विकासन्युज

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा, अब पाराग्वेसँग भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । बुधबार बिहान न्यु जर्सी स्टेडियममा सम्पन्न खेलमा कप्तान केलियन एम्बाप्पेले दुई तथा ब्राडली बार्कोलाले एक गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए । यो जितसँगै उपाधि दाबेदार फ्रान्सले अन्तिम १६ मा जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै अघि बढेको पाराग्वेसँग भेट पक्का गरेको छ । फ्रान्सले खेलभर बल नियन्त्रण र आक्रमणमा स्पष्ट वर्चस्व कायम राख्यो । पहिलो हाफको इन्जुरी समयमा एम्बाप्पेले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोलको खाता खोले । त्यसअघि पनि उनले एक प्रहार पोस्टमा लागेका थिए भने अर्को गोल अफसाइडका कारण मान्यता पाउन सकेको थिएन । खेलको ५३औं मिनेटमा माइकल ओलिसेको सटिक पासमा बार्कोलाले शक्तिशाली प्रहार गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि ७४औं मिनेटमा फेरि ओलिसेको सिर्जनात्मक पासलाई सदुपयोग गर्दै एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेलको नतिजा सुनिश्चित गरे । ओलिसेले खेलमा दुई असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे । यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पु‍र्याएका छन् । यससँगै उनी गोल्डेन बुटको दौडमा लियोनेल मेसीको बराबरीमा पुगेका छन् । साथै विश्वकप इतिहासमा उनको कुल गोल संख्या १८ पुगेको छ, जसले उनलाई सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा मेसीभन्दा केवल एक गोलले पछि राखेको छ । फ्रान्स लगातार प्रभावशाली प्रदर्शन गर्दै उपाधिको बलियो दाबेदारका रूपमा प्रस्तुत भइरहेको छ । प्रशिक्षक डिडिएर डेसच्याम्प्सको टोलीले समूह चरणपछि नकआउटको पहिलो खेलमा पनि उत्कृष्ट लय कायम राख्दै स्विडेनलाई कुनै मौका नदिई अन्तिम १६ को यात्रा तय गरेको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको निर्णयानुसार बुधबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । निगमका अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले र एल.पी. ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर (प्यान) र प्रमाणपत्र सेवाग्राहीले सोझै डाउनलोड गरी प्रिन्ट गर्ने व्यवस्था सञ्चालनमा ल्याइएको छ ।  कार्यालयका सूचना अधिकारी रामप्रसाद ज्ञवालीले आज सार्वजनिक सूचना जारी गरेर कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गर्ने समझदारीपत्रमा हस्ताक्षर भए बमोजिम ‘केमिस’ प्रणाली सोमबारदेखि लाइभ भइसकेको बताए ।  उनले कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र कार्यालयको केमिस प्रणालीमार्फत सेवाग्राहीले सोझै डाउनलोड गरी प्रिन्ट गर्न सक्ने बताए ।  दुवै कार्यालयबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गर्नेसम्बन्धी समझदारी पत्रमा विसं २०८३ वैशाख ३१ गते हस्ताक्षर भएको थियो ।  

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा सञ्चालन गरेको ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’मार्फत करिव ९७ प्रतिशत बालबालिकालाई खोप प्रदान गरिएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा देखिएका सात जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’अन्तर्गत ९७.७ प्रतिशत बालबालिकालाई खोप लगाइएको जानकारी दिए ।  उनका अनुसार ती सात जिल्लाका एक लाख २८ हजार ३५९ बालबालिका तथा मानिसलाई खोप लगाइएको छ । अछाम र दैलेखमा पनि दादुराको जोखिम रहे पनि न्यून सङ्ख्यामा बिरामी भेटिएकाले अभियान सञ्चालन नगरेको उनले बताए ।  सरकारले यस वर्ष दादुरको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत, कालीकोट, सर्लाही, सिराहा, महोत्तरी र बागलुङमा छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ जेठको अन्तिम सातादेखि असार १० गतेसम्म सञ्चालन गरेको थियो ।  उनका अनुसार सर्लाहीमा १० हजार २५४, सिराहा दुई हजार ५५०, महोत्तरीमा ७७ हजार ९७, बागलुङमा पाँच हजार ९५०, कालीकोटमा ४१६, सुर्खेतमा दुई हजार ६७ र जाजरकोटमा तीन हजार ८०० जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । ती जिल्लाभरि नभएर दादुराको प्रकोप देखिएको स्थानीय तहका र वडामा मात्र खोप अभियान सञ्चालन गरिएको थियो । दादुरा सङ्क्रामक रोग हो । एक जना सङ्क्रमित व्यक्तिले १८ जनासम्मलाई सङ्क्रमण सार्न सक्दछ ।  त्यसैले सङ्क्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको शाखा प्रमुख डा. गौतमले जानकारी दिए।

सुशासन र पारदर्शितामा नबिल बैंक अब्बल, लगातार तेस्रो पटक जित्यो 'गोल्ड अवार्ड'

काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने विधामा नबिल बैंकले लगातार तेस्रो पटक निजी क्षेत्रको बैंकतर्फको उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड हात पारेको हो ।  यसका साथै विधाको इतिहासमै पहिलो पटक थपिएका ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ पनि बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ पाएको छ ।  मंगलबार आयोजित एक समारोहबीच आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्डहरू हस्तान्तरण गरे ।  आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपना जस्ता कडा मापदण्डहरूमा अब्बल ठहर गर्दै नबिल बैंकलाई यी पुरस्कारहरू प्रदान गरेको हो ।  यसअघि सन् २०२३ र २०२४ को प्रतिवेदनका लागि समेत सोही पुरस्कार पाएको नबिल बैंकको यो पुरस्कृत वार्षिक प्रतिवेदन अब नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना गरिने ’साफा बिपिए अवार्ड’ का लागिसमेत मनोनित हुने भएको छ ।  ४ दशकदेखि गुणस्तरीय र दिगो बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल देशभर २६६ शाखा र ३१८ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ भने पछिल्लो समय डिजिटल बैंकिङका लागि ’एनबैंक’ समेत सञ्चालनमा ल्याएको छ ।

उपाध्यक्ष पौडेलको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले नेकपा (एमाले) उपाध्यक्ष पौडेलकी पत्नी दोमाया पौडेलले गैरकानुनीरूपमा थुनामा राखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै मंगलबार (आज) उक्त मिसिल झिकाउन आदेश गरेको हो । रिट निवेदनमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय, सुर्खेतलाई विपक्षी बनाउँदै गैरकानुनी थुनामुक्त गर्न माग गरिएको थियो ।  अदालतले मुद्दाको अभियोग पत्रसहितको सक्कल फाइल इजलास समक्ष देखाइ फिर्ता लैजाने गरी सम्बन्धित अदालतबाट झिकाइ मिति यही असार १८ गते पेशी तोक्न भनेको छ । आदेशमा रिट निवेदनसँग सम्बन्धित तथ्य र प्रमाणको समग्र अध्ययनका लागि विशेष अदालतबाट दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल, भट्टकै वैकिङ कसुर मुद्दा पाटनबाट झिकाउन भनिएको छ । आशिष श्रेष्ठसमेत रहेको बिमासम्बन्धी कसुर मुद्दाको काठमाडौं जिल्ला अदालतबाट सक्कल मिसिल झिकाउने, सुलभ अग्रवालसमेत भएको धितोपत्रसम्बन्धी कसुरको मुद्दाको सक्कल मिसिल काठमाडौं जिल्ला अदालतबाट झिकाउन भनिएको छ ।  

साउदी अरब सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई गर्यो आममाफी

काठमाडौं । नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति मंगलबार (आज) कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ । नेपाल सरकारले यस उदार कदमलाई नेपाल र साउदी अरब अधिराज्यबीच विद्यमान दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा उच्च मूल्याङ्कन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो आममाफी रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपश्चात प्रदान गरिएको हो ।  उक्त कैदीबन्दीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।  

विद्युत् प्राधिकरणमा थपिए ५० हजार नयाँ मिटर, सातै प्रदेशमा वितरण सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकहरूको मागलाई सम्बोधन गर्दै ५० हजार वटा नयाँ विद्युत् मिटर भित्र्याएको छ । प्राधिकरणका अनुसार नयाँ मिटर जडानका लागि पर्खिरहेका सेवाग्राहीहरूलाई मध्यनजर गर्दै ती मिटरहरू सम्बन्धित सातै प्रदेशका प्रादेशिक तथा स्थानीय कार्यालयहरूमा पठाइसकिएको छ । नयाँ मिटर उपलब्ध भएसँगै प्राधिकरणले मिटर आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीहरूलाई आ-आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र वा प्रादेशिक कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । इच्छुक ग्राहकहरूले कार्यालयमा गई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर तत्काल निवेदन दर्ता गर्न सक्नेछन् ।  विगतमा मिटर अभावका कारण केही समय रोकिएको नयाँ कनेक्सन प्रक्रिया अब तीव्र गतिमा अघि बढ्ने प्राधिकरणले जनाएको छ ।  आफ्ना सेवाग्राहीहरूलाई सहज, पारदर्शी र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नेपाल विद्युत् प्राधिकरण सधैं प्रतिबद्ध रहेको र आगामी दिनमा पनि मिटरको अभाव हुन नदिने विश्वास प्राधिकरणले दिलाएको छ ।