्त गर्नेछ । फाइनान्सियल टाइम्स (एफटी) ले शनिबार यस विषयमा जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो । रिपोर्टअनुसार सरकारी लगानीसँगै १ अर्ब डलरको छुट्टै निजी वित्तीय सम्झौता पनि सोमबार सार्वजनिक गरिने तयारी छ । यस विषयमा ह्वाइट हाउस र यूएसए रेयर अर्थले तत्काल जवाफ दिएका छैनन् । एफटीका अनुसार सरकारले दुर्लभ खनिज कम्पनीमा १६.१ मिलियन सेयर प्राप्त गर्नेछ । साथै थप १७.६ मिलियन सेयर खरिद गर्न सकिने वारेन्ट पनि पाउनेछ । दुवैको मूल्य प्रति सेयर १७.१७ डलर तोकिएको छ । गत वर्ष डिसेम्बरमा वासिङ्टनले राष्ट्रिय सुरक्षा प्रयोजनका लागि आवश्यक लिथियम, दुर्लभ खनिज तथा अन्य खनिजहरूको घरेलु उत्पादन बढाउन र चीनमाथिको निर्भरता घटाउन अमेरिकी उत्खनन क्षेत्रमा थप ‘ऐतिहासिक सम्झौता’ गर्ने योजना रहेको जनाएको थियो । चीनले व्यापार वार्तामा आफ्नो खनिज क्षमतालाई दबाबका रूपमा प्रयोग गर्दै आएको छ । गत वर्ष अमेरिकी प्रशासनले एमपी मटेरियल्स, लिथियम अमेरिकाज र ट्रिलोजी मेटल्समा पनि हिस्सेदारी लिएको थियो । यूएसए रेयर अर्थसँगको सम्झौता ‘सेमिकन्डक्टर आपूर्ति शृंखला र अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक तथा रणनीतिक खनिजलाई देशभित्रै उत्पादन गर्ने (अनशोरिङ) मा केन्द्रित’ रहेको अमेरिकी वाणिज्य विभागअन्तर्गतको चिप्स कार्यालयका एक अधिकारीलाई उद्धृत गर्दै एफटीले जनाएको छ । उक्त कार्यालयले अमेरिकामा लगानी र उपकरणका लागि प्रोत्साहन प्रदान गर्दछ । एफटीका अनुसार कम्पनीले थप १ अर्ब डलरभन्दा बढी नयाँ इक्विटी उठाउने प्रयासको नेतृत्व गर्न लगानी बैंक तथा ब्रोकरेज फर्म क्यान्टर फिट्जगेराल्डलाई पनि समावेश गरेको छ । उक्त संस्थाका अध्यक्ष ब्रान्डन लुटनिक हुन्, जो अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकका छोरा हुन् । यूएसए रेयर अर्थले टेक्सासको सिएरा ब्लान्कामा खानी विकास गर्दै आएको छ भने ओक्लाहोमाको स्टिलवाटरमा नियो म्याग्नेट उत्पादन गर्ने कारखाना निर्माण गरिरहेको छ । उक्त कारखाना २०२६ को पहिलो छ महिनामा व्यावसायिक रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । ३.४५ अर्ब डलरको बजार पुँजीकरण भएको यो कम्पनी अमेरिकाका ठूला नियो म्याग्नेट उत्पादकहरूमध्ये एकका रूपमा उदाएको छ । (रोयटर्सबाट अनुदित तथा सम्पादित)
नेशनल लाईफद्वारा कोशी प्रदेशका ३०० अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गर्दै सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम झापाको बिर्तामोडस्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी कोशी प्रदेशबाट योग्य ठहरिएका ३०० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा प्रदेश अन्तर्गतका शाखा कार्यालय प्रमुखहरूको उपस्थितिमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब सदस्यता वितरण गर्दै अभिकर्ताहरूलाई सम्मान गरे । साथै, कोशी प्रदेशबाट आफ्नो कोड र संजालअन्तर्गत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यसै अवसरमा कम्पनीको वार्षिक योजना अन्तर्गत सञ्चालन गरिएको नेशनल अवार्ड योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाईफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब तथा नेशनल अवार्ड योजनाअन्तर्गत योग्य अभिकर्ताहरूलाई प्रदेशस्तरमै सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले कम्पनीले सञ्चालन गरेको सीईओ क्लब योजनाबाट देशभरबाट १६ सयभन्दा बढी अभिकर्ता छनोट हुनु योजनाको सफलताको प्रमाण भएको उल्लेख गरे । साथै, सबै तहका अभिकर्तामाझ लोकप्रिय हुने यस्ता प्रोत्साहनमूलक योजनाहरू ल्याउन कम्पनी निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले अभिकर्ताहरूलाई मोटिभेसनल तालिम प्रदान गरेका थिए । सहभागी अभिकर्ताहरूले तालिमबाट थप ऊर्जा प्राप्त भएको र आफ्नै प्रदेशमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिएका थिए ।
काठमाडौंमा टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट फर्काइयो
काठमाडौं । काठमाडौंबाट टर्कीतर्फ उडान भर्न लागेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ वेमा फर्काइएको छ । टीके–७२७ उडान नम्बर रहेको सो जहाज काठमाडौंबाट करिब १ बजे उड्ने समय तय भएको थियो । उडानका लागि अनुमति पाएर धावनमार्गमा दौडीसमेत सकेको अवस्थामा प्राविधिक समस्या देखा परेपछि जहाजले उडान नभरेको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले विकासन्युजलाई जानकारी दिए । ‘प्राविधिक समस्या देखा परेपछि उडान भर्न अनुमति नदिएको हो । जहाजलाई आकस्मिक रोकेर पार्किङ्मा फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँच सम्पन्न भएपछि र समस्या नदेखिएमा जहाज उडानमा फर्कन्छ ।’
काठमाडौं उपत्यकामा कति मतदाता र मतदान केन्द्र थपिए ?
काठमाडौं । काठमाडौं उपत्यकामा ११ लाख ८५ हजार ३७४ मतदाता पुगेका छन्, जसमध्ये काठमाडौंमा ७ लाख १० हजार ७०८, ललितपुरमा २ लाख ६९ हजार २५६ र भक्तपुरमा २ लाख ५ हजार ४१० जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौंमा यसअघि प्रतिनिधिसभाको निर्वाचनमा ६ लाख ५३ हजार ९९८, ललितपुरमा २ लाख ४३ हजार ८८४ र भक्तपुरमा १ लाख ९४ हजार ४३९ मतदाता रहेका थिए । आयोगका अनुसार काठमाडौंमा ५४ हजार ७१०, ललितपुरमा २५ हजार ३७२ र भक्तपुरमा १० हजार ९७१ जना मतदाता थपिएका छन् । काठमाडौंमा पुरुष मतदाता ३ लाख ४४ हजार १९९, महिला ३ लाख ६६ हजार ५०७ र अन्य ७ जना मतदाता छन् । ललितपुरमा महिला १ लाख ३७ हजार ७०७ र पुरुष १ लाख ३१ हजार ५४९ जना मतदाता रहँदा भक्तपुरमा पुरुष ४८ हजार ७४, महिला ५० हजार २७७ र अन्य ५ जना मतदाता रहेका छन् । यसैगरी, काठमाडौंमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ रहेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ५० वटा मतदान केन्द्र थप भएको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । यसअघि काठमाडौंमा ७ सय ७६ मतदान केन्द्र रहेको थियो । ललितपुरमा कुल १ सय ३१ मतदान स्थल रहेको छ । मतदान केन्द्र ३१८ रहेको यसपटक भने २८ वटा मतदान केन्द्र थप गरिएको ललितपुर जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् । भक्तपुरमा जम्मा ७६ मतदान स्थल रहेका छन् । मतदान केन्द्र २ सय ३३ रहेको र ११ मतदान केन्द्र थप गरिएको भक्तपुर जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरले जानकारी दिए । निर्वाचन आयोगका अनुसार देशभर फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् । ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २ सय मतदाता छन् । यस वर्ष आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
मधेस प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ः०० बजेसम्म ३०० भन्दाबढीले मतदान गरेका छन् । राष्ट्रियसभाको चार वटा सदस्यका लागि ११ जनाको उम्मेदवारी रहेको उक्त निर्वाचनमा मधेस–प्रदेशसभाका सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामआशिष यादव, उपसभामुख बबिता राउत इसरलगायतका पदाधिकारीहरूले मतदान गरिसकेका छन् । आइतबार बिहान ९ः०० बजे सुरु भएको मतदानको समय अपराह्न ३ः०० बजे सम्पन्न हुनेछ ।
काठमाडौं-२ मा रास्वपा र एमालेबीच टक्कर हुने निश्चित, यस्तो छ मत विश्लेषण
काठमाडौं । राजधानीको केन्द्रमा पर्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२ आगामी आमनिर्वाचनसँगै पुनः राजनीतिक बहसको केन्द्रमा आएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निकै चासोका साथ हेरिएको यो क्षेत्र यसपटक पनि पुराना प्रतिस्पर्धी र नयाँ उम्मेदवारका कारण चर्चामा छ । २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले १५ हजार २२९ मत प्राप्त गर्दै विजयी भएकी थिइन् । उनलाई निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गर्दै टक्कर दिएका थिए । तेस्रो बनेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याएकी थिइन् । अघिल्लो निर्वाचनमा तीन प्रमुख उम्मेदवारबीचको मतान्तर न्यून रहँदा काठमाडौं-२ लाई त्रिकोणात्मक प्रतिस्पर्धाको क्षेत्रका रूपमा हेरिएको थियो । स्थानीय राजनीतिक कार्यकर्ताहरू अहिले पनि अवस्था त्यहीँ रहेको बताउँछन् । पुरानै उम्मेदवार, नयाँ रणनीति यसपटकको निर्वाचनमा नेकपा एमाले र राप्रपाले अघिल्लो निर्वाचनकै उम्मेदवारलाई दोहोर्याएका छन् । एमालेबाट पुनः उम्मेदवार बनेका फुयाँल र राप्रपाबाट पोखरेलले अघिल्लो चुनावको मत परिणामलाई आफ्नो बलियो आधारका रूपमा प्रस्तुत गरिरहेका छन् । दुवै दलका नेताहरूले २०७९ को निर्वाचनमा प्राप्त मत संख्या विजयको नजिक रहेको दाबी गर्दै यसपटक परिणाम उल्टिने विश्वास व्यक्त गरेका छन् । एमाले नेताहरुका अनुसार काठमाडौं-२ मा पार्टी संगठन सुदृढ हुँदै गएको छ । एमाले नेता राजेश कट्टेल भन्छन्, ‘अघिल्लो चुनावमा मत विभाजनका कारण पराजय भोग्नुपर्यो, यसपटक मतदाताको धार स्पष्ट छ,’ कट्टेलले भने, ‘पार्टी संगठनसँगै उमेदवारको व्यक्तित्वका कारण पनि एमालेले निर्वाचन जित्ने आधार बनेको छ ।’ राप्रपाले पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा राजधानीमा थप लोकप्रिय हुँदै गएको दाबी गर्दै आएको छ । पोखरेलले अघिल्लो निर्वाचनमा पाएको मतलाई आधार मानेर यसपटक जित सम्भव रहेको बताउँदै आएकी छन् । तर, स्थानीय कांग्रेस नेता कुमुदा नेपाल २०७९ को आम निर्वाचनमा कांग्रेसको आन्तरिक असन्तुष्टिका कारण राप्रपाको मत राम्रो आएको बताउँछिन् । उनले भनिन्, ‘यस निर्वाचनमा हामी एक मना एकताका साथ भाग लिएका छौं, यसपटक राप्रपा यस क्षेत्रको प्रतिस्पर्धी होइन,’ उनले भनिन् । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर उम्मेदवारी नदिई माओवादीलाई समर्थन गरेको थियो । सो निर्णय पार्टीभित्रै विवादित बनेको थियो । यसपटक भने कांग्रेसले कविर शर्मालाई उम्मेदवार बनाएर एकल प्रतिस्पर्धामा उत्रिएको छ । कांग्रेस नेतृत्वको यो निर्णयलाई पार्टीको स्वतन्त्र पहिचान पुनःस्थापना गर्ने प्रयासका रूपमा हेरिएको छ । कांग्रेस कार्यकर्ताहरूले अघिल्लो निर्वाचनमा गठबन्धनका कारण पार्टीको मताधार कमजोर देखिएको बताएका छन् । ‘काठमाडौं,२ कांग्रेसको कमजोर क्षेत्र होइन, तर गठबन्धनका कारण हाम्रो उपस्थिति ओझेलमा प¥यो,’ नेपालले भनिन् । कविर शर्मा स्थानीय विकास, सुशासन र लोकतान्त्रिक मूल्यको एजेन्डा लिएर मैदानमा उत्रिएको उनको भनाइ छ। २०७९ को निर्वाचनमा सोविता गौतमको जितसँगै काठमाडौं–२ रास्वपाको बलियो आधार मानिन थालिएको थियो । तर यसपटक पार्टीले सुनील केसीलाई उम्मेदवार बनाएको छ । केसी अघिल्लो निर्वाचनमा प्रदेशसभा ‘क’ मा राप्रपाबाट चुनाव जितेका व्यक्ति हुन् । उनको उम्मेदवारीले रास्वपाभित्रै पनि विभिन्न चर्चा र प्रश्न जन्माएको छ । रास्वपाका नेताहरू भने केसीको उम्मेदवारीलाई अनुभव र संगठन विस्तारको रणनीतिका रूपमा व्याख्या गर्छन् । तर स्थानीय मतदातामाझ भने पार्टीको पहिचान र निरन्तरतामाथि प्रश्न उठ्न थालेको छ । स्थानीय भन्छन्- मुख्य भिडन्त एमाले-रास्वपाबीच काठमाडौं-२ का स्थानीय मतदाताहरूका अनुसार यसपटकको मुख्य प्रतिस्पर्धा एमाले र रास्वपाबीच हुने सम्भावना बढी छ । अघिल्लो निर्वाचनमा यी दुवै दलका उम्मेदवार नै विजेता र उपविजेता रहेका थिए । स्थानीय बुद्धिजीवी नारायण ज्ञवाली भन्छन्, ‘मत विभाजन भए पनि दुवैको आधार स्थिर देखिन्छ ।’ स्थानीय बासिन्दाहरूका अनुसार एमाले र रास्वपाका उम्मेदवार पुरानै भएकाले मतदातासँग परिचित छन् । कांग्रेस र राप्रपाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने अवस्था देखिन्छ । विशेषगरी नेपाली कांग्रेसले यस निर्वाचनमा राम्रो लय समायो भने राप्रपाको मत अधिकतम घट्छ । काठमाडौं–२ को निर्वाचनलाई पुरानो विचार र नयाँ विकल्पबीचको संघर्षका रूपमा पनि हेरिएको छ । एमाले र कांग्रेसले परम्परागत मतदातालाई समेट्ने प्रयास गरिरहेका छन् । त्यसमाथि कांग्रेसले गठबन्धनमुक्त राजनीति गरेर आफ्नो संगठन पुनर्जीवित गर्ने रणनीति लिएको छ । रास्वपा भने पुरानो जितलाई जोगाउने चुनौतीमा देखिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रको मत परिणाम मतदाताको अन्तिम धारणा, उम्मेदवारको व्यक्तिगत प्रभाव र प्रचार अभियानको प्रभावकारितामा निर्भर रहनेछ । २०७९ मा मतान्तर थोरै भएकाले यसपटक सानो परिवर्तनले पनि नतिजा उल्टिन सक्ने ज्ञवालीको भनाइ छ । यस्तो थियो समानुपातिक परिणाम शंखरापुर नगरपालिकाका सबै वडा, कागेश्वरी नगरपालिकाका ४ देखि ९ नम्बरसम्मका वडा र काठमाडौं महानगरका ९ र ३२ नम्बर वडा रहेको यस क्षेत्रमा ८८ हजार ७१० मतदाता रहेका छन् । उक्त निर्वाचन क्षेत्रमा निर्वाचन २०७९ मा समानुपातिकतर्फ रास्वपा पहिलो दल भएको थियो । रास्वपालाई दुई हजार कम मतले राप्रपाले पछ्याएको थियो । २०७९ को मत परिणामअनुसार रास्वपाले १३ हजार ८७९ मत प्राप्त गरेको थियो भने राप्रपाले ११ हजार ८१६ मत प्राप्त गरेको थियो । तेस्रो, लोकप्रिय मत पाउने एमालेले ९ हजार ५१४ मत पाउँदा कांग्रेसले ७ हजार १६७ मतसहित पाँचौं स्थान प्राप्त गरेको थियो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२ यसपटक पनि अनिश्चित र रोचक प्रतिस्पर्धाको केन्द्रमा देखिएको छ । पुरानै उम्मेदवारको दोहोराइ, कांग्रेसको नयाँ उम्मेदवारी र रास्वपाको रणनीतिक परिवर्तनले चुनावी माहोल थप चर्किएको छ । रास्वपा नेता सुमन कार्की आफ्नो दलले लोकप्रिय उमेदवारलाई मैदानमा उठाएकोले रास्वपा नै जनमतबाट अनुमोदन हुने दाबी गर्छन् । कांग्रेसकी नेपालले पार्टी एकमना एकता सहित अगाडि बढेकोले कांग्रेसले अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने बताउँछिन् । त्यसैगरी, एमालेका कट्टेल सशक्त संगठन र प्रभावशाली उमेदवार एमालेको प्लस पोइन्ट हुने अपेक्षा गर्छन् । राप्रपाका धनराज मास्की अघिल्लो समानुपातिक मतले आफ्नो जित निश्चित रहेको बताउँछन् । तर स्थानीय राजनितिक विश्लेषकहरू भने काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पहिलो हुने दौडमा एमाले र रास्वपा देखिएको बताउँछन् । स्थानीयका अनु्सार एमाले र रास्वपाबीचको मुख्य भिडन्त हुने सम्भावना रहे पनि अन्तिम निर्णय भने मतपेटिकाले नै गर्नेछ ।