विकासन्युज

कांग्रेस कार्यवाहक सभापति खड्काले भने - प्रतिनिधिसभा विघटन असंवैधानिक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल तरुण दलको ७३औँ स्थापना दिवस समारोहमा उनले आफ्नो विचार राख्दै असंवैधानिक कदमको कडा आलोचना गरेका हुन् । खड्काका अनुसार जनआन्दोलनको माध्यमबाट गठन भएको अन्तरिम सरकारले देशको लोकतान्त्रिक प्रक्रियामा चोट पुर्‍याएको छ । उनले भने, 'हाम्रो संविधान र लोकतान्त्रिक मान्यताहरूको मर्मलाई बेवास्ता गर्दै प्रतिनिधिसभा विघटन गर्नुले जनताको विश्वासमा ठूलो धक्का पुगेको छ ।' सभापतिले पार्टीको भातृ संगठन नेपाल तरुण दलका सदस्यहरूलाई लोकतन्त्रको रक्षामा सक्रिय भूमिका खेल्न र सचेत नागरिकका रूपमा अघि बढ्न प्रेरित गरेका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा संवाद र सहकार्यको महत्त्वमा पनि जोड दिएका छन् । कार्यवाहक सभापति खड्काले युवाहरूलाई असंवैधानिक कदमहरूलाई नसहन र संविधानको सर्वोच्चता कायम राख्ने लडाइँमा अनवरत लाग्न निर्देशन दिएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सलाई ‘डबल ए माइनान्स’ रेटिङ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘डबल ए माइनान्स’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च रहेको र जोखिम न्यून रहेको मानिन्छ ।  नेपाल लाइफले सन् २००१ देखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको  छ । कम्पनीले हाल देशभर करिब १९० भन्दा बढी शाखा विस्तार गर्दै आएको छ । अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थान समूह मिलेर सञ्चालन हुँदै आएको यस कम्पनीले जीवन बीमा क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा राख्दै आएको छ । कम्पनीको कुल बीमा आम्दानीमा २५ प्रतिशतभन्दा बढी अंश रहेको छ । जसले कम्पनीको नाफा र प्रिमियम बढाउन सहयोग पुगेको छ । कम्पनीको पहिलो वर्षको प्रिमियममा केही उतारचढाव भए पनि नवीकरण प्रिमियम आम्दानीले उल्लेखनीय नाफा कमाउँदै आएको छ । कम्पनीको लगानीको गुणस्तर पनि राम्रो मानिएको छ । स्थिर आम्दानी दिने निक्षेप र साधनहरूमा गरिएको लगानीले कम्पनीलाई सुरक्षित प्रतिफल दिलाएको छ । हाल ब्याजदर घट्दो क्रममा भए पनि कम्पनीले झन्डै ९.३ प्रतिशतसम्म औसत ब्याज दर पाएको छ । कम्पनीको करिब ९९ प्रतिशत व्यवसाय बचतमुखी बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पुर्याएको छ । २०८२ साउनसम्ममा कम्पनीको सॉल्भेन्सी अनुपात करिब १४५ प्रतिशत रहेको छ, जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम मापदण्ड १३० प्रतिशतभन्दा माथि हो । कम्पनीले आफ्ना बीमा जोखिमहरूलाई नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेड मार्फत पुनर्बीमा  गरेको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको ८ औं सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी सोमबार अपराह्न नेपाल वायुसेवा निगमको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।  चार दिनसम्म चल्ने यो सभा सोमबारदेखि बिहीबारसम्म भारतमा हुँदैछ । जसमा ४० भन्दा बढी देशका ऊर्जामन्त्रीहरू सहभागी हुनेछन् ।  सभामा सौर्य ऊर्जाको प्रवद्र्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरूबारे विस्तृत छलफल हुने कार्यक्रम छ ।  नेपालका तर्फबाट मन्त्री घिसिङले ‘बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना’ विषयमा सम्बोधन गर्ने तय भएको छ ।  नेपाल २०८१ साल भदौमा १०१ औं सदस्य राष्ट्रका रूपमा आईएसएमा आवद्ध भएको थियो । मन्त्री घिसिङले बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।  

जलविद्युत् आयोजना र ठेकेदार विवादले दाङखोलामा मोटरेबल पुल निर्माण ५ वर्षदेखि अलपत्र

म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटर चल्ने पुल निर्माण योजना अलपत्र बनेको छ ।  मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीस्थित दाङखोलामा ठेक्का सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण सुरु नभएको हो । करिब १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय र इन्द्रेणी–फेवा जेभी पोखराबिच विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो ।  वि.सं. २०७८ जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण कार्य सुरु नै नभएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।  'धवलागिरिको केन्द्र मुनासहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ', उनले भने,'पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण सुरु भएको छैन ।'  वि.सं. २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटेरबल पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको वडाध्यक्ष खत्रीले बताए ।   पुल निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा सम्झौता लगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, वि.सं. २०७७ को बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र पछिल्लो समय निर्माण व्यवसायी अदालत गएपछि पुल निर्माण कार्य प्रभावित बनेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।  काम नभएपछि कार्यालयले ठेकेदारलाई पेस्की दिएको रु ३३ लाख धरौटीबाट फिर्ता गरेको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले दाङखोलामा मोटरेबल पुल नबन्नुको मुख्य कारण दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजना भएको बताए ।  'सम्झौता लगत्तै आएका ठेकेदारलाई काम गर्न दिएको भए त्यही समयमा पुल बन्ने थियो', उनले भने, 'सहमतिअनुसार दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाले नै दाङखोलामा पुल बनाउनुपर्छ ।' जलविद्युत् आयोजनाको प्रवर्द्धक धौलागिरि कालिका हाइड्रोका निर्देशक तेजेन्द्र रोकाले दाङखोलाबाट हाल बाँध निर्माणस्थल इल्पुमा सारिएको र मोटरेबल पुलको विषयमा आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको प्रतिक्रिया दिए । तत्कालीन निर्देशक हर्कमान मगरले दाङखोलामा सरकारी पक्षबाट पुल निर्माण हुन नसके आयोजनाले पुल बनाउने लिखित निर्णयमा हस्ताक्षर गरेका थिए । रासस

प्रधानमन्त्री कार्की कमलपोखरीमा छठ पूजा गर्न जाने

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की सोमबार कमलपोखरीमा छठ पूजा गर्न जाने भएकी छन् । छठ पर्वको अवसरमा प्रधानमन्त्रीको उपस्थितिमा पूजा हुने भएकाले कमलपोखरी क्षेत्रलाई विशेष रूपमा सजावट गरिएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्कीले आज दिउँसो ४:१५ बजे कमलपोखरीमा विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी कमलपोखरी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : संयोजक प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् । सोमबार पत्रकारसँग उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए ।      संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए । उनले भने, 'चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ', उनले भने, 'मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।'       संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनको भनाइ थियो । 'यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र  माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ', संयोजक दाहालले भने । 

उत्पादन घट्दा अन्डाको मूल्य बढ्यो, होलसेल मूल्य प्रतिक्रेट ५ सय

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अन्डाको मूल्य बढाएको छ । उत्पादन घट्नु र खपत बढ्नुका कारण संघले मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूलो अन्डाको मूल्य प्रति क्रेट ५०० रुपैयाँ र मध्यम अन्डाको मूल्य ४५० रुपैयाँ पुगेको छ । अघिल्लो दरको तुलनामा प्रति क्रेट ५० रुपैयाँले भाउ बढाइएको उनले बताए । मूल्य निर्धारण चितवन क्षेत्रमा आधारित भएको जानकारी पनि उनले दिएका छन् । उनका अनुसार उपभोक्ताका लागि खुद्रा मूल्य भने प्रति अन्डा करिब २२ रुपैयाँकै हाराहारीमा रहेको छ । 'उपभोक्ता मूल्यमा त्यति ठूलो फरक आउने छैन,' पोखरेलले भने । उत्पादकले थोक मूल्य बढाएपछि होलसेलरले व्यापारीलाई महँगोमा अन्डा बेच्ने र अन्ततः उपभोक्ताले पनि बढी मूल्य तिर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।