पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाइन् नागरिकताको प्रतिलिपि
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रतिलिपि नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा भएको तोडफोड र आगजनीका क्रममा उनको नागरिकता प्रमाणपत्रसमेत जलेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई उनले मंगलबार ९आज० प्रतिलिपि नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए। उनले भने, ‘उहाँको पुरानो नागरिकताको प्रमाणपत्र जलेको रहेछ र कार्यालयको भौतिक अभिलेख पनि क्षतिग्रस्त भएको थियो । त्यसपछि हामीले विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको फोटोकपी र डिजिटल अभिलेख मिलाएर सत्यापन गर्यौं र त्यसैको आधारमा नयाँ प्रतिलिपि नागरिकता जारी गरिएको हो ।’ पूर्वराष्ट्रपति भण्डारीको नागरिकता जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता रहेको थियो ।
पुनःनिर्माण कोषमा ६ करोड २४ लाख संकलन
काठमाडौं । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म ६ करोड २४ लाख रुपैयाँ संकलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयकाअनुसार सोमबार बेलुकासम्म सो कोषमा उक्त रकम जम्मा भएको हो । जेनजी प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक संरचना, सरकारी कार्यालय, तथा स्थानीय निकायका भौतिक संरचनामा क्षति पुगेको थियो । त्यस्ता संरचनाको पुनःनिर्माणका लागि सरकारले गत असोज २८ गते कोषमा आर्थिक सहयोग जुटाउन सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, दातृ निकाय, उद्यमी तथा विभिन्न सङ्घ–संस्थालाई औपचारिक रूपमा आह्वान गरेको थियो । सहयोगकर्तालाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षभरि प्रदान गरिने आर्थिक सहयोगलाई करयोग्य आय गणनामा कटौतीयोग्य खर्चका रूपमा सूचीकृत गर्ने व्यवस्था पनि गरेको छ । कोषमा सङ्कलित रकम ‘राष्ट्रिय वाणिज्य बैंक’ सिंहदरबार शाखामा खोलिएको १९६०१००१०२०७०००४ विशेष खातामार्फत व्यवस्थापन गरिँदैछ ।
अखाद्य वस्तु भेटिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द
काठमाडौं । ओम अस्पतालको क्यान्टिन ७ दिनको लागि बन्द गरिएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको हो । संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । हेल्दी बाइट्स सर्भिसेज् प्रालिद्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए । अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान (५०० मिलिलिटर) दूध सञ्चालककै उपस्थितिमा नष्ट गरिएको थियो। ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालि प्रशासनका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले संरचना मर्मत, रंगरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनमा ल्याउने बताए । तुलनात्मक रूपमा मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा सरसफाइ अवस्था अपेक्षाकृत राम्रो देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकृत खगेन्द्रप्रसाद खतिवडा र सञ्जय चौधरीले जानकारी दिए । तर, दुवै क्यान्टिनमा पनि पेष्ट कन्ट्रोलको व्यवस्था सन्तोषजनक नभएको बताइएको छ। मेडिकेयर अस्पतालको क्यान्टिनमा लेबलविहीन खाद्य वस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानी परीक्षणमा अमोनिया मापदण्डभित्र भए पनि सुधार आवश्यक रहेको पाइएको थियो । अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई पेष्ट कन्ट्रोल प्रभावकारी बनाउने, पूर्ण लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्ने, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्ने, आगो जोखिम न्यूनीकरणका उपकरण राख्ने र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग गर्न निर्देशन दिएको थियो । त्यस्तै, हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए पनि खाद्य रंगको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थको मात्र बिक्री र आगो जोखिम न्यूनीकरणका उपकरणहरू थप बलियो बनाउन सुझाव दिइएको छ । महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनअनुसार स्वच्छ, जिम्मेवार र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न नियमित रूपमा अस्पताल, होटल, रेष्टुरेन्ट तथा क्यान्टिनहरूको अनुगमन गर्दै आएको आएको छ ।
नेपाल एसबिआई बैंकद्वारा पशुपति क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपति मन्दिर परिसरस्थित कैलाश डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुभारम्भ बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले रोपाइँ गरेर गरेका थिए । सो कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, संचालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा सहित बैंकका अन्य पदाधिकारीहरूको उपस्थित रहेको थियो । बैंकले यसअघि पनि पशुपति क्षेत्र संरक्षण तथा हरियाली प्रवर्द्धनका उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ । नेपाल एसबिआई बैंकले ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा सञ्चालनमा रहेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपि नागरिकता प्रदान गरिँदै
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपि नागरिकता उपलब्ध गराउने निर्णय गरेको छ । भण्डारीको नागरिकता भदौको जेनजी आन्दोलनको क्रममा निजी निवासमा भएको आगजनीमा जलेको थियो । त्यसपछि उनले नयाँ प्रतिलिपि नागरिकता पाउनका लागि जिल्ला प्रशासन कार्यालयमा औपचारिक निवेदन दिएकी थिइन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार प्रतिलिपि नागरिकता दिने निर्णयका लागि विभिन्न सरकारी निकायमा रहेका फोटोकपी र डिजिटल डाटासँग मिलान गरिएको हो । उनले भने, ‘फाइलहरू र अभिलेखहरू अध्ययन गर्दा सबै विवरण मिलेकाले प्रतिलिपि नागरिकता उपलब्ध गराउने प्रक्रिया पूरा भएको छ ।’ मंगलबार २ बजे भण्डारीलाई नागरिकताको प्रतिलिपि दिइने तय भएको रिजालले जानकारी दिए । पूर्वराष्ट्रपति भण्डारीको नागरिकता जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता रहेको थियो । तोडफोड र आगजनीमा नष्ट भएका कागजातहरूमध्ये उनको नागरिकता पनि परेको प्रशासनले जनाएको छ । हाल प्रतिलिपि नागरिकता वितरण प्रक्रिया पूरा भइसकेको र सोसम्बन्धी प्रशासनिक कार्य अन्तिम चरणमा रहेको रिजालले जानकारी गराए ।
बाक्लो सङ्ख्यामा देखिन थाले चितवन राष्ट्रिय निकुञ्जमा बाघ
चितवन । सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए । पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले देख्न पाएका हुन् । सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दिनभर निकुञ्जको जीप सफारीमा निस्किएका पर्यटकले बाघ देखेर फर्किएपछि खुशी हुँदै प्रतिक्रिया दिने गरेका छन् । दुर्लभ एकसिङ्गे गैंडासहित बाघ देखेपछि पर्यटक निकै रमाउने गर्दछन् । सोमबार भिम्ले पोष्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुशी भएर ‘टिप्स’ दिएको पथ प्रदर्शक सरोज चौधरीले बताए । उनले भने, 'बाघ देखेपछि स्वदेशी र विदेशी दुवै पर्यटक निकै खुशी हुन्छन् ।' ठाउँठाउँमा बाघ देखिन थालेपछि घुम्न आउने पर्यटक उत्साहित हुने गरेको चौधरी बताउँछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले पर्यटक र कर्मचारीहरुले हिजोआज बाघसहितका वन्यजन्तु धेरै देख्ने गरेको बताए । उनले ढड्डीहरु सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने बताए । यस वर्ष यहाँ बाघ गणना गरिँदै छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ वटा छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । रासस
कांग्रेसमा महाधिवेशनको घण्टी : थापापक्ष पुसभित्र, देउवापक्ष वैशाखपछिकै अडानमा
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विवाद चर्किँदै गएको छ । महाधिवेशनको मितिकै विवादले केन्द्रीय समिति बैठक स्थगन हुँदै बस्दै गरेको छ । आज बस्ने केन्द्रीय समिति बैठकमा दुई फरक कार्यतालिका पेस हुने एक नेताले जानकारी दिए । ती नेताका अनुसार महामन्त्री गगन थापाले मंसिरमा नसके पनि पुसभित्र महाधिवेशन गर्ने प्रस्ताव ल्याउन लागेका छन् । उनका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै नयाँ नेतृत्व चयन गरी पार्टीलाई नयाँ ऊर्जा दिन जरुरी छ । थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको समेत साथ रहेको ती नेताले बताए । तर संस्थापन पक्ष भने चुनावअघि महाधिवेशन सम्भव नभएको अडानमा अडिग छ । हिजो बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पारित गरी आजकै बैठकमा लैजाने निर्णय गरेको छ। यसअघि कार्यतालिका पेस गर्ने सहमति नजुटेपछि महामन्त्री थापाले बैठक बहिष्कार गरेका थिए । त्यसयता स्थगित बैठक आज पुनः बस्न लागेको हो । पार्टीभित्र अब नेतृत्व परिवर्तनको माग र संस्थागत निरन्तरताको अडानबीच शक्ति परीक्षण हुने देखिएको ती नेताले जानकारी दिए । आजको बैठकले महाधिवेशनको मिति मात्र होइन, पार्टीको आगामी राजनीतिक बाटो पनि निर्धारण गर्ने अनुमान गरिएको छ ।
बागदरबार रेट्रोफिटिङ लागत ३६ करोड, काम सम्पन्न हुन २ वर्ष लाग्ने
काठमाडौं । बागदरबारको रेट्रोफिटिङको लागि गौरी पार्वती निर्माण सेवा, गणेश बिल्डर्स र भिसन कन्स्ट्रक्सनले ठेक्का पाएको छ । ठेक्का ३६ करोड ९० लाख रुपैयाँमा सम्झौता भएको छ । काठमाडौं महानगर खरिद एकाई प्रमुख राम रतन शाहका अुनसार ठेक्का पाएका यी कम्पनीहरूले १५ दिनभित्र सम्झौता गर्न आउनुपर्नेछ । सम्झौता भएको ७ दिनभित्र काम सुरु गरिक्नुपर्ने प्रावधान छ । प्रमुख शाहका अनुसार ठेक्का सम्झौता २ वर्षको रहेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले काम सुरु गरेको २ वर्षभित्र काम सम्पन्न हुनुपर्ने छ । बागदरबारमा हाल महानगर प्रहरी बस्दै आएको छ । महानगरले बागदरबारलाई रेट्रोफिटिङ गरेर बैठक हल र म्युजियम बनाउने कुरा उठाएको छ ।