लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही वडाकी वडासदस्य रूपा जैरूलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले आज जारी गरेको विवरणअनुसार उहाँको शरीर खानतलासी गर्दा दाहिने कोखामुनि कालो प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएका अवस्थामा प्रोमेथाजिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल गरी जम्मा ३० एम्पुल बरामद गरेको जनाएको छ । जैरूमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माउन्ट एभरेष्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज असार ८ गते अन्तिम दिन रहेको छ । असार ३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर जारी गरेको हो । जारी पुँजीको १० प्रतिशत अर्थात् ८ लाख ८६ हजार कित्ता स्थानीय बासिन्दा, ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३४ हजार ४०० कित्ता कर्मचारीहरूका लागि बाँडफाँड गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
नेपाल टेलिकमको ५ दिन सेवा अवरुद्ध हुने
काठमाडौं । नेपाल टेलिकमका सेवाहरू अवरुद्ध हुने भएको छ । नेपाल टेलिकमले वीरगञ्जका विभिन्न क्षेत्रमा एफटीटीएच प्रणाली स्तरोन्नति (अपग्रेड) गर्नुपर्ने भएकाले ५ दिन इन्टरनेट, टेलिफोन तथा एनआईटीभी सेवा अवरुद्ध हुने जनाएको हो । टेलिकमका अनुसार असार ८ गते राति १० बजेपछि सोमबार आदर्शनगर, गणेशमान चोक, मालपोत कार्यालय, त्रिजुद्ध स्कुल, अशोक बाटिका, ठाकुरराम क्याम्पस, शिक्षा कार्यालय लगायत आसपासका क्षेत्रमा सेवा अवरुद्ध हुन सक्नेछ । यस्तै, असार ९ गते मंगलबार राति १० बजेपछि लिङ्क रोड, प्रभु अस्पताल, आशाराम अस्पताल, नवदीप एकेडेमी, नगवा पोखरी आसपास, भानु चोक, ब्रह्मा चोक, रामटोल तथा बाइपास रोड आसपासका क्षेत्रमा सेवा प्रभावित हुन सक्ने टेलिकमले जनाएको छ । यस्तै, असार १० गते बुधबार राति १० बजेपछि प्रसूति गृह, नारायणी अस्पताल, ब्लड बैंक आसपास, बिर्ता माई मन्दिर, हनुमान मन्दिर तथा छपकैया आसपासका क्षेत्रमा सेवा अवरुद्ध हुन सक्ने जनाइएको छ । त्यस्तै, असार ११ गते बिहीबार राति १० बजेपछि प्रतिमा चोक, मुरली चोक, कृषि औजार कारखाना आसपास, तेजारथ टोल, मुरली बगैँचा, पावर हाउस चोक, गण्डक आसपास, नेशनल ट्रेडिङ तथा नेपाल टेलिकम प्रादेशिक कार्यालय आसपासका क्षेत्रमा सेवा प्रभावित हुनेछ । असार १३ गते शनिबार बिहान ५ बजेपछि माइस्थान आसपास, महावीर गल्ली क्षेत्र, नेपाल टेलिकम घण्टाघर तथा रेडक्रस आसपासका क्षेत्र, श्रीपुर, रानीघाट, रामगढवा लगायत आसपासका क्षेत्रमा सेवा अवरुद्ध हुन सक्नेछ ।
रास्वपाको बन्दशत्र सुरु हुँदै, ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता, भोलि मतदान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दशत्र अहिले बिहान ८:३० बजेदेखि हुने भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ । प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुई वटामा बन्दशत्र गर्नका लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ भने बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ । बिहान १० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र यसमाथि छलफल हुने र बिहान १०:४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । यसैगरी बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ । सोपश्चात् दिउँसो खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यसूची रहेको छ । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ । बन्दसत्रमा रास्वपाका चार हजार २११ जना प्रतिनिधि, परिवेक्षक र स्वयंसेवक हुने रहनेछन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज दिउँसो १ बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने जानकारी दिए । उनले दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने बताए । यस्तै बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दावी विरोध, ७ बजेदेखि ९ बजेसम्म दावी विरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ । उनका अनुसार बेलुकी ९:१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११ बजे गरिने छ । यही असार ९ गते मङ्गलबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ । यसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले जानकारी दिए । मतदानपछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा दुई घण्टापछि गरिने जनाइएको छ । यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनको भनाइ छ । प्रथम महाधिवेशनको उद्घाटन सत्र गेस्टहाउस चौरमा शनिबार भव्य रुपमा सम्पन्न भएको थियो ।
प्राइम बैंकले असार १६ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने, ब्याज ६.२५ प्रतिशत
काठमाडौं । प्राइम कमर्सियल बैंकले असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्री खुला गर्ने भएको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय असार ३० गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
इरानसँग गोलरहित बराबरीमा रोकियो बेल्जियम
काठमाडौं । सन् २०२६ फिफा विश्वकपअन्तर्गत समूह ‘जी’को आफ्नो दोस्रो खेलमा इरानले बेल्जियमसँग गोलरहित बराबरी खेलेको छ । लस एञ्जलस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल ०–० को बराबरीमा टुंगिएको हो । खेलको ६६औं मिनेटमा बेल्जियमका नेथान नगुईले इरानका मेहदी तारेमीमाथि खराब फल गरेपछि सिधै रातो कार्ड पाएका थिए । नगुई मैदानबाट बाहिरिएपछि बेल्जियम १० खेलाडीमा सीमित बने पनि इरानले संख्यात्मक लाभलाई गोलमा परिणत गर्न सकेन । यसअघि इरानले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग २–२ गोलको बराबरी खेलेको थियो । लगातार दोस्रो बराबरीसँगै इरानले नकआउट चरण पुग्ने सम्भावना भने कायम राखेको छ । अब इरानले जुन २७ मा इजिप्टविरुद्ध समूह चरणको अन्तिम तथा निर्णायक खेल खेल्नेछ । नकआउट चरणमा स्थान सुरक्षित गर्ने सम्भावना जीवित राख्न उक्त खेल इरानका लागि महत्त्वपूर्ण रहनेछ ।
२०० किसानबाट २० हजार संकलन, स्थानीय सरकारले नै दिएन यान्त्रिक हलो
काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासम्म (मिनिटिलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुश्मा नगरपालिकाका किसान चिन्तित बनेका छन् । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउने गरी गत चैतमा नै ५० प्रतिशत रकम किसानबाट सङ्कलन गरेको थियो । कुश्मा नगरपालिकाका १४ वडाबाट ७०५ किसानले यान्त्रिक हलो उपलब्धताका लागि नगरपालिकामा निवेदन दिए पनि नगरपालिकाले विभिन्न विधामार्फत २०० किसानलाई छनोट गरेको थियो । छनोट पश्चात् ५० प्रतिशत बापतको २० हजार रुपैयाँ प्रति किसान सङ्कलन गरे पनि रकम लिएको तीन महिना बितिसक्दासम्म यान्त्रिक हलो उपलब्ध गराउन सकेको छैन । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलका अनुसार बोलपत्र आह्वान पश्चात् छनोट भएको क्वालिटी रिन्युएबल प्रालि काठमाडौंले समयमा गुणस्तरीय उपकरण उपलब्ध गराउन नसक्दा किसानलाई यान्त्रिक हलो वितरण गर्न ढिलाइ भएको बताए । नगरपालिकाले उक्त कम्पनीसँग ६२ लाख ७९ हजार रुपैयाँ लागतमा यान्त्रिक हलो उपलब्ध गराउनका लागि सम्झौता गरिसकेको छ । गत जेठ २१ गते सम्झौता भए पनि अहिले असारमा मात्रै उक्त कम्पनीले परीक्षणका लागि यान्त्रिक हलो उपलब्ध गराएको र दुई पटकसम्म उपलब्ध भएका उपकरण चेक जाँचमा समस्या भएपछि पुनः ल्याउनका लागि अनुरोध गरिएको कृषि शाखाका निमित्त प्रमुख बलबहादुर जिटीले बताए । जिटीका अनुसार नगरपालिकाले माग गरेको हलो कम्तीमा ७ हर्जपावर र ८० किलो तौल हुनुपर्नेमा त्यो नभएपछि परीक्षणका लागि उपलब्ध गराएको हलो फिर्ता पठाएर अर्को माग गरिएको बताए । नगरपालिकामा हलोका लागि निवेदन दिए पनि रकम जम्मा गरेको तीन महिनासम्म हलो उपलब्ध नहुँदा आफूहरूले ठूलो रकम खर्च गरेर बाँझो खेतबारी जोत्नुपर्ने अवस्था आएको कुश्मा नगरपालिका-२ का किसान टीकाराम शर्माले बताए । ‘नगरपालिकाबाट समयमा नै गुणस्तरीय यान्त्रिक हलो आउला र वर्षे बाली लगाउला भन्ने थियो तर तीन महिना बितिसक्यो हलो आएन । अहिले प्रतिघण्टा १ हजार रूपैयाँ तिरेर जोत्नुपर्ने अवस्था आएको छ,’ उनले भने । उनी जस्तै अन्य किसानको पनि समयमा हलो उपलब्ध नगराएकोप्रति गुनासो व्यक्त गरेका छन् । सम्झौता गरेको कम्पनीले समयमा गुणस्तरीय सामग्री उपलब्ध गराउन नसक्दा किसानलाई सास्ती भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । जतिसक्दो छिटो किसानलाई हलो उपलब्ध गराउने गरी लागिएको उनको भनाइ छ । अहिले धान रोप्ने समयमा हलो उपलब्ध नहुँदा किसान ठूलो समस्यामा परेका छन् । अहिले पर्वतमा धान र कोदो रोप्न किसानलाई भ्याइनभ्याइ भएको छ ।
केप भर्डेको अर्को चमत्कार, उरुग्वेलाई २–२ को बराबरीमा रोक्यो
विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा केप भर्डेले दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई २–२ को रोमाञ्चक बराबरीमा रोक्दै आफ्नो पहिलो विश्वकप यात्रालाई थप यादगार बनाएको छ । यसअघि पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको केप भर्डेले उरुग्वेविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण एक अंक बटुल्यो । यो नतिजासँगै उसले अन्तिम ३२ मा स्थान बनाउने सम्भावना जीवित राखेको छ । खेलको २१औँ मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई अग्रता दिलाएका थिए । त्यसपछि उरुग्वेका म्याक्सी अराउजोले ४४औँ मिनेटमा हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोब्बियोले गोल थपेपछि उरुग्वेले पहिलो हाफ २–१ को अग्रतासहित समाप्त गरेको थियो । तर दोस्रो हाफमा केप भर्डेले पुनरागमन ग‍र्यो । खेलको ६१औँ मिनेटमा हेलियो भारेलाले गाेल गर्दै केप भर्डेलाई २–२ को बराबरीमा पुर्याए । इन्जुरी समयमा दुवै टोलीले निर्णायक गोलका लागि केही अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमा सकियो । यस नतिजासँगै केप भर्डे र उरुग्वे दुवैले पहिलो दुई खेलबाट समान २–२ अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलअघि दुवै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।