विकासन्युज

निर्वाचनका लागि भारतले दियो ६५० गाडी, ५३८ वटा नेपाल भित्रिए

काठमाडौं । भारत सरकारले आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई ६ सय ५० वटा गाडी अनुदान सहयोगस्वरूप उपलब्ध गराएको छ । सोमध्ये ५ सय ३८ वटा गाडी नेपाल भित्रिसकेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भारतले प्रदान गरेका गाडीहरूमध्ये महिन्द्रा कम्पनीका स्कार्पियो र बोलेरो जीपलगायतका हल्का सवारीसाधन नेपाल आइपुगेको जानकारी दिए । उनका अनुसार अब बाँकी १ सय १२ वटा ठूला तथा हेभी गाडीहरू आउने क्रममा छन्, जसमा सुरक्षा निकायले प्रयोग गर्ने ट्रकहरू समेत समावेश छन् ।  ‘कुल ६ सय ५० गाडीमध्ये ५ सय ३८ वटा आइपुगेका छन्, बाँकी १ सय १२ वटा ठूला गाडी आउन बाँकी नै छन्,’ उनले विकासन्युजसँग भने । यो सहयोग पूर्णतः अनुदानमा आधारित भएको र निर्वाचन प्रयोजनका लागि दिइएको प्रवक्ता पाण्डेयले स्पष्ट पारे । निर्वाचन सम्पन्न भएपछि पनि ती गाडीहरू फिर्ता नभई नेपाल सरकारकै विभिन्न निकायहरूले प्रयोग गर्नेछन् ।  ‘यो निर्वाचनलक्षित अनुदान सहयोग हो । चुनावपछि गाडी फिर्ता गर्ने होइन, नेपालकै सरकारी निकायहरूले प्रयोग गर्नेछन्,’ उनले भने ।  गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यले गाडीहरू चुनावपछि कुन निकायले प्रयोग गर्ने भन्ने विषय आवश्यकताका आधारमा निर्धारण गरिने जानकारी दिइन् । ‘सुरक्षा निकाय वा अन्य सरकारी कार्यालयहरूमध्ये जहाँ गाडीको अभाव छ र जसलाई आवश्यक पर्छ, उसैले प्रयोग गर्नेछ,’ उनले भनिन् । यस सहयोगले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको सूचना अधिकारी आचार्यको भनाइ छ ।  अर्थ मन्त्रालयले उक्त गाडीहरूका लागि आवश्यक भन्सार तथा कर छुटको सहजीकरण गरेको थियो । अब यी गाडीहरूको प्रयोग, सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मा गृह मन्त्रालय र निर्वाचन आयोगको समन्वयमा हुनेछ।  भारतीय दूतावासको तथ्यांकअनुसार पछिल्ला १८ वर्षमा निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई करिब ३ हजार सवारीसाधन उपलब्ध गराइसकेको छ ।  हरेक निर्वाचनमा भारतले नेपाललाई सवारीसाधन उपलब्ध गराउँदै आएको छ । 

कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कूलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) का गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयको १७२औँ स्थापना दिवस तथा अभिभावक दिवसका अवसरमा बैंकले उक्त सहयोग प्रदान गरेको हो । विद्यालयमा अध्ययनरत करिब १ हजार १०० भन्दा बढी विद्यार्थीमध्ये आर्थिक अभावका कारण पठनपाठन प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै बैंकले छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ । उक्त छात्रवृत्ति बैंकका मार्केटिङ विभाग प्रमुख पर्मा ढुङ्गेलले विद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेललाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी उनीहरूको हौसला बढाउन र उज्ज्वल शैक्षिक भविष्य निर्माणमा सहयोग पुर्‍याएकोमा बैंक परिवारप्रति धन्यवाद व्यक्त गरिन् । त्यस्तै, बैंकका मार्केटिङ विभाग प्रमुख ढुङ्गेलले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।  

सेयर बजारमा हरियाली : नेप्से २७ अंकले बढ्यो, कारोबार ११ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । दुई दिनदेखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँबराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले उक्लिएको छ । यता, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, राधी विद्युत कम्पनीको साढे ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ५३ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ । जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ ।

नेपालमा निट्को टायल्सको उत्पादन शुरू, घरेलु निर्माण उद्योगमा नयाँ अवसर

काठमाडौं । भारतीय ब्राण्ड निट्कोले नेपालमा टायल्सको उत्पादन तथा बिक्री वितरण सुरु गरेको छ । बिहीबारदेखि राजधानीको भृकुटिमण्डपमा सुरु भएको एघारौं संस्करणको नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोमा निट्कोले नेपालमा उत्पादित टायल्सको औपचारिक रूपमा बिक्री वितरण सुरु गरेको हो । नेपाली बजारमा निट्को ब्राण्डको लोकप्रियतालाई ध्यानमा राख्दै निट्को नेपाल प्रालिले नेपालमै टायल्स उत्पादन र बिक्री वितरण सुरु गरेको हो । यसले नेपाली उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय टायल्स उपलब्ध गराउने उद्देश्य राखेको कम्पनीले जनाएको छ । एक्स्पोमा निट्कोका नेपाल निर्मित टायल्सको औपचारिक बिक्री वितरणको सुरुवात गर्दै निट्को नेपालका प्रमुख कार्यकारी अधिकृत शुभम अग्रवालले नेपाली उपभोक्तालाई नेपालमै गुणस्तरीय टायल्स उत्पादन गरेर बिक्री वितरण गर्दा खरिद मूल्य कम हुने विश्वास व्यक्त गरे । उनले भने, 'हामीले यसअघि भारतमा निर्मित उत्पादन आयात गरेर बिक्री वितरण गर्दै आएका थियौं । अब नेपालमै निर्मित निट्को टायल्स उपभोक्ताले वही गुणस्तरमा कम मूल्यमा खरिद गर्न सक्नेछन् ।' यसअघि भारतमा उत्पादित निट्कोका टायल्स तथा मार्बल नेपाली बजारमा लोकप्रिय ब्राण्डका रूपमा स्थापित छन् । सन् १९५३ देखि भारतमा निट्को लिमिटेडले उत्पादन सुरु गरेको यस ब्राण्डका टायल्स, मार्बल र मोजाइक नेपालमा मात्र नभई दक्षिण एशियाली मुलुक तथा विश्वका ६० भन्दा बढी मुलुकमा रुचाइने ब्राण्डमा पर्छन् । निट्को नेपाल प्रालिले भारतस्थित निट्को लिमिटेडसँगको जोइन्ट भेञ्चरको रूपमा नेपालमा टायल्स उत्पादन सुरु गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शुभम अग्रवालले भने, 'नेपालमा टायल्स उत्पादन सुरु गर्दा उपभोक्तालाई सहजता मात्र प्राप्त हुने छैन, यसले नेपालको उत्पादन उद्योगलाई पनि टेवा पुर्‍याउने र समग्र अर्थतन्त्रमा योगदान पुग्ने हाम्रो विश्वास छ ।' साथै, निट्को नेपालले भारतमा उत्पादित गुणस्तरीय मार्बल तथा मोजाइक पनि सुलभ मूल्यमा उपलब्ध गराउने जनाएको छ । कम्पनीले देशभर ८० भन्दा बढी डिलर सञ्जालमार्फत आफ्ना उत्पादनहरू उपभोक्तासम्म सहज रूपमा पुर्‍याउने योजना बनाएको छ । नजिकैको हार्डवेयर पसलबाट पनि निट्कोका उत्पादनहरू सुलभ मूल्यमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।  

सभापति गगन कुमार थापा शुक्रबार पोखरा जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा शुक्रबार पोखरा जाने भएका छन् । निर्वाचन प्रचारअन्तर्गत थापा पोखरा जाने कार्यक्रम रहेको पार्टी प्रवक्ता देवराज चालीसेले जानकारी दिएका छन् । चालीसेका अनुसार सभापति थापाले गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उक्त भेलामा प्रदेशबाट प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्ने उम्मेदवार, प्रदेशका पदाधिकारी, जिल्ला सभापतिहरू तथा अगुवा कार्यकर्ताहरू सहभागी हुने र सभापति थापाले सबैलाई सम्बोधन गर्ने जनाइएको छ ।   

फ्री भिसा–फ्री टिकट नीतिमा पुनरावलोकनको तयारी, व्यवसायीको दबाबपछि सरकार सक्रिय

काठमाडाैं । सरकारले निर्णय कार्यान्वयनको एक दशकपछि खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि लागू गरेको फ्री भिसा, फ्री टिकट नीतिको पुनरावलोकन गर्न गृहकार्य थालेको छ ।  र यो नीति कार्यान्वयनमा आउँदा म्यानपावर व्यवसायीहरूले कार्यालय सञ्चालन खर्चसमेत धान्न मुस्किल भएको भन्दै लामो समयदेखि पुनरावलोकनको माग गर्दै आएका छन् ।  व्यवहारिक रूपमा पनि नीति कार्यान्वयन फितलो भएपछि सरकारले नीति पुनरावलोकनका लागि गृहकार्य अघि बढाएको हो ।  श्रम मन्त्रालयले उक्त नीतिको सकारात्मक र नकारात्मक पक्षहरूको अध्ययन थालेको छ भने व्यवसायीहरूले फ्री भिसा, फ्री टिकट नीति अभिशापको संज्ञा दिँदै तत्काल परिवर्तन आवश्यक रहेको बताएका छन् ।  वैदेशिक रोजगारसम्बद्ध व्यवसायीहरूले कार्यालय सञ्चालन खर्च धान्न समेत मुस्किल भएको भन्दै लिखित र मौखिक रूपमा यो निर्णय पुनरावलोकन गर्न लामोसमयदेखि ध्यानाकर्षण गराइरहेको र मन्त्रालयबाट विभिन्न समयमा गठित केही प्रतिवेदनहरूले पनि फ्री भिसा, फ्री टिकटको पुनरावलोकन गर्न सुझाएकाले अध्ययन अघि बढाइएको श्रम मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।  श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेले अहिले यो नीति लागू भएको दशक बितिसकेकाले रिभ्यु थालिएको जानकारी दिए । उनका अनुसार सुरुमा अहिले यो नीतिको सकारात्मक र नकारात्मक पक्षहरू हेरिँदैछ । सरकारी नीति ल्याउँदा तत्कालीन समयको आशय परिपूर्ति भयो कि भएन, व्यवसायीलाई कस्तो असर गर्‍यो भनेर रिभ्यू गर्न लागेको र  अध्ययन विश्लेषणपछि थप निर्णयले लिइने उनको भनाइ छ ।  उनका अनुसार श्रममन्त्रीले पनि यो नीतिको कार्यान्वयनमा चासो देखाइरहेका छन्  यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले यो नीतिलाई बिना अध्ययन लागू गरिएकाले पुनरावलोकनमा ढिलाइ गर्न नहुने बताए । उनका अनुसार कुनैपनि मुलुकलाई निःशुल्क वा स–शुल्कमा कामदार लैजाने निर्णय लिने अधिकार उनीहरूकै हो । नेपालले तोकेर मात्रै हुँदैन । व्यवहारिक पक्षलाई हेरेर यो नीतिमा तत्काल पुनरावलोकन हुनुपर्छ । उनले श्रमिक पठाउने सन्दर्भमा नेपालको प्रतिस्पर्धी एसियाली १४ मुलुकसँग भइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यास अनुसार समयसापेक्ष लागत निर्धारण गरिनुपर्छ । उक्त निर्धारणलाई मान्न व्यवसायीहरू तयार छन् । यो नीतिको पुनरावलोकन गरेर वैदेशिक रोजगारीलाई थप व्यवस्थित र सुरक्षित बनाउनुपर्ने उनको भनाइ छ ।

लमिनार टायल्सले सार्वजनिक गर्यो नयाँ ‘मोनोलिथ डिजिटल फुल–बडी’ टायल

काठमाडौं । नेपालको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लमिनार टायल्सले आफ्नो नयाँ प्रडक्ट ‘मोनोलिथ डिजिटल फुल–बडी’ सार्वजनिक गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक अशुतोष खेतानका अनुसार मोनोलिथ डिजिटल डिजाइन र फुल–बडी प्रविधिको संयोजनमा आधारित छ । उनले भने, 'मोनोलिथमार्फत हामीले प्राकृतिक ढुंगाको सुन्दरतालाई सरल र आधुनिक टायल भाषामा प्रस्तुत गरेका छौं, जसले प्रतिकूल वातावरण र दीर्घकालीन प्रयोगमा पनि गुणस्तर कायम राख्छ ।' मोनोलिथलाई आधुनिक घर तथा सार्वजनिक स्थानमा प्रयोग गर्नका लागि तयार गरिएको हो । कम्पनीले यसलाई सन्तुलित र टिकाउ टायलको रूपमा प्रस्तुत गरेको छ । टायलमा चूनढुङ्गा, बालुवा, खरानी, स्लेट र ज्वालामुखीय काँच (ओब्सिडियन) जस्ता प्राकृतिक तत्व मिसाइएको छ । सामान्यतया ग्लेज्ड टायलमा लामो समय प्रयोग गर्दा सतह घिसिँदै भित्रको फरक रङ देखिन थाल्ने समस्या देखिन्छ, तर मोनोलिथ डिजिटल फुल–बडीमा यो समस्या नरहने कम्पनीको दाबी छ । कम्पनीका अनुसार मोनोलिथ म्याट कार्भिङ, ग्रानुलर म्याट र ग्रिट टेक्स्चुरा ब्राण्डमा उपलब्ध छन् र नघिस्रिने, नकोरिने तथा नचिप्लिने जस्ता प्राविधिक मापदण्ड पनि पूरा गर्छन् । यसैले टायल पानी पर्ने वा भिज्ने स्थान, बाहिरी क्षेत्र तथा उच्च आवतजावत हुने ठाउँका लागि उपयुक्त मानिएको छ । मोनोलिथ टायलहरू विमानस्थल, सपिङ सेन्टर, होटल, अस्पताल, कार्यालय लगायत सार्वजनिक स्थानका साथै घरभित्रका बैठक कोठा, शौचालय, भान्सा, कौशी र पौडीपोखरीमा पनि प्रयोग गर्न सकिन्छ । कम्पनीले हालै एनएस ६१७:२०८२ प्रमाणिकरण प्राप्त गरेपछि यो प्रडक्ट सार्वजनिक गरेको हो, जस अनुसार लामिनारका टायल पूर्ण भिट्रिफाइड र राष्ट्रिय मापदण्डको उच्चतम श्रेणीमा वर्गीकृत छन् । नेपालको पहिलो स्वदेशी फुल–बडी टायल संग्रह ‘सेन्टो’ पछि मोनोलिथमार्फत लमिनारले डिजिटल फुल–बडी प्रविधिमा अर्को कदम अगाडि बढाएको जनाएको छ । यसअघि यस किसिमका टायल नेपालमा उत्पादन नभएकाले आयात गर्नुपर्ने अवस्था थियो । साथै, एक्स्पोमा लामिनारले मोनोलिथलगायत अन्य प्रडक्टहरू प्रदर्शन गरिरहेको छ । ४०० भन्दा बढी डिजाइन समेटिएका लामिनारका सम्पूर्ण प्रडक्टहरू काठमाडौंको लाजिम्पाटस्थित लामिनार एक्स्पेरियन्स सेन्टर तथा देशभरका १६० भन्दा बढी अधिकृत डिलरमार्फत अवलोकन गर्न सकिन्छ ।

एक हजार दरका २८ थान नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थितबाट नक्कली नेपाली रुपैयाँ एक हजार दरका २८ थान नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा नगरपालिका–१० का २५ वर्षीय बहिस मियाँ रहेका छन् । मियाँले माघ २१ गते राति हरिनगर–१ स्थित एक किराना पसलमा सामान खरिद गर्दा नक्कली नोट दिएका थिए । पसलधनीले प्रहरीलाई जानकारी गराउनासाथ प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले मियाँलाई नियन्त्रणमा लिई शरीर खानतलासी गरेको थियो । खानतलासीका क्रममा उनको साथबाट नक्कली नेपाली रुपैयाँ एक हजार दरका २८ थान नोट बरामद गरिएको हो । पक्राउ परेका मियाँमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।