पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक
जमुना वर्षा शर्मा काठमाडौं । पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ । पर्यटकीय मौसम अनुकूल भएसँगै साहसिक खेलका पारखीका लागि पोखरा एक प्रमुख गन्तव्य बनेको छ । माछापुच्छ्रे अन्नपूर्ण हिमशृङखलाको काखमा फेवातालसहित पोखराको सुन्दरतालाई नजिकबाट अवलोकन गर्न चाहने पर्यटकको रोजाइमा प्याराग्लाइडिङ परेको छ । पोखराको प्राकृतिक सुन्दरतालाई आकाशबाट नियाल्दै प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिन पाउँदा पर्यटकहरू हर्षित भएका छन् भने सुस्ताएको व्यवसायमा देखिएको चहलपहलले व्यवसायीमा पनि ऊर्जा थपेको छ । फेवाताल, यहाँबाट देखिने हिमशृङ्खला र हरियाली डाँडाकाँडाको मनमोहक दृश्यले प्याराग्लाइडिङ अनुभवलाई अविस्मरणीय बनाएको नवलपुरबाट पोखरा घुम्न आएकी सबिना मगरले बताइन् । ‘चराजस्तै उड्ने र प्राकृतिक दृश्यलाई साक्षात्कार गर्ने लामो समयको चाहना पूरा भएको छ । उचाइदेखि डर लाग्ने भएकाले धेरै चोटी कोसिस गर्दा पनि उड्न सकेको थिइन अहिले भने डर हटाएर उडान सफल भए, धेरैले उडेको देखेपछि आफूलाई पनि आँट आयो,’ उनले भने । पोखराको हिमाल र तालको अनुपम दृश्यलाई कैद गर्दै आकाशमा उड्नुको मज्जा बेग्लै भएको उनको अनुभव छ । नेपालगञ्ज का सुजित जोशी पनि पोखरा आउँदा आकाशमा उड्न मन लागि हाल्ने बताउँछन् । साहसिक खेल पारखी जोशीले बञ्जी, स्विङको अनुभव लिइसकेको बताए । ‘म पोखरा आइराख्छु, अनुकूल मौसम भयो भने प्याराग्लाइडिङ गर्छु । पोखराको सुन्दरता आकाशबाट हेर्दाको आनन्द अवर्णनीय छ, यसले मलाई साहसिक अनुभव गराउँछ,’ उनले भने, ‘यहाँको दृश्य निकै सुन्दर छ । ताल, पहाड र हिमालको संयोजनले यो अनुभवलाई झनै विशेष बनाउँछ, पोखराको मौसम खुलेको दिन उड्न मन पर्छ ।’ पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराईका अनुसार प्याराग्लाइडिङ पोखरामा आन्तरिक तथा बाह्य पर्यटक बढाउने माध्यम भएको बताउँछन् । उनले भने, ‘यो केवल एउटा साहसिक गतिविधि मात्र नभएर, पोखराको प्राकृतिक सौन्दर्यलाई आकाशबाट नियाल्ने अवसर पनि हो, यसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको साथै पोखराको पहिचानलाई विश्व सामु पुर्याएको छ ।’ पोखराको आकाशमा बेलाबेलामा हुँदै आएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताले पनि पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको बताए । पोखराको दिगो पर्यटन विकास र प्रबर्द्धनका लागि प्याराग्लाइडिङको निरन्तर विकास र व्यवस्थापन खाँचो रहेको उनको भनाइ छ । पोखराको मौसम प्याराग्लाइडिङका लागि सधैँ उत्कृष्ट रहँदै आएको छ । विशेषगरी अहिलेको समयमा आकाश खुला र मौसम स्थिर हुँदा उडान गर्न निकै सहज भएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले बताए । ‘पर्यटकीय मौसम भए पनि आन्दोलन र प्रतिकूल मौसमले प्रभावित भइरहेको प्याराग्लाइडिङ तिहार, छठको लामो बिदा र पोखरामा आन्तरिक पर्यटकको आगमन बढेपछि यस क्षेत्रमा पनि सकारात्मक प्रभाव परेको छ,’ केसीले भने । प्याराग्लाइडिङ कम्पनीहरूले सुरक्षित उडानका लागि मापदण्डलाई कडाइका साथ पालना गर्दै अहिले दैनिक २५० उडान हुँदै आएको उनको भनाइ छ । त्यसो त कोभिड महामारी अगाडिको पर्यटकीय मौसममा दैनिक कम्तीमा ५०० भन्दा बढी उडान गर्न सफल यो व्यवसाय पछिल्लो समय कोभिड महामारी र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पूर्ववत् उडान स्थल स्थानान्तरणका कारण यो व्यवसायले समस्या झेल्दै आएको थियो । अध्यक्ष केसीका अनुसार पोखरामा ५२ वटा प्याराग्लाइडिङ कम्पनी छन् । जसमा ४०० जना लाइसेन्स प्राप्त प्यारा पाइलट छन् । जसमध्ये २६० जना अहिले उडानमा सक्रिय छन् । ५ सय जनाले प्रत्यक्ष रोजगार र १५ सय जनाले अप्रत्यक्ष रोजगारी पाएको उनको भनाइ छ । करिब ५५ करोड रुपैयाँ बढीको लगानी रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै स्थानान्तरणको मारमा प्याराग्लाइडिङ व्यवसाय परेको थियो । सराङकोट र तोरी पानीबाट उडान हुने प्याराग्लाइडिङलाई मान्द्रे ढुङ्गा स्थानान्तरण गरिएको थियो । सोही कारण प्याराग्लाइडिङ व्यवसाय स्थिर जस्तो बन्न पुगेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा पुरानै ठाउँमा अवतरण गर्ने निर्णयपश्चात् यस क्षेत्र अहिले विस्तारै चलायमान हुँदै गएको हो । अहिले सराङकोट र तोरी पानीको बाहाकोटबाट उडान (टेक अफ) गरेर खपौदी (इन्ड अफ लेक) मा पूर्ववत् स्थानमा अवतरण हुन्छ । “यसअघि हामीलाई प्याराग्लाइडिङ सञ्चालन चुनौतीपूर्ण र समस्या युक्त थियो । व्यवसाय धान्न पनि मुस्किल थियो । तोरि पानीमा सारेपछि उडान भर्नेहरू पनि विस्तारै बढ्न थालेका छन्”, नाका उपाध्यक्ष माधव तिवारीले भने । तिवारीका अनुसार अहिले बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुँदै आएको छ । पहिले रु १२ हजार शुल्क तोकिएकामा अहिले ८ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । नेपालमा सन् १९९७ मा सन्राइज प्याराग्लाइडिङले पहिलोपटक पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु गरेको थियो । प्याराग्लाइडिङका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएका कम्पनीले अनिवार्य रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (आरएओसी) लिनुपर्ने प्रावधान छ । रासस
उदाउँदो सूर्यलाई अर्घ्य दिएर पछि छठ पर्व सम्पन्न
काठमाडौं । सूर्यदेवको श्रद्धा भक्ति पूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उनले जानकारी दिए । यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ्य दिएपछि यो पर्व सम्पन्न भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ २०४६ सालपछि काठमाडौंलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६२ मा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति विधिवत् जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक सुरु भएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छाडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्य रूपमा छठ हुन थालेको छ । छठका लागि सोमबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो । आज बिहान यी स्थलहरूमा उदाउँदो सूर्यलाई अर्घ्य दिई यस वर्षको छठ सम्पन्न भएको छठ समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए । सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन पनि बर्तालुमात्र राजधानीका छठघाट गएका थिए । धेरै बर्तालु रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष सिंहले जानकारी दिए । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरु मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।
२ समूहमा छुट्याएर सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाउने
काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ । सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्ने गरी आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरेको हो । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी २ समूहमा वर्गीकरण गर्ने सरकारको रणनीति छ । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक सार्वजनिक संस्थानका रूपमा वर्गीकरण गरिनेछ । त्यस्ता संस्थानको खरिद प्रक्रियालाई सरलीकृत गरिनेछ । सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न वा निजी क्षेत्र संलग्न नभएको अत्यावश्यकीय सेवा प्रदान गर्न आवश्यक भएका सार्वजनिक संस्थानलाई रणनीतिक सार्वजनिक संस्थानको रूपमा वर्गीकरण गरिनेछ । त्यस्ता संस्थान स्थापनाको कानुनी आधार परिवर्तन गर्दै सबै सार्वजनिक संस्थानलाई क्रमशः कम्पनीमा परिणत गर्ने रणनीति लिइनेछ । यसैगरी विद्यमान कानुनमा सुधार गरी शेयर स्वामित्वको आधारमा सञ्चालकको प्रतिनिधित्व हुने गरी व्यवस्था मिलाउने, सञ्चालक समितिलाई नीति निर्माण गर्न तथा व्यावसायिक उद्देश्य प्राप्ति र सञ्चालन रणनीति तयार गरी कार्यान्वयन गर्न सक्षम र स्वतन्त्र बनाउने सरकारको रणनीति छ । संस्थानको समग्र निर्णय प्रक्रिया र कार्यसम्पादनमा प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र व्यवस्थापनलाई पूर्ण रूपमा जिम्मेवार बनाउने भएको छ । संस्थानको व्यावसायिक कार्ययोजना, वार्षिक बजेट र वित्तीय प्रतिवेदन स्वीकृत गरी लागू गराउने, कार्यकारी प्रमुखको कार्यसम्पादन मूल्याङ्कन गर्ने, संस्थानको लेखापरीक्षण, जोखिम व्यवस्थापन, व्यावसायिक सुशासन र पारिश्रमिकसम्बन्धी व्यवस्थालाई पारदर्शी र समयसापेक्ष बनाउने, सार्वजनिक संस्थानको सङ्गठनात्मक संरचना स्वीकृत गराई लागू गर्ने गराउने, संस्थानमा वित्तीय अनुशासन सुनिश्चित गर्ने, संस्थान गठन गर्ने कानुनबमोजिम तोकिएका कार्यहरू गर्ने÷गराउने लक्ष्य राखिएको छ । सार्वजनिक संस्थान व्यवस्थापनको नेतृत्व तथा सञ्चालक छनोट प्रक्रियामा योग्यता प्रणाली र समावेशिता सुनिश्चित गर्ने, सेवा प्रवाहलाई प्रविधिमा आधारित र एकीकृत बनाउने, व्यवसाय प्रक्रिया पुनः निर्धारण गरिनेछ । यस्तै, संस्थानको सञ्चालन र व्यवस्थापन तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्ने, सेवाग्राही तथा ग्राहकप्रति उत्तरदायित्व सुनिश्चित गर्ने रणनीति लिइएको छ । नियमित अनुगमन र मूल्याङ्कन प्रणाली विकास गर्ने, पारदर्शी वित्तीय व्यवस्थापन र अनुशासन कायम गरी आर्थिक रूपमा सबल बनाउने, सार्वजनिक संस्थानको लेखा प्रणालीलाई विश्वसनीय समयानुकूल र तुलनायोग्य बनाइनेछ । नीतिमा सार्वजनिक संस्थानबाट हुने सम्भावित वित्तीय जोखिम पहिचान नियन्त्रण गर्ने, कार्यसम्पादन मापनलाई व्यवस्थित गरी कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरिने उद्देश्य राखिएको छ । सार्वजनिक संस्थानमा कार्यरत जनशक्तिको क्षमता विकास गर्ने र उपयुक्त जनशक्ति भित्र्याउने, सङ्गठनलाई संस्थानको उद्देश्य अनुरूप बनाउने, सहभागितामुलक निर्णय प्रक्रिया अवलम्बन गर्ने विषयलाई नीतिमा प्रष्ट उल्लेख गरिएको छ । संस्थानमा श्रमिकको सीप विकास र आधुनिक प्रविधि उपयोगलाई प्रोत्साहन गर्ने, अनुसन्धान, नवप्रवर्तन र गुणस्तरमा सुधारमा जोड दिइनेछ । हाल मुलुकमा ४५ वटा सार्वजनिक संस्थान कायम छन् । कायम रहेका मध्ये २० वटा सरकारको पूर्ण स्वामित्वमा र २५ वटा आंशिक स्वामित्वमा सञ्चालित छन् । आव २०८०/८१ सम्म सरकारले सार्वजनिक संस्थानमा कूल ७ खर्ब ३ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ लगानी गरेको छ ।
विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास
काठमाडौं । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्य विकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारी खेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो । करिब ७ किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४०० वटा केज (पिँजरा) राखेर प्रतिघनमिटर ४.५ किलोका दरले माछा उत्पादन भइरहेको इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष विकास बलामीले जानकारी दिए । पछिल्ला वर्षमा माछाको औसत तौल र सङ्ख्या दुवै घट्दो क्रममा रहेको सङ्घले जनाएको छ । बलामीका अनुसार तरकारी खेतीमा प्रयोग गरिने कीटनाशक र रासायनिक मल बर्सातको समयमा खोलानाला हुँदै तालमा मिसिन्छ । उनले भने, ‘यो विषादी मिसिएको पानी तालमा पुग्दा माछाको प्राकृतिक खाना (माछाले खाने सूक्ष्म जीवहरू जसलाई प्लाङ्कटन भनिन्छ) र सूक्ष्म जीवमा असर पुग्छ, जसले गर्दा माछा पहिले जस्तो गतिमा बढ्दैनन् ।’ विशेषगरी सिल्भर कार्प, बिगहेड र ग्रास कार्पजस्ता चिसो पानीमा हुर्कने जातका माछा बढी प्रभावित भएका छन् । यी माछा प्राकृतिक रूपमा पाइने हरियो शैवाल र साना जीवजन्तुमा भर पर्छन् । विषादीले ती स्रोतहरू नष्ट गर्दा माछाको तौल र वृद्धि दुवैमा कमी आएको मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष बलामीले उल्लेख गरे । उनका अनुसार सङ्घले हाल ६५० परिवारलाई शेयर सदस्य बनाई माछा उत्पादन, बिक्री र लाभांश बाँडफाँटको व्यवस्था गरेको छ । यसै आम्दानीले विद्यालय सञ्चालनदेखि सामुदायिक पूर्वाधार मर्मतसम्म सहयोग पुग्ने गरेको छ । माछा व्यवसायी एवं होटल सञ्चालक पूर्ण थापा मगरका अनुसार विषादीको असरले तालको पारिस्थितिक सन्तुलन बिग्रँदै गएको छ । उनले भने, ‘पहिले २ किलोसम्म हुर्किने माछा अहिले डेढ किलो पुग्न पनि गाह्रो छ, माछाको प्राकृतिक खाना घटेकाले पनि तिनीहरूको वृद्धि क्षमता घट्दै गएको हो ।’ उनले आफ्नो होटलमा राखिने परिकारमध्ये कुलेखानी तालको माछा विशेष मान्ने गरिएको बताए । ताल वरपरका गाउँमा स्थानीय समुदायले माछा पालनलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । माछा बिक्रीबाट आउने आम्दानीले गाउँको विद्यालय सञ्चालन, सडक मर्मत र सामुदायिक विकासमा ठूलो योगदान पुर्याउँदै आएको छ । माछाको आकार घटेपछि कृषकले अहिले आर्थिक घाटा बेहोर्नुपरेको मगरले बताए । कुलेखानी-कलङ्कीका युवा संसार बलामीका अनुसार, तालमा माछा हाल्ने, हेरचाह गर्ने र बिक्री वितरणको काम इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घले गर्छ । उनले भने, ‘तालले गाउँका सयौं घरलाई रोजगारी दिएको छ, तर माछा साना हुन थालेपछि आम्दानी घटेको छ, जसले गाउँको अर्थतन्त्रमा पनि असर पारेको छ ।’ ताल र माछाको कारण पर्यटन प्रवर्द्धन भएको उनको भनाइ छ । सरकारी निकायको दृष्टिकोण मत्स्य विकास केन्द्र कुलेखानीकी निमित्त प्रमुख मनिता पौडेलले विषादीका कारण माछाको तौल घट्नु गम्भीर विषय भएको बताउँदै यसको वैज्ञानिक अध्ययन सुरु गरिएको जानकारी दिइन् । ‘हालै गरिएको परीक्षणमा पानीमा रासायनिक अंशको मात्रा सामान्यभन्दा माथि पाइएको छ, त्यसैले यसले माछाको वृद्धि दरमा असर पारेको हुनसक्छ,’ उनले भनिन् । निमित्त प्रमुख पौडेलका अनुसार केन्द्रले हाल सिल्भर कार्प, बिगहेड, कमन कार्प, ग्रास कार्प, रहु, नैनी, भाकुर, टिलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ । हरेक वर्ष भदौ महिनाको तेस्रो साता करिब २ लाख भुरा माछा तालमा छाड्ने गरिएको उनले जानकारी दिइन् । उनका अनुसार कुलेखानीको माछा प्रायः स्थानीयस्तरमै खपत हुने भएकाले यसको गुणस्तर जोगाउन तालको पानीको स्वच्छता अत्यावश्यक छ । त्यसैले केन्द्रले विद्यालय र समुदायमा जलाशय संरक्षण र स्वस्थ मत्स्य पालनका तालिम सञ्चालन गर्दै आएको छ । विषादी र वातावरणीय असर मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा व्यावसायिक तरकारी खेती तीव्र गतिमा फैलिँदै गएको छ । किसानले उत्पादन बढाउने उद्देश्यले कार्बोफुरान, मालाथियान, डाइक्लोरोभोसजस्ता विषादी प्रयोग गर्ने गर्छन्, जसले पानी र माटोमा दीर्घकालीन असर पुर्याउँछ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाका प्रमुख सरोज यादवले विषादीले माछाको प्राकृतिक खाना र शरीरमा क्षति पुग्ने भएकाले उत्पादन र तौलमा कमी आएको जानकारी दिए । ‘विषादीले पानीको रासायनिक संरचना परिवर्तन गर्छन्, माछाको अण्डा फुट्ने दर घट्छ, आन्द्रा र गिल्समा क्षति पुग्छ,’ उनले भने, ‘यदि विषादी मिश्रित पानी आइरहेको छ भने यसलाई नियन्त्रण गर्न जरुरी छ अन्यथा कुलेखानी तालको जैविक विविधता मात्र होइन, स्थानीय खानेपानी र पर्यटन अर्थतन्त्र पनि प्रभावित हुन सक्छ ।’ सम्भावित समाधान र सचेतना मत्स्‍य विकास केन्द्र र सङ्घले ताल वरपरका किसानलाई जैविक मल र पर्यावरण मैत्री खेती प्रणाली अपनाउन प्रोत्साहन गर्ने योजना बनाउन जरुरी रहेकामा केन्द्रका प्रमुख यादवले जोड दिए । साथै, तालमा मिसिने पानी शुद्धीकरण गर्ने प्रविधि पोखरी निर्माण भएमा समाधान हुने उनले उल्लेख गरे ।
अरुण नदीको फेरी सेवा ६ महिनापछि पुनः सञ्चालनमा
काठमाडौं । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा ६ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षाका कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन् । वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि ५ महिना अघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो । फेरी सञ्चालन नहुँदा जिल्लाको उत्तरी क्षेत्रका यात्रु र स्थानीयले आवतजावतमा ठूलो कठिनाइ भोग्दै आएका थिए । फेरी पुनः सञ्चालनसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दा सहजता भएको छ । फेरी बन्द रहेका बेला स्थानीयले झोलुङ्गे पुलमार्फत पिठ्युँमा बोकेर खाद्य सामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए । विसं २०७६ देखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ । फेरी बन्द हुँदा झोलुङ्गे पुलबाट आवतजावतसँगै पिठ्युँमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्थामा अहिले सहजता थपिएको स्थानीय वासी दीपेन्द्र श्रेष्ठले बताए । ‘५ महिनापछि फेरी सञ्चालनमा आउँदा निकै सहज भएको छ । फेरी नचल्दा हाम्रो दैनिकी निकै कष्टकर हुन्थ्यो । यहाँ पक्की पुल बने सधैंका लागि समस्या अन्त्य हुने थियो,’ उनले भने ।
मानुङकोटमा पर्यटकको ओइरो, १२ सयमै रातको बास, खाना र बिहानको नास्ता उपलब्ध
काठमाडौं । ‘सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो,’ पोखराकी लक्ष्मी कार्कीले भने, ‘यहाँबाट देखिने सूर्योदय, हिमशृङखलाले लोभ्यायो ।’ पोखराबाट सोमबार बिहान २ बजे गाडी भाडामा लिएर व्यास नगरपालिका-५ मानुङकोट आएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरे भन्दा अझ राम्रो लागेको उल्लेख गरिन् । उ उनले भनिन्, ‘मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, साथीहरूसँग सल्लाह गरेर ४ जना मिलेर आएका हौँ ।’ काठमाडौंबाट आएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राखिन् । ‘आउन मन भए पनि पहिला विविध कारणले आउन पाएकी थिइँन, अहिले तिहार बिदाका कारण यहाँ आउने वातावरण जुर्यो, दृश्यले लोभ्यायो,’ उनले भनिन् । दमौलीका सुदीप गफ्फारले यतिबेला मानुङकोटमा पर्यटकको अत्यधिक चहलपहल भएकाले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क गरेर आउनुपर्ने अवस्था रहेको बताए । चिसो मौसम सुरु भएसँगै मानुङकोटमा यतिबेला दैनिक पर्यटकको चहलपहल बढेको छ । हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन् । सोमबार बिहान करिब दुई हजार पर्यटकले मानुङकोटबाट दृश्यावलोकन गरेका छन् । मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेस सुनामले यतिबेला मानुङकोटमा पर्यटकको सिजन रहेको जानकारी दिँदै दसैँ तिहारसँगै पर्यटकको चहलपहल बाक्लिएको बताए । चिसो मौसममा सूर्योदय, कुहिरो, सूर्यास्तले यहाँ आउने पर्यटक लोभिने गरेको उनको भनाइ छ । ‘अहिलेका बेला भनेको पर्यटकको चाप हुने समय हो, पहिल्यै आफ्नो बस्ने स्थान सुरक्षित गरेर आउँदा सहज हुन्छ । हामीले प्रतिव्यक्ति १ हजार २०० रुपैयाँमा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइरहेका छौँ,’ उनले भने । आफ्नो रेष्टुराँमा दैनिक ७० जना बास बस्ने क्षमता रहेको उनले जानकारी गराए । मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्नेक्रम बढेको छ । विगतमा होटल नरहेको यस ठाउँमा अहिले एक दर्जन सञ्चालनमा छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदल मार्ग निर्माण गरिएको छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेद व्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको ४ हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
जेजनी आन्दोलनबाट वीरन्द्रनगर नगरपालिकामा १० करोडभन्दा बढीको क्षति
काठमाडौं । गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा वीरेन्द्रनगर नगरपालिकाको कार्यालयसहित विभिन्न वडा कार्यालयमा आगजनी र तोडफोड हुँदा १० करोडभन्दा बढीको क्षति पुगेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाका अनुसार नगरपालिकाको कार्यालय, वडा नं १ देखि १२ नम्बर वडा कार्यालयहरूमा आगजनी, तोडफोड, लुटपाट हुँदा १० करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । जेनजी आन्दोलनका क्रममा नगर कार्यपालिकाको कार्यालय, वडा नं. १ देखि १२ सम्मका वडा कार्यालयहरूमा रहेका फर्निचर, कम्प्युटर, प्रिन्टर, इलेक्ट्रोनिक सामग्री, कागजातहरू र वडा कार्यालय भवनहरू समेत जलेर नष्ट भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार हाल अनुसार हाल घटना सम्बन्धी थप विवरण संकलन र पुनःस्थापना कार्य अघि बढाएको छ ।
प्रधानमन्त्री कार्कीबाट समाजसेवी अञ्जली मास्के सम्मानित
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा लगाइदिएर सम्मान गरेकी हुन् । उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो । ‘तपाईँले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ । एकपटक भेट्ने इच्छा थियो । आज पूरा भयो । सरकारका तर्फबाट धेरै केही गर्न नसके पनि भेटेर सम्मान प्रकट गरौँ भनेर यो कार्यक्रम गरिएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँलाई सम्मान गर्न पाउँदा हामी आफू पनि सम्मानित भएको महसुस भएको छ । यहाँको निःस्वार्थ भावनाबाट समाजमा सत्कार्यका लागि अरूलाई पनि प्रेरणा मिलिरहेको हामीले ठानेका छौँ ।’ काठमाडौंको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र भएर पनि भाइटीकाका दिन भेट्न नभएका दाजुभाइहरूको निधार खाली नहोस् भनेर टीका लगाइदिएका कारण परिचित छिन् । उनले वीर अस्पतालमा बेवारिसे तथा विपन्न बिरामी र तिनका कुरुवाका लागि निःशुल्क खानपिनको व्यवस्था गरिदिएर पनि समाजमा योगदान गरेकी थिइन् । त्यस्तै काष्ठमण्डपमा सामूहिक व्रतबन्धको व्यवस्थापन पनि उनले गर्दै आएकी छन् । यी सबै काम उनले आफ्नै निजी खर्चमा गर्दै आएको पनि प्रधानमन्त्रीसमक्ष जानकारी गराइन् । ‘मैले कसैसँग केही अपेक्षा राखेर यी काम गर्दिनँ,’ ८२ वर्षीया मास्केले भनिन्, ‘जे सक्छु, आफ्नै खर्चमा गर्छु। अहिले छोरा कमाउने भएपछि सोचेको काम गर्न थप सजिलो भएको छ ।’ मास्केले सरकारबाट पनि कुनै अपेक्षा नराखेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मलाई केही चाहिएको छैन। हामीले आ–आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ । एकले अर्कालाई सघाउनुपर्छ। सबैले अरूको सेवा गरून्। सेवाको भावना राखेर काम गरून् । सरकारसँग हामीले अपेक्षा राख्ने होइन, सरकारलाई हामीले सघाउनुपर्छ। अनि सरकारबाट देशको कल्याण हुन सक्छ।’ प्रधानमन्त्री कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बन्नुभएको सुनेकै दिनदेखि निकै खुसी र भरोसा जागेको पनि मास्केले बताइन् । ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभयो, त्यहाँ साहसिक काम गर्नुभयो,’ मास्केले भनिन्, ‘यस्तो मान्छे देशको प्रधानमन्त्री हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको थियो। आज त्यो दिन देख्न पाइयो । एकदम खुसी र भरोसा लागेको छ। पहिलाजस्तै नडराइकन काम गर्नुहोला ।’ अफ्ठ्यारो परिस्थितिमा देश सम्हाल्न आएको भन्दै प्रधानमन्त्री कार्कीप्रति मास्केले कृतज्ञता पनि व्यक्त गरिन् । उनले भनिन्, ‘यहाँ प्रधानमन्त्री हुँदा हामी सबै महिला सम्मानित भएको महसुस भएको छ । भेट्ने कत्रो इच्छा थियो, आज पूरा भयो ।’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको पनि उपस्थिति थियो।