भुजुङ्ग हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, ५० हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले आज माघ १२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कर्मचारीलाई २० हजार कित्ता र सामूहिक लगानी कोषलाई ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।
सन् २०२६ मा बङ्गलादेशको कुल गार्हस्थ उत्पादन ५ प्रतिशतले बढ्ने प्रक्षेपण
काठमाडौं । बङ्गलादेश योजना मन्त्रालयको आइतबार जारी सन् २०२६ जनवरीको अद्यावधिक आर्थिक समीक्षाले सन् २०२६ मा बङ्गलादेशको अर्थतन्त्र करिब ५ प्रतिशतको दरले वृद्धि हुने अनुमान गरिएको छ । बङ्गलादेश योजना आयोगको सामान्य वित्त विभागले तयारी गार्मेन्ट क्षेत्रमा अर्थतन्त्रको अत्यधिक निर्भरता कम गर्न दिगो वृद्धिका लागि बलियो शासन, सुसङ्गत नीति तथा सीप र प्रविधिमा लगानी बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । बङ्गलादेशले अल्पविकसित देशको स्थितिबाट माथि उठ्ने र लोकतान्त्रिक संक्रमणकालमा अघि बढ्ने गर्ने क्रममा राजनीतिक स्थिरता, संस्थागत र प्राविधिक सुधारलाई अपनाउन महत्वपूर्ण रहेको प्रतिवेदनमा जोड दिइएको छ । रिपोर्टले सम्भ्रान्तहरू बीचको आर्थिक अनिश्चितता र संस्थागत कमजोरीहरू दीर्घकालीन वृद्धिको लागि प्रमुख जोखिम भएको बताएको छ। दिगो विकास लक्ष्यहरूतर्फ प्रगति सुस्त रहेको अवस्थामा प्रतिवेदनले दिगो स्थानीय विकासका उपलब्धिहरू प्राप्त गर्न गाउँस्तरीय हस्तक्षेपहरूको समर्थनमा प्रमाणमा आधारित नीति निर्माणको आवश्यकतालाई जोड दिएको छ।
बेइजिङ-अबुधाबी सिधा उडान सुरु, सन् २०२६ मा पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा
काठमाडौं । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बीचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइन्सद्वारा संचालित दुई राजधानीहरू बीचको पहिलो सीधा सम्पर्क हो । बोकेर एयर चाइनाको बोइङ ७८७ विमानले २७८ यात्रु लिएर गरेको पहिलो उडान शनिबार राति अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्रत्येक हप्ता चार ‘राउन्ड ट्रिप’ गर्ने गरी स्थापित यो मार्ग सन् २०२६ मा एयर चाइनाको पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा हो । मार्गको सुरुवातले चीन र युएई बीचको उड्डयन नेटवर्कलाई अझ बढाउँछ र यसले दुई देशहरू बीचको मानव आदानप्रदान, आर्थिक र व्यापार सहयोग र सांस्कृतिक अन्तरक्रियाको लागि अधिक कुशल र सुविधाजनक हवाई मार्ग प्रदान गर्दछ। एयर चाइनाका एक अधिकारीले यात्रुलाई सुरक्षित, आरामदायी र सुखद यात्रा अनुभव प्रदान गर्न एयरलाइन्सले पूर्ण तयारी गरेको बताए । विमान कम्पनी स्रोतका अनुसार यो मार्गको सुरुवातले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को रूपरेखा अन्तर्गत दुई देशबीचको व्यावहारिक सहकार्यलाई नयाँ गति दिनेछ।
बैंकका कर्मचारीलाई कुट्नुपर्छ भन्ने अभिव्यक्ति दिएका संग्रौला पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा ‘नागरिक बचाउ महाअभियान’अन्तर्गत ऋणी एशोसिएशनका केन्द्रीय संयोजक देवीप्रसाद संग्रौलालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । झापाको अर्जुनधारा नगरपालिका-११ घर भएका ४४ वर्षीय संग्रौलाले युट्युब च्यानललगायतका माध्यमबाट बैंकका कर्मचारीलाई कुटपिट गर्नुपर्ने र ‘भण्डारखाल’ जस्तो काण्ड मच्चाउनुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए । सार्वजनिक शिष्टाचार र नैतिकता विपरीत हिंसा दुरुत्साहन गर्ने अभिव्यक्ति दिएपछि ब्यूरोले उनलाई कार्यालयमै झिकाएर सोधपुछ गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । प्रहरी समक्ष बयान दिने क्रममा संग्रौलाले कानुनी राज्यको उल्लङ्घन गर्दै बैंक विरुद्ध बोल्नु आफ्नो गल्ती भएको स्वीकार गरेको प्रवक्ता अवस्थीले बताए । पक्राउ संग्रौलाले आगामी दिनमा कानुनलाई शिरमा राखेर बोल्ने र समाज तथा राज्यलाई असर गर्ने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउँदै नेपाल सरकारसँग लिखित रूपमा माफी मागेको ब्यूरोले जनाएको छ । प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा कानुन विपरीतका अभिव्यक्ति दिने र श्रव्य दृश्य सामग्री प्रसारण गर्ने माथि निगरानी बढाएको छ ।
‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ
काठमाडौं । पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्ष अघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ गाउँमा पक्की घर बन्ने क्रम बढ्दै गएपछि पुराना र लोप हुन लागेका वस्तुको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्याङजाको वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवस्थलमा लोपोन्मुख घुमाउने (कुडुले) घर निर्माण गरेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए । ‘पुरानो पुस्ता गोल घरका बारेमा जानकार हुनुहुन्छ, कतिपय बस्नु भएकै पनि होला,’ उनले भने, ‘समयको विकास र आधुनिकतासँगै पछिल्ला पुस्ताले यस प्रकारका घर देखेका छैनन्, हाम्रो परम्पराको संरक्षण र जगेर्ना गर्दै नयाँ पुस्तालाई पुरानो कला संस्कृति तथा परम्पराका बारेमा जानकारी दिनका लागि गोल घर निर्माण गरेका हौँ ।’ बाँस, खर, काठ, माटोको प्रयोग गरेर बनाइएको उक्त गोल घर नवौँ वालिङ महोत्सवको मुख्य आकर्षणको रुपमा रहने भएको हो । खरले छाएका घर हराउँदै गएका बेला एकदमै पुरानो गाउँले परिवेशलाई झल्काउने उद्देश्यसहित गोल घर निर्माण गरिएको उनले बताए । गाउँ गाउँमा पुरानो गोल घर हराएर गएकाले महोत्सवस्थलमा आउने दर्शकहरुको अवलोकनका लागि गोल घर (कुडुले) घर निर्माण गरिएको वालिङ उद्योग वाणिज्य सङ्घका सह-कोषाध्यक्ष एवं गोलघर निर्माण उपसमितिका संयोजक केशव पराजुलीले बताए । खरले छाएको गोलघर दुई तलाको रहने छ । घरको छानो र पाली खरैखरले छाएको छ । ‘कुडुले घरभित्र विशेष गरी हाम्रा पुराना पुस्ताले प्रयोग गर्दै आएका सामग्री राखिने छ । घरमा पुरानो जीवनशैलीलाई झल्को दिने खालका जाँतो, ढिकी, हलो जुवा, ठेको, छानामा फर्सी, कुभिण्डो लगायतका सामग्री राखेर सजाइने छ,’ उनले भने । घरको भित्तोलाई रातो र सेतो माटोले लपक्क लिपेर आकर्षक बनाइएको छ । घरभित्र, पिँढी तथा आँगनमा गोबर माटोले लिपिएको छ । वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवलाई लक्षित गरेर निर्माण गरेको गोल घरलाई महोत्सवपछि पनि संरक्षण गरेर राख्ने जनाएको छ । विसं २०६३ बाट प्रत्येक २/२ वर्षमा वालिङ महोत्सव हुँदै आएको छ । यो नवौँ संस्करणको महोत्सव माघ १४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको हो । महोत्सवको तयारी पूरा भएको छ ।
एमाले र राप्रपाले उम्मेदवारी फिर्ता लिएपछि ३ वटा चिन्हमा मात्रै मतदान हुने
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिन्हमा मतदान हुने टुङ्गो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । ‘निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकामा दुई दलले उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीन वटा चिन्ह मात्रै रहने भएको हो,’ उनले भने । नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल ७ हजार मतदाता छन् । देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँको निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
काठमाडौं । विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट दलित ‘क्लष्टर’बाट उम्मेदवारी दर्ता गराएका पासवान आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएका हुन् । उनले ७ हजार ९०४ मतभार प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका रामनन्द प्रसादले १ हजार ३७६ र जनता समाजवादी पार्टीकी चमेली देबी दासले २०९ मतभार प्राप्त गरिन् । निर्वाचित पासवानले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । उनी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध छन् । नेता पासवानले बाल्यकालदेखि नै समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करण विरुद्ध आवाज उठाउँदै आएका थिए । रौतहट परोहा नगरपालिका–३ का पासवानले राजनीति शास्त्रमा स्नातक गरेका छन् । साधारण परिवारमा जन्मिएका पासवानले बाल्यकालमै दलित समुदायले भोग्दै आएको पीडा, अपमान र अवसरको अभाव नजिकबाट अनुभव गरेका छन् । यही अनुभवले पद र प्रतिष्ठाभन्दा माथि उठेर दलित हकअधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रको स्थापनाका लागि निरन्तर आफूलाई सङ्घर्षरत रहेको उनको भनाइ छ । पासवानले विभिन्न गैरसरकारी संस्थामार्फत समाजसेवामा उल्लेखनीय योगदान पुर्याए बापत अन्तर्राष्ट्रियस्तरका पुरस्कार प्राप्त गरेका छन् । हाल उनी दलित सङ्घको केन्द्रीय महासचिवको जिम्मेवारीमा पनि छन् । दलित समुदायको हकअधिकारका लागि आफू निरन्तर सङ्घर्षरत रहेपनि सोचे जस्तो उपलब्धि प्राप्त गर्न नसकेको उनको गुनासो छ । दलित समुदायको आर्थिक सामाजिक विकासका लागि अझै पनि निःस्वार्थ भएर लडिरहने उनको प्रतिबद्धता छ । पासवानले राष्ट्रिय सभामा गएर पनि दलित समुदायको उत्थानका लागि आवाज बुलन्द गर्ने प्रतिक्रिया दिए । ‘म दलितको मुद्दालाई राष्ट्रिय सभा मार्फत उठाउनेछु । दलित मुक्तिको आन्दोलनमा जहाँ रहेर भएपनि सधैँ मेरो सहभागिता, समर्थन रहनेछ,’ उनले भने । उनको जीवनशैली सरल, अनुशासित र जनमुखी रहेको नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए । ‘आर्थिक रूपमा सामान्य पृष्ठभूमिबाट आउनुभएका पासवान विलासी जीवनभन्दा जनताको सेवामा रमाउने नेताका रूपमा चिनिनुहुन्छ,’ गुप्ताले भने, ‘उच्च सोच, कम अपेक्षा र दृढ इमानदारी उहाँको पहिचान हो ।’
देशभर विपद्का २४ घटना, ७ जना घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य बृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार देशभर १६ वटा आगलागीका घटना घटेका थिए । असावधानीका कारण परालको कुन्युमा आगो लागेको, हावाहुरीले आगो उडाउँदा अन्य क्षति भएको तथा आगो ताप्दा असावधानीका कारण आगो फैलन गई घाइते भएका जस्ता विवरण सार्वजनिक भएका छन् । विपद्मा परेर कूल २५ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ । त्यसैगरी ७ जना घाइते भएका छन् । प्राधिकरणको विवरण अनुसार मोरङमा दुई, सुनसरी, भोजपुर, सप्तरी, सिरहामा एक/एक वटा आगलागीका घटना भएका थिए । सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौं, पाल्पा, प्युठान, कैलालीमा पनि आगलागीका घटना घटेका थिए । त्यसैगरी बाग्लुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडीमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । सप्तरी, कपिलवस्तु र डोटीमा भने जनावरको आक्रमणका घटना घटेका छन् । प्राधिकरणले विपद्बाट जोगिन, सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।