विकासन्युज

टिग नास आईटी एक्सपो २०२५ को शनिबार अन्तिम दिन, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीजको आयोजनामा शुक्रबारदेखि सुरू भएको टिग नास आईटी एक्सपो २०२५ को अन्तिम दिन कात्तिक २२ गते शनिबार सञ्चालन हुँदैछ । आयोजकहरूले सहभागिता र उत्साहका लागि सबैलाई समापन दिनमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेका छन् ।  ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भइरहेको एक्पोमा ३५ बढी नेपाली सफ्टवेयर र आईटी सेवाहरू प्रदर्शनीमा रहेका छन् । शनिबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक्सपो निःशुल्क अवलोकन गर्न सकिने छ भने प्रडक्ट वा सेवाहरूमा ५० प्रतिशतसम्म छुट पाउन सकिने छ ।  नास आईटीका अध्यक्ष गौरव राज पाण्डेले नेपाली प्रविधिहरूको बारेमा बुझ्न एक्सपोमा आउनु पर्ने बताए । ‘एक्सपोले व्यवसाय, नवप्रवर्तक र लगानीकर्तालाई एउटै प्लेटफर्ममा जोड्न सफल भएको छ । यो एक्स्पो केवल प्रविधिको प्रदर्शनी होइन, नवप्रवर्तन र अवसरबीचको पुल हो,’ उनले भने, ‘पहिलो दिन बहुराष्ट्रिय कम्पनीका साथै विदेशी नियोगका प्रतिनिधि समेत अवलोकन गर्न आउनु भएको थियो, जुन हाम्रा लागि गौरवको कुरा हो । प्रविधिमा इच्छुक तपाईहरू सबैलाई पनि अवलोकन गर्न अनुरोध गर्दछु ।’ कार्यक्रमको पहिलो दिन अर्थात शुक्रबार इजरायल, अष्ट्रेलिया, दक्षिण कोरिया लगायतका विभिन्न देशका राजदूतहरू, सरकारी निकायका प्रतिनिधि, बहुराष्ट्रिय कम्पनीका सदस्यहरू, तथा उद्यमी, कर्पोरेट लिडर, कार्यकारी अधीकारी लगायतले एक्सपो अवलोकन गरेका थिए ।  एक्स्पोको पहिलो दिन १ हजार बढीले अवलोकन गरेका छन् । आज २ हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । विशेष गरी बिजनस टु बिजनेस लक्षित गरिएको एक्सपोमा प्रविधिमा चासो राख्नेहरू सबै आएर अवलोकन गर्न तथा विभिन्न प्रडक्ट र सेवा बारे जानकारी लिन सक्ने छन् ।  नास आईटीकी महासचिव अलिशा श्रेष्ठले एक्सपोमा उत्साहजनक सहभागीता रहेको बताउँदै यसले देशको समग्र टेक इकोसिस्टमलाई दिगो बनाउन सहयोग गर्ने बताइन् । कार्यक्रममको पहिलो दिन ओपन बैंकिङमा आधारित एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ लगायतका प्रडक्ट समेत सार्वजनिक गरिएको थियो ।  प्रदर्शनीमा फिनटेक, साइबर सेक्युरिटी, सेफ्टवेयर एज अ सर्भिस तथा इन्टरप्राइज, एचआर लगायत क्षेत्रका प्रडक्ट तथा सेवा राखिएको छ । कम्पनीहरूले आफ्नो बिजनेसलाई प्रवर्द्धन र नेटवर्किङ गर्ने अवसरको रूपमा नास आईटी एक्सपोलाई लिएका छन् ।  नास आईटीले व्यवसायी, उद्यमी र प्रविधिप्रेमीहरूलाई नेपालमा विकास भएका अत्याधुनिक प्रविधिहरूको अवलोकन गर्न र डिजिटल इकोसिस्टम विकासमा योगदान गर्न आग्रह गरेको छ ।  एक्सपोको शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवाका साथै र्यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन, डेटा वर्ल्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् ।

म्याग्दीमा सडक पूर्वाधारका ३२ योजना कार्यान्वयनमा

म्याग्दी ।  गण्डकी प्रदेश सरकारले म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार सम्बन्धी ३२ योजना सञ्चालन गर्ने भएको छ ।  पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने सडक स्तरोन्नति, मोटरेबल र झोलुङ्गे पुल निर्माण सम्बन्धी योजनाका लागि प्रदेश सरकारले रु ६२ करोड बजेट विनियोजन गरेको छ ।  क्रमागत १७  योजनाका लागि रु ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु १० करोड बजेट प्राप्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख बिष्णु पौडेलले जानकारी दिए ।  यसअघिका वर्षमा ठेक्का सम्झौता भएका क्रमागत योजनाका निर्माण व्यवसायीहरु बर्खा र चाडपर्व सकिएपछि काममा फर्कन थालेका तथा नयाँ सालबसाली योजना कार्यान्वयनका लागि ठेक्का आव्हानका लागि सर्वेक्षण र लागत अनुमानको काम भैरहेको उनले बताए ।  धवलागिरि, मालिका र मङ्गला गाउँपालिका समेटिएको प्रदेशसभाको क्षेत्र १ (ख) का १८ योजनाका लागि रु। ४७ करोड र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेटिएको निर्वाचन क्षेत्र १ (क) का १४ योजनाका लागि १४ करोड ६२ लाख बजेट प्राप्त भएको छ ।  संघीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु २३ करोड २२ लाख बजेट विनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटन सडक प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित सबैभन्दा ठुलो योजना हो ।  बिम–मराङ–मल्कवाङ–पाखापानी, जैसीखोर–खहरेखोला–रिसिन चौतारी हुँदै बैसरी सडक स्तरोन्नति र फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि एक/एक करोड बजेट विनियोजन भएको छ ।  म्याग्दी १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन) ले धवलागिरि गाउँपालिका–१ को गुर्जालाई सडक सञ्जालले जोड्ने लक्ष्य सहित प्रदेशबाट रु ५० लाख विनियोजन भएको जानकारी दिए । संघीय, प्रदेश सरकार, गाउँपालिका र समुदायको साझेदारीमा विकट गुर्जालाई यो वर्ष सडक सञ्जालमा जोडिने उनले बताए ।  मङ्गला गाउँपालिका–१ को तुसारेपानी–कुहुँ, गैराखेत–मालिका मन्दिर र दरवाङ–लामेला–अल्काचौर, दूधखोला–तोलावाङ र सराग्दी सडकका लागि ५०/५० लाख र  मालिका गाँउपालिकको खतेन–ओखरबोट झोलुङ्गे पुललाई ३० लाख बजेट विनियोजन भएको छ ।  घारखोला–नेपाने र तिप्ल्याङ–बादुक बाख्रेनी डिल देखि धुपीचौर सडक रघुगंगा–२ र बगैचा रानीपौवा रिसिन चौतारी हुँदै बेगखोला जोड्ने सडक र रघुगङ्गा –१ को टोल नम्बर २ को ढल निकास योजनाका लागि रु। ५०/५० लाख बजेट विनियोजन भएको म्याग्दी १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । ग्रामीण सडकहरूलाई ग्राभेल, ढलान र कालोपत्रे गरेर स्तरोन्नति गर्न योजनाहरू सञ्चालन भएको उनले बताए । सडक स्तरोन्नति भएपछि ग्रामीण क्षेत्रमा यातायातको सहज पहुँच बढ्ने र बसाइसराइ घट्ने अपेक्षा गरिएको छ ।  अन्नपूर्ण–५ पाउद्वाररदेखि कुरिलाबगर हुँदै वडा नं ६ बिरौटा सम्म सहिद सुरेश शेरपुजा र हिरालाल फगामी स्मृति मोटरबाटो र दोबा–भिरकाटे सडक, ज्ञानप्रकाश मावि देखि कोट खलंगा– हुँदै ठारा, भगवती–डाडाबारी–पिप्ले एकघरे सडक, कोटगाउँ–रायखोर– घ्यासीखर्क र पाखापानी– कालावाङ –ठाडाखानी र ठूलोगैरा – खबरा– बन्चरेढुंगा–भकुण्डे र आनन्दबगर– लामबगर – ढोडेनी सडकका लागि रु। ५०/५० लाख बजेट विनियोजन भएको छ ।   बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला, दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ, पखेर बरंजा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक,  दरवाङ– मुना– ढोरपाटन, दरवाङ–बिम–दिच्याम, दरखोला सडक पुल, शिवरात्री खोला सडक पुल,  रुम देखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १ (ख) का क्रमागत बहुबर्षीय योजनाहरू हुन् ।  निर्वाचन क्षेत्र १ (क) मा बेनी–तोरीपानी, हाँडेभिर–बगरफाँट –दूधेखोला– हल्लेगौडा– डोलेमुसुङ, गलेश्वर–पिप्ले – भगवति, गलेश्वर–पुलाश्रम, चित्रे– घोडेपानी, भगवति–सिजलगाउँ–बेग जोड्ने क्रमागत बहुबर्षीय सडक निर्माणाधीन छन् । रासस

लहानमा नौ करोडको लागतमा अत्याधुनिक ‘कार्निभल सिनेम्याक्स’ सञ्चालनमा

सिरहा । सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटलचोक नजिकै नौ करोड लगानीमा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त ‘कार्निभल सिनेम्याक्स’ सिनेमा हल सञ्चालनमा आएको छ । स्थानीय मुरारका परिवारको लगानीमा निर्माण भएको यो सिनेमा हलको सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शुक्रबार साँझ एक समारोहबीच उद्घाटन गरेका छन् । कार्निभल सिनेम्याक्सका अध्यक्ष अभिनव मुरारकाले यो सिनेमा हल पूर्वाञ्चल क्षेत्रकै पहिलो एडभान्स प्रविधिमा बनेको दाबी गरेका छन् । उनका अनुसार, नवनिर्मित सिनेमा हलको क्षमता १३८ सिट रहेको छ । अध्यक्ष मुरारकाले यो हललाई मनोरञ्जनको साधन मात्र नभई पर्यटकका लागि नयाँ गन्तव्यको रूपमा प्रस्तुत गरेका छन् ‘यो एउटा सिनेमा हलमात्रै होइन, लहानमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो’, उनले भने, ‘समयको माग र दर्शकको चाहनालाई सम्बोधन गर्दै अत्याधुनिक प्रविधिबाट मनोरञ्जन दिन खोजिएको हो ।’ उनका अनुसार, यस हलमा एडभान्स साउन्ड सिस्टम र ‘प्रोजेक्टर’ जस्ता उच्च प्रविधियुक्त सुविधा उपलब्ध छन् । दर्शकहरूका लागि टिकटको मूल्य ३०० देखि ९०० रुपैयाँसम्म निर्धारण गरिएको छ, र मनोरञ्जनका लागि हलमा दैनिक चार ‘सो’ सञ्चालन गरिनेछ । मधेस प्रदेशमा वीरगञ्जबाहेक अन्यत्र सुविधासम्पन्न हल नभएको अवस्थामा लहानमा खुलेको यो हलले सिरहा, सप्तरी र उदयपुर आसपासका बासिन्दालाई लक्षित गरेको छ । यसअघि स्तरीय सिनेमा हल नहुँदा यी क्षेत्रका दर्शक फिल्म हेर्न वीरगञ्ज वा विराटनगरसम्म पुग्नुपर्ने बाध्यता थियो । यसका साथै, भारतीय सीमा क्षेत्र नजिक रहेकाले सीमावर्ती जिल्लाका लाखौँ भारतीय नागरिकलाई पनि आकर्षित गर्ने निर्माण पक्षले अपेक्षा गरेको छ । नयाँ सिनेमा हल सञ्चालनमा आउँदा स्थानीय, उद्योगी, व्यवसायी र जनप्रतिनिधिहरू उत्साहित भएका छन् । यस सन्दर्भमा उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष विकास सारडाले खुसी व्यक्त गर्दै भने, ‘मोफसलमा ‘गतिलो हल छैन’ भन्ने सिरहावासीको गुनासोको अन्त्य भएको छ । यसलाई गौरवको रूपमा लिनुपर्छ, यसले लहानको पर्यटन तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिनेछ ।’ लहान नगरपालिका–७ का वडाध्यक्ष राम औतार शर्माले कार्निभल सिनेम्याक्सजस्ता उद्योगमा भएको लगानीले देशलाई समृद्धिको दिशातिर अग्रसर गराउने बताउँदै नेपाललगायत भारतबाट आउने दर्शकले लहान बजारलाई चलायमान बनाउने विश्वास व्यक्त गरे । रासस

बाढीपहिरोबाट भएको क्षतिको ३ अर्ब ७८ बराबरको बीमा दाबी

काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कबुल ४३४ वटा बीमा दावीको आवेदन परेको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ । कुल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ ।  प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो । प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बीमा कम्पनीमा बीमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावीको आवेदन परेको हो । रासस

हुन्डाईको ‘अपग्रेड टु द पर्फेक्ट ईभी’ अभियान : पुरानो गाडी साटेर नयाँ क्रेटा ईभी घर लैजाने अवसर

काठमाडौं । हुन्डाई नेपालले 'अपग्रेड टु द पर्फेक्ट ईभी' नामक नयाँ अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी घर लैजान सक्ने अवसर पाउनेछन् । यो अफर कात्तिक २१ गते शुक्रबारदेखि नेपालभर रहेका सबै हुन्डाई शोरूमहरूमा लागू भएको कम्पनीले जनाएको छ । हुन्डाई क्रेटा ईभीमा कम्पनीको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन गरिएको छ, जसले विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न चाहनेका लागि उत्कृष्ट विकल्प प्रस्तुत गर्छ । प्रत्येक खरिदसँगै ६ वर्षको निस्शुल्क सर्भिस र ३ वर्षको वारन्टी उपलब्ध हुनेछ, जसले ग्राहकलाई थप निश्चिन्तता प्रदान गर्छ । अफरअन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ७५ हजार रुपैयाँको विशेष छुट र २५ हजार रुपैयाँको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन् । साथै, यस अफरमा १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र रोड ट्याक्स पनि समावेश गरिएको छ, जसले नयाँ क्रेटा ईभी खरिदलाई अझ सुविधाजनक बनाउँछ । हुन्डाई क्रेटा ईभीले एकपटक चार्जमा ३९० किलोमिटरको ड्राइभिङ रेञ्ज र २०० एमएम ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ, जसले नेपाली सडकमा पनि सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्छ । कम्पनीका अनुसार यो सीमित अवधिको अफरले विद्युतीय गाडीमा स्विच गर्ने योजना बनाइरहेका उपभोक्ताका लागि उत्कृष्ट अवसर प्रदान गर्नेछ ।

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौंको सीनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका आलमको शनिबार बिहान २ः०० बजे निधन भएको हो । आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आलमको उपचारका क्रममा शनिबार निधन भएको अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले जानकारी दिए । आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए । विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री भएका थिए । त्यसपछि उनी २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । त्यसपछि उनी भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए । उनी विसं २०६७ को पार्टीको १२ औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । स्व आलमले विसं २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताएका थिए ।  उनलाई गत जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाले कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो । पूर्वमन्त्री आलमको दुई छोरा र एक छोरी छन् ।   

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।                                         यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।   अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १४ पैसा तोकिएको छ ।   जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४  पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४ रुपैयाँ ८६ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०८ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।                                             राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

थानकोटमा एक अर्बमा प्रसूति अस्पताल निर्माण गर्न ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ । सो अवसरमा उनीहरुका बीचमा जर्मन विकास बैँक (केएफडब्लू)को करिव एक अर्ब रुपैँया बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि –४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका सन्दर्भमा छलफल भएको थियो । सो अवसरमा नगरप्रमुख गिरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल भवन बनाउन आफूले निरन्तर पहलकदमी, सहजीकरण र समन्वय गर्दै आएको जानकारी दिनुहुँदै अगामी दिनमा पनि यस्तो कार्य निरन्तर रहने जानकारी दिएका थिए । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रुपमा थानकोटमा २५ शथ्याको अस्पताल बन्न लागेको हो । यसका लागि केएफडब्लूले प्रारम्भिक खाका स्वीकृत गर्दै ‘ग्लोबल टेण्डर’का चरणमा पुगेको जनाइएको छ । केएफडब्लूले अस्पतालका लागि करिव एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ । प्राथमिक अस्पताल थानकोट परिसरमा सो विशेषज्ञ अस्पताल भवन बनाउन मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरिसकेको छ । नगरपालिकाको सहजीकरण, समन्वय र सहकार्यमा नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेका थिए । गत जेठको पहिलो साता अस्पतालको विस्तृत खाका सहित ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढाउन आवश्यक प्रतिवेदन तयार गर्न स्थलगत अध्ययन गर्न केएफडब्लूको केन्द्रिय कार्यालयबाट मिसेल स्वीपर, प्राडा योर्कको सहित उच्चस्तरीय टोली नेपाल आएको थियो ।