७ बैंकको वितरणयोग्य नाफा २० अर्ब ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा आधा दर्जन वाणिज्य बैंकको २० अर्ब रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार असोज मसान्तसम्म ७ बैंकको वितरणयोग्य नाफा १९ अर्ब ९८ करोड ३३ लाख १२ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्षको असोजसम्ममा विभिन्न ५ बैंकको १२ अर्ब ५४ करोड १ लाख ५६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो । असोज मसान्तसम्ममा सबैभन्दा धेरै हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । हिमालयन बैंकको ७ अर्ब ५४ करोड ६४ लाख ८७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । जबकि गत वर्षको असोजमा हिमालयनको ३ अर्ब ४८ करोड ४४ लाख ३७ हजार रुपैयाँ मात्रै वितरणयोग्य नाफा ऋणात्मक थियो । समीक्षा अवधिमा एनआईसी एशिया बैंकको ६ अर्ब २४ करोड ८२ लाख १३ हजार रुपैयाँ, नेपाल बैंकको ५७ करोड १ लाख ९२ हजार रुपैयाँ, कुमारी बैंकको ३ अर्ब ९१ करोड ९९ लाख २० हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को १ अर्ब १६ करोड ९४ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको असोजमा एनआईसी एशियाको २ अर्ब २१ करोड ४० लाख ८७ हजार रुपैयाँ, नेपाल बैंकको १ अर्ब २६ लाख ८२ हजार रुपैयाँ, कुमारीको ३ अर्ब ३२ करोड ८४ लाख २४ हजार रुपैयाँ र एनआईएमबिको २ अर्ब ५१ करोड ५ लाख २६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो । गत वर्ष नाफामा रहेका माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकको वितरणयोग्य नाफा यसपटक भने ऋणात्मक रहेको देखिन्छ । असोजसम्ममा माछापुच्छ्रेको ११ करोड ४२ लाख ८२ हजार रुपैयाँ र सिटिजन्सको ४१ करोड ४७ लाख ७८ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । यी बैंकको वितरणयोग्य नाफा धनात्मक चालु आवको असोजसम्ममा १३ वटा बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रभु बैंकको वितरणयोग्य नाफा बढेको देखिन्छ । प्रभुको १ हजार ६९ प्रतिशत बढेर ४० करोड ६० लाख ८४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । जबकि गत वर्षको असोजमा यस बैंकको वितरणयोग्य नाफा २ करोड ४७ लाख १५ हजार रुपैयाँ मात्रै थियो । यस्तै, सिद्धार्थ बैंकको ५११.२९ प्रतिशत बढेर १ अर्ब ६१ करोड ६१ लाख ९६ हजार रुपैयाँ, कृषि विकास बैंकको ३७४.१७ प्रतिशत बढेर २४८४७३६ हजार रुपैयाँ, एभरेष्ट बैंकको १५५.२४ प्रतिशत बढेर ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १५३ प्रतिशत बढेर ४ अर्ब ८४ करोड ९५ लाख ६ हजार रुपैयाँ, एनएमबि बैंकको ८१.१६ प्रतिशत बढेर १ अर्ब ९४ करोड ३३ लाख १८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको तथ्याङ्क छ । यस्तै, लक्ष्मी सनराइज बैंकको ७५.९८ प्रतिशत बढेर २ अर्ब ६२ करोड ३७ करोड ७९ हजार रुपैयाँ, सानिमा बैंकको २४.३१ प्रतिशत बढेर २ अर्ब १३ करोड ४ लाख ४८ हजार रुपैयाँ, नबिल बैंकको १३.१४ प्रतिशत बढेर ५ अर्ब ६३ करोड ५२ लाख ९८ हजार रुपैयाँ, प्राइम बैंकको ११.४८ प्रतिशत बढेर ३ अर्ब ४ करोड ४६ लाख ९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । समीक्षा अवधिमा वितरणयोग्य नाफा धनात्मक भएपछि विभिन्न ३ वटा बैंकको भने गत वर्षको असोजको तुलनामा घटेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकको ४.४२ प्रतिशत घटेर २१ करोड ४७ लाख २५ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको १९.२१ प्रतिशत घटेर १ अर्ब ५० करोड ९८ लाख ८४ हजार रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको २४.५० प्रतिशत घटेर २ अर्ब ४१ करोड १० लाख ४८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको देखिन्छ ।
शनिबारदेखि चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा आउँदै
काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार (भोलि) बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनमा तोडफोड भएपश्चात चन्द्रागिरि हिल्सको सेवा बन्द भएको थियो । केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन्। गत भदौ २४ गतेको घटनाका क्रममा भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरूपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो । सेवा बन्द हुनुअघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।
एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल
काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको चर्चा चल्दैगर्दा यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ । नेपाली क्रिकेटसँगको यो आवद्धताले स्थानिय क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेल र प्यानहरुलाई थप ऊर्जा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित एनसेलले सहकार्य गरेको छ । यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गतवर्षपनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो । यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरुको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धलाई उजागर गर्दछ । नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ । एनसेलको यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवद्र्धन गर्नका लागि मात्र सीमित नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । एनसेलले आफ्ना ग्राहककालागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरू आफू जहाँ भएपनि हेर्न सकिने सुविधा पनि प्रदान गर्नेछ । एनसेलले आफ्नो स्थापना कालदेखि नै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।
सामूहिक राजीनामाको तयारीमा राजदूतहरू
काठमाडौं । अन्तरिम सरकारले दोहोर्याएर पत्राचार गरेपछि विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरू स्वदेश फर्कने तयारीमा रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरे पहिले नै नेपाल फर्किसकेका छन् । घिमिरेले नेपाल फर्किएर गत मंगलबार राजीनामा समेत दिएका छन् । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीका अनुसार अन्य सबै राजदूतहरूलाई पनि टिकट पठाइसकिएको छ र उनीहरू आगामी दुई–तीन दिनभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । सरकारले असोज ३० गतेको निर्णयअनुसार चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल पाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदीलाई समेत स्वदेश फर्कन पत्राचार गरेको थियो । सरकारले ती सबैलाई कार्त्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिएको थियो । चीनका लागि राजदूत ओली आइतबार नै बेइजिङबाट काठमाडौं फर्कने तयारीमा छन् भने बाँकी राजदूतहरू पनि फर्किने तयारीमा रहेका छन् । ओली निकट स्रोतका अनुसार नेपाल फर्किएपछि सबै राजदूतहरूले संयुक्त रूपमा राजीनामा दिने तयारी गरेका छन् । यता उक्त निर्णयविरुद्ध लक्ष्मीप्रसाद पौडेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले कार्त्तिक १६ गते अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । तर आदेशको भोलिपल्टै सरकारले अर्को पत्राचारमार्फत ती राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । सर्वोच्चको आदेशपछि पनि सरकारले आफ्नो निर्णयमा अडान कायम राखेको देखिन्छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार फर्काइएका राजदूतहरूका लागि मन्त्रालयमा बस्ने स्थान र भूमिका अझै तय भएको छैन । फिर्ता बोलाइएका राजदूतहरूको व्यवस्थापनबारे मन्त्रालयमा स्पष्ट योजना नबनेको बताइन्छ । प्रवक्ता क्षत्रीका अनुसार सबै राजदूतहरू फर्किने तयारीमा छन् र उनीहरूको अनुभव र दक्षताको उपयोग मन्त्रालयले यथोचित व्यवस्था गर्नेछ ।
नास आईटी एक्स्पो सुरु : सहकार्य र नवप्रवर्तनमार्फत नेपालको आईटी इकोसिस्टम सशक्तिकरण
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) ले शुक्रबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा नास-आईटी एक्स्पोको भव्य उद्घाटन गरेको छ । यो प्रदर्शनी नेपालकै सबैभन्दा ठूलो प्रविधि र नवप्रवर्तनमूलक मेला हो । ‘व्यवसायलाई प्रविधिसँग सँगै जोडी नेपालको एआई भविष्य निर्माण गर्दै’ भन्ने नाराका साथ आयोजित दुईदिने यस कार्यक्रममा ३५ भन्दा बढी अग्रणी टेक कम्पनीहरूले सहभागिता जनाएका छन् । कार्यक्रममा उद्योगका वरिष्ठ व्यक्तित्व, नीति निर्माताहरू, लगानीकर्ता, नवप्रवर्तक तथा स्वदेशी र विदेशी प्रविधि विशेषज्ञहरू सहभागी छन् । कार्यक्रमको उद्घाटन नास(आईटीका अध्यक्ष गौरव पाण्डेले गरे । उनले कार्यक्रमले दुई दिनको सहकार्य, अध्ययन र अन्वेषणको प्रेरणादायी सुरुवात गरेको बताए । अध्यक्ष पाण्डेले भने, ‘यो एक्स्पो केवल प्रदर्शनी होइन, यो संवाद, सहकार्य र प्रगतिका लागि प्लेटफर्म हो । हाम्रो उद्देश्य नेपाललाई विश्वसनीय डिजिटल प्रतिभा, प्रविधि समाधान र नवप्रवर्तनको ग्लोबल हबका रूपमा स्थापित गर्नु हो ।’ टिग कम्पनीकी सह(संस्थापक प्रार्थना साखाले नेपालमा उदाउँदो प्रविधि इकोसिस्टमलाई सघाउनको महत्त्व औंल्याइन् । कार्यक्रममा विभिन्न प्रतिष्ठित वक्ताहरूका विचारपूर्ण सत्रहरू पनि समावेश थिए ।
स्वाथ्य सेवा विभागका निर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा
काठमाडौं । जिम्मेवारी सम्हालेको नौ महिनामै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् । सचिवको दौडमा रहेका बाराकोटी सचिवमा डा. विकास देवकोटा नियुक्त भएपछि स्वास्थ्य सेवा विभागको निर्देशकमा नियुक्त भएका थिए । नियमित पदावधि दुई वर्ष बढी बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । उनले आउँदो आइतबारबाट लागू हुनेगरी राजीनामा पत्र स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई बुझाएका छन् । डा. बाराकोटीले बालरोग विशेषज्ञका रूपमा स्वास्थ्य सेवामा २५ वर्षभन्दा बढी समय बिताएका छन् ।
सिप्रदीको व्यापार २४ अर्ब बढी, तीन आर्थिक वर्षमा औसत ६८ प्रतिशत लाभांश
काठमाडौं । गाडी बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले सन् २०२५ मा २४ अर्ब बढीको सञ्चालन आम्दानी अर्थात् व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीको वित्तीय विवरणका अनुसार सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन सन् २०२४ को तुलनामा ३० प्रतिशत बढी हो । यस कम्पनीले सन् २०२४ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा १८ अर्ब ३० करोड ४० लाख, सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख र सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । विगत पाँच वर्षको तुलनामा कम्पनीको व्यापार केही घटेको देखिए पनि गत वर्षको तुलनामा भने उल्लेख्य रुपमा बढेको हो । यो एक वर्षको अवधिमा कम्पनीको नाफा मार्जिन पनि बढेको छ । गत वर्ष २.२ प्रतिशतमात्रै रहेको नाफा मार्जिन सन् २०२५ मा २.७ प्रतिशत पुगेको हो । सन् २०२१ मा भने कम्पनीको नाफा मार्जिन ८.१ प्रतिशत थियो । देशकै सबैभन्दा ठूलो गाडी बिक्रेता कम्पनीको रुपमा परिचय बनाएको सिप्रदी नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता हो । नेपाली अटो बजारमा सिप्रदीको ठूलो बजार हिस्सा छ । कम्पनीको चालु पूँजी व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदा तरलता स्थिति सुदृढ भएको रेटिङ एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ । नेपालको कमर्सियल भइकलको बजार ६० प्रतिशत बढीको हिस्सा राखेको सिप्रदीले देशभर आफ्नो सञ्जाल फैलाएको छ । कम्पनीले कमर्सियल भेइकलसँगै अन्य सवारीसाधन बिक्रीका साथै ब्याट्री, स्पेयर पाट्र्स, लुब्रिकेन्ट जस्ता गैर-वाहन वस्तुहरू पनि बिक्री गर्दै आएको छ । कम्पनीले १३ अर्ब ७५ करोड रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । दीर्घकालीन ऋणका लागि एल डबल बीप्लस र अल्पकालीनका लागि एफोर प्लस रेटिङ पाएको छ । कम्पनीले सन् २०२५ मा कारोबार करिब ३० प्रतिशत बढाउँदा कमर्सियल भेइकल तर्फ भने ६९ प्रतिशतको वृद्धि गरेको छ । बैंकको ब्याजदर घट्दा र ऋण कम हुँदै जाँदा वित्तीय खर्च घटेको विज्ञप्तिमा उल्लेख छ । सिप्रदीको मुख्य लगानीकर्ता सिद्धार्थ राणा हुन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् । यसअघि विकासन्युजसँग कुरा गर्दै सीईओ श्रेष्ठले सिप्रदीलाई ५० अर्बको कम्पनी बनाउने लक्ष्य रहेको बताएका थिए । सम्बन्धित सामग्री : अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’
लगानी, प्रविधि र पर्यटनमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई मल्लको आह्वान
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्रीज एण्ड कमर्सका अध्यक्ष फान जियाओबोसँग भएको भेटवार्तामा निवर्तमान अध्यक्ष मल्लले नेपाल–चीन व्यापारिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्यको प्रस्ताव गरेका हुन् । भेटका क्रममा निवर्तमान उनले चीनसँगको व्यापारिक सम्बन्धलाई अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुपर्ने बताए । नेपालमा चिनिया‍ँ लगानी र प्रविधि भित्र्याएर दीर्घकालीन व्यवसायिक साझेदारी मार्फत दुवै देशले लाभ लिन सक्ने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘चीनदेखि भारत सीमा सम्मको पूर्वाधार विकास र राजमार्ग निर्माण गर्न सकेमा त्रिदेशीय व्यापारिक लाभ प्राप्त गर्न सकिन्छ ।’ नेपालले भौगोलिक रुपमा चीन र भारतबीचको व्यापारिक पुलको रूपमा कार्य गर्न सक्ने सम्भावनामा उनले जोड दिए । नेपालमा होटल पूर्वाधारमा लगानीमार्फत चिनियाँ पर्यटक आकर्षित गर्न सकिने मल्लले बताए । नेपालका सुन, तामा, युरेनियम लगायतका खानीहरूको प्रचुर सम्भावनालाई औंल्याउँदै निवर्तमान अध्यक्ष मल्लले त्यसको अनुसन्धान, प्रशोधन र निर्यातमा चिनियाँ लगानीको अवसर खुला रहेको बताए । उनले चीनसँग नेपालको व्यापार घाटा उच्च रहेको बताए । उनले भने, ‘चीनबाट २.५३ अर्ब डलर बराबरको आयात हुँदा नेपालले जम्मा १५.४९ मिलियन डलरको मात्रै निर्यात गरेको छ ।’ यस असन्तुलन घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानीमा संयुक्त पहल आवश्यक रहेको मल्लले बताए । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवद्र्धन गर्न आफूहरू प्रयासरत रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकास, होटल व्यवसायमा लगानी र व्यापारिक सहकार्यको पहललाई सकारात्मक रूपमा अघि बढाइने प्रतिवद्धता जनाए । नेपालको कृषि र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि पहल गरिने पनि उनले बताए।