विकासन्युज

दोषी पक्राउको माग गर्दै जनकपुरधाममा चर्कियो प्रदर्शन

काठमाडौं । सुनसरी र सिरहामा भएका घटनाका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । जनकपुरधाममा आयोजित सद्भाव र्याली समापन भएलगत्तै युवाहरूको एक समूहले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो । नगरमा आयोजित सद्भाव र्याली विसर्जन भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन सुरु गरेका थिए । उनीहरूले सुनसरी र सिरहामा भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गर्दै चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले समाजमा शान्ति–सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले पीडितलाई उचित न्याय सुनिश्चित गर्न र अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन स्थानीय प्रशासनको ध्यानाकर्षणसमेत गराएका छन् । प्रदर्शनमा सहभागी युवाहरूले शान्तिपूर्ण समाज निर्माणका लागि विधिको शासन अनिवार्य रहेको भन्दै प्रशासनलाई गम्भीर हुन आग्रह गरेका छन् ।

मार्जिन कारोबार सुरू गर्दै डाइनामिक र कोहिनुर, बैंकबाट लिए साढे ३ अर्ब ऋण

काठमाडौं । डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४) र कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ३५) ले चालु आर्थिक वर्ष २०८३/८४ देखि मार्जिन कारोबार सेवा सञ्चालन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा निर्देशिका लागू गरेसँगै दुवै कम्पनीले सेवा सञ्चालनको तयारी तीव्र बनाएका हुन् । मार्जिन कारोबारका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न दुवै कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया अघि बढाएका छन् । डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले करिब १ अर्ब ५० करोड रुपैयाँ र कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले २ अर्ब रुपैयाँ ऋण जुटाउने तयारी गरिरहेका छन् । डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले गत आर्थिक वर्ष २०८२/८३ मा १८ करोड १२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड रुपैयाँ तथा आर्थिक वर्ष २०८०/८१ मा १२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनी नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्य हो । कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना भएको यस संस्थाले धितोपत्र खरिद-बिक्री सहजीकरण गर्दै मुख्य रूपमा दलाली शुल्कबाट आम्दानी गर्दै आएको छ । कम्पनी नेपाल स्टक एक्सचेन्जको कारोबार सदस्य तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको निक्षेप सदस्यसमेत हो । हाल कम्पनीका दुई शाखा सञ्चालनमा रहेका छन् । कम्पनीको नेतृत्व कार्यकारी अध्यक्ष मधु जोशी र कार्यकारी निर्देशक रमेश कुँवरले गरिरहेका छन् । सन् २०२६ जुन मसान्तसम्म कम्पनीसँग ६३ हजार ४८१ सक्रिय ग्राहक रहेका छन् । कम्पनीको कुल सञ्चालन आम्दानीमध्ये करिब ९८ प्रतिशत हिस्सा धितोपत्र दलाली शुल्कबाट प्राप्त हुने गरेको छ भने बाँकी आम्दानी निक्षेप सदस्य सेवा लगायतका स्रोतबाट हुने गरेको जनाएको छ । यस्तै, कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले गत आर्थिक वर्ष २०८२/८३ मा १३ करोड ६२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा १० करोड ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा ७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्य रहेको कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज कम्पनी ऐनअन्तर्गत २०६४ साल कात्तिकमा स्थापना भएको हो । कम्पनीले धितोपत्र खरिद-बिक्री सहजीकरणबाट दलाली शुल्क आर्जन गर्नुका साथै आफ्नो लगानी पोर्टफोलियोबाट लाभांश तथा पुँजीगत लाभसमेत प्राप्त गर्दै आएको छ । कम्पनीको नेतृत्व सञ्चालक समितिका अध्यक्ष भरत रनाभाटले गरिरहेका छन् भने सञ्चालकमा बिनिता रनाभाट रहेकी छन् । सन् २०२६ जुलाईसम्म कम्पनीसँग एक लाख २१ हजार १२५ सक्रिय ग्राहक रहेका छन् । साथै, गत आर्थिक वर्षमा कम्पनीले आफ्नो बजार हिस्सा बढाएर १.९८ प्रतिशत पु¥याएको छ भने ९२ धितोपत्र दलाल कम्पनीमध्ये १२औँ स्थानमा उक्लिएको जनाएको छ । दुवै कम्पनीले मार्जिन कारोबार सेवा सञ्चालनसँगै ब्याज आम्दानीको नयाँ स्रोत थपिने अपेक्षा गरेका छन् । यसबाट दलाली शुल्कमा रहेको उच्च निर्भरता क्रमशः घट्दै आम्दानीका स्रोत विविधीकरण हुने विश्वास गरिएको छ ।

शक्ति र सत्ताकै लागि राजनीति गर्ने ठाउँमा पुग्यौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिमा बढ्दै गएको पद र शक्तिप्रतिको आसक्तिप्रति चिन्ता व्यक्त गरेका हुन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्रका रूपमा परिभाषित गरे । उनले नागरिक सेवा र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनुपर्नेमा केवल सत्ता प्राप्तिकै लागि मात्र राजनीति गर्ने अवस्था आउनु दुःखद् भएको बताए । यो राजनीतिको मूल उद्देश्यभन्दा फरक र विचलित बाटो भएको उनको भनाइ थियो । पार्टीको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उनले संस्थापक नेताहरूले सत्ता वा शक्तिको अभिलाषा राखेर नभई विशुद्ध नागरिक सेवाको भावनाले पार्टी स्थापना गरेको उल्लेख गरे । बदलिँदो परिवेशमा पार्टीसामु नयाँ विषय र चुनौती थपिएको उल्लेख गर्दै उनले सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याए । थापाले भने, ‘हामी राजनीतिमा आएको पनि त्यही कारणले हो। राजनीतिभन्दा ठूलो सार्वजनिक सेवा अरू केही छैन । राजनीतिभन्दा ठूलो नागरिक सेवा वा मानव सेवा पनि केही होइन । नागरिक र मानव सेवा गर्न शक्ति भयो भने अझ धेरै गर्न सकिन्छ, सत्ता भयो भने अझ प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने सोचबाट हामी चिप्लिएर शक्ति र सत्ताकै लागि राजनीति गर्ने ठाउँमा पुग्यौँ ।’ प्रतिष्ठानको कार्यशैलीप्रति सन्तोष व्यक्त गर्दै उनले पार्टीको मर्म र आत्मालाई बुझेर रचनात्मक कार्य भइरहेको बताए । एकातर्फ नियमित सांगठनिक गतिविधि र अर्कोतर्फ नीतिगत तथा प्रशिक्षणका काम व्यवस्थित ढङ्गले अगाडि बढ्नु सुखद् पक्ष रहेको उनको भनाइ छ ।

रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भए : संग्रौला

काठमाडौं । साहित्यकार खगेन्द्र संग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गरेका छन् । ‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै उनले गत निर्वाचनमा उम्मेदवार थाहा नपाइकनै बालेन्द्र साह नै उम्मेदवार हो भन्दै मतदान गरेको पाइएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । नेपाली समाज र वर्तमान मनोविज्ञानमा भेडापन हाबी भएको तर्क गर्दै संग्रौलाले समाजको विवेकहीन भीडतन्त्रलाई राजनीतिक नेताहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेको दाबी गरे ।  साहित्यकार संग्रौलाले नेपाली समाजमा तार्किकताको अभाव रहेको र यसमा एक प्रकारको ‘भेडोपन’ हाबी भएको तर्क गरे । इतिहासको सन्दर्भ जोड्दै उनले पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको अभूतपूर्व लहर र दोस्रो निर्वाचनमा त्यो जनमानस एकाएक हराएको प्रसङ्ग उल्लेख गर्दै गत फागुन २१ को निर्वाचनको अनुभव सुनाउँदै चितवन र नवलपरासीका मतदाताहरूमा चरम अन्योल देखिएको बताए । संग्रौलाकाअनुसार धेरै मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मतदान गरेपनि उम्मेदवारका रूपमा बालेन्द्र साहलाई बुझेका थिए ।  उनकाअनुसार चितवन र नवलपरासीभरिका मतदाताले घण्टीमा भोट त हाले तर उम्मेदवार को हो भन्दा बालेन भन्ने गरेका थिए । कर्मको आधार र तार्किकतामा विचार नगर्ने यस्तो प्रवृत्तिलाई उनले गणेशमान सिंहले प्रयोग गरेको ‘भेडा’ संज्ञासँग तुलना गरे । नेतृत्वको परिभाषा गर्दै संग्रौलाले सफल नेतामा वक्तृत्वकला र आकर्षक एजेण्डा हुनुपर्ने उनको भनाई थियो । नेताले आफ्ना एजेण्डा वा भ्रमलाई यसरी प्रश्तुत गर्छ कि सर्वसाधारण उसको वरिपरि केन्द्रित हुन्छन् । नेपालको सन्दर्भमा मदन भण्डारीलाई उनले ‘करिस्मेटिक’ नेताको रूपमा चित्रण गरे। जसमा वक्तृत्व, तर्कशीलता र आक्रामकताको अद्भुत मिश्रण थियो । पछिल्लो समय उदाएका नेता रवि लामिछानेको प्रसङ्गमा टिप्पणी गर्दै संग्रौलाले भ्रम र यथार्थको सम्मिश्रणबाट आफ्नो वरिपरि ठूलो भीड जम्मा गर्न सफल भएको टिप्पणी गरे । यद्यपि, लामिछानेको कानूनी जटिलता (नागरिकता/राहदानी मुद्दा)का कारण उनले कार्यकारी प्रमुखको भुमिकामा बस्न नमिल्ने परिस्थिति सिर्जना भएको संग्रौलाको विश्लेषण छ। सोही रिक्तता र जनअपेक्षाका कारण बालेन्द्र साह एक विकल्प वा ‘कामचलाउ’ पात्रका रूपमा अगाडि आएको संग्रौलाले दाबी गरे । समाज र राजनीतिबीचको अन्तरसम्बन्धमा केन्द्रित कार्यक्रममा संग्रौलाले नेपाली समाजले विवेकपूर्ण निर्णय लिन नसकेसम्म राजनीतिको स्वरूपमा ठोस परिवर्तन आउन कठिन रहेको जिकिर गरे ।  

३ लाख घुससहित भूमि प्रशासन कार्यालयका तीन नासुसहित पाँच जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपैयाँ घुससहित भूमि प्रशासन कार्यालय, लगनखेलका तीन नायब सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन् । अख्तियारका अनुसार उनीहरूले जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने उजुरी परेको थियो । उक्त सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । टोलीले ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट घुस रकमसहित स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ पनि बरामद गरेको जनाएको छ । अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरणमात्र भयो : प्रा. कृष्ण खनाल

काठमाडौं  । प्राध्यापक कृष्ण खनालले नेपाली राजनीतिमा जिम्मेवारी लिने संस्कारको अभाव रहेको र मुलुक ‘बहुसंकट’ (पोली–क्राइसिस)को अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।  समाज र राजनीतिबीचको अन्तरसम्बन्धबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले राजनीतिक दलहरूले निर्वाचनमा व्यहोरेको हारको वस्तुनिष्ठ समीक्षा गर्नुको सट्टा दोषारोपण गरेर उम्किने गरेको टिप्पणीसमेत गरे । मुलुकको वर्तमान अवस्थालाई ‘बहुसंकट’ को संज्ञा दिँदै उनले सरकारले समस्याको स्थायी समाधान खोज्नुको सट्टा तात्कालिक रूपमा सामसुम पार्ने काम मात्र गरिरहेको आरोप लगाए ।  मिटरब्याज पीडितसँगको सम्झौता र देवानगञ्जमा भएका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले अहिले समस्यालाई शिथिलमात्र बनाएको तर सम्बोधन नगरिएको जिकिर गर्दै समस्याको शिथिलीकरण समाधान नभएको दाबी गरे ।  राजनीतिक दलहरूको चरित्रमाथि प्रश्न उठाउँदै प्रा. खनालले कुनैपनि पार्टीले आफू किन हार्यो भनेर गम्भीर विश्लेषण नगर्ने र हारको जिम्मेवारी लिनुको सट्टा अन्तर्घात वा अन्य वाह्य कारण देखाएर जिम्मेवारी पन्छाउने प्रवृत्ति हावी रहेको जिकिरसमेत गरे । अध्ययनकर्ताहरूले हारको वास्तविक कारण बुझेपनि समाज र राजनीतिक वृत्तमा त्यसलाई सुन्ने र स्वीकार गर्ने वातावरण नरहेको बताए ।  विश्वविद्यालयको शैक्षिक वातावरणप्रति असन्तुष्टि व्यक्त गर्दै खनालले प्राध्यापन र अनुसन्धानबीचको सम्बन्ध टुटिरहेको बताए । हाल आफू नयाँ पुस्ताको राजनीतिक सामाजिकीकरण र वर्तमान राजनीतिक परिवर्तनका आयामहरूबारे अध्ययन गरिरहेको जानकारीसमेत दिए । प्रा. खनालकाअनुसार, जब स्थापित संस्थाहरू र निर्धारित प्रक्रियाहरूबाट समस्या सुल्झिन छाड्छन्, तबमात्र त्यसले संकटको रूप लिने गर्दछ । उनले अहिलेका समस्याहरू समाधानतर्फ नगई केवल मत्थरमात्र पारिएकाले जुनसुकै बेला पुनः बल्झिनसक्ने चेतावनीसमेत दिए । 

मलेसियाको जनसंख्या ३ करोड ४४ लाख पुग्यो

काठमाडौं । मलेसियाको कुल जनसंख्या सन् २०२६ मा ३ करोड ४४ लाख पुगेको छ । मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको आधिकारिक प्रतिवेदन अनुसार अघिल्लो वर्ष ३ करोड ४२ लाख रहेको जनसंख्यामा ०.५ प्रतिशतको वार्षिक वृद्धिदर देखिएको हो । तथ्याङ्क विभागकाअनुसार मलेसियाली नागरिकको संख्या सन् २०२५ को ३ करोड ८ लाखबाट बढेर ३ करोड १० लाख पुगेको छ । नागरिकहरूको जनसंख्यामा वृद्धिदर ०.६ प्रतिशत कायम रहेको छ । यसको विपरित, गैर–नागरिकको संख्यामा भने गिरावट आएको छ । सन् २०२५ मा ०.५ प्रतिशतले घटेको गैर–नागरिकको संख्या यस वर्ष थप ०.२ प्रतिशतले खुम्चिएको विभागले जनाएको छ ।  देशको कुल जनसंख्यामा नागरिकको हिस्सा ९०.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ९०।१ प्रतिशत रहेको थियो ।  जातीय बनोटका आधारमा ‘भूमिपुत्र’ समुदाय ७०.७ प्रतिशतका साथ सबैभन्दा ठूलो समूहका रूपमा रहेको छ । यसमध्ये ५८.४ प्रतिशत मलाया र १२.३ प्रतिशत अन्य भूमिपुत्र रहेका छन् । चिनियाँ मूलका नागरिकको हिस्सा २२.२ प्रतिशतबाट झरेर २२ प्रतिशतमा सिमित भएको छ । त्यसैगरी, भारतीय र अन्य जातीय समूहको हिस्सा भने क्रमशः ६.५ प्रतिशत र ०.८ प्रतिशतमा यथावत रहेको तथ्याङ्कमा उल्लेख छ । 

वर्षाले देशका विभिन्न राजमार्ग प्रभावित, केही सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले शनिबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । इलाम नगरपालिका-९ स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडकखण्ड सामाकोशी खोलाको बहावले कटान गरेपछि यातायात अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित पासाङ ल्हामु राजमार्ग पनि त्रिशूली नदीले सडक कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।